coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘विकासको नाममा प्रकृति दोहन गर्‍यौँ’

मनोज गजुरेल, अभिनेता

तपाईंलाई सबैभन्दा मनपर्ने सहर कुन हो ?
इलाम मलाई ज्यादै मनपर्छ । मेरो जन्मथलो ताप्लेजुङ नजिकको ठूलो सहर भनेकै इलाम हो । त्यहीँ पुगेर मैले पहिलोपटक सहर देखेको हुँ । सहर यस्तो हुँदो रहेछ भनेर थाहा पाएको थिएँ । इलाम बजार धेरै सुन्दर छ । इलाम बजार प्रकृतिले सजिएको छ । यसबाहेक पोखरा, धनगढी, बिर्तामोड पनि मलाई राम्रो लाग्छ । 

नेपालबाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
करिब ३७ वटा देशका सहर घुमेको छु । हरेक देशमा फरक–फरक विशेषता भेटाएँ । विदेशी सहर सुन्दर छन् । त्यहाँ विकास छ तर प्रकृति दोहन गरिएको छैन । हाम्रोमा सहरको विकासका नाममा हरियाली मासिन्छ । रूख–बिरुवा काटिन्छ । तर, विदेशमा एउटा बिरुवा काट्दा दुईटा बिरुवा रोपिन्छ। 

कुन–कुन देशका सहर पुग्नुभयो ?
सबै देशका सहरको नाम भनेर साध्य हुँदैन । मलाई एकदमै राम्रो लागेका केही सहर छन् । जसमा स्विट्जरल्यान्डका प्रत्येक सहर, अमेरिकाको टेक्सास, युरोप र एसियाका भित्री सहर मलाई ज्यादै राम्रो लाग्यो । ती सहरमा सबैखाले सुविधा थिए । सहरमा पाइने खास विशेषता थिए । बाहिरी मुलुकका सहर धेरै नै मनमोहक र विकसित लाग्यो, सहर सफा छन् । धुलोधुँवा कतै देखिन्न । सबैतिर सफा र सुन्दर देखिन्छ। 

हाम्रा सहर त्यस्तै बनाउन सकिँदैन ?
किन नसक्नु ? बनाउने हो भने हाम्रो देशका सहर विश्वमै नमुना बन्न सक्छन् । हामीले नगरेकै कारण सहरको विकास हुन नसकेको हो । सरकार र आम नागरिक सहरको विकासमा हातेमालो गरेर अघि बढेको भए हाम्रा सहर विश्वमा सुन्दर सहरभित्र पर्थे होला ।

सरकारले कसरी काम गर्‍यो भने काठमाडौं राम्रो बन्ला ?
मूलतः कानुनको परिपालना गर्नुपर्‍यो । विकास निर्माणका कामलाई तीव्रता दिनुप¥यो । काठमाडौं कुरूप हुनुको मुख्य कारण अग्ला र अव्यवस्थित भवन निर्माण हो । सरकारले यसलाई प्राथमिकतामा राखेर व्यवस्थित गर्न जरुरी छ । नयाँ योजना ल्याइए पनि तिनले पूर्णता पाएका छैनन् । उपत्यका प्राकृतिक रूपमा पनि रमणीय छ । हरिया डाँडाकाँडाले उपत्यकावासीलाई शीतल प्रदान गरिरहेका छन् । कागजी योजनालाई व्यवहारमा उतार्ने हो भने काठमाडौं विश्वकै नमुना बन्न सक्छ । सरसफाइ, बाटोघाटो, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धँुवाधुलो रोकथाममा ध्यान दिए काठमाडौं अरु मुलुकका सहरभन्दा राम्रो बन्छ। 

तपाईंलाई उपत्यका कस्तो लाग्छ ?
म २०४५ सालका काठमाडौं छिरेको थिएँ । त्यतिबेला उपत्यका अति नै व्यवस्थित थियो । जनसंख्या पनि ठिक्क थियो । अहिले उपत्यका कुरूप बनेको छ । त्यति सुन्दर सिंगो उपत्यकालाई प्लटिङ गरेर टुक्रा–टुक्रा पारिएको छ । पुराना मौलिकताहरू मेटिँदै छन् । यो अति नै दुःखको कुरा हो । 

