coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

राज्ञी पुष्करिणी

कुनै बेला स्कुल तहको संस्कृत पाठ्यपुस्तकमा एउटा सुन्दर कविता पढ्न पाइन्थ्यो– राज्ञी पुष्करिणी । ‘रानीपोखरी’ बारे लेखिएको उक्त कविताको पहिलो पंक्तिमै भनिएको थियो– ‘प्रफुल्ल पद्य सरसा राज्ञी पुष्करिणी शुभा ।’ हाम्रो मुलुकको राजधानीमा कमलको फूलजस्तै अत्यन्त सुन्दर रानीपोखरी रहेको छ भन्ने ती पंक्तिले विद्यार्थीका कल्पनालाई उत्ताल तरंगमा अनूदित गर्थे । वास्तवमै त्यो कविताका प्रभावले कतिबेला रानीपोखरीको साक्षात् दर्शन गर्न पाइएला भन्ने भावना तिनका मनमा जागृत हुन्थ्यो । त्यसमा पनि राजधानी काठमाडौंबाहिर रहेका व्यक्तिका निम्ति रानीपोखरी कविताले उत्पन्न गर्ने आकर्षणको सीमा हुन्नथ्यो । कवि कल्पनाको पंख त्यत्तिकै फैलिएको थिएन । १७२७ सालमा राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी आफ्नी रानीलाई सान्त्वना दिन निर्माण गरेको रानीपोखरीको आफ्नै ऐतिहासिक महŒव छ । यथार्थमै रानीपोखरी सुन्दर थियो । त्यो सुन्दरतालाई अझ सिँगार्न भनेर सार्क सम्मेलनका बेला त्यहाँ पानीका फोहोरा र संगीतको तालमेलसमेत मिलाइएको थियो । भूकम्पले चौतर्फी पारेको प्रभाव रानीपोखरीमा पनि देखियो । त्यसलाई अझ सुन्दर बनाउने भन्ने कल्पनालाई साकार दिइएला भन्ने आशा पनि रह्यो । मुलुककै दोस्रो र महिलामा पहिलो राष्ट्रपति विद्यादेवी भण्डारीका करकमलबाट त्यसलाई शिलान्यास पनि गराइयो दुई वर्षअघि । बिचरो रानीपोखरीको हालत एउटा जर्जर खण्डहरमा रूपान्तरित भयो, निर्माण कार्य अघि बढ्न सकेन ।
यो यथार्थमै राष्ट्रपतिको पनि मानमर्दन हो । निर्माण गर्नु थिएन भने किन उनलाई बोलाएर उद्घाटनको नाटक गर्नु ? निर्माण कार्यको सुनिश्चितता नहुँदै भविष्यमा ताम्रपत्रमा नाम लेखाउनका निम्ति पनि शिलान्यास गराउने हतार हुन्छ । २०७२ माघ २ गते भूकम्प दिवसको अवसर पारेर राष्ट्रपति भण्डारीबाट रानीपोखरीको शिलान्यास गराउँदा अर्को भाइटीकाका दिन यसभित्र रहेको बालगोपालेश्वर मन्दिर खोल्न सकिने लक्ष्य राखिएको थियो । राष्ट्रपतिले शिलान्यास गरेको पनि दोस्रो वर्ष यो माघको २ गते पूरा हुनेछ । तर, अहिले रानीपोखरी क्षेत्रमा गएर हेर्दा उराठलाग्दो अवस्था छ । रानीपोखरीको पुनर्निर्माणमा काठमाडौं महानगरपालिका, पुनर्निर्माण प्राधिकरण र पुरातŒव विभागको संलग्नता रहेको छ । यी तीनै निकायबीच समन्वयमा समस्या देखिएका छन् । अहिले आएर पुराताŒिवक हिसाबले निर्माण कार्य सम्पन्न हुने÷नहुने निश्चित भएको छैन । महानगरभित्रको राजनीतिक रडाकोको उत्कर्ष मंगलबार देखिइसकेको छ । उपमेयर हरिप्रभा खड्गीले संरक्षणकर्मीसहित भएर अहिले भइरहेको निर्माण कार्यमा तालाबन्दी गरेको केहीपछि मेयर विद्यासुन्दर शाक्यले फेरि यसलाई सुचारु गरेका छन् । राजधानी काठमाडौंको गरिमा उठाउने जिम्मेवारी रहेको काठमाडौं महानगरको कार्यशैलीलाई यी दुईका गतिविधिले प्रस्टसँग प्रतिनिधित्व गरेका छन् । राजधानीको यस्तो बेहाल अवस्था हुनुका पछाडि यस्तै अकर्मण्यता जिम्मेवार छ । महानगर नेतृत्वले यहाँको आवश्यकतालाई ध्यानमा राखी काम अगाडि बढाउने हो भने मुलुकका अन्य नयाँ नगरपालिका र गाउँपालिका समेतलाई प्रेरणा हुन सक्ने थियो । तर, यतिबेला त्यस्तो अपेक्षा गर्न सकिने अवस्था छैन ।
रानीपोखरीको अहिलेको अवस्था हेर्दा पुराना कविताले हाम्रा सम्झनालाई मात्र बल्झाउँछ । काठमाडौंको अहिलेको अवस्था हेर्दा आदिकवि भानुभक्त आचार्यको ‘अलकापुरी कान्तिपुरी नगरी’ को गौरव कहाँ पुग्यो होला भनेर थक्थकाउनुपर्ने हुन्छ । चारैतिर हरिया डाँडाकाँडाले घेरेको मनोरम काठमाडौं आजको अवस्थामा आउनुका पछाडि यहाँको राजनीति, कर्मचारीतन्त्र र स्थानीय तहको जति आलोचना गरे पनि कम हुन्छ । यस्तो विडम्बनापूर्ण अवस्थामा सुधार ल्याउन सरकारको नेतृत्वमा रहेका व्यक्तिहरूको पनि ध्यान जानुपर्ने हो । तर, यो स्थिति परिस्थिति यसरी नै चल्ने देखिएको छ । कसैको पनि ध्यानाकर्षण हुन सक्ने अवस्था देखिएको छैन । स्थानीय निकायमा निर्वाचित पदाधिकारी आएपछि परिस्थिति फेरिएला भन्ने थियो, त्यो केवल कलाहीन नाटकमा अनूदित हुँदैछ । रानीपोखरीलाई समयमा निर्माण गरेर फेरि पुरानै गौरवमा फर्काउन ढिला भइसकेको छ । रानीपोखरी त एउटा प्रतिनिधि निर्माणस्थलमात्र हो । स्वदेशी प्रयासबाट अन्य यस्तै सम्पदाको निर्माणमा पनि गतिरोध यथावत् छ । मुलुकका गौरव बढाउन सक्ने रानीपोखरीजस्ता सम्पदाको संरक्षण र पुनर्निर्माणमा गम्भीरता आवश्यक छ । तिनको संरक्षण भावी पुस्ताका निम्ति पनि जरुरी छ । होइन भने रानीपोखरी पनि थियो र ? भन्ने अवस्था आउन सक्छ ।

प्रकाशित: १३ पुस २०७४ ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App