सत्याग्रह र क्रान्ति

शुक्रबार, २८ पुष २०७४, १० : ४५ डा.सरोज धिताल


‘क्रान्ति’ लाई विभिन्न बेलामा विभिन्न किसिमले परिभाषित गरिएको छ । विभिन्न किसिमले बुझिएको छ । व्यवहारमा अनेक किसिमले अनुवाद भएको छ । तर पनि धेरैले स्वीकारेको ‘क्रान्ति’ को सरल परिभाषा भने ‘यथास्थितिमा आमूल परिवर्तन’ नै होला । यसरी हेर्दा राजनीतिक क्रान्तिको अर्थ हुन्छ सत्ता सम्बन्धमा आमूल परिवर्तन, जो भित्रैबाट अनुभूत हुन्छ र टाढैबाट देखिन्छ पनि । 

कुनै पनि क्रान्तिका निम्ति नभई नहुने सर्त हो– यथास्थितिप्रति जनताको ठूलो तप्काभित्र रहेको असन्तुष्टि । यो असन्तुष्टि नै क्रान्तिको इन्धन हो । त्यो असन्तुष्टिको इन्धनबाट परिचालित भएर जनताका सरोकार र चाहनालाई काँधमा बोकेका मानिसको समूहले स्पष्ट दिशाबोधका साथ सुविचारित र सुसंगठित भएर जनताकै सहयोगमा आमूल परिवर्तनलका निम्ति गरिने प्रयत्न हो क्रान्ति । क्रान्तिका यस्ता सारथिहरूले निर्धारण गरेको दिशाले त्यो क्रान्तिले कतिबेला कुन गन्तव्यमा पु¥याउँछ भन्ने कुरा निर्धारण गर्ने हो । 

सत्तामा जाने, प्रतिपक्षमा रहने, जनताको पंक्तिमा रहेर वैकल्पिक राजनीतिको दिशा निर्धारण गर्न चाहने सबैले बुझ्नैपर्ने सत्य सूत्र हो– जनता भनेकै यथास्थितिप्रति असन्तुष्ट ज्युँदा मानिसको समूह हो ।

हाम्रै देशको सन्दर्भमा कुरा गर्दा, कुनै एउटै सारथिले आफ्नै बाहनलाई मात्र अहिलेको संघीय गणतन्त्रसम्म ल्याइपु¥याएको हैन । विभिन्न सारथिले विभिन्न कोणबाट विभिन्न बाहनको उपयोग गरेर र विभिन्न लक्ष्य ताकेर यात्रा सुरु गरेका थिए । धेरै कुराको संयोगले गर्दा हो, हामी सबै यहाँसम्म यसरी आइपुगेको । तर यहाँसम्म अर्थात् संघीय गणतन्त्रसम्म आइपुगेपछि यस्तो लाग्छ, ती सारथिहरू पूरै अल्मलिएका छन् । यहाँ आइपुग्नुको उद्देश्य के थियो ? यहाँ पुगेपछि के गर्ने हो ? सबै बिर्सिएजस्तो, केही थाहा नभएजस्तो देखिन्छ, स्थापित पुराना ठूला पार्टीहरूको व्यवहार हेर्दा । सामाजिक न्याय र लोकतन्त्रका जुन मन्त्र ती उच्चारण गर्थे, त्यसको अर्थ के हो, जीवनमा त्यो कसरी अनुदित हुन्छ, तिनले कहिल्यै नबुझेको हो वा बिर्सिएका हुन ? कि सुरुदेखि नै क्रान्ति भनेको व्यक्तिगत पारितोषिकको आशाम गरिएको दुस्साहस मात्रै थियो ? यो अलमल बुझिनसक्नु भएको छ यतिबेला।   

  सबैले सुनेको÷बुझेको कुरा हो– एउटा देश स्वस्थ रहन विधायिका, न्यायपालिका र कार्यपालिका सबै नै स्वस्थ र क्रियाशील हुनुपर्छ, यी तीनैको बीचमा लयात्मक समन्वय हुनुपर्छ र त्यो समन्वय स्पष्ट लक्ष्यले निर्देशित गरेको हुनुपर्छ। लोकतन्त्रका निम्ति तीन÷चार पुस्ताले गरेको लडाइँमा सधैँ स्पष्ट शब्दमा अभिव्यक्त नभए पनि यो क्रियाशीलता र समन्वयको अपेक्षा जहिले पनि अन्तरनिहित थियो । तर संघीय गणतन्त्रको स्थूल ढाँचा प्राप्त भइसके पनि त्यसमा लोकतन्त्रको आत्मा भर्न अझै धेरै यत्न गरिरहनुपर्ने रहेछ भन्ने कुरा बारम्बारको गोविन्द सत्याग्रहले प्रमाणित गरिरहेको छ । वर्तमान विश्वमा सामाजिक न्यायसहितको समृद्धिबिना लोकतन्त्र मूर्दा हुन्छ भन्ने कुरा त अहिलेका यी ठूला दलले जप्ने गरेको मन्त्रमा पनि थियो । यो कुरासमेत यिनीहरूलाई बुझाउनु परिरहेको छ । र, यसका निम्तिसमेत पनि गोविन्दकै जस्ता सत्याग्रहरूको आवश्यकता देखिँदैछ।  

