coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

प्रस्तावित राजधानी

सुरेश किरण

संघीय व्यवस्था आएपछि देशभित्र प्रदेशहरू आए । त्यो पनि दुई–चारवटा होइन । पूरै सातवटा । अब प्रदेश आएपछि त्यसभित्र राजधानी पनि आउने नै भयो । अहिले सातवटा प्रदेशभित्र सातैवटा राजधानीको खोजी भइरहेको छ । अहिले राजधानीको खोजी हुँदा पो थाहा भयो, देशमा राजधानी बनाउन लायक सहरहरू त दर्जनौँ भइसकेका रहेछन् । त्यसैले अहिले एउटै प्रदेशभित्र पनि विभिन्न सहरबीच राजधानी आफूतिर तान्ने तानातान चलिरहेको छ । जो भेटिए पनि राजधानी नै चाहियो भन्ने । कुनै बेला प्रदेशै चाहिँदैन भन्नेहरू पनि अहिले राजधानी चाहियो भनेर आन्दोलन गरिरहेका छन्। 

प्रदेशको राजधानी आफ्नै जिल्लामा राख्नुपर्छ भनेर आन्दोलन चलाइरहेका एक बथान आन्दोलनकारीहरू अस्ति काठमाडौंमा भेटिए । काठमाडौं पनि एउटा राजधानी नै हो । तर प्रदेशको होइन, देशको । प्रदेशको राजधानी आफ्नै जिल्लामा राख्नुपर्छ भनेर लबिङ गर्न उनीहरू काठमाडौं आएका रहेछन् । बाटैमा भेटियो । चिनजान त थिएन । तथापि संवाद उनीहरूले नै सुरु गरे।

म बाटोमा हिँड्दै थिएँ, एक हुल मानिसले मलाई रोके । अनि सोधे, ‘ए दाइ, यहाँ सिंहदरबार कता पर्छ हाँ ?’

सिंहदरबार ?! सिंहदरबार कता पर्छ थाहा नहुने को बटुवा रहेछन् यिनीहरू ? मैले मलाई नै प्रश्न गरेँ । मनमा कुतूहल जाग्यो । जसलाई सिंहदरबार कता पर्छ थाहा छैन, उनीहरू किन सिंहदरबार जान लाग्या होलान् ? प्रश्न उनीहरूलाई नै गरेँ, ‘बाटो त यही हो । तर तपाईंहरू  सिंहदरबार जान लाग्या चाहिँ किन हो नि ?’
बथानको अगुवाई गर्दै आएका एकजना गगल्सधारी युवा अघि सरे । उनले भने, ‘दाइ हामी त राजधानी माग्न सिंहदरबार जान लाग्या ।’
‘राजधानी माग्न ?’  उत्तर अनौठो लाग्यो, ‘केको राजधानी ?’
‘प्रदेशको,’ छोटो उत्तर आयो ।
‘के तपाईंहरूको जिल्लामा राजधानी छैन ?’ मैले सोधेँ ।
‘नभएर त माग्न आएको नि,’ अर्को युवा बोले, ‘प्रदेशका सबै जिल्ला अहिले राजधानी राख्न दौडधुप गरिरहेका छन् । हामी पनि त्यही राजधानीका लागि आएका हौँ ।’
‘तर, राजधानी भन्या माग्दैमा पाइने कुरो त होइन,’ मैले भनेँ ।
सबैको अनुहारमा अचानक बादल लाग्यो, ‘किन ?’
मैले विस्तार लाएँ, ‘हेर्नुस्, राजधानी राख्न त राजधानी बन्नलाई चाहिने मापदण्ड पूरा गर्नुपर्छ । के तपाईंहरूको  जिल्लाले त्यो मापदण्ड पूरा गरेको छ ?’
‘अरे, त्यो त पूरापूर पूरा गरेको छ,’ इस्टकोट लगाएका अर्का अधबैंसे व्याख्या गर्न अघि सरे, ‘राजधानी बन्नलाई चाहिने सम्पूर्ण मापदण्ड हाम्रो जिल्लामा छ ।’
‘साँच्चै हो र ? गाडी गुड्छ त तपाईंको जिल्लामा ?’ मैले टेस्ट लिन चाहेँ ।
इस्टकोटे अधबैंसेले छाती फुलाएर भने, ‘अरे गाडी गुड्छ मात्र होइन, गाडी गुडेपछि पूरा धुलैधुलोले सडक पूरै ढाक्छ । राजधानी बन्नलाई सडकमा धुलो उड्नुपर्छ होइन ?’
‘हाँ ?!’ के भन्छ यो ? उसले के भन्न खोजेको हो मैले ठम्याउनै पाएको थिएन, कालो चस्मा लगाएका अर्का इस्टकोटेले त्यसैमा थपे, ‘धुलो मात्र होइन, धुवाँ पनि प्रशस्तै उड्छ । गाडी गुडेपछि मान्छेको अनुहारै कालो भइदिन्छ ।’
‘अनि पानी नि पानी ? पानीको के व्यवस्था छ ?’ मैले प्रश्न थपेँ ।
‘पानीको त चिन्तै नगर्नुस्,’ गगल्सधारी युवाले नै भने, ‘धारो सबैको घरमा छ तर पानी भने कहीँ पनि आउँदैन । आए पनि लेदो, कालो, हरियो, पहेँलो पदार्थ मात्रै आउँछ । यति भएपछि राजधानी बन्न पुगिहाल्यो नि । पुग्दैन दाइ ?’
मेरो दिमागको नसा फुल्न थाल्यो । केही भन्न सकिरहेको थिइनँ, बथानका एक मात्र महिला सहभागीले पनि मुख खोली हालिन्, ‘यहाँले सफाइबारे सोचिरहनुभएको होला । त्यसमा पनि चिन्ता लिनुपर्दैन । हामीले जिल्लाको सरसफाइलाई पूरै लथालिंग बनाइसकेका छौँ । १५ दिनमा एकपटक फोहोर उठाउने हो । नउठाउन्जेल मुख्य–मुख्य सडकको चोकचोकमै थुपारेर राख्ने हो । १५ दिनभित्र त्यहाँ फोहोरको यति ठूलो डंगुर बन्छ कि त्यसबाटै थाहा हुन्छ, प्रदेशको राजधानी यही हो । अरु भन्नैपर्दैन।’

