७ वैशाख २०८१ शुक्रबार
राजनीति

गुटको दलदलमा कांग्रेस युवा नेता

काठमाडौं – नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्यहरु पार्टी संगठनलाई कसरी अघि बढाउने भन्ने विषयमा अलमलमा परेका छन् । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित भएपछि पार्टी संगठनलाई प्रभावकारी रूपमा अघि बढाउन फरक गुटमा भएकाहरुबीच मात्र होइन एउटै गुटमा रहेका नेताहरुबीच पनि एकमत हुन सकेको छैन । साझा सहमति नजुट्दा पार्टीको आगामी कार्यदिशा र  रणनीति निर्माणमा ढिलाइ भएको छ । 

निर्वाचनमा पार्टी पराजितपछि गुट, उपगुट र विभिन्न नाममा युवा केन्द्रीय सदस्यहरु बैठकमा सक्रिय छन् । तर, उनीहरुबीच अब कसरी अघि बढ्ने भन्नेमा साझा धारणा बन्न सकेको छैन । फरक गुटमा भएकाहरुबीच मात्र होइन एउटै गुटमा रहेका नेताहरुबीच पनि पार्टीको आगामी कार्यदिशाबारे एकमत हुन सकेको छैन । 
केन्द्रीय सदस्य लक्ष्मी परियारले पार्टी विधानको व्यवस्थाअनुसार केन्द्रीय समिति बैठकले महासमिति बोलाउनुपर्ने बताइन् । ‘निर्वाचनमा पार्टी पराजय समीक्षाका लागि बैठक बोलाउनुपर्छ । त्यसको निचोडका आधारमा महासमितिमा पुग्नुपर्छ,’ उनले भनिन्, ‘बुढालाई फालेर युवा ल्याउनुपर्छ भन्ने होइन देश, पार्टी र लोकतन्त्रलाई कसरी जोगाएर अघि बढ्ने भन्ने निष्कर्षमा पुग्नुपर्छ ।’

तर, सभापति देउवा निकट केन्द्रीय सदस्य चन्द्र भण्डारीसहितका केही युवा नेताहरु निर्वाचन पराजयको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने पक्षमा उभिएका छन् । भण्डारीसहित धनराज गुरुङ, गगनकुमार थापा, प्रदीप पौडेल, बद्री पाण्डे, गुरुराज घिमिरे र विश्वप्रकाश शर्मासहितका सात नेताले तत्काल केन्द्रीय समिति र महासमिति बैठक बोलाउन नेतृत्वलाई आग्रहसहित पुस १६ गते विज्ञप्ति निकालेका थिए । उनीहरुबीच पार्टी नेतृत्व परिवर्तनका विषयमा भने मतभेद छ ।

भण्डारी, गुरुङ, पौडेल, थापासहितका नेताहरु वर्तमान नेतृत्वबाट अब पार्टी अघि बढ्न नसक्ने भन्दै सके विशेष महाधिवेशन वा अग्र महाधिवेशनका लागि अभियान सञ्चालन गर्ने तयारीमा छन् । वर्तमान नेतृत्वले विश्राम लिनुपर्ने भन्दै ७० वर्षको उमेरहद तोक्नुपर्ने अडान उनीहरुको छ । निर्वाचनमा पार्टी हारेको छटपटी मात्र नभएको जनाउँदै देशैभरि अभियानकै रुपमा सञ्चालन गर्ने उनीहरुको तयारी छ ।   
केन्द्रीय सदस्य गुरुङले अहिले नेतृत्व परिवर्तनको कुरामात्र नभएर पार्टीलाई संघीय संरचनाअनुसार अघि बढाउन विधान संशोधन जरुरी रहेको बताए । त्यसका लागि तत्काल महासमिति बोलाउनुपर्ने माग उनको छ । उनले भने, ‘संघीय संरचनाअनुसार पार्टी संगठनलाई ढाल्न अग्र महाधिवेशन आवश्यक छ । विशेष महाधिवेशनबाट पार्टीको पुनर्संरचना सम्भव देखिँदैन ।’

तर, शर्मा विधि र विधानअनुसार केन्द्रीय समिति हुँदै महासमितिबाट पार्टीको आगामी कार्यक्रम तय गर्नुपर्छ भन्ने पक्षमा छन् । ‘आवेग होइन, विवेकले निर्णय लिनुपर्छ,’ शर्माले भने, ‘उमेर भएकाले होइन अजेन्डा भएकाले नेतृत्व गर्नुपर्छ । विशेष महाधिवेशन होइन केन्द्रीय समिति र त्यसमार्फत महासमिति बैठकसम्म जानुपर्छ ।’