गोविन्दको सत्याग्रह यहाँसम्म आइपुग्दा धेरैपटक उनलाई भनिएको छ– ‘कुरा त ठीकै हो तर तिम्रो यो तरिका ठीक भएन ।’ मैले पनि भनेको छु । यसो भन्ने सबैलाई ‘ल देखाउन त अर्को के उपाय छ’ भनेर उनी चुनौती दिइरहेका छन् । र, यो प्रश्नले सामान्य नागरिकदेखि लिएर आफूलाई लोकतन्त्र र सामाजिक न्यायका मसीहा ठान्नेहरूसम्मलाई निरुत्तर बनाइरहेको छ । गोविन्द केसी एकजना साँच्चैका प्रणम्य अभियन्ता बनेका छन् । लोकतन्त्र र सामाजिक न्यायका निम्ति अझै पनि उनीजस्ता एकजना विशेषज्ञ चिकित्सक, चिकित्साशास्त्रका एकजना प्राध्यापकले नै निरन्तर लडिरहनुपरेको छ । लोकतन्त्रका निम्ति दशकौँं लडेका राजनीतिक दलहरूलाई झक्झक्याइरहनुपरेको छ । यसको सरल अर्थ हुन्छ– देशको राजनीतिमा ठूलो समस्या छ, देश अझै संकटमै छ।

भर्खरैका घटनाक्रमले फेरि एकचोटि विधिको शासन र नागरिकका कर्तव्यबारे प्रश्न उठाइदिएका छन् । सत्तासीन पार्टीका एकजना पूर्वमन्त्रीले आफ्नो ट्विटमा अत्यन्त घटिया र छाडा भाषामा गोविन्द र उनका समर्थकलाई गाली गरे– ‘नानीमैयाँको पुलिंग अवतार र भक्तहरू’ भन्दै । ‘राज्यका तीनै अंग आफूले भनेअनुसार नै चल्नुपर्छ भन्ने गोविन्दको दूराग्रह छ’ भनी कुतर्क गर्दै उनी आक्रोशित देखिन्छन् । तर के कुरा बुझ्न उनी मानिरहेका छैनन् भने उनीजस्तै ‘नेता’ हरू भ्रष्ट नभइदिएको भए, दिशाबिहीन नभइदिएको भए, एउटा सर्जनले यो सत्याग्रह गरिरहनुपर्ने नै थिएन।

सत्तासीन पार्टीका एकजना पूर्वमन्त्रीले आफ्नो ट्विटमा अत्यन्त घटिया र छाडा भाषामा गोविन्द र उनका समर्थकलाई गाली गरे । तर के कुरा बुझ्न उनी मानिरहेका छैनन् भने उनीजस्तै ‘नेता’ हरू भ्रष्ट नभइदिएको भए, दिशाबिहीन नभइदिएको भए, एउटा सर्जनले यो सत्याग्रह गरिरहनुपर्ने नै थिएन।

गोविन्दका विभिन्न बेलाका अडान र अभिव्यक्तिलाई व्यक्तिविशेषप्रतिको द्वेषमा केन्द्रित भएको, जे पनि आफैँले भनेजस्तो हुनुपर्छ भन्ने अडान लिएको, सनक, हठाग्रह आदि भनी ट्याग लगाइएका छन्। तर सत्य के हो भने रोगाएको राज्यको अक्षमता, राजनीतिक खेलाडी र कर्मचारीतन्त्रभित्र दिशाको अस्पष्टता, लोभ, लालच, भ्रष्टाचार, परनिर्भरता... आदि देख्दा हेरिनसक्नु भएर एकजना मानिस आफ्नो हृदयको आवाज पछ्याउँदै आफ्नो ‘कम्फर्ट जोन’ बाट बाहिर निस्केर, बोधिसत्वझैँ साहसका साथ यो सब गरिरहेको छ र उसका पछि ऊ जस्तै हृदयको आवाज पछ्याउने असल मानिस लागिरहेका छन्।  

यो क्रान्ति हो 
कुरा स्पष्ट छ । क्रान्ति भनेको, सय मिटरको रेसमा वा पर्वतारोहणमा वा अन्तरिक्ष यात्रामा रेकर्ड बनाएजस्तो एकैचोटिमा ‘सम्पन्न’ हुने कुरा हैन । क्रान्ति भनेको कुनै दुस्साहसी समुद्री डाँकाले भविष्यको मोजमस्तिका निम्ति गोलीगट्ठा लिएर मोलेको खतरामात्रै हैन । कुनै व्यापारीले गरेको दीर्घकालीन लगानी वा कुनै जुवाडेले लगाएको दाउ हैन। यो त  सकारात्मक परिवर्तनको सिलसिला हो । त्यसैले क्रान्ति अझै सम्पन्न भएको छैन, हुँदैन।

