७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

राजनीतिलाई पेशा र जागीर नबनाऔं: बिन्दुकुमार थापा

बिन्दुकुमार थापा, ५८, कांग्रेसबाट जित हात पार्ने कास्कीका एकमात्र उम्मेदवार हुन् । थापा कास्की–२ (ख) बाट निर्वाचित भएका हुन् । विजयी भएका थापा पोखराका ब्यापारी पनि हुन् । उनी पोखरा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष पनि हुन् । पोखरामा घरजग्गा र अटोमा उनको लगानी छ । त्यसबाहेक बैंकिङ क्षेत्रमा पनि उनले लगानी गरेका छन् । कास्कीमा एमालेको पकडलाई तोड्ने एकमात्र कांग्रेसका उम्मेदवार पनि थापा नै बनेका छन् । पहिलोपटक राजनीतिमा होमिएका थापाको जितसँगै यो पटक नयाँ संरचनामा जाँदा कांग्रेसले कास्कीमा मुस्किलले साख मात्र जोगाउन सक्यो । यसै सन्दर्भमा थापासँग नागरिककर्मी सन्तोष पोखरेलले गरेको कुराकानीको सारः

कास्कीका मतदाताले तपाईलाई भोट किन दिए?

अहिले कास्की मात्र नभई नेपालका सबै मतदाताले देखिनेगरि परिवर्तन खोजिरहेका थिए । जसले परिवर्तन दिन सक्छ, योजना पेस गर्नसक्छ, कार्यन्व्यन गर्ने खालको खाका जो उम्मेदवाले प्रस्तुत गर्न सक्छ, जनताले उसैलाई रोज्ने गरेका छन् । अहिलेका मतदाता पनि त्यस्तै खालका छन् । त्यसमै म पनि परेको छु जस्तो लागेको छ । जनतालाई योजना सुनाउने माध्यम भने फरक फरक छ । संचारमाध्यम पनि योजना सुनाउने माध्यम हुनसक्छन् । अहिले जनताले परिवर्तन खोजेका थिए ।

जनताको भित्रि चाहना, विकास र समृद्धि रोज्ने थियो । अब राजनीतिक कलह गर्नु भन्दापनि नेताको भिजन बुझ्ने बेला भएको छ । विकासको भिजन के छ भनेर जनताले अब नेता रोज्ने गरेका छन् । पछिल्लो समय कर्मचारी देखि राजनीतिक पार्टीका नेतामा भ्रष्ट्राचार मौलाएको छ । अब जनतालाई सेवा सुविधा दिन सक्छौ भन्ने हो । कुनैपनि पार्टीदेखि व्यक्तिगत रुपमा जारी भएका घोषणापत्रमा पनि आफ्नै किसिमको प्रतिवद्धता पेश गर्न सकेको खण्डमा जनताले रुचाउँछन् । अहिले भएको पनि त्यही हो ।

निर्वाचित सांसदको हैसियतले आफ्नो क्षेत्रमा कस्तो कार्ययोजनालाई प्राथमिकतामा राख्नुहुन्छ ?

कांग्रेसको तर्फबाट प्रदेश–४मा यो पटक कमजोर उपस्थिति रहने निश्चित छ । भोलिको संरचना कस्तो बन्छ भन्ने फरक हुनेछ । जुनसुकै पार्टीबाट हामी अघि बढेपनि हाम्रो लक्ष्य यो प्रदेशलाई कसरी समृद्धिको बाटोमा लैजान सकिन्छ भन्ने बारेमा सोच्नुपर्छ । अब प्रदेशलाई समृद्ध बनाउन स्वदेशी र विदेशी लगानी भित्र्याउन जरुरी छ । त्यसले रोजगारी सिर्जना गर्छ । युवा लक्षित कार्यक्रम ल्याउनुपर्छ । मैले चुनाव जित्नुमा युवालक्षित कार्यक्रम ल्याएकोले पनि सफल भएको हुँ । मैले पेस गरेका युवालक्षित कार्यक्रम युवामार्फत अभिभावक समक्ष पुगेका छन् । युवाले नै अभिभावकलाई मोडिफाई गर्न सक्ने खुबी राखेका छन् । त्यसको सहयोगले परिणाम हाम्रो पक्षमा आएको छ । युवालक्षित भिजनले पनि सहयोग गरेको हो ।

