८ वैशाख २०८१ शनिबार
राजनीति

मतपत्रमा ल्याप्चे र धेरै छाप

इलाम- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्लामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक निर्वाचनप्रणाली दुवैतर्फ गरी ३१ हजार १ सय ६९ मत बदर भएको छ। सबैभन्दा बढी प्रदेशको समानुपातिकमा १३ हजार ४ सय ६८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

धेरैजसो मतपत्रमा ल्याप्चे र एउटै मतपत्रमा एकभन्दा बढी छाप लगाउनेको संख्या धेरै छ । मतगणनामा खटेका कर्मचारीको निष्कर्ष छ–एक त मतदाता शिक्षाको हालत खराब छ, अर्को उम्मेदवार आफूले रोजेको नपरेको पनि हुनसक्छ।

प्रत्यक्षभन्दा समानुपातिकतर्फको निर्वाचनमा बढी मत बदर भएको देखिन्छ । जिल्लाका दुवै क्षेत्रको प्रतिनिधिसभाको समानुपातिकमा ८ हजार ६७ मत बदर भएको छ । प्रतिनिधिसभाकै प्रत्यक्षमा भने दुवै क्षेत्रमा गरी ५ हजार १५ मत बदर भएको छ । प्रदेशसभाका चारै क्षेत्रको प्रत्यक्षमा भने ४ हजार ६ सय १९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

समानुपातिकतर्फ प्रतिनिधिसभाको क्षेत्र १ मा ४ हजार ५ सय ३०, क्षेत्र १(१)मा ३ हजार ८ सय ३ र क्षेत्र १(२) मा ३ हजार ५७ मत बदर भएको छ। क्षेत्र २ मा समानुपातिकतर्फ प्रतिनिधिसभामा ३ हजार ५ सय ३७, क्षेत्र २(१)मा २ हजार ५ सय ९५ र क्षेत्र २(२) मा ३ हजार ३ सय १३ मत बदर भएको छ।

            प्रत्यक्षतर्फ भने प्रतिनिधिसभाका दुवै क्षेत्रमा १ लाख ३५ हजार ५ सय २१ मत खसेको थियो । प्रत्यक्षमा खसेको कुल मतमध्ये १ लाख ३० हजार ५ सय ३ मत मात्रै सदर भएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र १ मा कुल मतदाता संख्या १ लाख १ हजार ६१ रहेकामा ६४ हजार ४ सय ७९ मत खसेको थियो । यसमध्ये ६२ हजार १ सय १४ मत सदर भएको छ भने २ हजार ३ सय ६२ मत बदर छ । क्षेत्र २ मा कुल मतदाता १ लाख २ हजार ९ सय ९५ रहेकामा ७१ हजार ४२ मत खसेको थियो । खसेको मतमध्ये ६८ हजार ३ सय ८९ मत सदर छ भने २ हजार ६ सय ५३ मत बदर देखिएको छ।

            चारै प्रदेशसभामा जम्मा १ लाख ३५ हजार ४ सय १ खसेकामा १ लाख ३० हजार ७ सय ८२ मत सदर र ४ हजार ६ सय १९ मत बदर भएको छ । क्षेत्र १ (१) मा ५१ हजार ४ सय ५६ मतदाता रहेकामा ३२ हजार ६ सय ९५ मत खसेको थियो । यसमध्ये ३१ हजार ६ सय ९२ मत सदर भएको छ भने १ हजार ३ मत बदर छ । क्षेत्र १ (२) मा ४९ हजार ६ सय ५ मतदाता रहेकामा ३१ हजार ७ सय ६ मत खसेको थियो । खसेको मतमध्ये १ हजार ६४ मत बदर भएको छ।

            क्षेत्र २ (१) मा ५३ हजार ७ सय १५ मतदाता छन् । यीमध्ये ३८ हजार १६ जनाले मतदान गरेकामा ३७ हजार १ सय ४० मत सदर भयो भने ८ सय ७६ मत बदर भएको छ । क्षेत्र २ (२) मा कुल मतदाता ४९ हजार २ सय ७० रहेकामा ३२ हजार ९ सय ८४ मत खसेको छ । त्यसमध्ये ३१ हजार ८ सय ८ मत सदर छ भने १ हजार ३ सय ७६ मत बदर देखिएको छ।

