१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बुद्धले काठमाडौं–कोलकाता उडान गर्ने

काठमाडौं-निजी वायुसेवा कम्पनी बुद्ध एयरले काठमाडौंबाट भारतको कोलकाता उडान गर्ने घोषणा गरेको छ । यसका लागि कम्पनीले तीव्र गतिमा काम अगाडि बढाएको छ ।

 कोलकाता–काठमाडौं रुटमा बुद्धले ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ सिरिजको जहाज प्रयोग गर्ने जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलकातासम्मको हवाई दुरी १ घन्टा ३० मिनेटको छ ।

‘अर्को वर्ष भदौ १६ गतेबाट भारतको कोलकाताका लागि काठमाडौंबाट नियमित व्यापारिक उडान सुरु गर्ने छौं र यसका लागि आवश्यक तयारी तीव्र गतिमा चलिरहेको छ,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बिहीबार नागरिकसँग भने, ‘कोलकाताका लागि प्रत्येक साता तीन उडान गर्ने योजना छ ।’
उडान घोषणासँगै बुद्धले कोलकाताका लागि आधिकारिक बिक्री प्रतिनिधि (जिएसए) नियुक्त गर्न सार्वजनिक प्रस्ताव आह्वान पनि गरेको छ । कोलकातामा जिएसए नियुक्त गर्ने तर सकेसम्म साझेदार नै बनाउने कम्पनीको तयारी छ ।

कोलकाताका स्थानीय (बंगाली) पर्यटक लक्ष्य गरी उडान गर्न लागिएको बस्नेतले बताए । प्रत्येक उडानमा ७५ प्रतिशत (५० जना) बंगाली पर्यटक ल्याउने लक्ष्यसहित सरल भाडा दरमा उडान सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । यसका लागि कम्पनीले गहन बजार अध्ययन गरिसकेको छ ।
कम्पनीका अनुसार प्रत्येक वर्ष ६ करोड भारतीय पर्यटक विभिन्न देश घुम्न जाने गरेको तथ्यांक छ । तीमध्ये अधिकतम डेढदेखि २ लाख भारतीय नेपाल आउने गरेका छन् । जसमा बंगाली पर्यटकको बाहुल्य रहने गरेको छ ।

‘हामी जेट जहाज युगमा प्रवेश गर्ने उद्देश्यले कोलकाता उडान गर्न लागेका हौं,’ बस्नेतले भने, ‘कोलकाता उडान हाम्रो कम्पनीका लागि एउटा परीक्षासरह हुने छ, त्यसकारण हामी नाफा–घाटा हेर्दैनौं । कोलकाता उडानमा सफल भयौं भने भारतबाहेक तेस्रो मुलुकका गन्तव्यमा जेट इन्जिनयुक्त जहाजबाट उडान सुरु गरिहाल्छौं ।’
कम्पनीले कोलकाताबाट वार्षिक ७ हजार ८ सय बंगाली पर्यटक ल्याउने लक्ष्य लिएको छ । उडान सफल पार्न बुद्धले आफ्नो सहायक कम्पनी बुद्ध होलिडेज ट्राभल्समार्फत भ्रमण प्याकेज पनि तयार गरिरहेको छ । जसबाट नेपालीलाई प्याकेजमा घुम्न जाने अवसर पनि मिल्ने छ । हाल यस्तै प्याकेज बनाएर भारतकै बनारस उडान पनि गरिरहेको बुद्धले कोलकातालाई थप महत्व दिएको छ ।

‘यसमा लगानीभन्दा पनि बौद्धिकता र सिर्जनशीलताको कुराले अर्थ राखेको छ,’ प्रबन्ध निर्देशक बस्नेतले भने, ‘कुनै पनि नेपाली वायुसेवा कम्पनीले नसोचेको कदम हामी चाल्दै छौं किनभने ७५ प्रतिशत पर्यटकमात्र बोक्ने लक्ष्यसहित उडान गर्नु चानचुने विषय होइन ।’

कोलकाता रुटमा बुद्धले भारतकै सरकारी वायुसेवा कम्पनी एयर इन्डियासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । एयर इन्डियाले प्रत्येक साता यो रुटमा चार उडान गर्दै आएको छ । तर, बस्नेत भने एयर इन्डियासँग आफूहरूको प्रतिस्पर्धै नहुने दाबी गर्छन् ।

