६ वैशाख २०८१ बिहीबार
अन्तर्वार्ता

‘दलहरू एक ठाउँमा नउभिएसम्म उपलब्धि संस्थागत हुनेछैन’

सुवासचन्द्र नेम्वाङ

इलाम-२ बाट योसँगै लगातार ४ पटक चुनाव जित्ने सांसद हुन्, सुवासचन्द्र नेम्वाङ । नेम्वाङ २०४८ र ०५२ सालमा राष्ट्रियसभाको सदस्य भएका थिए । उनी ०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था, सामान्य प्रशासन र स्थानीय विकास मन्त्री भएका थिए । २०५६ र ०६४ मा उनी दुईपटक सभामुख तथा संविधानसभाको अध्यक्ष भइसकेका छन् ।

विपक्षीले गरेको बिनाआधारको आलोचना जनताले पत्याएनन् । त्यसको जवाफ मैले दिनुपरेन ।

निर्वाचित भएपछि कस्तो अनुभव भइरहेको छ ?    
    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँगै संविधानको ठोस कार्यान्वयन भएको छ । त्यसमा पनि म आफैँले नेतृत्व गरेको संविधानसभाले बनाएको संविधानअन्तर्गत चुनाव भएकाले पनि अझ गर्वको अनुभूति भएको छ । इलामका जनताले चौथोपटक मलाई जिताउनुभएको छ । वर्षाैँदेखि लडेर ल्याएको संघीयताअन्तर्गत प्रदेशको चुनावसमेत भएको छ । यो खुसी शब्दमा व्यक्त गर्न सकिने खालको होइन । असीम खुसी छु ।

निर्वाचित सांसदको हैसियतले आफ्नो क्षेत्रका कस्ता कार्ययोजनालाई प्राथमिकतामा राख्नुहुन्छ ?    
    हामीले राम्रोसँग लोकतान्त्रिक परिपाटी बसाएका छौँ । सरकार बनाउने र लडाउने खेल चल्दै आएकामा त्यो परिपाटी अन्त्य गर्दै नेपालका लागि नयाँ परिवेश तयार भएको छ । दलहरूबीच गठबन्धन गरेर स्थायी सरकारका निम्ति हामी अघि बढेका छौँ । जनताको जनमत अनुसार धेरै पाउनेले पाँच वर्ष सरकारमा बस्ने र नपाउनेले पाँच वर्ष प्रतिपक्षमा बस्ने प्रक्रियाले अब मूर्त रूप पाउँछ । देश नयाँ युगमा प्रवेश गरेको छ । राजनीतिक परिवेशकै कारणले ०५६ सालमा म निर्वाचित हुँदा मेरो क्षेत्रमा एउटा बिजुलीको बल्ब झुन्डिएको थिएन । एक किलोमिटर मोटरबाटो थिएन । विकास ज्यादै ओझेलमा थियो । टेलिफोन थिएन । मैले जितेपछि ०७४ सालसम्ममा निकै परिर्वन भएको छ ।
    तर, म यतिमै सन्तुष्ट छैन । अब पहिलो काम मेरो क्षेत्रमा नयाँ थपिएको इलाम नगरपालिकालाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने सबैभन्दा छोटो सडक सञ्चालन गर्ने नै हो । इलाम बजारबाट भञ्ज्याङ हुँदै बेलासे पुल भएर झापा जोड्ने रुट निर्माण गर्नु इलाम नगरपालिकाका लागि पहिलो आवश्यकता छ । पश्चिमी २ नम्बरका बासिन्दा त्यतैबाट झापन झर्ने रुट मेरै पालामा बनेकाले अहिले सदरमुकाम रहेको इलाम नगरपालिका बिस्तारै ओझेलमा पर्ने सम्भावनाले तराईको राजमार्ग जोड्ने छोटो सडक मैले कल्पना गरेको छु । इलाम, सन्दकपुर, पाँचथरको प्राङबुङ हुँदै कञ्चनजंघा बेसक्याम्प जोड्ने ट्र्याकको काम पनि मेरो योजना हुनेछ । निर्माण हुँदै गरेका र सञ्चालनमा रहेका कच्ची सडकमा कालोपत्रे गर्नुपर्ने आवश्यकता छ । शिक्षा, स्वास्थ्य, खानेपानीका विषय त्यस्तै जल्दाबल्दा छन् । यी सबै क्षेत्रमा मैले ध्यान दिनुपर्नेछ ।
 

अन्य दललाई समेटेर कसरी अघि बढ्नुहुन्छ ?
    जसरी संविधान बनाउन दलहरू सबै मिलेर लागिपरेका छन् । यसको कार्यान्वयनका लागि पनि दलहरू एक ठाउँमा उभिनुको विकल्प छैन । आफू मात्रै कुदेर पहिलो हुने सम्भावना अब छैन । हामीले संविधानमै सहमति, सहकार्य र एकतालाई महŒव दिएका छौँ, सिद्धान्त बनाएका छौँ । लोकतन्त्रको रक्षा र नागरिकका अधिकार स्थापित गर्ने मामलामा म यो दल र त्यो दल भन्नुभन्दा सहकार्यमै अघि बढ्नुपर्छ । नयाँ संविधान, संघीयता, लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन एक ठाउँमा उभिएर मात्रै सम्भव छ । म सांसदका रूपमा रहँदा दलहरूबीचको तिक्तता बिर्सेर अघि बढ्नुपर्छ भन्ने मान्यता राख्छु । मैले पटक–पटक भन्ने गरेको छु, दलहरू एकठाउँमा नउभिएसम्म अहिलेसम्मको उपलब्धि संस्थागत हुनेछैन ।
 