            बदरमध्ये प्रत्यक्षमा चुनाव चिह्नमा औंठाछाप लगाइएका मतपत्र धेरै भेटिएका छन् । ‘मतपत्रमा औंठाछाप लगाउनेको संख्या धेरै छ,’ मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले भने, ‘एउटाभन्दा बढी चिह्नमा मतदान गर्ने, भएकाजति सबै चिह्नमा भोट हाल्ने, चुनावचिह्न भएको घेराभन्दा बाहिरतिर छाप लगाएको बढी भेटियो ।’ समानुपातिकतर्फ पनि बदरको प्रकृति उस्तै छ।

            जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्ले निर्वाचनका बेला ज्यादै छोटो समयमा सबै तयारी गर्नुपर्दा मतदाता शिक्षा भनेजस्तो गरी सञ्चालन गर्न नसकेको स्वीकार्छन् । ‘निर्वाचन हुने भो त्यसको तयारी गर्न बढीमा १ महिनाजति मात्रै रहने गरेकाले तयारी पुर्‍याउनै गाह्रो हुन्छ,’ उनले भने, ‘मतदाता स्वयं पनि भोट कसरी हाल्ने भन्नेमा सचेत भएमात्र बदर मत घटाउन सकिन्छ।’ 

            जिल्लामा स्थानीय तह र त्यसअघि भएका संविधानसभा दुवै निर्वाचनको बदर मतको तथ्यांक हेर्दा पनि मतदाता शिक्षामा सुधार भएको देखिँदैन । स्थानीय तह निर्वाचनमा जिल्लाको कुल मतदाता संख्या ७८ हजार ९३ रहेकामा १ लाख ३८ हजार ५ सय ६५ मत खसेको थियो । त्यसमध्ये १ लाख २९ हजार ४ सय मत सदर हुँदा ९ हजार १ सय ६५ मत बदर भएको थियो । स्थानीय तह निर्वाचनमा मतपत्रका ७ स्थानमा ८ छाप लगाउनुपर्ने थियो भने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ३ मतपत्रमा ४ छाप लगाउनुपर्ने थियो ।

            प्रत्यक्षतर्फकै मतपत्रमा बदर धेरै पाइएका बेला समानुपातिकतर्फको मतगणना भइरहेको छ । समानुपातिकमा एकै मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ दलको चिह्न छान्नुपर्ने भएकाले बदर मत अझ बढ्न सक्ने सम्भावना रहेको गणकले अुनमान गरेका छन् । ‘यहीअनुसार बदर भयो भने समानुपातिकमा बदर मतको बाढी आउँछ,’ उनले भने ।

            २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जिल्लाको कुल मतदाता संख्या १ लाख ६३ हजार ५ सय ५४ हुँदा १ लाख २७ हजार ६ सय ८४ मत खसेको थियो । त्यसमध्ये १ लाख २० हजार ८५ मत सदर थियो भने ७ हजार ५ सय ९९ मत बदर। समानुपातिकतर्फ जिल्लामा यो चुनावमा १ लाख ३१ हजार ४१ मत खसेकामा ४ हजार ५ सय ७२ मत बदर भएको थियो ।

            त्यसअघि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा इलाममा कुल मतदाता २ लाख १२ हजार ५४ थिए । तीमध्ये प्रत्यक्षतर्फ १ लाख ३९ हजार ३ सय ३३ जनाले मतदान गरेका थिए । मतदान गर्नेमध्ये १ लाख ३३ हजार ५ सय २४ मत सदर भएको थियो भने ५ हजार ८ सय ९ मत बदर भएको थियो । समानुपातिकतर्फ यो चुनावमा १ लखा ४२ हजार ८ सय ५५ मत खसेकामा ३ हजार ९ सय ७१ मत बदर भएको थियो । ‘बदर मतको संख्या निकै लाजमर्दो देखियो,’ मतगणनामै खटिएका एक कर्मचारीले सुनाए, ‘भोट हलाइको तरिका हेर्दा मतदाता शिक्षाको चाहिँ हालतै देखियो।’

प्रकाशित: २९ मंसिर २०७४ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App