८ वैशाख २०८१ शनिबार
विचार

कांग्रेस सवलीकरणका चुनौती

दुर्वल संगठन, अक्षम नेतृत्व, चरम गुटबन्दी र कमजोर चुनावी योजना÷रणनीतिलगायतका आफ्नै कमजोरीका कारण प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा नराम्रो पराजय बेहोरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनको ‘किचेन क्याबिनेट’ भनिने विश्वासपात्रहरू पराजयको गम्भीर आत्मसमीक्षा गर्न व्यग्र हुनुपर्ने थियो यतिखेर । छैनन्, उनीहरूको यतिखेरको ध्याउन्न त केवल पार्टीको कमान्ड आफूहरूबाट नफुत्कोस् भन्नेमा मात्र केन्द्रित छ । आक्रोशित कार्यकर्ता र समर्थकहरू नेतृत्व परिवर्तन हुनुपर्छ भनेर कराइरहेका बेला उनीहरूको रणनीति त्यो आक्रोश नसेलाउन्जेल यस विषयमा कुनै बहस नहोस्, आक्रोश सेलाएपछि त नेतृत्व परिवर्तनको कुरा आपसेआप सेलाइहाल्छ भन्ने छ । प्रजातन्त्र ल्याउन धेरै लामो संघर्ष गरेका, जेलनेल खेपेका उनीहरूलाई पनि आफ्नो पार्टीलाई बलियो बनाउने इच्छै त कसो नहोला र ? तर त्यसो गर्न चाहिने कठोर मेहनतको सामथ्र्य र इच्छाशक्ति आफूहरूसँग छैन भन्ने बोधचाहिँ छ । फेरि प्रतिपक्षको नेतामात्र भइरहँदा पनि मन्त्रीसरहको सुविधा, मान, संसद्मा विशेष हैसियत, विदेशी नेताहरूसँग सम्बन्धको अवसर इत्यादि मिलिहाल्छ । संवैधानिक परिषद्को महत्त्वपूर्ण सदस्य र संसद्मा प्रतिपक्षी दलका नेताको हैसियतमा भागबन्डामा नियुक्ति हुने विभिन्न राजकीय पदहरूमा हिस्सा पाइने प्रचलनै छ । आन्तरिक परिस्थिति र बाह्य ‘फ्याक्टर’ अनुकूल भइदिए पुनः प्रधानमन्त्री हुने मौका पनि मिल्छ । पद त्याग गरे त ती सब हैसियत र सम्भावना समाप्त हुनेछन् । त्यसैले पद त्याग गर्न न पार्टी सभापति इच्छुक छन् न गराउन उनका कोटरी नै। 

चुनावी पराजय : सबै दोषी
वास्तवमा पार्टीको निरन्तरको अधोगति र चुनावी पराजयका निम्ति शेरबहादुर र उनका विश्वास प्राप्तहरू बढी जिम्मेवार भए तापनि गुट/गुटका नेता बनेका रामचन्द्र पौडेल, सबै कोइराला र कृष्ण सिटौलादेखि अधिकांश केन्द्रीय सदस्यसम्म कोही कम/दोषी छैनन् । तर उनीहरू पनि आत्मसमीक्षा गर्न, आफ्नो भागको दोष स्वीकार्न वा परिवर्तन हुन तयार छैनन् । हुन त ६०–७० वर्षको उमेरसम्म एउटा निश्चित ढर्रा, सोचविचार, बानीबेहोरा, मान्यता र कार्यशैलीमा ढलेको, चलेको मान्छे चाहेर पनि परिवर्तन हुन गाह्रो हुन्छ । त्यसैले बरु चुनावी पराजयको दोष आफ्ना प्रतिद्वन्द्वी नेतालाई बोकाएर उनीहरूको गुटलाई सिध्याउन पाए त पार्टी पूरै कब्जा गर्न पाइन्छ, नपाए पनि पार्टीमा आफ्नो स्थान सुरक्षित र सवल गर्न पाइन्छ भन्ने मानसिकता उनीहरूको छ । पश्चाताप गर्दै पद त्याग गर्ने त कुरै छैन।


