coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

छाँया प्रेम


१० वर्ष, आँखा बन्द गरेर खोल्न पनि नपाउँदै बितेजस्तो लाग्दै छ । अहिले आएर लाग्दै छ, समय पनि भ्रम न रहेछ । नत्र एक–दुईपटक मात्र आँखा झमक्क पार्दा यति समय नबित्नुपर्ने । सोच्दै छु के यतिका वर्ष घडी मात्र त चलेको हो र ? के समय बरफझैँ जमेको हो र ? हुन त, योबीच कैयौँ झरीले धर्ती भिजाए, हिउँदमा हजारौँ पात झरे, शिरीषका फूलहरु सुयोगवीर कुर्दै कतिपटक हरेक वर्ष बाटैभर फैलिए । लाग्दै छ– अन्तिमपटक तिमीलाई भेटेपछि देखेपछिको मेरो समय ठिंग उभिएको छ, टक्क अडिएको छ । र, ती पलमा १० वर्ष माकुराका जाला लागे, धुलो जमे। 

स्वीकार प्रिय ! अस्ति फेरि तिमीलाई बाटोमा देखेपछि मेरो समय फेरि सुरु भएको छ । तिमीलाई अन्तिमपटक देख्दा सूर्य अस्ताउँदै र जून उदाउँदै थियो । संयोग कस्तो भन न, तिमीलाई १० वर्षपछि देख्दा पनि सूर्य अस्ताउँदै थियो । तर मेरो मनको आकाशमा नयाँ जूनले उज्यालो लिएर आयो । मानौँ, तिमीलाई देखेपछि सुषुप्त म फेरि जीवित भएँ। 

हेर न, यस्ता हजारौँ अन्धकारमा पनि मभित्र एउटा दियो धिपधिप बलिरह्यो, जसले मभित्र अन्धकार छाउन दिएन, मेरो अस्तित्व नामेट हुनबाट जोगायो । त्यो उज्यालो, त्यो दीप तिमी हौ, तिम्रो प्रेम हो । मेरो अस्तित्वको डोरी तिम्रो प्रेममा गएर यसरी गाँसिएको छ– लाग्छ, स्वयं ईश्वरले पनि फुकाउन सक्ने छैनन् ।

यो सृष्टिमा सबै चिज परिवर्तनशील छ । हिजोका चिज आज रहँदैनन्, आजका भोलि । परिवर्तन शाश्वत सत्य हो । तिमीलाई अन्तिमपटक भेट्दा देखिएको सूर्य लाखौँपटक उदाएर डुबिसक्यो । कति तारा झुल्किए, कति बिलाए । कति बादल पग्लिएर झरिसके । सबै चिज बदलिए । तर, यो प्रेम किन सधैँ उस्तै लाग्छ ? किन यसमा एकरति परिवर्तन नआएको ? आज पनि तिम्रो याद आउँदा मेरा आँखा रसाउँदैनन्, बरु ओठमा मुस्कान छाउँछ । यस्तो किन ? मलाई उत्तर दिन सक्छौ ! अवश्य सक्दैनौ । किनकि प्रेम बुझ्न सक्ने ल्याकत यहाँ कसैसँग पनि छैन । सबै विवश छन् प्रेममा डुबेर मात्र बस्न । प्रेम बुझ्नका लागि होइन, डुब्नका लागि हो । प्रेम सागरजस्तै हो, जहाँ कोही तैरिँदैन, मात्र डुब्छ । हो, म यस्तै डुबिरहेकी छु, हरेक दिन डुबिरहेकी छु, तिम्रो प्रेममा । यो प्रेम सागरको कुनै भुइँ छैन, जहाँ आराम र शान्ति मिलोस्। 

कसैको वास्ता नगरी जसरी तिमी जीवनमा सरासर अघि बढ्यौ, अस्ति पनि बाटोमा तिमी त्यसरी नै हिँडिरहेका थियौ । त्यतिबेला अवाक् भएर तिमी गएको बाटो हेरिरहेकी थिएँ, अस्ति पनि उसरी नै हेरिरहेँ । जति–जति तिम्रा पाइला अघि बढ्दै गए, उति नै तिमी मबाट टाढा हुँदै थियौ । मेरो नजरबाट तिमी ओझेल पर्दै गयौ । झुस्स दारी, निरस आँखा, दुब्लो शरीर, तिमी पनि त उति बदलिएका रहेनछौ।  

कस्तो अचम्म है ? मैले सोचेँ, जीवनले तिमीलाई थिच्यो, धेरै नै सतायो । त्यसैले तिमीले मुक्ति खोज्यौ, सबै चिजबाट । र, त्यो सबैमा म पनि परेँ । तिमीले प्रेमबाट मुक्ति खोज्यौ तर बिर्सियौ तिम्रो मुक्तिका खातिर म सदा छटपटाहटको बन्धनमा कैदी भएँ । थाहा छ तिमीलाई ? मलाई यो कैदसँग लगाव छ । सम्पूर्ण जीवन म यो प्रेमरुपी कैदमा अल्झेर बस्न तयार छु । यो कारागारको जेलर पनि तिमी भएकाले होला मलाई यो कैद, यो निरंकुशता स्वीकार छ। 

