७ वैशाख २०८१ शुक्रबार
विचार

भावी प्रधानमन्त्रीलाई खुलापत्र

सम्माननीय केपी शर्मा ओलीज्यू, अभिवादन ! सर्वप्रथम अत्यधिक जनमत प्राप्त गरी प्रतिनिधि सभाका लागि निर्वाचित हुनु भएकामा हार्दिक बधाइ । सदियौँदेखि अन्याय, अत्याचार, उत्पीडन एवं गरिबीबाट थलिएको नेपाली समाजलाई उन्मुक्तिको आशा जगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा समाजवाद निर्माण गर्ने बहुमतप्राप्त शक्तिशाली प्रधानमन्त्रीका रूपमा चाँडै नै तपाईंलाई देशले प्राप्त गर्ने सुनिश्चित छ । नेपालकै इतिहासको अत्यन्तै लोकप्रिय सरकारका गृहमन्त्री एवं तत्पश्चात् परराष्ट्र र प्रधानमन्त्रीका रूपमा नेपाली समाजलाई आमूल रूपमा सकारात्मक रूपान्तरणका लागि तपाईंले प्रस्तुत गर्नुभएको इच्छाशक्ति, प्रतिबद्धता र चाहनाले देशभरि नै नयाँ आशा, उत्साह र उमंग सञ्चार भएको छ । अब उक्त कुराहरूको कार्यान्वयनका लागि देश प्रतीक्षारत छ ।

देशका प्रबुद्ध, दिग्गजहरू र शक्तिशाली छिमेकीहरूले सुइको समेत नपाउने गरी तपाईं र कमरेड प्रचण्डले वाम गठबन्धन निर्माण गरेर देशैभरिका जनताहरूमा लामो नैराश्यको अन्त गरी उत्साह र उमंग जगाउँदै सकारात्मक रूपान्तरण, राजनीतिक स्थायित्व र समृद्धिको आधार तयार गर्नुभयो । तपाईंहरूले निर्माण गर्नुभएको यो महान् गठबन्धनलाई जनताले अत्यधिक मन पराए र त्यसकै जगमा निर्वाचनमा यो परिणाम प्राप्त हुन सम्भव भयो । जनताको विचारमा गरिबी, विभेद, अन्याय, अत्याचार, कुरीति, बहिष्करण र औपनिवेशिक शासन सत्ताको अन्त्य गर्ने यही मात्र एक विकल्प थियो । मेरो विचारमा जनताले वाम गठबन्धनलाई मत मात्रै दिएका छैनन् वर्षौंदेखि पिल्सिएर रहेका भावना र चाहनालाई प्रष्फुटन गराएका छन् । पटकपटक ठगिएका जनताले यसपटक निकै आश र भरोसायोग्य सहयात्री पाएको अनुभूति गरेका छन् । मलाई विश्वास छ, तपाईंले जनताको आशा र भरोसालाई बचाइराख्न जस्तोसुकै कुर्वानी दिन तयार हुनुहुनेछ र जनतालाई उनीहरूको निर्णयप्रति गर्व गर्ने प्रशस्त अवसर दिनुहुनेछ ।
जनतामा तपाईं र राजनीतिप्रति जति जति विश्वास बढ्दै जान्छ त्यति नै समृद्धिको यात्रा द्रुतगतिमा अगाडि बढ्छ । जनतामा आएको यो जागरण र विश्वासले नै विकासको आधारशिला तयार गरेको छ । यस्तो अनुकूल परिस्थितिमा सरकारले विकासको प्राथमिकतालाई सही तवरले निर्धारण गर्न सक्यो भने मात्रै विकास र समृद्धिको यात्रा तय गर्छ । योजना आयोगका क्रियाकलापहरू र वाम गठबन्धन लगायतका पार्टीहरूका घोषणापत्रहरूले निर्दिष्ट गरेका विकासका योजनाहरूलाई विश्लेषण गर्दा विकासको प्राथमिकता सही रूपमा पहिचान भएको देखिँदैन । सरकारले प्राथमिकता निर्धारण गर्न सकेन भने विगतका धेरै ५ वर्ष जस्तै आगामी ५ वर्ष पनि त्यसै नै बित्नेछ ।  जनताको बुझाइमा विगतका ५ वर्षभन्दा आगामी ५ वर्ष निकै फरक र महत्वपूर्ण छन् । आगामी ५ वर्षको सरकारको भूमिकाले नै तपाईं र तपाईंको सरकारको महत्व सँगसँगै सिंगो जनताको समृद्धिको चाहना एवं कम्युनिस्टको भविष्य निर्धारण गर्नेछ ।