‘ओहो !’ मेरो मुखबाट एक लामो विशादपूर्ण सुस्केरा निस्क्यो । तर उनीहरूले ठाने, यो आश्चर्यको ‘ओहो’ हो । सायद त्यसैले होला, आफ्नो प्रस्तावित राजधानी जिल्लाको व्याख्यालाई अझ विस्तार गर्न थाले, ‘हेर्नुस्, यो फोहोरलाई अझ भयावह रूप दिन हामीले मूल सडककै केही खासखास बिन्दूहरूमा ढल पनि फुटाएर राखेका छौँ । ढल त कुनै बेला फुटेको थियो तर हामीले त्यसको मर्मत गर्न दिएनौँ, जसले गर्दा पूरा सडकमै ढल बगेर टाढाटाढासम्मै दुर्गन्ध फैलिएको छ । अलिअलि त गन्हाउँछ, तर के गर्नु जिल्लालाई राजधानी बनाउने हो भने त्यति त सहनैपर्‍यो, होइन र ?’

‘सुरक्षा क्षेत्र पनि हाम्रो तगडै छ,’ अब बोल्नेचाहिँ कालो भुसतिघ्रे सहभागी थिए, ‘राजधानी भनेपछि त्यहाँ टाइम–टाइममा विभिन्न काण्ड पनि हुनैपर्‍यो । जिल्लामा एउटै पकेटमार नपाएर गएको महिना हामीले छिमेकी जिल्लाबाट पाँचजना पकेटमार झिकाएर सक्रिय बनाएका छौँ । यही काठमाडौंमा बस्ने केही डनहरूलाई पनि हाम्रो जिल्लामा बस्ने हो भने पूरै सुरक्षा दिन्छु भनेका छौँ । उनीहरूले सोचेर जवाफ दिन्छु भनेका छन् । उनीहरू आएपछि राजधानीको मापदण्ड ९० प्रतिशत पूरा होला जस्तो लागेको छ ।’
‘एउटा कुरा छुटाउनुभयो तपार्इंले,’ कालो चस्मेले सच्याए।

‘के कुरा ?’ भुसतिघ्रे झस्के ।
‘गाउँबाट नानाभाँती मान्छे झिकाएर नदीको वरिपरि सुकुम्बासी वस्ती बनाएको बिर्सिनुभयो ? सुकुम्बासी बस्तीविना त के राजधानी बन्थ्यो र !’
‘ए, हो त, कस्तो बिर्सेको । जेहोस्, राजधानी बन्नलाई चाहिने सबै मापदण्ड हामीले पूरा गरिसकेका छौँ । अब सिंहदरबारले ल हुन्छ मात्रै भन्दिएपछि राजधानी चालू भइहाल्छ  । मापदण्ड त ठीक छ होइन दाजु ?

भुसतिघ्रे लगायत सबैको नजर ममाथि आएर अडियो । अब यस्तोमा मैले के भन्नु ? जवाफमा भनेँ, ‘अब यो पनि सिंहदरबारै गएर सोध्नुस् न । तपाईंहरू सायद निराश हुनुपर्दैन होला ।’
सबैजना खुसी हुँदै सिंहदरबारतिर लागे । मविपरीत दिशा हुँदै यतातिर आएँ ।   

प्रकाशित: ८ पुस २०७४ ०४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App