४ वैशाख २०८१ मंगलबार
अन्य

खतराका खेलाडी दिनेश

कुनै न कुनै उटपटाङ गरेरै बाल्यकाल बित्छ सबैको । उमेर बढ्दै जाँदा धेरै मानिस आफ्ना बाल्यकालका उटपटाङ हर्कत छोड्दै जान्छन् । दिनेश सुनारले भने बाल्यकालको उटपटाङलाई छाडेनन्, बरु सावधानीपूर्वक त्यसैमा करिअर बनाउनतिर अगाडि बढे ।
खोटाङको राजापानी उनको स्थायी ठेगाना हो । सात–आठ वर्षका हुँदा उनी खेतबारीका पाटा र पहाडका साना थुम्काथुम्कीमा उफ्रँदै हिँड्थे । साथीभाइ जम्मा भएर फिल्म हेर्थे, हिरो–हिरोइन अग्ला ठाउँबाट फालहालेको देख्थे । त्यस्तै नक्कल गर्थे उनीहरू । अहिले २४ वर्षका दिनेश सम्झन्छन्, ‘पाखा अनि बालुवा भएको ठाउँ देख्नै नहुने, ज्यानलाई हावामा उडाइहाल्थेँ । आमाको गाली धेरै खाइयो ।’
उमेर बढ्दै गए पनि हावामै शरीरलाई फनफनी घुमाउँदै अब्स्ट्याकल पार गर्ने बानी हटेन । बरु हावामा उड्ने, पर्खाल अनि बारहरू छलाङ मार्दै पार गर्नै स्किल बढ्दै गयो । अनि, त्यसैका लागि उनी गाउँभरि प्रख्यात हुन थाले । अब उनको ख्याति गाउँमा मात्र सीमित छैन । २०१७ मा उनले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा समेत नाम लेखाउन सफल भएका छन् ।
उनले गएको जुनमा ‘द मोस्ट ट्विस्टिङ ब्याकफ्लिप अफ अ वाल इन वान मिनेट’ टाइटलमा पहिलो रेकर्ड दर्ता गराए । दुई वर्षअघि गिनिजले नयाँ टाइटल बनाएको थियो । दुई वर्षसम्म कसैले एटेम्प्ट गरेन । त्यही टाइटलमा दिनेशले गिनिजको १५ पटकको च्यालेन्जलाई बिट गर्दै एक मिनेटमा १८ पटक ट्विस्टिङ ब्याकफ्लिप गरी रेकर्ड बनाएका  हुन् ।
उनले जुन टाइटलमा रेकर्ड राखे, त्यो टाइटल विश्वमै खतरनाक खेलका रूपमा रहेको ‘पार्कर’अन्तर्गत पर्छ । भौतिक अप्ठेरालाई जम्प गरी पार गर्ने स्किल हो, पार्कर । यसका खेलाडीलाई पनि पार्कर नै भनिन्छ । पार्कर नेपालमा खेलको नयाँ विधाका रूपमा अगाडि आइरहेको दिनेशको भनाइ छ । दिनेश आफैँले पनि धेरैपछि थाहा पाएका हुन् । उनी भन्छन्, ‘गाउँमा सानैदेखि प्राक्टिस गरिन्थ्यो तर यसको नाम थाहा थिएन ।’ पार्करबारे अलि बढी सिरियस्ली सोचेको त्यस्तै १० वर्षजति भएको उनी बताउँछन् । त्यही कारण आफूले वल्र्ड रेकर्डसम्मको सफलता पाएको उनको भनाइ छ ।
०६८ सालसम्म उनी ‘लोकल’ खोटाङका लोकल पार्कर थिए । एकपटक सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक सनतकुमार बस्नेतले दिनेशको पार्कर देखेछन् । उनको खेलबाट प्रभावित भएर बस्नेतले उनलाई काठमाडौं बोलाए । दिनेश भन्छन्, ‘सशस्त्र प्रहरीको करारका खेलाडीका रूपमा प्राक्टिस गर्न पाएँ । पछि जवान भएँ ।’ उनी जागिरे भएको ६ वर्ष भयो ।
