८ वैशाख २०८१ शनिबार
अन्य

एकता संवाद

दुई कम्युनिस्ट पार्टी एक हुने हल्ला सुरु भएको छ । अहिलेलाई हल्ला नै भनौँ । किनभने, अहिलेसम्म पार्टी एकीकरणको सल्लाह समेत भइसकेको छैन । यदाकदा एकीकरणबारे दुई पार्टीका नेताबीच संवाद भने नभएको होइन । संवाद एउटै टेबुलमा बसेर भएको भने होइन । एउटा नेताले चितवनबाट प्रश्न राख्नुहुन्छ, अर्को नेताले नेपालगन्जबाट जवाफ दिनुहुन्छ । एउटाले ‘कान्तिपुर’मार्फत जिज्ञासा पोख्नुहुन्छ, अर्कोले ‘नागरिक’मार्फत जानकारी पठाउनुहुन्छ । एउटाले आकाशबाट बोलाउनुहुन्छ, अर्कोले पातालबाट ‘हजुर’ भन्नुहुन्छ । संवाद यसरी नै चलिरहेको छ । यसलाई संवादै होइन भन्न पनि मिलेन, संवाद हो भन्न पनि मिल्दैन । अतः कोही–कोही यसलाई संवाद होइन, वादविवाद पनि भन्न रुचाउँछन् । जेहोस्, वादविवाद शैलीमै भए पनि संवाद चलिरहेको छ, टुटेको छैन ।
अस्ति एउटा यस्तै संवाद भयो । एकताका लागि गरिएको संवाद भएको नाताले यसलाई ‘एकता संवाद’ भन्दा सायद फरक नपर्ला । संवाद सुरु भयो ।
‘हजुर आरामै ?’
– आरामै । अनि हजुरलाई ?
‘आरामै भन्नुपर्ला । चुनाव भर्खर सकियो । अलि सञ्चो लाग्या छैन ।’
– ए हो र ? के भएको रैछ त ?
‘त्यसो त सामान्य रुघाखोकी हो... ।’
– रुघाखोकी भनेर त्यसै नबस्नुस् । बेलुकी पानी तताएर त्यसमा अलिकति बाम हालेर बाफ लिने गर्नाेस् । दुई दिनमै ठीक हुन्छ ।
‘त्यो लिउँला नि । अँ, बरु तपाईंले भर्खरै बाम भन्ने शब्द उच्चारण गरेकाले अचानक सम्झना भयो... ।’
– के सम्झना भयो ?
‘यही वाम एकता । अब हामी एकता गर्ने होइन र भन्या ? सबैजना एकता गर भनिरहेका छन्, गरौँ न ।’
– एकता त गरौँ न । म पनि एकताकै पक्षमा छु । कहिले गर्ने भन्नुस् ।
‘मिति त के ठूलो कुरो भयो र ? पहिले थिति मिलाउनुप¥यो । सैद्धान्तिक कुरा मिलाउनुपरेन ?’
– त्यो त पर्छ । पार्टी भनेको सिद्धान्तकै आधारमा एकीकरण हुने हो ।
‘हो नि, म पनि त्यही भन्दै छु ।’
– कुरो यहीँबाट सुरु गरौँ न उसो भए  ।
‘हुन्छ नि, सुरु गरौँ ।’
– हेर्नुस्, सैद्धान्तिक कुरा नै गर्ने हो भने हामीलाई तपाईंहरूको यो माओवाद भन्ने सिद्धान्त मनपरेको छैन । सबैभन्दा पहिले तपाईंहरूले यो सिद्धान्त त्याग्नुपर्छ ।
‘ठीक छ । हामीलाई पनि तपाईंहरूको यो माक्र्सवाद र लेनिनवाद भन्ने सिद्धान्तै मन परिरहेको छैन । तपाईंहरूले पनि त्यसलाई त्याग गर्नैपर्छ ।’
– त्याग गर्नुपरे त्याग गरौँला नि । त्यागमा हामी कोहीभन्दा कम छैनौँ । फेरि एकीकरणजस्तो महान् कार्यमा यो सिद्धान्तले बाधा हाल्नु हुँदैन । त्यस्तै एउटा अर्को कुरा पनि छ ।
‘के कुरा ?’
– अब विचारको कुरा । तपाईंहरू प्रचण्डपथ भन्ने विचार बोक्नुहुन्छ । यो त हामीलाई मनपर्दैन नि । तपाईंहरूले यसलाई पनि त्याग गर्नुपर्छ ।
‘अरे चाहिएको रहेछ भने हामी त्यो पनि त्याग गर्न तयार छौँ । आखिर हामी पनि त्याग र बलिदान दिएरै माथि उठेका पार्टी हौँ । तर हाम्रो पनि एउटा कुरा छ ।’