कांग्रेसको तर्फबाट प्रदेश–४मा यो पटक कमजोर उपस्थिति रहने निश्चित छ । भोलिको संरचना कस्तो बन्छ भन्ने फरक हुनेछ । जुनसुकै पार्टीबाट हामी अघि बढेपनि हाम्रो लक्ष्य यो प्रदेशलाई कसरी समृद्धिको बाटोमा लैजान सकिन्छ भन्ने बारेमा सोच्नुपर्छ ।

यो प्रदेश सम्भावना नै सम्भावना नै भएको हो । उत्तर–दक्षिण भूगोलमा हामी पर्नु पनि राम्रो हो । हामी उत्तरमा चीन र दक्षिणमा भारतसँगको सिमाना बीचमा छौं । यसबाट हामीले फाइदा पाउन सकिन्छ । उत्तर–दक्षिण राजमार्ग बिस्तार गरेर भारतीय पर्यटकलाई पोखरा भित्रयाउन सकिन्छ । उत्तर–दक्षिण राजमार्ग स्तरोन्नती गरेर भारतीय पर्यटकलाई मुक्तिनाथ र चिनियाँ पर्यटकलाई लुम्बिनीसम्म पुर्याउन सकियो भने त्यसले प्रदेशका बासिन्दालाई समृद्ध बनाउन सघाउनेछ । पर्यटनको माध्यमबाट हामीले धेरै फाइदा पाउन सक्छौ । अहिले चिनियाँ लगानीकर्ता नेपाल आउन खोजेका छन् । तर, उनीहरुलाई सुरक्षाको ग्यारेन्टी गर्न सकिएको छैन । लगानी भित्र्याउन अहिले पनि डर छ । बेलाबेला हुने बन्द, हड्ताल र आन्दोलनले विदेशी लगानी नेपाल भित्र्याउन त्रास छ । अब त्यो त्रास मेटाउनुपर्छ ।

हामी संघीयतामा प्रवेश गरेका छौ । अहिले अधिकार विकेन्द्रीत भएको अवस्थामा पहिलेकै पाराले एउटा पार्टीले अर्काेलाई देख्न रुचाएनौ भने त्यसले असर पार्छ । जुनजसुकै पार्टीबाट अघि बढेपनि जनताको मन जित्त्नुपर्छ । त्यसका लागि मिलेर अघि बढनुपर्छ

जसले जसरी भएपनि अब मुलुकमा रोजगारी सिर्जना गर्नुपर्छ । सकेसम्म युवालाई विदेश जान दिनु भएन । जानैपरेको खण्डमा सीप, ज्ञान सिकेर पठाउनुपर्छ । सीप, बिनाका जनशक्ति बाहिरँदा त्यसले परिवारमा विखण्डन समेत ल्याएको छ । अब पुर्वाधार विकास गरेर स्वदेशमा रोजगारी सिर्जना गरेर युवा पलायन रोक्न ध्यान दिनुपर्ने बेला आएको छ ।

त्यस्तै पोखरालाई फिल्म सिटीको रुपमा विकास गराउन पनि सकिन्छ । अहिलेसम्म नेपाली फिल्म मात्र छायांकनका लागि पोखरा आएका छन । त्यसले यहाँको बजार खासै बढेको छैन । अब भारतीय र चिनियाँ फिल्म पनि पोखरामा छायांकन गर्न सक्नेगरि पुर्वाधार बनाइदिनुपर्छ । फिल्म सिटीको रुपमा पोखराले विकास गर्यो भने यसले फाइदा दिलाउँछ । हामीसँग इच्छाशक्ति हुनुपर्छ त्यसले काम गर्न समस्या छैन ।

अन्य दललाई समेटेर कसरी अगाडि बढ्नुहुन्छ ?

अब हामीले भिडन्तको राजनीति गर्ने होईन । एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई ईर्या र द्वेषको भावले हेर्नु हुँदैन । यो एकपटक मात्र आएको पालो होईन । अबको समयमा जो पुरानो बाटो हिड्छ, उ जनतासामु टिक्न सक्दैन । अहिलेको विजयी पाँचवर्षका लागि मात्र होईन, आगामि पाँचवर्षपछि पनि चुनाव आउँछ । त्यसैले अहिले नै सबैथोक हो भन्न मिल्दैन । हामी संघीयतामा प्रवेश गरेका छौ । अहिले अधिकार विकेन्द्रीत भएको अवस्थामा पहिलेकै पाराले एउटा पार्टीले अर्काेलाई देख्न रुचाएनौ भने त्यसले असर पार्छ । जुनजसुकै पार्टीबाट अघि बढेपनि जनताको मन जित्त्नुपर्छ । त्यसका लागि मिलेर अघि बढनुपर्छ ।

