७ वैशाख २०८१ शुक्रबार
राजनीति

कैलाली पुगेर देउवाको प्रश्न: प्रधानमन्त्री बन्ने मान्छे टुंगो नलाग्दै कसलाई सत्ता सुम्पिनु ?

धनगढी- प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत प्राप्त प्रधानमन्त्री बन्ने टुंगो लाग्ने बित्तिकै सत्ता हस्तान्तरण गर्न तयार भएको बताएका छन। प्रधानमन्त्री को बन्ने भन्ने टुंगो नै नलागेकाले कसलाई सत्ता हस्तान्तरण गर्ने उनको प्रश्न छ। आइतवार कैलालीको गोदावरी धाममा १२ राशी मकर मेलाको उदघाटन गर्दै देउवाले अर्थहिन र भ्रम फैलाउने उद्येश्यले आफुलाई सत्ता नछोडेको आरोप लगाएको बताएका छन्। ‘निर्वाचनमा कसैको बहुमत आएको छैन, संसद गठन भएको छैन,’ उनले भने,‘ कस्लाई सत्ता सुम्पने ?’  बहुमत प्राप्त गरेर प्रधानमन्त्री को बन्ने भनेर टुंगो लागीनसकेकाले सत्ता छोडेर मुलुकलाई नेतृत्व बिहिन बनाउन नचाहेको उनको भनाई छ। वामगठबन्धनले आफु प्रधानमन्त्री को बन्ने भनेर टुंगो लगाउन नसकेको उल्लेख गर्दै आफुलाई सत्ता नछाडेको भन्न लाज लाग्नु पर्ने बताए। ‘वामगठबन्धन आफुले प्रधानमन्त्री बन्ने मान्छे टुंगो लगाउन नसक्ने, मलाई सत्ता छोडेन भन्न लाज लाग्नुपर्छ’उनले भने।

आफुलाई सत्ता लम्व्याउने खेलमा लागेको भन्दै विपक्षीले गरिरहेको आलोचना अर्थहिन र भ्रम फैलाउने उद्देश्यले गरिएको उनको भनाई छ। ‘कानुनी प्रकृया, संविधानको दायरा केही नबुझिकन सत्ता हस्तान्तरणको राग मात्र अलापेर नहुने उनको भनाई छ। ‘ को हो प्रधानमन्त्री हुने ? कानुनसम्मत रुपमा अगाडि आउनु पर्यो’उनले भने,‘ म एक मिनेटमै सत्ता छोड्न तयार छु।’

 कार्यक्रममा कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद नारदमुनी रानाले प्रधानमन्त्रीले सत्ता हस्तान्रणको बाटो खोलिदिनु पर्ने आग्रह गरेपछि देउवाले जवाफमा यसो भनेका हुन। ‘धार्मिक कार्यक्रममा राजनीतिक कुरा नवोल्ने सोचेको भएपनि केही बोल्नै पर्ने बाध्यता भयो’उनले भने, ‘जनतालाई भ्रममा राख्न कानुनी प्रकृया नै नबुझेर आरोप लगाउनुको कुनै अर्थ छैन ।’ राष्ट्रिय सभा निर्वाचनपछि संसदले पूर्णता पाउने भएकाले त्यसपछि मात्र नयाँ सरकार गठन हुने उनले बताए।

सरकारले तीन दिन भित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने उनले बताए। ‘अहिलेसम्म सवै दलको सहमतिको प्रयास गर्दा प्रदेश प्रमुख र राजधानी तोक्न ढीलाइ भएको हो ’उनले भने,‘अब सहमति भए पनि नभए पनि तीन दिनभित्र प्रदेश प्रमुख र अस्थायी राजधानी सरकारले तोक्ने छ।’  प्रदेशको राजधानी भने प्रदेश सभाले तोक्ने उनको भनाई छ। ‘अहिले अस्थायी राजधानी मात्र तोकिने हो’उनले भने।

तत्काललाई प्रदेश सभा बस्नका लागि आवश्यक भौतिक पूर्वाधार भएको ठाउँमा अस्थायी राजधानी तोकिने उनले बताए। सभामा प्रधानमन्त्रीले यस क्षेत्रका धार्मिक तथा पर्यटकीय महत्व बोकेका क्षेत्रहरुको विकासका लागि आफ्नो सदैव प्रयत्न रहिरहने प्रतिबद्धता व्यक्त गरे।

 

प्रकाशित: ३० पुस २०७४ १४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App