एउटाले आकाशबाट बोलाउनुहुन्छ, अर्कोले पातालबाट ‘हजुर’ भन्नुहुन्छ । संवाद यसरी नै चलिरहेको छ । यसलाई संवादै होइन भन्न पनि मिलेन, संवाद हो भन्न पनि मिल्दैन । अतः कोही–कोही यसलाई संवाद होइन, वादविवाद पनि भन्न रुचाउँछन् । जेहोस्, वादविवाद शैलीमै भए पनि संवाद चलिरहेको छ, टुटेको छैन ।

– के कुरा ?
‘तपाईंहरू पनि यो बहुदलीय जनवाद भन्ने विचार बोक्नुहुन्छ । हामीलाई चाहिँ यो बहुदलीय जनवाद भन्ने विचार मन परिरहेको छैन ।’
– ठीक छ, चाहिन्छ भने त्यो पनि त्याग गरिदिउँला । कुन ठूलो कुरा भयो र ?  आखिर पार्टी एकताजस्तो महान् कार्यलाई विचारकै कारण मार्न त दिनु भएन नि ।
‘सही भन्नुभयो । अब अन्तिम कुरो । हाम्रा केही साथीले तपाईंको पार्टीको नाममा आलोचना गरिरहेका छन् । नाम त अर्कै राख्नुपर्छ भनिरहेका छन् ।’
– ओहो ! यो त मेरै मनको कुरा छिनेर बोल्नु भएजस्तो लाग्यो । हाम्रो पार्टीमा पनि तपाईंको पार्टीको नामबारे अलि विरोध आएको छ । नयाँ परिवेशमा नाम पनि नयाँ नै चाहिन्छ भन्ने माग उठिरहेको छ ।
‘सही भन्नुभो । नामको समस्या छ भने हामीले नाम पनि फेरिदिनुपर्छ । हामीले नाममा लोभ गर्नुहुँदैन । आखिर हामी वामपन्थीहरू कुनै पनि कुरामा लोभी छैनौँ भनेर देखाउने अवसर पनि यही त हो नि ।’
– ठीक भन्नुभयो । हामी वामपन्थी एउटा नामका लागि लोभ गर्दैनौँ, एउटा विचार त्याग गर्न हिचकिचाउँदैनौँ । वास्तवमा हाम्रो यही त्यागको भावना देखेरै त यसपालि जनताले हामीलाई भोट दिएका हुन् नि ।
‘तपाईंले पनि ठीक भन्नुभयो । हामीलाई यसपालि कांग्रेसीले कुर्सी नछाड्ने तानाशाही भन्ने आरोप लगाएको थियो नि । हामी कुर्सी मात्र होइन, चाहियो भने सिद्धान्तै छोड्न पनि पछि नहट्ने पार्टी हौँ भनेर देखाउने मौका पनि यही हो ।’
– वास्तवमा सही वामपन्थी हुनु भनेको पनि यही नै हो । हामीले असली वामपन्थको नमुना भएर देखाउनुपर्छ । ल भन्नुस्, अब पार्टी एकता कहिले गरौँ ?
‘जहिले गरे पनि हुन्छ । सरकारमा हाम्रो भागबन्डा फिप्टी–फिप्टी नै गर्ने कुरा त कन्फर्म हो नि, होइन ?’
– फिप्टी–फिप्टी ?! खोइ त्यसबारे त खासै जानकारी छैन ।’
जानकारी छैन रे ? उसो भए मलाई पनि यो पार्टी एकता मितिको जानकारी भएन है ।
(संवाद एकाएक टुट्यो । तथापि सुनिरहेको छु, संवाद त जारी नै छ रे !)     

प्रकाशित: २२ पुस २०७४ ०१:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App