coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

सेयर बजारको संकेत

सामान्यतः निर्वाचनपछि सेयर बजारमा सकारात्मक परिवर्तन देखिने गरेकोमा यसपटक उल्लेख्य सुधार देखिएको छैन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि लगातार तीन दिन घटेको सेयर बजार बल्ल चौथो दिन बुधबार केही बढेको छ । लगातार ओरालो लागेको सेयर बजार बुधबार उकालो लाग्दा लगानीकर्ताको मुहारमा थोरै चमक देखिए पनि खासै उत्साहप्रद भने देखिएन । त्यसो त एक दिनको सुधारले बजार सम्हालिएको निष्कर्ष निकाल्न पनि सकिन्न । वाम गठबन्धन सरकार बनेपछि सेयर बजारमैत्री नीति नआउने चर्चाले पनि बजारलाई संकुचित तुल्याएको हुनुपर्छ । त्यसैले मुलुकमा स्थिर सरकार बनेपछि आर्थिक गतिविधिले तीव्रता पाउने अपेक्षाविपरीत देखिएको बजारको संकेतलाई वाम गठबन्धनका तर्फबाट आश्वस्त पार्ने गतिविधि आवश्यक छ । त्यसका लागि आर्थिक क्षेत्रमा अस्थिर गतिविधि नहुने सुनिश्चितता नभई यो प्रवृत्तिमा सुधार नआउन वा सुधार आइहाले पनि दिगो नहुन सक्छ । निर्वाचनमा ठूलो मात्रामा पैसा बजारमा आउने र लगानीयोग्य पुँजी (तरलता) अभाव हट्ने सम्भावना हुँदाहुँदै पनि सेयर बजार बढ्न नसक्नु चिन्ताको विषय हो ।  

निर्वाचनमा ठूलो मात्रामा पैसा बजारमा आउने र लगानीयोग्य पुँजी (तरलता) अभाव हट्ने सम्भावना हुँदाहुँदै पनि सेयर बजार बढ्न नसक्नु चिन्ताको विषय हो ।  

माओवादी केन्द्रले पहिलोपटक २०६५ मा सरकार बनाउँदा त्यस बेलाका अर्थमन्त्री डा. बाबुराम भट्टराईले सेयर बजारलाई ‘जुवाघर’ को संज्ञा दिएपछि केही दिन विवाद उत्पन्न भएको सम्झना अहिले पनि हुन्छ । सेयर कारोबार दैनिकजसो घट्दै गएपछि त्यस बेला माओवादीले पत्रकार सम्मेलन गरी आफ्नो अभिव्यक्ति सुधार्नुपर्ने अवस्थासमेत आएको हो । डा. भट्टराई विकासमा विदेशी लगानीकर्ता र पुँजी प्रयोग गर्ने र खुला बजार अर्थतन्त्रलाई नकारात्मक रुपमा नहेर्ने बताउन बाध्यसमेत भएका हुन् । त्यसपछि बजारमा क्रमशः सुधार हुँदै आएको थियो । अहिले पनि सेयर बजारमा चलखेल गर्ने तŒवले वाम गठबन्धनको हवाला दिँदै आफ्नो स्वार्थ पूरा गर्न खोजेका हुन सक्छन् । वाम गठबन्धनले ‘स्थिर सरकार समृद्ध नेपाल’ नारा दिएको छ । नेपाली कांग्रेसले भनेजस्तै ‘अधिनायकवाद’ को अजेन्डालाई गठबन्धनले प्रश्रय दिएर पक्कै पनि आफ्नो खुट्टामा बन्चरो हान्ने छैन । सेयर बजारको सूचक सामान्य अंकले घटबढ भइरहन्छ । यसलाई अन्यथा मान्न हुँदैन । तर, अनावश्यक हौवा फिँजाएर सेयर बजार बढाउने वा घटाउने काम भने अनुचित हो ।

केही महिनादेखि नेप्से १५०० बिन्दुको वरिपरि मात्र घुमेको छ । २०७३ भदौ १२ गते नेप्सेले कीर्तिमानी कायम गर्दै १८८१.४५ बिन्दुमा पुगेको थियो । तर, त्यसपछि नेप्से निरन्तर ओरालो लागेको छ । बुधबार नेप्से १५२०.७४ बिन्दुमा आइपुगेको छ । आगामी दिनमा गठन हुने नयाँ सरकारको नीतिले मात्र सेयर बजार उकालो वा ओरालो लाग्न सक्छ । निर्वाचनपछि पनि लगानीयोग्य पुँजी सहज हुने, बैंक ब्याजदर घट्नेलगायतका स्पष्ट संकेत नदेखिँदा लगानीकर्ताको मनोबल सकारात्मक हुुन नसकेको हो । मुलुकको राजनीति, आर्थिक अवस्था, सूचीकृत कम्पनीको नाफा, प्रतिसेयर आम्दानी, सम्बद्ध कम्पनीको व्यवसाय विस्तारलगायतका कारणले सेयर बजारमा असर पार्छ । अहिले नेप्से घट्नुपर्ने कुनै कारण छैन । निर्वाचन परिणामअनुसार वाम गठबन्धनले सरकारको नेतृत्व गर्ने निश्चित भइसकेको छ । वाम गठबन्धनको सरकार बनेपछि यसले सेयर बजारमा कुनै समस्या पर्ने खासै देखिँदैन किनकि वाम नेताहरूले सेयर बजारलाई असर पर्ने गरी कुनै पनि निर्णय गर्न नहुने पक्षलाई बुझेको हुनुपर्छ । त्यसमाथि वाम गठबन्धनका ठूला नेताको समेत सेयर बजारमा लगानी नभएको होइन । त्यसैले जोखिममा पार्ने काम उनीहरूबाट हुन सक्दैन । वाम गठबन्धन भनेकै मुलुकका ‘नयाँ पुँजीवादी’ हुन् भन्ने बुझाइ बजारको छ । तसर्थ अहिले सेयर बजार राजनीतिक कारणले धेरै ओरालो लाग्ला भनेर लगानीकर्ताले आत्तिनुपर्ने अवस्था छैन । आत्तिएका लगानीकर्तालाई आश्वस्त पार्ने जिम्मेवारीचाहिँ वाम गठबन्धनकै हो । सेयर बजार र बजार अर्थतन्त्रले पत्याएन भने त्यो वाम गठबन्धनकै निम्ति घातक पनि हुन सक्छ । त्यसैले पनि यो पक्षलाई मनन गर्दै सम्बद्ध पक्षलाई आश्वस्त पार्ने काममा लाग्नु नै उत्तम हुनेछ ।

प्रकाशित: २८ मंसिर २०७४ ०३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App