८ वैशाख २०८१ शनिबार
राजनीति

प्रत्यक्षभन्दा समानुपातिमा बदर मत बढी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा प्रत्यक्षको तुलनामा समानुपातिक चुनावमा तीन प्रतिशतभन्दा बढी मत बदर भएको छ। प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा ७ दशमलव ३३ प्रतिशत मत बदर भएकोमा समानुपातिकमा भने १० दशमलव ९६ प्रतिशत भोट बदर भएको पाइएको हो। 

प्रतिनिधिसभामा १ लाख ५६ हजार ६ सय ३३ मत खसेकोमा ११ हजार ५ सय ५२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १ लाख ३८ हजार ६ सय ६ मत मात्र सदर भएको छ । त्यस्तै समानुपातिकतर्फ १ लाख ५५ हजार ४ सय ४० मत खसेकोमा १७ हजार ५० मत बदर भएको छ। 

समानुपातिक तर्फ आफ्नो दललाई मात्र भोट दिनुपर्नेमा मतदाताले प्रत्यक्ष जसरी नै लोकतान्त्रिक र वाम गठबन्धनका दुइवटै चिह्नमा मत दिँदा बढी बदर भएको पाइएको हो । प्रत्यक्षमा भने एकै मतपत्रमा धेरै स्वस्तिक छाप लगाउँदा मत काम नलाग्ने भएको भेटिएको थियो । 

प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ६ दशमलव ९२ प्रतिशत मत बदर भएको छ । यहाँ ७८ हजार ६ सय ९६ मत खसेकोमा ७३ हजार २ सय ४८ मत सदर भयो । ५ हजार ४ सय ४८ मत बदर भयो । त्यस्तै क्षेत्र नं. २ मा मात्र झण्डै साढे ८ प्रतिशत अर्थात ६ हजार १ सय ४ मत बदर भएको छ । यहाँ ७७ हजार ९ सय ३७ मत खसेकोमा ७१ हजार ८ सय ३३ मत मात्र सदर भयो। 

प्रतिनिधिसभा समानुपातिकतर्फ क्षेत्र नं. १ मा ७७ हजार ९ सय ३८ मत खसेकोमा १० दशमलव ७८ प्रतिशत मत बदर भयो । बदर मतसंख्या ८ हजार ४ सय ४ हुन आउँछ । क्षेत्र नं. २ मा सबैभन्दा बढी ११ दशमलव १४ प्रतिशत मत बदर भएको पाइयो । ७७ हजार ७ सय २० मत खस्दा ८ हजार ६ सय ६४ मत बदर भइ ६९ हजार ५६ मत मात्र सदर भयो। 

प्रत्यक्षतर्फ प्रतिनिधिसभा १ (क) मा ५ दशमलव ६२ प्रतिशत अर्थात २ हजार २ सय ३१ मत बदर हुँदा ३७ हजार ४ सय ६२ मत सदर भयो । यहाँ ३९ हजार ६ सय ९२ मत खसेको थियो । प्रदेशसभा (ख) मा ५ दशमलव ९५ प्रतिशत मत काम नलाग्ने भए । ३८ हजार ८ सय ५८ खसेकोमा २ हजार ३ सय १५ मत बदर भयो । यहाँ ३६ हजार ५ सय ४३ मत सदर भएको थियो। 

त्यस्तै क्षेत्र नं. २, प्रदेशसभा (क) ४ दशमलव ९५ प्रतिशत मत बदर भएको पाइन्छ । ३७ हजार २ सय १३ मत खसेकोमा ३५ हजार ३ सय ८७ मत सदर हुँदा १ हजार ८ सय २६ मत बदर हुन पुगे । प्रदेशसभा (ख) मा भने सबैभन्दा कम ४ दशमलव ४० अर्थात १ हजार ७ सय ८६ मत बदर हुन पुग्यो । सबैभन्दा बढी मत ४० हजार ७ सय ७६ मत खसेको यहाँ ३८ हजार ७ सय ९० मत सदर भयो। 

प्रदेशसभामा प्रत्यक्षतर्फ औसतमा ५ दशमलव २३ प्रतिशत मत बदर हुँदा समानुपातिकतर्फ भने सबैभन्दा बढी १४ दशमलव ८१ प्रतिशत मत बदर हुन पुग्यो । प्रदेससभा समानुपातिकमा १ लाख ५५ हजार २ सय ५९ मत खसेकोमा २३ हजार ६ मत बदर बदर भयो । यहाँ सदर मत संख्या १ लाख ३२ हजार २ सय ५३ हुन आउँछ। 

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा हरेक निर्वाचनमा बदर मत संख्या बढ्दो छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तीन प्रतिशत मत बदर भएकोमा २०७० को दोस्रो संविधानसभा चुनावमा यस्तो मत बढेर चार प्रतिशत पुगेको थियो । गत स्थानीय चुनावमा ७५ प्रतिशत मतदान हुँदा पाँच प्रतिशत मत बदर भएको कार्यालयको तथ्यांक छ । २०६४ यताका निर्वाचनमा यो पटक सबैभन्दा कम झण्डै दुई साता मात्र मतदाता शिक्षा दिइएको थियो। 

प्रकाशित: २९ मंसिर २०७४ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App