रामचन्द्र आफ्ना समकक्षी शेरबहादुरको तुलनामा कम अवसर पाएका र पार्टीप्रति बफादार शीर्ष नेता अवश्य हुन् तर उनको संकीर्णता, कार्यकर्ता तथा सर्वसाधारणसँग संवादको कमजोर शैली, उमेर, अहिलेसम्मका काम गराइ जस्ता कुनै कोणबाट जाँच्दा पनि अबको कांग्रेसको भगीरथ चुनौती उनको नेतृत्वबाट पार लाग्ने देखिँदैन। 

हो, रामचन्द्र आफ्ना समकक्षी शेरबहादुरको तुलनामा कम अवसर पाएका र पार्टीप्रति बफादार शीर्ष नेता अवश्य हुन् तर उनको संकीर्णता, कार्यकर्ता तथा सर्वसाधारणसँग संवादको कमजोर शैली, उमेर, अहिलेसम्मका काम गराइ जस्ता कुनै कोणबाट जाँच्दा पनि अबको कांग्रेसको भगीरथ चुनौती उनको नेतृत्वबाट पार लाग्ने देखिँदैन । जहाँसम्म कोइरालाहरूको कुरा छ, तीन कोइराला महामन्त्री शशांक, शेखर र सुजातामध्ये शेखर तुलनात्मकरूपले केही आशालाग्दा छन् । तर पार्टीलाई पुनर्जीवन दिन सक्ने नेतृत्व क्षमता उनको पनि छैन । सुजाताको क्षमताबारे त कुनै पत्रकारले केही वर्षअगाडि लेखेको लेखको शीर्षक नै काफी छ– ग्रो अप सुजाता। 

बाबु बिपीको मुहार लिएर आएका महामन्त्री शशांकमा पनि बाबुको गुण एउटै छैन । भएको भए चुनावको जनादेशविपरित आजका दिनमा पनि माओवादीलाई वाम गठबन्धनबाट तोडेर अब हामीपट्टि ल्याउँछौँ भन्दै भाषण गर्दै हिँड्ने थिएनन् । न औचित्यपूर्ण न नैतिक न सम्भव । त्यस्तो कुरा यदि पार्टीको रणनीति थियो भने पनि त्यसलाई त अति गोप्य राख्नुपथ्र्यो । सार्वजनिक गर्नु हुन्थेन । वास्तवमा विरासत प्रक्रियाबाट नेतृत्वमा आएका उनी जस्ता ‘राजकुमार’ हरूबाट कांग्रेसले पुनर्जीवन पाउन सम्भव छैन । फेरि ‘कोइराला हाउस’ र रामचन्द्रको जुन अहिले एउटै गुट बनेको छ त्यो सभापति शेरबहादुरविरुद्धको मोर्चाबन्दीमात्र हो । कोइरालाहरूको चाहना त पार्टी नेतृत्व हाउस बाहिर जाँदै नजाओस् भन्ने नै हो, रामचन्द्रलाई नेतृत्वमा स्थापित गराउने होइन । कथं त्यसमा उनीहरू सफल भए भनेचाहिँ तीन कोइरालाबीच नै फेरि अस्वस्थ प्रतिस्पर्धाको खेल सुरु हुने निश्चित छ।