तपाईंको क्षेत्रका मुख्य समस्या कस्ता छन् ?
    मैले अघि पनि भनेँ, मेरो क्षेत्रमा अहिलेको प्रमुख आवश्यकता नै इलाम सदरमुकाम रहेको इलाम नगरपालिकालाई अन्य स्थानसँग कनेक्सन गराउनु हो । त्यो पनि छोटोभन्दा छोटो माध्यमबाट । इलाम नगरपालिकाबाट झापा पुग्न अहिले कम्तीमा ७० किलोमिटरको यात्रा गर्नुपर्छ । तर, मैले कल्पना गरेको ४० इलाम बजारबाट भञ्ज्याङ हुँदै बेलासे पुल भएर झापा जोड्ने रुटबाट ४० किलोमिटरमै पूर्वपश्चिम राजमार्ग पुगिन्छ । यो सडक बनेन भने इलाम नगरपालिका सधैँ पछि पर्छ । त्यस्तै, इलाम, सन्दकपुर, पाँचथरको प्राङबुङ हुँदै कञ्चनजंघा बेसक्याम्प जोड्ने ट्र्याकको काम मेरो निकै पहिलादेखिको कल्पना हो । त्यसलाई पूरा गर्न अब हामी सक्षम हुनुपर्छ । त्यो नहुँदा जिल्लामा पर्यटनको प्रचुर सम्भावना त्यसै खेर गइरहेको छ । कृषि, पशुपालन, व्यापारलगायत क्षेत्रका समस्या भनिसाध्य छैन । तैपनि, निकै सुधार भएको छ । अब ती चुनौतीको डटेर सामना गर्ने बेला भएको छ ।

तपाईंले आफ्नो क्षेत्र÷जिल्लाका लागि तत्काल गर्ने तीनवटा काम के–के हुन् ?
    हामीले समृद्धि र सुशासनको नारालाई मूर्त रूप दिनुछ । इलामको मुख्य सम्भावना पर्यटनकै हो । त्यसका लागि पूर्वाधार तयार गर्नु पहिलो आवश्यकता हुनेछ । पर्यटन र कृषिलाई नै सहयोग पुग्नेगरी जिल्लामा बाह्रैमास सवारी साधन चल्ने सडक आवश्यक छ । त्यस्तो सडक बनाउनु विकास र समृद्धिको मार्गमा पहिलो खुड्किलो भएको छ । कृषिमा आधुनिकीकरण, औद्योगिकीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीको पहुँच सबैमा पु¥याउनुलाई पनि तत्कालको कामका रूपमै लिएको छु ।   
 

सांसदले खालि आश्वसन बाँड्छन्, पूरा गर्दैनन् भन्ने आमगुनासो छ । यसबारे के भन्नुहुन्छ ?    
    विपक्षीले गरेको बिनाआधारको आलोचना जनताले पत्याएनन् । त्यसको जवाफ मैले दिनुपरेन । यो चुनावमा जनताले नै राम्ररी दिएका छन् । यसअघि पनि विकासको यस्तै कुरा भयो । क्षेत्र नम्बर—२ का जनता अहिले पनि सोझै झापा जाने गर्छन् । प्रशासनिक कामका लागि मात्र सदरमुकाम आउने हुन् । अहिले पनि क्षेत्र नम्बर–२ को प्रतिनिधि हुँदै गर्दा पनि मैले मेरो क्षेत्र मात्र होइन, सिंगो इलामका लागि काम गरेको छु भन्ने दाबी छ मेरो । इलामको विमानस्थल निर्माण, अर्बांैको सडक र पुलको काम, इलाम बजारमा बनेको शितभण्डार, माइपोखरीलाई रामसार क्षेत्रमा सूचीकृत गर्नेजस्ता सयौँ काम मेरै पहलमा भएको मैले भनिरहनुपर्दैन, स्थानीयलाई थाहै छ । मैले के–के काम गरेँ भनेर विपक्षी वा नकारात्मक भावना अभिव्यक्त गर्नेहरूसँग प्रमाण पेस गर्नुपर्ने आवश्यकता छैन । त्यो इलाममा निर्माण भएका पूर्वाधारले जवाफ दिएका छन् । अब, सन्दकपुरसम्म जाने सडक, माइपोखरीसम्मको कालोपत्रे, जिल्लामा पर्यटकीय पदमार्ग निर्माणको योजना ल्याउनुपर्छ भनेर लागिरहेको छु ।

मतदातालाई के सन्देश छ ?
    सिंगो इलामका मतदातासँग मेरो के आग्रह छ भने दलहरू चाहेर, नचाहेर गलत बाटोमा पनि जान सक्छन् । यस्तो अवस्थामा दलहरूलाई झकझक्याउने जनताले नै हो । जनताले त्यो काम गर्नुपर्छ । अहिले पनि जनताले दूधको दूध, पानीको पानी छुट्याइदिएकै छन् । जनतालाई धन्यवाद दिन्छु र जनताले दिएको जिम्मेवारी पूरा गर्छु । अब देश राजनीतिबाट आर्थिक क्रन्ति र समृद्धितिर लम्केको छ । त्यसमा आ–आफ्नो भूमिका निर्वाह गरौँ ।

प्रस्तुति : भीमप्रसाद चापागाईं

 

प्रकाशित: २ पुस २०७४ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App