अहिले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न थालेको छ । अब पोखरालाई अन्तर्राष्ट्रिय सहर बनाउनुपर्छ । त्यसमा सबैभन्दा बढी फड्को मार्ने पर्यटनले हो । ग्रामिण पर्यटनसँगै खेलकुद पर्यटनको हबको रुपमा समेत पोखराको विकास गर्नुपर्छ ।

तपाईंका क्षेत्रका मुख्य समस्या के–कस्ता छन् ?

राजनीतिक इच्छाशक्ति नै समस्या छ । स्थायी सरकारको कुरा उठेको छ । छिटो–छिटो सरकार परिवर्तन हुँदा समस्या छ । त्यसले गर्दा विदेशी लगानी भित्रिन सकेको छैन । नेपालमा लगानी मैत्री वातावरण भएन । भारतीय, चिनियाँ लगानीकर्ता लक्षित गरेर भिœयाउन खोजेपनि सरकारको स्थायित्व नहुँदा समस्या परेको हो । छोटो समयमा सरकार परिवर्तन भईरहने कारणले लगानी मैत्री वातावरण बन्न सकेन । खुला बजारलाई प्रजातान्त्रिक अभ्यासमा उदार हुनुपर्छ । प्र्रदेशभित्रका पुर्वाधार बनाउन हामीले सघाउनुपर्छ । बाटोघाटो, राजमार्ग, खानेपानी, अस्पताल, शिक्षणसंस्था, पुल पुलेसाको खाँचो छ । अब हामी विकासको गतिलाई अघि बढाउन लाग्नुपर्छ ।

तपाईंले आफ्नो जिल्ला÷क्षेत्रको विकासका लागि तत्काल गर्ने तीनवटा काम के–के हुन् ?

पहिलो प्राथमिकतामा हामीले ४ नम्बर प्रदेशको गुरुयोजना बनाउनुपर्छ । पोखरालाई प्रदेशको राजधानी बनाउन थालेकोले यसलाई बिग्रन दिनु भएन । पोखरा बिग्रने पो हो कि भन्ने चिन्ता छ । तर, अब  पोखरालाई अझ बिग्रन दिनु भएन । यसलाई सुधार गरेर लैजानुपर्छ । यो क्षेत्रलाई विकास गर्ने पर्यटनले नै हो । अरु देश पर्यटनबाट शिखरमा पुगेका छन् । तर, हामीले सोचेजति पर्यटनमा फड्को मार्न सकेका छैनौ ।

त्यसबाहेक उर्जामा पनि हामी धनी छौ  ।

यहाँ उर्जा उत्पादन गरेर बाहिर निर्यात गर्न सक्यौं भने फाइदा लिन सक्छौ । अधिकतम उर्जा उत्पादन गरेर नेपाललाइ पुर्याएपछि भारतलाई बेच्न सकिन्छ । जति धेरै विद्युृत उत्पादन भएपनि बेच्न सकिन्छ । अहिले नेपाललाई २ हजार मेगावाट विद्युत भए पुग्छ । त्यो भन्दा बढी उत्पान गरेर बेच्न सकेमा विदेशी मुद्रा आम्दानी गर्न सकिन्छ । भारतले घोषित वा अघोषित रुपमा नेपालमा नाकाबन्दी गर्यो। यदी नेपालले उर्जा उत्पादन गरेर भारतलाई काउन्टर दिन सकेको भए त्यो नाकाबन्दी हुने थिएन । नाकाबन्दीलाई उर्जा उत्पादन गरेर काउन्टर दिन सकेमा भारत डराउथ्यो । तर, हामी त्यसमा कमजोरी गरेका छौ । नेपालको विरोध गर्दा विद्युत रोक्ने हुन कि भन्ने डर भारतीयमा हुने थियो । तर, हामीले त्यो डर त्रास दिनै सकेनौं ।