पौडेल निकट नेता मानिएका गुरुङ, घिमिरे र पाण्डेसहित १४ युवा केन्द्रीय सदस्यहरु पनि पार्टीलाई नवजीवन दिनुपर्ने भन्दै पछिल्ला दिनमा निरन्तर छलफलमा छन् । गुरुङ, घिमिरे, पाण्डेबाहेकका बहुमत नेताहरु विशेष महाधिवेशन वा तत्काल नेतृत्व परिवर्तन सम्भव नरहेको निष्कर्षसहित पार्टीलाई विधि र विधानअनुसार सञ्चालनका लागि दबाबमूलक अभियान सञ्चालनको तयारीमा छन् । 

नवीन्द्रराज जोशी, दीपक गिरी, कमला पन्त, रामकृष्ण यादव, धनराज गुरुङ, गोविन्द भट्टराई, सरिता प्रसाई, बद्री पाण्डे, जीवन परियार, कल्याण गुरुङ, किरण यादवसहितका नेता सहभागी  समूहले आइतबार पनि राजधानीमा भेला राखेका छन् । ‘पहिला केन्द्रीय समितिको बैठक बोलाएर निर्वाचनको समीक्षा गर्नुपर्छ,’ भट्टराईले भने, ‘त्यसपछि पार्टीलाई कसरी पुनर्जीवन दिने, संगठन बलियो बनाउने र कम्युनिस्टहरुसँग वैचारिक रुपमा प्रतिकार गर्ने रणनीति बनाउनुपर्छ ।’

पार्टीलाई संघीय संरचनाअनुसार अघि बढाउन विधान संशोधन आवश्यक रहेको औंल्याउँदै उनले भने, ‘विधानअनुसार यस वर्ष महासमिति बस्नैपर्छ । त्यसले विधान संशोधन गरेर पार्टीलाई विधि र विधानअनुसार चलाउनुपर्छ।’

पार्टी नेतृत्व आउने र जाने निरन्तर प्रक्रिया भएको जनाउँदै उनले भने, ‘कसैले भन्दा छाड्ने वा आउने होइन विधि र प्रक्रियाबाट छाड्ने र आउने हो त्यो भइरहेको छ । नयाँ आउन चाहनेलाई पार्टीले सधंै बाटो खुला गर्दै आएको छ ।’

गुटभन्दा माथि उठेर पार्टीलाई सशक्त र प्रभावकारी ढंगबाट कसरी अघि बढाउने सकिन्छ भनेर छलफल जारी रहेको नेता जोशीले बताए । उनले भने, ‘निर्वाचन परिणामपछि निराश नेताकार्यकर्तालाई आश्वस्त र उत्साहित बनाउन प्रयासरत छौं ।’
विधानअनुसार दुई महिनामा गर्नुपर्ने पदाधिकारी, विभाग, केन्द्रीय समितिले अझै पूर्णता नपाएको संसदीय समिति र कार्यसम्पादन पनि विधानविपरीत रहेको जनाउँदै उनीहरुले पार्टीलाई संघीय संरचनामा लैजान, टिकट वितरण पारदर्शी बनाउन, प्रशिक्षणसहितका कार्यक्रम सञ्चालनमा जोड दिएका छन् । पार्टीलाई विधिसम्मत हिँडाउन सकेमात्र नेतृत्व र नेताका विषयमा छलफल चलाउन सकिने जनाउँदै एक सदस्यले भने, ‘पहिला चर्का कुरा गर्ने अनि नेताको आश्वासनमा सबै कुरा समर्पण गर्ने तरिका ठिक होइन ।’

पहिलो संविधानसभा निर्वाचनमा पार्टी पराजित भएपछि पनि युवाहरुले पार्टी सुधारको अभियान सञ्चालनका लागि छलफल थालेको स्मरण गर्दै देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘केहीले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई भेटेर आफ्नो स्वार्थ पूरा गरे केहीलाई उहाँले बोलाएर पार्टी छाडेर जाने भए पनि जाऊ भनिदिनुभयो । त्यसैले नसकिने र नहुने कामको पछि लाग्नु व्यर्थ छ ।’ 

प्रकाशित: ३० पुस २०७४ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App