७ वैशाख २०८१ शुक्रबार
राजनीति

रिजाललार्इ काेइरालाकाे विरासत जाेगाउन चुनाैती

विराटनगर – मोरङको क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला लगातार तीनपटक चुनाव जिते । बढीमा दुईवटा चुनावी सभालाई मात्रै सम्बोधन गरेर भारी मतले जित्ने कोइराला र नेपाली कांग्रेसको लागि त्यो ‘सुरक्षित’ क्षेत्र थियो।

२०४८, २०५२ र २०५६ सालमा लगातार चुनाव जितेका कोइरालाले सुनसरीको तत्कालिन क्षेत्र नम्बर ५ (हालको ४) बाट पनि चुनाव जित्न थालेपछि मोरङमा ०५२ र ०५६ मा भएको उप–निर्वाचनमा कांग्रेसका पुराना नेता आमोदप्रसाद उपाध्यायले चुनाव लडे र जिते । गिरिजाको बिँडो थामेका काँग्रेसका पुराना नेता उपाध्याय पहिलो संविधानसभाको चुनावसम्म मात्रै कोइरालाको ‘क्रेज’ थाम्न सके । दोस्रो संविधानसभाको चुनावमा कांग्रेस र कोइराला परिवारको विरासत मानिएको मोरङ क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले कांग्रेसका उपाध्यायलाई पछारे।

दोस्रो संविधानसभाको निर्वाचनमा मोरङको त्यो क्षेत्रबाट गिरिजा पुत्री सुजाता कोइरालाले चुनाव लड्ने जोडवल गरेकी थिइन् । उपाध्यायले टिकट पाएपछि उनी खुलेरै विरोधमा उत्रिएकी थिइन् । चुनावमा सुजाताले ‘असहयोग’ गरेको भन्दै उपाध्यायले कारबाहीको माग नै गरे । गिरिजाको विरासत क्षेत्र मानिएको मोरङको २ मा एमालेका पोखरेलले दोस्रो संविधानसभामा झन्डा फहराएपछि कांग्रेसभित्र तनाव भएको थियो । एमालेका पोखरेलले नै यो निर्वाचनमा पनि गिरिजाको बिँडो थाम्न आएका कांग्रेस नेता मिनेन्द्र रिजाललाई कडा टक्कर दिइरहेको छ।

‘मोरङ क्षेत्र नम्बर २ कांग्रेसको बाहुल्य क्षेत्र हो,’ कांग्रेसका पुराना नेता पिताम्बर दाहालले भने, ‘गिरिजाबाबुको लिगेसी जोडिएको क्षेत्र गुमाउँदा कांग्रेसीलाई कम्ता पीडाबोध भएन ।’ त्यो क्षेत्रबाट कोइराला चुनाव लडेको तीनै पटक दाहालले कम्युनिष्ट बहुल इटहरा र सिजुवाको कमान्ड सम्हालेका थिए । उनी सम्झन्छन्, ‘गिरिजाबाबु ठूलो चुनावी सभालाई सम्बोधन गर्न बढीमा दुईपटक मात्र आफ्नो क्षेत्रमा पुग्थे, बढी स्थानीय नेतालाई नै परिचालन गर्थे र चुनाव जित्थे ।’
दोस्रो संविधानसभामा एमालेले कांग्रेसको गढ भत्काइदिएको सो क्षेत्रको चुनावी गणित कांग्रेसका लागि यो निर्वाचनमा पनि पेचिलो बनेको छ । गिरिजापुत्री सुजाताले आफूलाई त्यो क्षेत्रको ‘स्वभाविक’ उत्तराधिकारी मानिरहेका बेला कांग्रेसले प्रतिनीधिसभाका लागि नेता मिनेन्द्र रिजाललाई टिकट दियो।

रिजालको लागि त्यो क्षेत्र नयाँ हो । सुजाताले रिजालसँगै चुनाव प्रचारमा हिँडेर ‘गिरिजाबाबुको बिँडो रिजालले थाम्ने सक्ने’ भन्दै मतदाताको घरदैलोमा पुगिन् । ‘रिजाललाई सुजाताको साथले पनि त्यो क्षेत्रमा सहज भएको छ,’ कांग्रेसका पुराना नेता दाहालले भने।

मोरङको क्षेत्र नम्बर २ मा सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका, पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर ५ र ६, कानेपोखरी गाउँपालिकाको १,२ र ३, रंगेली नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडा पर्छन् । यहाँको कूल मतदाता संख्या १ लाख ११ हजार ३ सय २१ छ । स्थानीय तहको निर्वाचनमा सुनवर्षी र रतुवामाईमा कांग्रेस विजयी भयो । कानेपोखरी, पथरीशनिश्चरेमा एमाले र रंगेलीमा माओवादी (केन्द्र)ले विजयी भएको थियो।

कांग्रेसका उम्मेदवार रिजालले गिरिजाबाबुले पटक–पटक जितेको क्षेत्र रहेकाले मोरङको क्षेत्र नम्बर २ लाई राष्ट्रिय पहिचानको बनाउने चुनावी अजेन्डामा मत माग्दैछन् । एमालेका उम्मेदवार पोखरेलले २२ वर्षसम्म कांग्रेस जितेको यो क्षेत्रमा आफूले एउटै कार्यकालमा त्यो भन्दा बढी काम गरेकोले मतादाताको विश्वास आफूप्रति नै कायम रहेको दाबी गरे । एमालेका उम्मेदवार पोखरेलले ‘गाउँलाई नर्बिसने र विकासमा ध्यान दिने’ नारा अघि सारेका छन्।

उता रिजाल भने यो क्षेत्रलाई विकासको मूलधारमा लाने बताउँदै मत मागिरहेको छन् । ‘गिरिजाबाबुले यो क्षेत्रलाई विकासको मूलधारसँग जोड्नु भएको र बीचमा एमालेले जितेपछि त्यो धार टुटेको छ, अब विकासको धारसँग जोड्ने काम मेरो हो,’ रिजालले भने।

सडक सञ्जालमा समृद्ध मानिएको मोरङ क्षेत्र नम्बर २ को प्रमुख समस्या बाढी र खोला कटान नै हो । विराटनगर–रंगेली–आमवारी हुलाकी सडक, आमवारी–उर्लाबारी सडक, सिकटी–पथरी सडक, रंगेली–कानेपोखरी सडक सञ्जाल रहेको यो क्षेत्रमा वर्षेनी आउने बाढीले स्थानीयलाई दुःख दिइरहेको छ । वक्राहा, रतुवा, डाँस, चिसाङ र लोहन्द्रा खोला बग्ने यो क्षेत्रका यी खोलामा तटबन्धन बाँध्ने उम्मेदवारको साझा अजेन्डा छन्।  

 

प्रकाशित: १५ मंसिर २०७४ ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App