सम्माननीय भावी प्रधानमन्त्रीज्यू, तपाईंको क्याबिनेटको पहिलो बैठकले नै नेपालमा सकारात्मक रूपान्तरणको जग बसाल्न सक्नेछ । तपाईंलाई थाहै छ, नेपाली समाज विभिन्न वर्ग र तहमा विभाजित छ । समृद्ध र उच्चवर्गको तुलनामा गरिब न्यून वर्गका जनतालाई सरकारको खाँचो धेरै छ  तर विगतका अरू प्रधानमन्त्रीजस्तै तपार्इंसमक्ष उहाँहरूको पहुँच हुन्छ भन्ने कुरामा मलाई शंका लागेको छ ।
अहिले हाम्रो समाज कृषियुगमा नै छ भने विकसित विश्व सूचना तथा प्रविधिको युगमा छ र यस्तो अवस्थामा हामीले हाम्रा रणनीतिहरू कृषि युगबाट सिधै सूचना तथा प्रविधिमा फड्को मार्ने गरी केन्द्रित गरेर २१ आँै शताब्दीको विकास प्राप्त गर्ने गरी लक्षित गर्नुपर्नेछ । स्मरण रहोस्, विगतकै कुराहरूको टालटुल र सामान्य सुधारले नयाँ नेपालको यात्रा तय हुन सक्दैन । विकास भनेको भौतिक पूर्वाधार होइन, यो मानिसको चेतना, सोच्ने शैली, स्रोत र साधनको उपयोग गर्ने सीप र व्यवहार गर्ने तरिका हो । भौतिक पूर्वाधार एउटा अंग मात्रै हो जुन मानवीय विकासको सहउत्पादन हो । सहउत्पादनलाई प्रमुख प्राथमिकता मानेर नीति तथा रणनीति बनाउने विगतका प्रधानमन्त्रीले जस्तै कमजोरी नहोस् भन्ने चाहन्छु । देश धनी हुन विश्वका सबै मानिसहरूका लागि उपयोगी हुने हाम्रै मौलिकता जनाउने विशिष्ट र महत्वपूर्ण उत्पादन हुन जरुरी छ । त्यस्तो उत्पादन मानवीय चेतनाको उपज हो । त्यसकारण तपाईंले यतातर्फ विशेष ध्यान दिनु हुनेछ र हर क्षेत्रमा नयाँ आविष्कार गर्ने गरी देशमा वार्षिक करिब ५ लाख युवाहरूलाई वैज्ञानिक चेतना र सीप सिकाउने वातावरण निर्माण गर्नुहुनेछ ।

हाम्रो रूपान्तरणको आधार भनेको जनसंख्या र जमिन हो । हामीले देशको क्षेत्रफल बढाउन सक्दैनौँ तर उत्पादनको साधनका रूपमा रहेको जमिनको उत्पादकत्व करिब १० गुणासम्म वृद्धि गर्न सक्छाँै । तपाईंको नेतृत्वको सरकारले यसका लागि आवश्यक वातावरण निर्माण गर्न सक्छ । हाम्रो देशको उत्पादनशील जनशक्तिलाई सीप र दक्षताले परिपूर्ण बनाउन सक्यौँ भने आगामी दुई वर्षमा हामी खाद्यान्नमा निर्भर भएर निर्यात गर्न सुरु गर्न सक्छौँ । हाम्रो जमिनको उत्पादकत्वमा नाटकीय रूपमा वृद्धि हुन्छ भने लाखौँ रोजगारीका अवसरहरू सिर्जना हुन सक्छन् । दक्ष जनशक्तिको प्रभाव बहुआयामिक रूपमा पर्छ । पर्यटन व्यवसाय, आइसिटी, औषधी, यान्त्रिक निर्माण, प्रविधि निर्माण, शिक्षालगायतका क्षेत्रहरूलाई बजारयोग्य वस्तुका रूपमा रूपान्तरण गरेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । तर यसका लागि असाधारण सोच, दृढ इच्छाशक्ति र असाधारण प्रतिबद्धता आवश्यक पर्छ जुन तपाईंबाट आश गर्न सकिन्छ ।

विगतमा चुनाव जित्न तपाईंको आदर्शसँग टाढाको पनि कुनै साइनो नभएकाहरूसँग पनि भोटका लागि उदार हुनुप¥यो होला तर अबको ५ वर्षपछि हर जनताहरूले तपाईंको दललाई खोजीखोजी भोट हाल्ने बनाउन ती व्यक्तिहरू जुनसुकै भेषमा भए पनि उनीहरूलाई निमिट्यान्न पारेर दण्डहीनता, अराजकता, असहिष्णुता मान्य छैन भन्ने सन्देश जनताले छिट्टै प्राप्त गर्न सकेमा जनताको तपार्इंप्रतिको आस्था र विश्वास अझ बढेर जानेछ भने जनताको मुहारमा मुस्कान छाउनेछ ।
हर क्षेत्रमा भएको चरम राजनीतिकरणले गुणस्तरीय सेवा, जवाफदेहिता, जिम्मेवारीपन, सुशासन, समाजिक न्यायजस्ता कुराहरू दिवास्वप्न भएका छन् । सबै क्षेत्रहरूमा भएको अति राजनीतिकरणको अन्त गरी जनवर्गीय संगठनहरूलाई रूपान्तरण गरी उत्पादनमुखी, गुणस्तरीय सेवामुखी, उच्च जवाफदेहिता र जिम्मेवार वहन गर्न सक्ने निकायहरूको रूपमा निर्माण गर्न आवश्यक छ भने योग्यता र दक्षतामा विश्वास गर्ने समाज निर्माणतर्फ यात्रा तय गर्नुपर्नेछ । नेपाली जनतालाई चकित पार्ने गरी तपाईंको सरकारले द्रुत गतिमा कार्यहरू सम्पन्न गरेर नयाँ संविधान एवं अधिकारमा आधारित नयाँनयाँ नियम कानुनहरूको निर्माण गरेर पुराना पञ्चायती कालका ऐन, नियम, नीति तथा रणनीतिहरूलाई प्रतिस्थापन गरी नेपाली समाजमा दण्डहीनताको अन्त गर्दै समाजवादउन्मुख गतिशील समाजको निर्माण गर्न सफलता प्राप्त होस्, शुभकामना ।  

 

प्रकाशित: ३ पुस २०७४ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App