जनताको अर्थ हुन्छ – यथास्थितिप्रति असन्तुष्ट परिवर्तनकामी जिउँदा मानिसको समूह । जनता छन् भने त्यहाँ यथास्थितिप्रतिको असन्तुष्टि हुन्छ नै । लोकतन्त्र र सामाजिक न्याय परिपक्व भएका ठाउँमा जनताका असन्तुष्टिलाई साँच्चै नै अघि बढ्ने इन्धनका रूपमा उपयोग गरिन्छ– नाभीकीय ऊर्जा केन्द्रबाट नियन्त्रितरूपमा ऊर्जा निकालेझैँ । त्यसलाई विध्वंशक बिष्फोटको स्थितिसम्म पुग्नै दिइंँदैन। जहाँ लोकतन्त्र छैन वा काँचो छ, त्यहाँ त्यो ऊर्जाले महत्व पाउँदैन। असन्तुष्टि जम्मा हुन्छ । र, कुनैबेला बिष्फोट हुन्छ विकिरणयुक्त पदार्थ ‘क्रिटिकल मास’ मा पुग्दा अनियन्त्रित ढंगले बिष्फोट भएझैँ ।

भर्खरै सकिएको निर्वाचनले वाम दलहरूलाई सत्ता सम्हाल्न र कांग्रेसलाई प्रमुख प्रतिपक्षका रूपमा आआफ्नो भूमिका निर्वाह गर्न निर्देश दिएको छ । दुवैथरीका निम्ति यो चानचुने अवसर हैन । यसपाली कांग्रेसको चुनावी हारलाई गगन र विश्वप्रकाश जस्ता केही युवा नेताले आत्मनिरीक्षणको सुवर्ण अवसरका रूपमा लिनु अत्यन्त स्वस्थ र आशाजनक कुरा हो । वाम गठबन्धनले आफ्नो स्वधर्म निर्वाह गर्ने हो भने त देशको आधुनिक इतिहासमै सबभन्दा राम्रो अवसर पाएका छन् । तर यो सुन्दर यथार्थलाई बेवास्ता गरेर कांग्रेसले केवल रिस फेर्ने र आफूइतरका दलको दानवीकरण गर्ने, जसरी जोसँग मिलेर भए पनि सत्तामा जाने जस्ता परम्परागत राजनीतिको कुसंस्कारलाई नै निरन्तरता दिइरहने हो भने आफू साँच्चैको विकल्प हुन सक्नेसम्मको अवसर गुमाउनेछ। 

अनि सत्तामा जानेले यस्तो एक जुगमा एकचोटि आउने सुअवसरलाई गुमाएर फेरि पनि नेताका रूप धारण गरेका अधर्मी लोभीहरूदेखि लिएर गुण्डाहरूसम्मलाई बोक्ने, आफैँभित्र गुटफुटको लज्जाजनक खेल चलिरहन दिइरहने, पराईले देखाएका ससाना लोभमा भुलेर राष्ट्रिय स्वार्थलाई भुल्ने हो भने ठाडै नर्कतिरकै दिशामा झर्नुपर्नेछ। सत्तामा जाने, प्रतिपक्षमा रहने, जनताको पंक्तिमा रहेर वैकल्पिक राजनीतिको दिशा निर्धारण गर्न चाहने सबैले बुझ्नैपर्ने सत्य सूत्र हो– जनता भनेकै यथास्थितिप्रति असन्तुष्ट ज्युँदा मानिसको समूह हो । यो असन्तुष्टिका विभिन्न प्राकट्यलाई सम्मान गर्दै, कृतज्ञताका साथ ऊर्जाका रूपमा लिँंदै जिम्मेवार भएर स्वधर्ममा अघि बढ्दा देश, जनता र जगतको भलो हुन्छ, आफ्नै पार्टीको पनि स्वतः भलो हुन्छ। यसलाई बेवास्ता गरेर परम्परागत राजनीतिको कुहिइसकेको बदनाम खेलमै रमाइरहने हो भने त्यो असन्तुष्टि बिष्फोट हुन्छ । यस्तो बिष्फोटले के के गर्न सक्छ– मध्यपूर्वतिर हेरे धेरै कुरा देखिन्छ।
आशा गरौँं, जनताभित्र लुकेको असीम ऊर्जा र अहिंसापूर्ण क्रान्तिको निरन्तरतालाई नेपाली राजनीतिमा भएका सबैले बुझ्नेछन् । सबैको कल्याण होस् !






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

अक्षय कुमार घाइते

अक्षय कुमार घाइते

बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन्। फिल्म ‘केसरी’को एक्सन सीनको शुटिङ्गका क्रममा उनी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।...

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म हैरानको टिजर सार्वजनिक भएको छ । मुक्ति घले र श्रृष्टी घिमिरेको संयुक्त...

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदी अरेबियामा पहिलोपटक फेशन शो भएको छ। साउदीको रियादमा सम्पन्न उक्त फेशन शोमा दर्शक भने महिलाहरूमात्र थिए।  उक्त फेसन शोमा सहभागी...

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

स्कटल्यान्ड तपाईंको ‘ड्रिम कन्ट्री’ हो र पर्दामै भए पनि त्यहाँका दृश्य देख्दा तपाईंको मन रमाउँछ भने ‘लिलि बिली’ हेर्नु राम्रै...