युवा नेता
सिटौला त सिटौला भइगए, कुनै जमानामा गिरिजाबाबुले माओवादीसँग डिल गर्ने विशेष जिम्मेवारी के दिएथे उनले त पार्टीकै शीर्ष नेता बन्ने भन्दा कमको मेरो हैसियत होइन जस्तो गरेर सानै भए पनि आफ्नो पनि एउटा गुट थपे, मानौँ, कांग्रेसमा गुट अभाव थियो । यसपालि त उनले पार्टीले राप्रपासँग गरेको चुनावी तालमेलसमेत लत्याउँंदै र ऊसँग गरेको गठबन्धन भाँड्दै प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिए । परिणाम, उनी आफू पनि हारे र निर्वाचन जित्ने सँगैका अरु क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभाका केही सिट पनि कांग्रेसले गुमायो । शेरबहादुर, रामचन्द्र, कोइरालाहरू र सिटौलाबाहेक, विभिन्न कालखण्डमा सरकारका मन्त्री वा संगठनका पदाधिकारी भई काम गरेकाहरूको भीडमा पनि कांग्रेसलाई पुनर्जीवन दिन सक्ने उपयुक्त पात्र बिरलै भेटिन्छन्।

यस्तोमा, यिनै बारम्बार परीक्षित र बारम्बार विफल नेताहरूले नै अझै पार्टी हाँकिरहने हो भने कांग्रेस अब एक्काइसौं शताब्दीको प्रजापरिषद् हुने निश्चित छ । कांग्रेसलाई २०१६ सालको, नभए पनि २०४७–०४८ सालको कांग्रेस बनाउने हो भने अब भिजन भएका, गुटको होइन सिंगो पार्टीको नेता बन्ने छाती र कुशलता भएका, नीतिगत÷वैचारिक नेतृत्व दिन सक्ने, प्रमुख प्रतिस्पर्धी एमालेकै ढाँचामा संगठनलाई चुस्त बनाउन र कार्यकर्तालाई तिखार्न सक्ने, भ्रष्टीकरण नभइसकेका र नयाँ सोच तथा जाँगर भएका नेता चाहिन्छ । यस्तो नेतृत्वको आशा अहिलेसम्म विफल नभएका र सम्भावना बोकेका युवाहरूबाट मात्र गर्न सकिन्छ । जस्तो कि गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरुराज घिमिरे, नवीन्द्रराज जोशी इत्यादि । हो, उनीहरूका पनि कमजोरी होलान्, आज नभएका लोभ/पाप भोलि पलाउलान् । त्यसो भएछ भने त्यतिबेलै तिनलाई पनि हटाउनुपर्छ । तर उनीहरू भन्दा राम्रो विकल्प अहिलेलाई देखिँदैन। 

त्यस्तो नेतृत्व परिवर्तन वैधानिक बाटोबाटै भए राम्रो हुनेछ । अहिले केन्द्रीय समितिको र त्यसपछि महासमितिको बैठक बोलाउने भनिएको छ, त्यहाँदेखि नै नेतृत्व परिवर्तनका प्रयास थालिहाल्नुपर्छ । सक्षम युवा जमातलाई नेतृत्व हस्तान्तरण गरेर अभिभावकको सम्मानित भूमिकामा बस्न नेताहरूलाई पहिले अनुरोध गर्नुपर्छ । त्यसलाई उनीहरूले नटेरेमा दबाब दिनुपर्छ । पार्टीका तलदेखि माथिसम्मका एकाइले, शुभेच्छुक एवं समर्थक मिलेर दबाब सिर्जना गर्नुपर्छ । आवश्यक परे विशेष महाधिवेशन बोलाउन लाउनुपर्छ । नेतृत्व वर्गबाट सुरुमा प्रतिरोध आउला तर अन्ततः उनीहरूलाई राजी गराउने कौशल र आँट युवाहरूले पनि देखाउनुपर्छ । हिजो मजबुरीवस तिनै नेताका गुटमा लागेका उनीहरूमध्येका धेरैले आज गुटबाट आफूलाई मुक्त गराइसकेका पनि छन् । यो राम्रो कुरा हो । अब भविष्यको नेतृत्व लिन पनि अग्रसर हुनुपर्छ । लिएपछि उनीहरूले गर्नुपर्ने काम थुप्रै छन्, स्थानाभावले जसको विस्तृत चर्चा यो आलेखमा सम्भव छैन । मोटामोटी केहीको चर्चा भने तल गरिन्छ :

