४ वैशाख २०८१ मंगलबार
अन्तर्वार्ता

‘सबै कुरा एकैसाथ पाँच वर्षमै भन्दैनौँ’

कञ्चनपुर क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गर्दै विजयी भएका नेकपा एमालेका डा. दीपकप्रकाश भट्टसँग गरिएको कुराकानी:
चुनाव जितेपछि कस्तो महसुस भइरहेको छ ?
स्वाभाविक रूपमा वामगठबन्धनको उम्मेदवारको हैसियतमा मतदाताको बीचमा जाँदा देशैभरि उत्साहको वातावरण थियो र  जनतामा विश्वास झल्किन्थ्यो । स्थायी सरकारको पक्षमा देशमा आर्थिक समृद्धिको दिशामा लैजान बन्नुपर्ने वातावरण  वामगठबन्धनले दिन सक्छ भनेर त्यहीअनुसार मतदाताले मतदान गरे र परिणाम पनि आयो ।
तपाईंका प्राथमिकता के के हुन् ?
कञ्चनपुर क्षेत्र नम्बर ३ मा लामो समयदेखि राष्ट्रिय स्तरको योजना वा स्थानीय तहबाट भएका विकासका प्रयास अस्थिर राजनीतिक वातावरणका कारण गति लिन सकेको थिएन । अब यी विकासका योजनालाई अगाडि बढाउनुपर्छ । स्वास्थ्य, शिक्षा, याताायात र अन्य विकासका आयामलाई अगाडि बढाउने सोचका लागि तयारी गरेको छु । रोजगारीका सम्भावनाका कुरा छन्, राष्ट्रिय अर्थतन्त्र पराश्रयी बनिरहेका बेला राष्ट्रिय पुँजी र अर्थतन्त्रलाई बलियो बनाउने चुनौती पार गरी रोजगारी सृजना गर्ने नीति अवलम्बन गरिनु आवश्यक छ ।
प्रदेश ७ मा यहाँका जनताको अपेक्षा बमोजिम काम भएन भन्ने सुनिन्छ, अहिले पनि ४५ प्रतिशत बढी गरिबी यहाँ छ । तपाईंको योजना के छ ?
राष्ट्रिय स्तरको, प्रदेश  र निर्वाचन क्षेत्रको घोषणापत्र जनताबीच पु¥याएका छौँ । जहाँसम्म प्रदेश नम्बर ७ हिजोको सुदूरपश्चिमको विकास राष्ट्रिय गतिसँग पछाडि पारियो । विगतमा यो क्षेत्रबाट नेतृत्वमा गएकाले यसमा ध्यान दिएको पाइएन । देशभित्रै विकासमा असन्तुलन देखियो र सीमान्तीकृत पार्ने काम भयो । सुदूरपश्चिम क्षेत्रबाट पटकपटक प्रधानमन्त्री बनेका लोकेन्द्रबहादुर चन्द हुन् वा शेरबहादुर देउवा हुन् वा पटकपटक मन्त्री बनेका अन्य व्यक्तिले यस क्षेत्रको विकासलाई भन्दा आफू र आफ्ना वरिपरिका व्यक्तिको विकासलाई केन्द्रित गरी विकासको गलत व्याख्या गरेको पाइन्छ ।  पहिलो कुरा राष्ट्रिय स्तरमै पहल गरेर र हस्तक्षेप गरेर राष्ट्रिय पुँजी बलियो बनाएर अर्थतन्त्र बलियो बनाउने दिशामा लैजानुपर्छ ।  प्रदेश ७ को सवालमा जलस्रोत, जडिबुटी लगायतका सम्भावनालाई विकासमा परिणत गरिनुपर्छ । कञ्चनपुरलाई व्यापारिक नाकाको रूपमा विकास गर्न ०६७ सालदेखि थालिएका प्रयास ढिला नगरी अगाडि बढाउनुपर्छ ।