‘एयर इन्डियाका यात्रु कर्पोरेट, श्रमिक, बिजनेस ट्राभलर बढी हुने गर्छन्,’ उनले भने, ‘हामी नेपाल घुम्न आउने विशुद्ध बंगाली पर्यटक लक्ष्य गरेका कारण एयर इन्डियासँग हाम्रो प्रतिस्पर्धा हुँदैन ।’
अधिकांश हिस्सा पर्यटक लक्ष्य गरिएको कोलकाता उडान सफल भयो भने त्यसपछि खाडी मुलुक, हङकङ, बैंकक जस्ता गन्तव्यमा पनि पर्यटक लक्ष्य गर्दै जेट जहाजबाट उडान गर्ने बस्नेतको भनाइ छ । ‘खाडी वा अन्य देशका ठूला वायुसेवा कामदार बोकेरै नेपालबाट उडान गरिरहेका छन्,’ उनले भने, ‘तर, हामीसँग भने पर्यटक बोक्ने बाहेक अर्को विकल्प पनि छैन र कोलकाता उडान त्यसैको सुरुवाती चरण हुने छ । जसले बुद्धको क्षीतिज थप फराकिलो बनाउनेमा हामी विश्वस्त छौं ।’

नेपालबाट २ घन्टा ३० मिनेट दूरीमा पर्ने सम्पूर्ण गन्तव्यमा ‘टर्बोप्रप’ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्न बुद्धले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विगतमै अनुमति पाइसकेको छ । उसको अन्तर्राष्ट्रिय उडान लाइसेन्स अद्यावधिक छ । भारतले पनि विगतमै बुद्धलाई कोलकाता उडान अनुमति दिए पनि अब नवीकरण गर्नुपर्ने कम्पनीले जनाएको छ । चाँडै यसको प्रक्रिया अगाडि बढाइने बस्नेतले बताए ।

दुई दशकदेखि आन्तरिक उडानसँगै भुटानको पारो र भारतको बनारसका लागि ‘चार्टर्ड’ उडान गर्दै आएको बुद्धले आन्तरिक उडानतर्फ ६३ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीमा हाल करिब ८ सय ५० कर्मचारी काम गर्छन् । बुद्धले सन् २०२१ अगस्ट १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गत असोजमा गरेको थियो ।

बुद्धले उडान सुरु गरेयता स्वदेशी तथा विदेशी गरी हालसम्म करिब १ करोड यात्रुलाई गन्तव्य पु¥याइसकेको छ । कम्पनीले पर्यटन÷घरेलु उडानतर्फ सबैभन्दा बढी कर÷राजस्व बुझाउन सफल पनि भएको थियो । हाल यसले वार्षिक १० लाखभन्दा बढी यात्रुलाई गन्तव्य पुयाइरहेको छ ।

बुद्धसँग हाल फ्रान्सको एटिआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका चारवटा ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन् । यी नौ जहाजको मूल्य ६ अर्ब २५ करोड रुपैयाँबराबर रहेको छ । त्यसबाहेक कम्पनीसँग १ अर्ब २५ करोड रुपैयाँबराबर मूल्यका जगेडा पुर्जा पनि छन् ।  

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब चार दर्जन उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ । दुर्गम भेगका गन्तव्यमा उडान गर्ने योजना कम्पनीको छैन ।

कम्पनीले त्रिभुवन विमानस्थलमा जहाज मर्मतका लागि दक्षिण एसियाकै उत्कृष्ट ‘क्लोज्ड डोर ह्यांगर’ पनि सञ्चालन गरिरहेको छ । उक्त ह्यांगरमा आफ्ना जहाजमात्र नभई बंगलादेशको नोभो एयरका एटिआर जहाज र त्यहीँकै हेल्लो एयरका बिचक्राफ्ट जहाज पनि मर्मत गरिरहेको छ । विगतमा भुटानको ड्रुक एयरको एटिआर जहाज पनि मर्मत गरेको थियो ।

यसले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमतर्फ पूर्वी तराईमा सहकारीमार्फत करिब १ हजार बिघा क्षेत्रफलमा पूर्णयान्त्रीकरण तथा ‘एसआरआई’ विधिबाट खेती सञ्चालन पनि गरिरहेको छ ।

 


 

 

प्रकाशित: २८ पुस २०७४ ०२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App