अबको मुख्य कार्यभार
१. सर्वप्रथम, पार्टीभित्र संस्थागतै जस्तो भइसकेको गुट संस्कृतिको दाहसंस्कार गर्नैपर्छ । तर साथै गुट बन्ने कारणहरू पनि पहिल्याउँंदै पार्टीभित्र जुनसुकै तह, तप्काको पनि असन्तुष्टि व्यवस्थापनको संस्थागत प्रबन्ध गर्नुपर्छ । युवा नेताहरूले सुरुमा एकल होइन, सामूहिक नेतृत्व र टिम प्रणालीमा काम गर्नुपर्छ । केही समय काम हेरेर आवश्यक परे नेतृत्वको प्रणाली र पात्रतामा हेरफेर गर्न सकिनेछ । कांग्रेसलाई नेताप्रधान होइन, पद्धति, विधि, नीति र कार्यक्रमप्रधान पार्टी बनाउनुपर्छ।

२. कांग्रेसका कतिपय नेता÷कार्यकर्ताले ‘राजाको शासन त फ्याँकियो, एमाले शासनको के कुरा’ भन्ने गरेको पनि सुनियो । पर्याप्त स्कुलिङ/प्रशिक्षणको अभावमा गहिराइमा नपुगी गरिने यस्ता कुरा गर्न अब उनीहरूले छाड्नुपर्छ । यी दुईको चुनौतीमा आधारभूत फरक छ । राजतन्त्र वा पञ्चायत जनआधारित संस्था वा प्रणाली थिएनन्, सैन्यबलका भरमा टिकेका शक्ति, पद्धति थिए । तिनलाई कांगै्रसले प्रतिस्पर्धाबाट होइन, जनआन्दोलनबाट फालेको हो । तर लोकतन्त्रमा आन्दोलनबाट होइन, प्रतिस्पर्धाबाट मात्र शक्तिमा पुगिन्छ । र, आजको कांग्रेसको प्रमुख प्रतिस्पर्धी वाम गठबन्धन, खासगरी एमाले, कांग्रेसजत्तिकै जनआधारित शक्ति त हुँदै हो, कांग्रेसको तुलनामा धेरै नै चुस्त र व्यवस्थित संगठन पनि हो । ऊसँग प्रतिस्पर्धामा खरो नउत्रने हो भने पञ्चायतको भन्दा लामो कालखण्ड, पश्चिम बंगालमा झैँ सत्ताबाट बाहिर बस्नुपर्नेछ । अनि यस्तो प्रतिस्पर्धीलाई हराउने हो भने उसले जुन दाउले खेल जितेको छ त्यै दाउ आफूले पनि सिक्न प्रयोग गर्नुपर्छ । अर्को दाउले हुंँदैन । तसर्थ जति छिटो कांग्रेसले एमालेकै जस्तो चुस्त र व्यवस्थित संगठन बनाउँछ र कार्यकर्तालाई एमालेकै कार्यकर्ता जस्तो उद्देश्यप्रति समर्पित, ऊर्जावान, दक्ष एवं प्रशिक्षित बनाउँछ, त्यति नै छिटो उसको पुनरुद्धार हुनेछ । नत्र हुने छैन।  