जीवनमा धेरै आरोह–अवरोह आए । उकालो–ओरालो, अँध्यारो–उज्यालो, दिन–रात या भनौँ कुनै अस्थिरता । एउटा चुलबुल सिक्काझैँ म अनेक पाटामा फेरिइरहेँ । खहरेखोलाको ढुंगाले के ठक्कर खायो होला, जति मैले खाएँ । ढुंगाले त ठक्कर खाइखाई आकार पायो । तर, मभित्रको मानिस ढुंगा समेत हुन सकेन । हरेक दिन आउने रातको अन्धकारले घुटुक्क निलेर थुक्न समेत बाँकी राखेन । हेर न, यस्ता हजारौँ अन्धकारमा पनि मभित्र एउटा दियो धिपधिप बलिरह्यो, जसले मभित्र अन्धकार छाउन दिएन, मेरो अस्तित्व नामेट हुनबाट जोगायो । त्यो उज्यालो, त्यो दीप तिमी हौ, तिम्रो प्रेम हो । मेरो अस्तित्वको डोरी तिम्रो प्रेममा गएर यसरी गाँसिएको छ– लाग्छ, स्वयं ईश्वरले पनि फुकाउन सक्ने छैनन। 

उफ् ! फेरि ईश्वर सम्झन पुगेँछु । भन्छन्, ईश्वर मनमा हुन्छन् । सायद मेरो मनमा छैनन् । किनकि, त्यहाँ त तिमी मात्र छौ । तिमी यो मनबाट निस्कन्छौ कि ? तिमीलाई मनभित्र ठाउँ नपुग्ला कि ? त्यसैले ईश्वरलाई समेत प्रवेश निषेध गरेकी छु । 
तिमी जीवनमा हजारौँ पाइला हिँड्दै पृथ्वीको अर्को गोलाद्र्ध पुगौला, मबाट हजारौँ कोस कुनै अन्जान गल्लीमा तिम्रा बाँकी जीवन बित्लान् । कुनै दिन तिमी बूढो हौला । तिम्रो अनुहार चाउरी पर्ला । तिम्रा हातगोडा खिइएलान् वा तिम्रो मृत्यु होला । तिम्रा अवशेषहरु ब्रह्माण्डको यात्रामा अन्जानतर्फ बढ्लान । तर मभित्रको प्रेम, मभित्रको मायामा एकरति पनि कमी आउनेछैन।  

थाह छ, तिमीले मलाई बिर्सिसक्यौ । जीवनको बाटोमा भेटिएको एउटा बटुवासरह हुँ म तिम्रा लागि । म तिम्रो पहाडमा अनायसै ठोक्किन आउने यस्तो बादल हुँ,  जो ठोक्किनासाथ झरी बन्थी । आँखाबाट झरी बर्साउने म त्यो कुनै असारको बादल । म तिम्रा लागि के बनिन । कहिले बादल, कहिले काठको मुढा ।  नदीको छालले किनारामा फालेको काठको मुढा देखेका छौ ? बेलाबेला म त्यही काठको मुढोजस्तै थिएँ, तिमी नदीजस्तै । म तिमीसँगै बगेर कतै पुग्न चाहन्थेँ, जहाँ केही आराम मिलोस् । त्यसैले म  तिमीमा समाहित हुन्थेँ, तिमीले फेरि किनारमा फाल्थ्यौ । म फेरि मिसिन्थे, तिमीले फाल्थ्यौ । म फेरि मिसिन्थे... ।  एकदिन तिमीले यसरी मलाई हुत्याएर आफू सागरको खोजीमा लाग्यौ कि म किनाराको किनारै रहेँ । किनारामा फालिएका अवशेष जसरी नदीसँग रिसाउँदैनन्, त्यसैगरी तिमीप्रति मलाई केही गुनासो छैन, कुनै आवेग छैन । जहाँ आवेग र गुनासो हुन्छ, त्यहाँ कसरी  प्रेम हुन्छ ? मलाई केवल नदीसँग प्रेम छ । मेरो नदी तिमी हौ, जो यतिबेला सागरको खोजीमा बगिरहेका छौ।

म हरेक दिन कल्पनाको टाइम–मेसिनमा यात्रा गर्दै हामीले बिताएका पलमा जान्छु, अनि रोमाञ्चित हुन्छु । पट्यारलाग्दो यथार्थबाट म जब यात्रा गर्छु, तब तिम्रै अँगालोमा पुग्छु, जहाँ शीतलता छ । जहाँ सास रोकिँदा पनि बाँचेजस्तो अनुभव हुन्छ । जहाँ मुटु रोकिए पनि धड्किएजस्तो हुन्छ। 

कुनै दिन झुक्किएर म तिम्रो मानसपटलमा झुल्किँदै आइपुगेँ भने मुसुक्क मुस्कुराउनू र मेरो पागलपन सम्झेर जोडले हाँस्नू । एउटी चञ्चल आत्मा थिई, जसको चञ्चलताले तिम्रा जीवन केही समय भए पनि फुलेको थियो । हाँस्दाहाँस्दै रुने र रुँदारुँदै हाँस्ने एउटा शिशुझैँ जो तिमीमा समर्पित हुँदा आफ्नो अस्तित्व बिर्सन्थी । 

प्रकाशित: २३ पुस २०७४ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App