अहिले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न थालेको छ । अब पोखरालाई अन्तर्राष्ट्रिय सहर बनाउनुपर्छ । त्यसमा सबैभन्दा बढी फड्को मार्ने पर्यटनले हो । ग्रामिण पर्यटनसँगै खेलकुद पर्यटनको हबको रुपमा समेत पोखराको विकास गर्नुपर्छ । भारतीय र पाकिस्तानी खेलाडीलाई यहाँ खेल्नका लागि भित्र्याउने गरि पुर्वाधार बनाउन सक्नुपर्छ । त्यसले पोखरालाई खेल क्षेत्रबाट उकास्न सकिन्छ । ती पुर्वाधार विकासमा पनि उत्तिकै ध्यान दिनु जरुरी छ ।

त्यस्तै राजमार्ग विकास पनि सर्त हो । अब राजमार्गको विकासमा हामी लाग्नै पर्छ । उत्तर–दक्षिण राजमार्ग चाहिन्छ । विमानस्थल भएपछि अब राजधानी जोड्ने फास्टट्रयाक बनाउनुपर्छ । विकासका लागि कोही बाधक बन्नु भएन । सरकारमा रहेका पार्टीले जस पाउँछ भनेर प्रतिपक्षमा रहेको पार्टीले फेल गराउनु विकासको बाधक हो । त्यसैले अब विकासको ढोका खोल्नुपर्छ ।

सांसद्ले खालि आश्वासन बाँड्छन्, पूरा गर्दैनन् भन्ने आम गुनासो छ, यसबारे के भन्नुहुन्छ ?

अहिले समय परिवर्तन भएको छ । अब पहिलेको तरिकाले राजनीति गरेमा टिक्न सकिन्न । अब राजनीतिलाई पेशा र जागीरको रुपमा उपयोग नगरौ । आम्दानी गर्ने बाटो नहुँदा राजनीति जागीर जस्तो भएको छ, अब त्यो दीगो पनि हुँदैन । अब राजनीतिलाई सेवाको रुपमा जनताको मन जित्ने माध्यम बनाउन सक्नुपर्छ । त्यसले गर्दा चुनावमा विजय हाात पार्न सकिन्छ । विकासको इच्छाशक्ति नै राजनीतिक नेतामा नभए त्यसले सफलता पाउँदैन । अब जिम्मेवार नेताको रुपमा हामीले काम गर्नुपर्छ । त्यसमा सबै कुरामा आफै विज्ञ भईदैन । विज्ञलाई ल्याएर काम गर्ने हो । विकास हामीले घरकै पैसाले मात्र गर्नुपर्छ भन्ने पनि छैन । विकसित देशमा ठुला आयोजना बनाउँदा सरकारले विदेशी लगानीकर्तालाई जग्गा उपलब्ध गराएर लगानी भिœयाउने चलन छ । सरकारले उपलब्ध गराएको जग्गामा विदेशीले लगानी गर्छ, अनि केही वर्ष कमाई लिएर हामीलाई नै छाड्छ । विदेशीले उद्योग चलाउँदा पनि नेपालीले नै काम पाएका हुन्छन, अनि छाडेर जाँदा पनि नेपाललाई छाड्छन । यस्तै तरिकारले कुनैपनि गतिमा विकास गर्न सकिन्छ । यो प्रणालिमा हामी गएकै छैनौ । अब यो बाटो अपनाउने हो ।

मतदातालाई के सन्देश छ ?

जनताले अमुल्य मत दिएर कांग्रेसका उम्मेदवारलाई भोट दिएका छन । मतदातालाई धन्यवाद दिन चाहन्छु । अहिलेको निर्वाचनमा कांग्रेसले केही कम सिट पाएपनि यो निर्वाचनले नेपाली जनताको जित भएको छ । संविधान बनाउने काममा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको छ । सुशील कोइराला कमजोर हुँदा पनि उनले संविधान लागु गरेरै छाडे । अहिले बाम गठबन्धन हुँदाको बेलामा पनि कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन गराएका छन् । बाम गठबन्धन बलियो हुँदाहुुँदै पनि कमजोर गठबन्धनको लोकतान्त्रिक पक्ष रहेको बेलामा कांग्रेस एक्लै चुनावमा लडेको हो । कांग्रेस कमजोर छ भन्ने थाहा हुँदाहुँदै पनि निर्वाचनमा होमिएको हो । संविधान कायन्वयन गर्न यो महत्वपूर्ण थियो । जनताले यो कुरा बुझेका छन् । (मंगलबारको नागरिक पश्चिमेली पोखरा स‌ंस्करणबाट)

प्रकाशित: २६ मंसिर २०७४ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App