coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचनपछि देश नयाँ युगमा प्रवेश’ : उपराष्ट्रपति पुन

नेपालगन्ज- उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँगै मुलुकले राजनीतिक स्थायित्व हासिल गर्ने विश्वास गरेका छन् । मतदाताको भव्य सहभागिता र उल्लासमय वातावरणमा निर्वाचन सम्पन्न हुनुले संविधान कार्यान्वयनलाई सुखद पूर्णता दिएको उनको भनाइ छ ।

राजनीतिक दलहरूले आफ्ना क्षमता, प्रतिभासमेत प्रर्दशन गर्दै सहकार्य, संवाद र एकताका साथै प्रतिस्पर्धा कायम पनि गर्नेछन् ।

नेपालगन्जमा बिहीबारबाट सुरु भएको ‘आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव–२०७४’ उद्घाटन गर्दै उपराष्ट्रपति पुनले  भने, ‘यो निर्वाचनपछि हाम्रो देश नयाँ युगमा प्रवेश गरेको छ, अबको युग आर्थिक समृद्धिको युग हो । यो हाम्रो लागि ज्यादै खुसीको कुरा मात्रै होइन्, गौरवको कुरा पनि हो ।’ उनले अब चाडै प्रदेश र संघमा नयाँ सरकार निर्माण हुने र संविधानअनुसार संघीयसभाको अर्को सभा राष्ट्रियसभा पनि गठन हुने बताए । ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ र देश आर्थिक समृद्धिको मार्गमा दौडिनेछ,’ पुनले थपे ‘देशसँगै हामी सबै नेपाली पनि दौडिनेछौं, अब नेपालमा समृद्धिका लागि प्रतिस्पर्धा हुनुपर्दछ ।’
  प्रदेशको समृद्धिका लागि प्रदेश सरकारबीच स्वच्छ र सहयोगात्मक प्रतिस्पर्धा हुने उपराष्ट्रपति पुनले विश्वास गरे । यस्तै स्थानीय तहको समृद्धिका लागि पनि स्थानीय तहबीच प्रतिस्पर्धा हुने उनले अपेक्षा पनि गरे । उनले भने, ‘राजनीतिक दलहरूले आफ्ना क्षमता, प्रतिभासमेत प्रर्दशन गर्दै सहकार्य, संवाद र एकताका साथै प्रतिस्पर्धा कायम पनि गर्नेछन् । यो पाँच नम्बर ५ प्रदेश र बाँके जिल्लाले पनि आफ्नो उच्च प्रतिस्पर्धा गर्नेछ भन्ने मलाई लागेको छ ।’
 समृद्ध नेपाल निर्माणका लागि शिक्षित र दक्ष जनशक्तिको खाँचो पर्ने बताउँदै उपराष्ट्रपति पुनले दक्ष जनशक्ति उत्पादनका लागि शिक्षा क्षेत्रको ठूलो योगदान रहनेमा जोड दिए । ‘मलाई विश्वास छ, शिक्षा क्षेत्रमार्फत दक्ष जनशक्ति उत्पादनका लागि पुस्तक व्यवसायीको ठूलो भूमिका रहन्छ र हुनेछ, म गुणस्तरीय पुस्तक प्रकाशनका लागि म यहाँहरूको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’
 पुस्तक शिक्षाको महŒवपूर्ण स्रोत रहेको औल्याउँदै उनले पुस्तकको गहन अध्ययनबाट शिक्षा आर्जन गर्न सकिने धारणा राखे । ‘गुणस्तरीय शिक्षाका लागि पुस्तक गुणस्तरीय हुनैपर्छ, पटकपटक हामीले शिक्षा क्षेत्रमा आमूल सुधारको कुरा गरिरहेका छौं, वैज्ञानिक, व्यवहारिक र प्राविधिक शिक्षामा जोड दिइरहेका छौं,’ उनले भने ‘यसका लागि हामीले हाम्रो पाठ्क्रम, पाठ्यपुस्तकमा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता देखिन्छ ।’
 देशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने प्रमुख माध्यम नै शिक्षा भएको दोहो¥याउँदै पुनले थपे, ‘२० वर्षपछि देशका लागि कस्तो जनशक्ति आवश्यक होला त्यसको आकलन गरी आजै विद्यालय तहको पाठ्यक्रम र पुस्तकमा समावेश गरी अध्ययन, अध्यापन गराए मात्र भोलिको आवश्यकतालाई पूरा गर्न सकिन्छ भन्ने लाग्दछ ।’
 सिर्जनाहरूलाई व्यवस्थापन गर्न पुस्तक, पुस्तकलाई व्यवस्थित गर्ने पुस्तकालय, सबैलाई व्यवस्थापन गर्ने पुस्तक नीति नहुनु ज्यादै दुखको कुरा भएको उपराष्ट्रपति पुनले बताए । ‘सरकारले चाडोभन्दा चाडो पुस्तक नीति निर्माण गर्नुपर्दछ, यसतर्फ म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु र पुस्तक नीति निर्माणका लागि मैले मेरो तर्फबाट जोडदार खेल्ने भूमिका  खेल्ने प्रतिबद्धता पनि राख्न चाहन्छु,’ उनले भने ।
 नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक बुद्धिप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न उद्घाटनसत्रमा महासंघका केन्द्रीय अध्यक्ष हरिप्रसाद अर्याल, क्षेत्रीय शिक्षा निर्देशक हरिकृष्ण गौतमलगायतले पुस्तक नीतिको आवश्यकतामा जोड दिए । राज्यले चाडोभन्दा चाडो पुस्तक नीति बनाउनुपर्ने उनीहरूले बताए ।

 

प्रकाशित: २९ मंसिर २०७४ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App