७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

कम्युनिस्टलाई कसले मत दिन्छ ? अब प्रधानमन्त्री मै हो : प्रम देउवा

चुनावी अभियानका क्रममा प्रदेश नम्बर ७ को दौडाहामा रहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीको अवस्था, निर्वाचन सुरक्षालगायतका विषयमा नागरिकका लागि दिलबहादुर छत्यालले लिएको अन्तर्वार्ता ।
 

तपाईं चुनावी अभियानको दौडाहामा सुगमदेखि दुर्गम र विकट ठाउँसम्म पुग्नुभएको छ, यस दौरानमा मतदाताको चाहना के पाउनुभयो ?
जनताले विकास र लोकतन्त्र चाहेका छन् । लोकतन्त्र बलियो होस्, आर्थिक विकास होस् चाहेका छन् ।
 

यो निर्वाचनमा नेपाली कांग्रेसको स्थान के हुन्छ ?
नेपाली कांग्रेसले पूर्ण बहुमत ल्याउँछ । विकास गर्ने र लोकतन्त्र संरक्षण गर्ने पार्टी नेपाली कांग्रेस हो । कम्युनिस्टले विकास गर्दैनन् । उनीहरु जनता गरिब भइरहून् भन्ने चाहन्छन् । राष्ट्रपतीय शासन चाहने भनेको जनताको अधिकार खोस्ने हो ।
 

नेपाली कांग्रेसले बहुमत ल्याउने आधार के हो ?
हामीले जनतालाई दुःख दिएका छैनौं । जबरजस्ती चन्दा असुल गरेका छैनौं । कसैका हातखुट्टा भाँचेका छैनौं । कांग्रेस जनतालाई सार्वभौम सत्तासम्पन्न बनाउने पार्टी हो, जनतालाई अधिकारसम्पन्न बनाउने पार्टी हो, जनतालाई मालिक बनाउन चाहने पार्टी हो । जनतालाई मतद्वारा सरकार बनाउने र बदल्ने अधिकार छ ।
लामो लडाइँ लडेर हामीले संविधान ल्यायौं । दलित, महिला, जनजाति, मधेसी सबैलाई अधिकार दिएको यो राम्रो संविधान छ । तीनवटा निर्वाचन गराएर यो संविधानपूर्ण रुपमा कार्यान्वयन भएको छ । यो संविधान कार्यान्वयन गर्न म सफल भएको छु । राम्रो संविधानको कार्यान्वयन नेपाली कांग्रेसबाहेक अरु कसले गर्न सक्यो, वाम गठबन्धनले जितेमा यो संविधान च्यातिन्छ, दलितका अधिकार खोसिन्छन्, महिलाका अधिकार खोसिन्छन्, जनताले बुझेका छन् अनि वामपन्थीलाई कसले मतदान गर्छ ? हाम्रो बहुमत आउँछ । देशमा विकास पनि नेपाली कांग्रेसले गरेको छ । पहिले एक एयरलाइन्स थियो, अहिले कति धेरै छन् ! पहिले एक मेडिकल कलेज थियो, अहिले कति धेरै छन् ! विश्वविद्यालय, क्याम्पस खुलेका छन् । बाटोघाटो बनेको छ । विभिन्न जिल्ला सदरमुकाम जोड्ने सडक बनेका छन् । यी सबै नेपाली कांग्रेसले गरेको हो । महाकाली सन्धि मैले गरेको हुँ । केपी ओलीले पनि हस्ताक्षर गरेका छन् । महाकाली सन्धि कार्यान्वयन हुने पक्षमा छ । टनकपुरबाट नहर आउने भएको छसबै विकास कांग्रेसले गरेको हो, कम्युनिस्टले के विकास गरेका छन् ? जनताले नेपाली कांग्रेसलाई मत हाल्छन् र हाम्रो बहुमत आउँछ ।
 

तपाईं फेरि पनि प्रधानमन्त्री बन्नेमा कति आशावादी हुनुहुन्छ ? केपी ओलीले त तपाईंलाई अन्तिम प्रधानमन्त्री भनेका छन् नि ?
नेपाली कांग्रेसको बहुमत आउने भइहाल्यो । अबको प्रधानमन्त्री मै त हुँ । म पूरापूरा आशावादी छु । केपी ओली त अब कहिले प्रधानमन्त्री बन्दैनन् । कम्युनिस्टलाई कसले मत दिन्छ ?
 

डँडेल्धुरामा तपाईं चुनाव जित्नेमा कति विश्वस्त हुनुहुन्छ ?
डँडेल्धुरामा मैले यसअघि नै ५ भन्दा बढी पटक जनताको माया पाएको छु । डँडेल्धुरामा मैले विकास गरेको छु । अरु जितेमा माननीय मात्र हुने हुन् । मैले जितेमा प्रधानमन्त्री हुने हुँ । चारपटक प्रधानमन्त्री भइसकेको छु । सुदूरपश्चिममा मबाहेक प्रधानमन्त्री हुने अरु को छ ? मध्यपश्चिम र सुदूरपश्चिममा प्रधानमन्त्री हुने मै हुँ ।
निर्वाचनका क्रममा विभिन्न ठाउँमा बम पड्किरहेका छन् । एकजनाको ज्यानसमेत गइसक्यो, निर्वाचनको सुरक्षाबारे के भन्नुहुन्छ ?
केपी ओलीले शेरबहादुरले निर्वाचन सार्दैछ भनेको भन्यै गरे । उनले सपना पनि चुनाव सारेको देखे, आज पनि देखिरहेका छन् । मेरो काम नै चुनाव गराउने थियो । मैले चुनाव गराएरै छाडें । अब मंसिर २१ गते मतदान भएपछि संविधान पूर्ण कार्यान्वयन भएर देश अघि बढ्छ । म संविधान कार्यान्वयन गराउन सफल भएको छु । चुनाव गराएर संविधानको पूर्ण कार्यान्वयन गर्न मभन्दा अरु कसले सक्यो ? चुनाव बिथोल्न केही तत्वले षड्यन्त्र गरिरहेका छन् । मतदान हुन नदिन, चुनाव बिथोल्न षड्यन्त्र गरे पनि सरकार शान्तिपूर्ण र सुरक्षित वातावरणमा चुनाव गराउन कटिबद्ध छ ।  चुनावमा शान्तिसुरक्षाको पूर्ण व्यवस्था हुन्छ । शान्तिसुरक्षा दिन सुरक्षा निकाय सक्षम छ । निर्धक्क साथ मतदान गर्न पाउने वातावरण बन्छ । सबै मतदाताले निर्धक्क भएर मतदान गर्न पाउने अवस्थाको प्रत्याभूति दिलाउँछु ।
 