३. संगठनमा आमूल परिवर्तन गर्दै त्यसको सवलीकरण गर्ने, कार्यकर्ताका कार्यशैली परिवर्तन गर्ने, जनसम्पर्क र प्रचार संयन्त्र मजबुत बनाउने, वित्त व्यवस्थापनलाई संस्थागत र प्रभावकारी बनाउनेलगायतका कार्यभार पूरा गर्न ठूलो मेहनत र लामो समय चहिन्छ । उमेर ढल्केका, खट्न गाह्रो हुने र परिवर्तन पनि हुन नसक्ने नेतृत्व वर्गबाट यस्तो काम हुन सम्भव छैन । त्यसका लागि सक्षम, उमेरदार र ऊर्जावान युवा वर्ग नेतृत्वमा आउनुपर्छ । भर्खरै प्रवक्ता नियुक्त प्रखर युवा नेता विश्वप्रकाश शर्माले ‘(चुनाव परिणामबाट) बिरामी परेको देखिएको कांग्रेस भर्खर अस्पताल आइपुगेको यो बेलामा बाहिर घाममा सुन्तला र बदाम छोडाएर खाँदै औषधि बताउनेहरूका कुरा सुन्ने होइन । डाक्टरको डायग्नोसिस कुरौँ’ भनेका छन् । ठीक हो तर गलत औषधि खाइरहिएको रहेछ भनेर थाहा पाएपछि त्यसलाई रोकिहाल्नु पनि पर्छ, नत्र त्यसले बिरामीको ज्यानै लिन्छ । डायग्नोसिस गर्ने नाममा अनावश्यक टेस्टहरू लिँदै समय लम्ब्याउनु हुँदैन।

४. उदार प्रजातन्त्रको पर्यायमात्र होइन, कुनै बखत सुशासन र सामाजिक आर्थिक परिर्तनको मूल बाहक पनि बनेको कांग्रेस यतिखेर अकर्मण्यमात्र होइन, विचारशून्य, दिशाहीन पनि छ । चुनावमा टिकट दिनेदेखि कतैको राजकीय नियुक्ति दिनेसम्मका हरकुरामा उसको भ्रष्टीकरण भएको छ । त्यसैले आफ्ना जुन नीतिका कारण पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवालगायतका कतिपय सेवा क्षेत्रमा देशले प्रगति हासिल गर्‍यो तिनको पनि प्रतिरक्षा र प्रचार गर्न नसकेर ऊ गाली खाइरहन्छ । यस्तोमा समाजवादलगायत कांग्रेसको सैद्धान्तिक आधारबारे स्पष्ट परिभाषासहित सर्वमान्य र सम्भाव्य कार्यक्रम बनाउन ढिला भइसकेको छ । आर्थिक विकास, समृद्धिका अजेन्डा त हाम्रा हुन् भनीकन त्यसमा बहस विमर्श चलाएर विकास र समृद्धिको आफ्नो खाका जनसमक्ष पु¥याउन र प्रचारप्रसार गर्न अत्यावश्यक भइसकेको छ। कांग्रेसको गौरवमय इतिहासको कालखण्ड नदेखेका, चालीसको दशकयता जन्मेका नवयुवाहरूको तप्कालाई कांग्रेसप्रति आकर्षित गर्ने र उनीहरूका लागि स्वदेशमै रोजगार सिर्जना गर्ने कार्यक्रम ल्याउन अनिवार्य भइसकेको छ । विभेदमा परिएका, सीमान्तकृत र कमजोर समुदायका लागि लड्ने, पैरवी गर्ने तथा राजनीतिक÷सामाजिक सुधारहरूको अगुवाइ गर्ने भूमिका ग्रहण गर्न विलम्ब भइसकेको छ। 

५. अन्त्यमा, आगामी कम्तीमा पाँच वर्ष सरकारका गलत कामको भण्डाफोर र प्रतिरोध गर्ने सशक्त र लोकप्रिय प्रतिपक्षी बन्ने क्षमता त नयाँ सरकार बनेको एक सय दिनभित्रै आर्जन गरिसक्नुपरेको छ । त्यसका लागि पनि मौजुदा नेतृत्व वर्गले त बिदा लिनैपर्छ किनकि उनीहरू आफ्नै पार्टी फोड्न वा त्यहाँभित्र गुटबन्दी गर्न जति सक्षम छन् एमाले नेतृत्वको सरकारलाई चुनौती दिन, खबरदारी गर्नमा त्यति छैनन् । र, हुने पनि छैनन्।

प्रकाशित: १ माघ २०७४ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App