२० वर्षदेखि डिपिआर बनेर कार्यान्वयन हुन नसकेको पञ्चेश्वर परियोजनालाई कूटनीतिक पहल गरेर बिजुली निर्माण गर्नुपर्नेछ ।  राष्ट्रिय स्तरकै पश्चिम सेती परियोजनालाई निर्माण गर्नुपर्ने छ । ०६७ देखि सुरु भएको महाकाली–सेती लोकमार्ग निर्माणको कामलाई अघि बढाएर उत्तरतिरको नाका जोड्नुपर्छ । भीमदत्त नगरपालिका र दोधारा चा“दनी नगरपालिका जोड्ने महाकाली नदीमा चार लेनको महाकाली पुल निर्माण सम्पन्न गर्नुपर्नेछ । सुख्खा बन्दरगाह बनाउने काम अलपत्र छ । त्यो सम्पन्न गर्नुपर्ने छ । जोगबुढामा पक्की पुल निर्माण गरेर साँच्चिकै व्यापारिक केन्द्र र कञ्चनपुरलाई व्यापारिक नाकाका रूपमा विकास गरिनेछ । यस्ता धेरै छन् । विस्तृत गुरुयोजना बनाएर स्थानीय तह, प्रदेश र केन्द्रबाट एकैचोटि पहल गर्नुपर्नेछ ।
तपाईंका चुनावी आश्वासन पूरा होलान् त ?
हामीले त्यत्तिकै कुनै आश्वासन दिने ढंगले कुरा गरेका छैनौँ । जुन वास्तविक समस्या छन्, ती उजागर गरेका छौँ । त्यही अनुरूपको प्रतिबद्धता पनि गरेका छौँ । जुन कुरा अघि बढाउने भनेर प्रतिबद्धता गरेका छौँ, त्यो गरेर देखाउने पक्षमा छौँ ।
देशले अब आर्थिक समृद्धि र विकासमा गति लेला त ?
राष्ट्रिय पुँजी निर्माण, रोजगारी सृजना गर्ने दिशातिर अर्थतन्त्र अघि बढेन । नेपाली कांग्रेसले समाजवाद भनिरह्यो तर नवउदारवादी अर्थतन्त्र लिएर अघि बढिरह्यो । राष्ट्रिय उद्योगहरू कौडीको भाउमा निजी क्षेत्रलाई बिक्री गर्ने काम भयो । उत्पादन बढाएर राष्ट्रिय पुँजी निर्माण गर्ने काम भएन । अब समाजवाद उन्मुख हुने गरी राष्ट्रिय पुँजी निर्माण गर्न कृषिलाई व्यावसायिक बनाउने, कम्तीमा मलखाद आफैँ निर्माण गर्न ध्यान दिनु जरुरी छ । जहाँ औद्योगिक क्षेत्र छन्, त्यहाँ स्वदेशी–विदेशी लगानी बढाएर रोजगारी सृजना गर्ने र परनिर्भर रहेको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा अर्थ नीति र पहल हुनुपर्छ । यो दिशामा अघि बढ्यो भने सबै कुरा एकैसाथ पाँच वर्षमै भनेर हामी भन्दैनौँ, आर्थिक समृिद्ध र विकासको दिशामा हाम्रा पाइला अघि बढेको व्यवहारमा देखिने गरी अघि बढ्न सक्छौँ भन्ने मलाई लाग्छ ।

प्रदेश ७ को राजधानी कहाँ बनाउनुपर्ला ?
विगतमा भएका अखण्ड सुदूरपश्चिम आन्दोलन र थरूहटको आन्दोलनलाई समेत ध्यानमा राखेर कैलाली र कञ्चनपुरको बीचमा चुरेसँग जोडिएको कंचनपुरको कृष्णपुर र कैलालीको गोदावरी नगरपालिकाको बीचमा राजधानी बनाउनु उपयुक्त हुन्छ ।

प्रकाशित: ९ पुस २०७४ ०५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App