त्यसैबीच क्यालिबर सुज कम्पनीको सहयोगमा उनले गिनिज रेकर्डका लागि आवेदन दिएका हुन् । त्यो टाइटलमा मात्र नभई पार्करको कुनै पनि विधामा रेकर्ड राख्ने उनी पहिलो नेपाली हुन् । अब उनी युएस पार्कर च्याम्पियनसिपमा जाने तयारी पनि गरिरहेका छन् । त्यसका लागि काठमाडौंका बालुवाखानीहरू र राखेपको जिम्न्यास्टिक हलमा अभ्यास गरिरहेको उनी बताउँछन् ।
दिनेशले आफैँ सिकेका भए पनि नयाँ पुस्तालाई उत्प्रेरित गरिरहेका छन् । युवाको आकर्षण निकै रहेको उनी सुनाउँछन् । उनले नेपाली हिरो–हिरोइनलाई स्टन्ट पनि सिकाउँछन् । हवल्दार सुन्तलीलगायत उनले हिरोइनको डुप्लिकेट पनि गरेका छन् ।
जोखिमपूर्ण भए पनि पार्कर सिके जोकसैलाई पनि फाइदा नै हुने उनको तर्क छ । ‘अप्ठेरा परिस्थिति पार गर्नका लागि चाहिने स्किल पार्करले दिन्छ । शारीरिक स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । त्यसैले जसले सिक्दा पनि हुन्छ ।’ तर सचेत हुन सुझाव दिँदै भन्छन्, ‘भिडियो अनि फिल्महरू हेरेर आफैँ गर्नु हुँदैन । जानेका पार्करसँग पहिले सिक्नु राम्रो हुन्छ ।’ उनी जस्तो अनुभवी पार्कर पनि रिस्की स्टेपहरू गर्दा निकै सचेत हुनुपर्छ । डबल राउन्ड (हावामा दुईचोटि घुम्नु) उनलाई सबैभन्दा रिस्की लाग्छ । यस्ता धेरै जोखिममा नेपाली पार्कर अभ्यास गर्दै छन् । ट्रेनिङ हल र सेफ्टीको अभाव नै नेपाली पार्करको समस्या रहेको उनलाई लाग्छ ।
ट्रेनिङ हल र भौतिक सुरक्षाको प्रबन्ध भएमा नेपाली पार्करले देशको नाम राख्ने सम्भावना उनी देख्छन् । २००७ देखि नै पार्करको वल्र्ड च्याम्पियनसिप हुँदै आएको भए पनि नेपालका लागि नयाँ हो । विश्वका पार्करहरूको वल्र्ड फ्रिरनिङ एन्ड पार्कर फेडेरेसनले प्रतियोगिता गरिरहन्छन् । नेपाली पार्करलाई संगठित गर्न दिनेशले आफ्नै नेतृत्वमा नेपाल पार्कर एन्ड फ्रिरनिङ असोसिएसन बनाएका छन् । अहिले अनौपचारिक समिति बनाएर सुरु गरेको संस्था दर्ता गरी पार्कर र फ्रिरनिङको विकासमा काम गर्ने योजना रहेको उनी सुनाउँछन् । पार्करका नयाँ खेलाडीलाई उत्प्रेरित गर्नु र देशमा नै खेलको रूपमा यसको विकास गर्नु यसको उद्देश्य रहेको उनी बताउँछन् ।
अहिले बालुवा, माटो निकालिएका थुम्का र डाँडाहरूमा नै नेपाली पार्करले प्राक्टिस गर्दै आइरहेका छन् । यो निकै खतरापूर्ण रहेको उनी बताउँछन् । नेपाली पार्करहरू भौतिक असुरक्षाको जोखिमबीच खेलिरहेका छन् । साथै, वर्षाैंदेखि जानिनजानी पार्करमा संलग्न उनीहरूलाई आशा छ, अब यसलाई खेलको रूपमा देशले पहिचान दिनेछ । आफैँले बनाएको असोसिएसनबाट पनि कम्पिटिसन गर्ने योजना पनि बनाएका छन्  ।