चुनाव बिथोल्न षड्यन्त्र गर्ने तत्व कुन हो ?
चुनाव बिथोल्न षड्यन्त्र गर्ने तत्व विप्लव माओवादी हो । ठाउँठाउँमा बम पड्काउने उसकै काम हो । सुरक्षाको प्रत्याभूति गराएर निर्धक्कसँग भयरहित वातावरणमा चुनाव गराउन सरकार लागेको छ । कसैले पनि कुनै दुविधा नमानी, कुनै शंका नगरी निर्धक्क र ढुक्कसँग मतदान गर्ने वातावरण बनाउँछु ।

निर्वाचन भाँड्ने गलत तत्वलाई कारबाही गर्न सरकारले के गरिरहेको छ ?

चुनाव बिथोल्ने तत्वलाई सरकारले कारबाही गरेको छ । धेरै मान्छे पक्राउ गरेका छौं । अरुलाई पनि पक्राउ गर्छौं । चुनाव बिथोल्ने तत्वलाई छोड्दैनौं ।
 

वामपन्थीहरुले दुईतिहाइ बहुमत ल्याउँछु भनेका छन् । उनीहरुले दुईतिहाइ ल्याएर यो संविधान बदल्छन् भनेको हो ?
उनीहरुले कहाँबाट दुईतिहाइ बहुमत ल्याउँछन् ? उनीहरुको बहुमत पनि आउँदैन । बहुमत त नेपाली कांग्रेसको आउँछ । उनीहरुले बहुमत ल्याएर संविधान बदल्छन् भनको होइन, मैले उनीहरुको नियतको कुरा गरेको हुँ । उनीहरुको नियतको कुरा जनतालाई भन्नुप¥यो नि । दलित, जनजाति, महिला सबैलाई अधिकार दिएको यो संविधान बदल्ने उनीहरुको चाहना हो । यौ मैले भनेको हुँ र ? उनीहरु आफैंले संविधान संशोधन गर्छु भनिरहेका छन् ।
 

संविधान कार्यान्वयनका क्रममा तपाईंले चुनाव गराउनुभयो । यसलाई सकारात्मक मान्न सकिन्छ । निर्वाचनमा आर्थिक चलखेललगायतका विकृत पक्ष देखिए । यसले लोकतन्त्रलाई कमजोर पार्दैन ?
मैले त पैसा खर्च गरेको छैन । म सँग कोही पैसा माग्न पनि आएको छैन । मैले कसैलाई पैसा पनि दिएको छैन ।
चुनावमा राजनीतिक दलका नेताले आचारसंहिता पालना गरेको देखिएन, सरकारकै मान्छेबाट पनि आचारसंहिता पालना भएन ?
मबाट आचारसंहिता उल्लंघन भएको छैन । सरकारबाट पनि आचारसंहिता उल्लंघन भएको छैन । आचारसंहिता पालना गरेका छौं ।
 

लोकतान्त्रिक गठबन्धन भारततर्फ ढल्केको भन्छन् नि ?
त्यो होइन । नेपाली कांग्रेस भारत र चीन दुवै देशसँग राम्रो सम्बन्ध राख्न चाहन्छ । कसैसँग नजिक हुने र कसैसँग टाढा हुनु देशको हित र राष्ट्रिय स्वार्थका लागि पनि राम्रो हँुदैन । देशको फाइदाका लागि दुवै देशसँग राम्रो सम्बन्ध बनाउनुपर्छ ।
अहिले चुनावको मुखमा बुढीगण्डकी आयोजनाको सम्झौता किन रद्द गरिएको हो ?
त्यस्तो अरु केही होइन, नेपाल सरकारले आफ्नै लगानीमा बनाउन लागि यो रद्द गरिएको हो । हामी आफ्नै लगानीमा यो आयोजना बनाउँछौं । आठ वर्षमा नेपालकै लगानीमा यो आयोजना बनाउने भइसकेको छ ।
 

नेपाली कांग्रेसले संविधान संशोधन गर्छ ?
हामीले  पटकपटक संविधान संशोधन गर्न प्रयास ग¥यौं तर हाम्रो बहुमत पुगेन । हाम्रो दुईतिहाइ बहुमत आएमा संविधान संशोधन गरेर मधेसका जनताका अधिकार समावेश गर्छौैं । समावेशिता रहनेगरी संविधान संशोधन गरेर मधेसी जनताको भावनाको कदर गर्छौं ।

प्रकाशित: १८ मंसिर २०७४ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App