८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

जाजरकोटमा  भाइरल प्रकोप: थप दुईको मृत्यु, सात सयको उपचार, दुईहजार बढी विरामी

जुनीचाँदे  २ मजकोटमा   भाइरलका विरामीहरुको उपचार गर्दै  डाक्टर पवन शाक्य । तस्वीर: नागरिक

जाजरकोट– झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोपबाट थप दुई जनाको मृत्यु भएको छ । भाइरल प्रभावित क्षेत्रमा  सक्रिय चिकित्सक डा. पवन शाक्यका अनुसार मंगलवार विहान  जुनीचाँदे गाउँपालिका ३ रावलगाउँका ५४वर्षिय लालवहादुर भन्डारीको   ज्वरो र पखालाको कारण ज्यान गएको छ भने  सोमवार  जुनीचाँदे गाउँपालिका २ मौगानका १ महिनाका  शिषुको  भाइरलको कारण ज्यान गएको  छ ।

जाजरकोटको भाइरल

  • भाइरल फैलिएको ३ साता पुग्न लाग्यो
  • अहिलेसम्म १२ जनाको निधन
  • दुई हजार भन्दा बढी विरामी
  • जम्मा सात सयको उपचार
  • प्रकोप नियन्त्रणमा नआएपछि थप स्वास्थ्यकर्मी मगाइयो
  • जुनीचाँदे गाउँपालिका सबैभन्दा पीडित
  • विरामीहरुमा रुघा खोकी,  ज्वरो,  टाउँको दुख्ने,  पखाला लाग्ने जस्ता लक्षण

मृतक शिशुमा  कडा खालको भाइरल अर्थात एच वान एन वानको शंका लागेकोले खकार र सिँगान परीक्षणका लागि रोग नियन्त्रण महाशाखा टेकुको प्रयोगशालामा पठाइएको डाक्टर शाक्यले जानकारी दिए । परीक्षणवाट एच वान एन वान प्रमाणित भए  गाउँमा भाइरलको  महामारीको  नै हुन सक्ने डा. शाक्यले वताए । 

जुनीचाँदे गाँउपालिकाको  १, २ र ३ लगायत अन्य वडा र वस्तीहरुमा भाइरल फैलिएको छ । ५ वर्ष मुनिका वालवालिका  र  दीर्घरोगीहरु माथि कडा रुपमा देखिएको भाइरल ज्वरोवाट  अहिले सम्म १२ जनाको ज्यान गइसकेको  छ । रुघा खोकी,  ज्वरो,  टाउँको दुख्ने,  पखाला लाग्ने जस्ता लक्षण भाइरल पीडितमा देखिएको छ ।

अहिले भाइरल प्रभावित गाउँमा जिल्ला  अस्पताल र  प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटवाट परिचालित  चिकित्सक तथा  अन्य स्वास्थ्यकर्मीहरुको  टोलीले  रोग नियन्त्रणमा ल्याउन नसकेपछि  मंगलवार  फेरि जिल्ला अस्पतालवाट  थप चिकित्सक र औषधी प्रभावित क्षेत्रमा पठाइएको छ । एक जना चिकित्सक सहित  दस जना स्वास्थ्यकर्मीहरु, नेपाली सेनाका स्वास्थ्यकर्मीहरुको टोलीले उपचारमा सहयोग गर्दा पनि  प्रकोप नियन्त्रणमा आउन नसकेपछि जिल्ला अस्पताल  जाजरकोटका  मेडिकल अधिकृत  डाक्टर भुपेन्द्रप्रकास मल्ल, नेपाल रेडक्रस सोसाइटीका स्वयमसेवक सहित अन्य स्वास्थ्यकर्मीको समुह औषधी सहित प्रभावित क्षेत्रमा  हिडेको  प्रभावित क्षेत्रमा  विरामीको  उपचारमा  सक्रिय  डाक्टर पवन शाक्यले वताए ।  उनले  गाउँमा  भाइरल प्रभावितहरुको संख्या वढ्दो भएकोले  जिल्ला अस्पतालवाट थप औषधी र  चिकित्सकको  टोली मगाइएको वताए ।  जिल्ला अस्पताल जाजरकोटका  निमित्त प्रमुख समेत रहेका  डाक्टर भुपेन्द्रप्रकाश मल्लले  गाउँमा भाइरलको प्रकोप वढ्दै गएका कारण आफु गाउँमा विरामीको उपचारका लागि हिडेको वताए ।  स्वास्थ्यकर्मीहरुका अनुसार  जिल्लाको दुर्गम तथा विकट जुनीचाँदे गाँपालिकाको  वडा नं २  र ३मा  सुरुमा देखिएको भाइरलको प्रकोप अहिले अन्य क्षेत्रमा पनि  सर्दै गएको छ । 

स्वास्थ्यकर्मीका अनुसार अहिले सम्म  ७ सय भन्दा वढीको उपचार गरिसकिएको छ र  अझै दुइ हजार वढी विरामीको उपचार गर्न बाँकी छ ।

 

प्रकाशित: २५ पुस २०७४ ०९:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App