दिनेशको अनुमानमा राम्रो खेल्ने ६–७ जना पार्कर छन् नेपालमा । बिगिनर्स १५ देखि २० जना जति पार्कर छन् । उनी यी सबै पार्करको भविष्यका लागि काम गर्न चाहन्छन् । उनका लागि यो प्यासन हो, बाल्यकालदेखिकै । गिनिजको रेकर्ड होल्डर भइसकेपछि थप जिम्मेवारी महसुस भएको छ उनलाई । ‘म पार्करमै आफूलाई समर्पित गर्न चाहन्छु,’ उनी भन्छन्, ‘कस्ता अप्ठेरा परिस्थितिमा त छाडिएन । अहिले त अलिक सहज पनि छ ।’ उनलाई अहिले सजिलो भएको छ, किनकि उनी सशस्त्र प्रहरी जवान हुन् । प्रहरीबाट २२ हजार रुपैयाँजति सुविधाबाहेक छुट्टै कुनै आम्दानीको नियमित स्रोत छैन । यही जागिरमा परिवारका असन्तुष्टिलाई थामथुम पार्दै अगाडि बढ्दै छन् उनी । उनलाई गिनिजको पहिलो रेकर्डमै निकै गर्व छ । अझै कहिलेकाहीँ आमाबाबु भन्ने गर्छन्, ‘छोरा, विदेश जाउ र पैसा कमाएर भविष्य बनाऊ । खतरासँग किन खेल्छौ ?’ तर उनी भन्छन्, ‘विदेश गएर हैन । म देशमै पार्करको भविष्य बनाउन चाहन्छु । खतरासँग खेल्नुमै मजा छ ।’

के हो पार्कर ?
सन् १९०२ मा क्यारेबियन टापुमा भयानक ज्वालामुखी विस्फोट भयो । हजारौँ मानिस मारिए । त्यो विस्फोट प्रभावित क्षेत्रमा उद्धारको नेतृत्व गरेका थिए, फ्रान्सेली नेभी सेनाका लेफ्टिनेन्ट जर्ज हबर्ट । त्यो संकटमा उनले विस्फोट प्रभावित क्षेत्रका स्थानीय र युरोपियनहरूको गतिविधि राम्रोसँग नियाले । त्यहाँका स्थानीयले बाटाका बाधाहरूलाई सिर्जनशील तरिकाबाट पार गरेर आफूलाई बचाएको देखेर लेफ्टिनेन्ट चकित परे । तिनै आदिवासीको स्किलबाट प्रभावित भएर उनले फिजिकल ट्रेनिङको एक विषयको रूपमा विकास गरे । जसमा समावेश थिए, स्विमिङ, क्लाइम्बिङ, रनिङ लगायत अन्य बाधा पार गर्ने  विधिहरू । त्यतिबेला त्यसलाई नेचुरल मेथड भनियो । त्यही विधि पछि गएर फ्रेन्च मिलिटरी ट्रेनिङको एक आधार बन्यो । तिनैको कामबाट प्रभावित भई त्यो विधिलाई १९५० तिर फ्रेन्च स्पेसल फोर्सले यसको व्यवस्थित विकास गरे, ‘द पाथ अफ द वारियर’ को रूपमा । पछि फ्रेन्च स्पेसल फोर्सकै एक सदस्य रेमन्ड बेलले आफ्ना छोरा डेभिड बेल र उनका केही साथीलाई सिकाए । तिनै डेभिड र उनका साथीहरू नै पार्करका पहिला प्राक्टिस्नर हुन् । डेभिड लगायत सुरुवातकर्ताले यसलाई खेलका रूपमा अभ्यास गर्ने कुरा अस्वीकार गरे पनि अहिले भने पार्करको विश्व फेडेरेसन बनाएपछि यसका च्याम्पियनसिपहरू समेत हुने गरेको छ । सन् २००८ मा फेडेरेसन स्थापना भएपछि नै पार्करलाई स्पोर्टस्का रूपमा अगाडि बढाएको हो ।
फोटो स्रोत ः गिनिज वल्र्ड रेकडर्सको वेबसाइट र दिनेशको फेसबुक ।

प्रकाशित: १ पुस २०७४ ०३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App