उपत्यकाको सबैभन्दा मनपर्ने पक्ष के हो ?
मलाई उपत्यकाका मठ–मन्दिर एकदमै मनपर्छ । यहाँ हाम्रो मौलिक पहिचान बोकेका अमूल्य सम्पदा छन् । मौसम पनि उत्तिकै राम्रो छ । यहाँका मौसम र हरियालीले गर्दा दिनहुँ विदेशी पर्यटक आइरहेका छन् । हाम्रो मुलुकका ढुंगाले पनि ठूलो विशेषता बोकेका छन् । नेपाल सानो र सुन्दर छ । मात्र यहाँको सरकार कमजोर भएको हो । सरकारी पक्ष बलियो हुने हो भने सहरको विकास चाँडै हुन सक्छ। 

मननपर्ने पक्ष ?
यहाँका मननपर्ने पक्ष धेरै छन् । प्रदूषण, ट्राफिक जाम र भीडभाडले काठमाडौंलाई अस्तव्यस्त बनाएको छ । यी पक्ष सम्झँदा काठमाडौंमा दिक्कलाग्दो छ। 

तपाईंको सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
मेरो सपनाको सहर यस्तो होस्, जहाँ सहरवासी एउटै परिवारजस्तै मिलेको देख्न पाइयोस् । सबैले एकअर्काको वास्ता गरून् । सहरमा सबैखाले सुविधा लिन झन्झट नपरोस् । हरियाली देख्न पाइयोस् । दुःख पर्दा साथ दिने भेटियोस् । यति भयो भने सहर बैगुन लाग्दैन। 

तपाईंको विचारमा सहर कस्तो हुनुपर्छ ?
गाउँका मानिस हृदय र मायाले चल्छन्, सहरका मानिस मस्तिष्क र हिसाबले चल्छन् । सहरमा आधुनिकता छ, आत्मीयता छैन, उन्नति छ, शान्ति छैन । विकास छ, सहयोग र सद्भाव छैन । सहरमा माया हराएको छ । सहरवासीहरू मानवता र मायाका भोका छन् । गाउँका मानिसहरू सहरमा आएर माया पाउँदैनन् । कठोर बन्न बाध्य हुन्छन् । सहरमा गाउँमा जस्तै माया–ममता पाइने भए सहर कति सुन्दर लाग्थ्यो होला । 

हाम्रा सहरका विकास कसरी होला ?
सहरको विकासका लागि सबै जागरुक हुन जरुरी छ । सरकारी निकाय बलियो हुनुपर्छ । विकासका निम्ति ल्याएका योजना समयमै सक्नुपर्छ । जनतालाई सहर सफा राख्न निर्देशन दिनुपर्छ । सहरवासीको लापरवाहीले पनि सहर बिग्रिएको हो । त्यसकारण उनीहरूलाई चेतनशील बनाउने नीति ल्याएर विकास निर्माणका काम अघि बढाउँदा नेपाल नमुना बन्छ । 

सहरवासीको बानी–व्यवहार कस्तो लाग्छ ?
सहरवासी नै जिम्मेवार नभएकाले सहर फोहोर बनेको हो । मलाई सहरवासीको बानी राम्रो लाग्दैन । हामी नागरिक नियम मिच्छौँ, अनि सरकारलाई दोष थुपार्छौं । सहरमा बस्नेहरू आफ्नो गेटको फोहोर कुनामा लगेर लुकाउँछन् । एकले अर्कोको कुरा काट्छन् । जिम्मेवार निकायसमक्ष आफ्ना समस्या राख्न सक्दैनन् । 

मन भएर पनि पुग्न नपाएको ठाउँ कुन हो ?
मलाई भुटानको थिम्पु र म्यानमार जाने मन छ । हेरौँ, यो चाहना पनि एक दिन पक्कै पूरा हुनेछ । 

पछिल्लो समय घुमेको सहर ?
म एक महिनाअघि अमेरिकाको टेक्सास घुमेर आएको थिएँ । टेक्सासमा संसारभरिमा मानिस छन् । धेरै रमाइलो र व्यवस्थित छ।

सहरको मनपर्ने खानेकुरा के हो ?
पहिले–पहिले मःमः खान्थेँ, आजकाल साकाहारी भएको छु । भक्तपुरको जुजु धौ, खुवा एकदमै मनपर्छ।

प्रस्तुति : शिवहरि घिमिरे 

प्रकाशित: १५ मंसिर २०७४ ०६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App