coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश प्रमुख छिटो तोक्न आयोगद्वारा दलको ध्यानाकर्षण

काठमाडौं–प्रदेश प्रमुख नियुक्तिमा सरकारले ढिलाइ गर्दा आगामी माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचन तयारी अघि बढाउन समस्या भएको भन्दै निर्वाचन आयोगले प्रमुख राजनीतिक दलको ध्यानाकर्षण गराएको छ ।

आयोगले प्रमुख दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका नेताहरूलाई मंगलबार कार्यालयमा बोलाएर सरकारको ढिलासुस्तीका कारण माघ २४ गते हुने भनिएको निर्वाचनको तयारी प्रभावित भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले सरकारले प्रदेश प्रमुख नियुक्तिमा ढिलाइ गर्दा निर्वाचनको तयारी प्रभावित भएकाले राजनीतिक दलको ध्यानाकर्षण गराएको बताए । ‘सरकारले समयमै प्रदेश प्रमुख नियुक्त नगर्दा निर्वाचनको तयारी अघि बढाउन समस्या भएको छ,’ छलफलपछि आयुक्त दाहालले भने, ‘हामीसँग सरकारले यथाशिघ्र नियुक्त गर्छाैं भन्छ, तर लामो समय बितिसक्दा पनि नियुक्ति नगर्दा समस्या भएको छ, यही विषयमा हामीले राजनीतिक दललाई जानकारी गरायौं ।’ उनले सबै दललाई राष्ट्रियसभा निर्वाचनको निर्वाचन पद्धती, निर्वाचन कार्यक्रम र निर्वाचन तयारीका विषयमा समेत जानकारी गराएको बताए ।

राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भैसक्दा पनि प्रदेश प्रमुख नियुक्ति नहँदा अन्योल बढेको आयुक्त दाहालले बताए । निर्वाचन कार्यतालिकामा माघ ७ गते राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक गर्ने कार्यक्रम राखेकाले त्यसअघि नै प्रदेशप्रमुख नियुक्त गरी प्रदेशसभाका सदस्यलाई सपथग्रहण गराउनुपर्ने बाध्यता छ ।

राष्ट्रियसभा निर्वाचनको मतदाता प्रदेशसभाका सदस्य भएकाले त्यसअघि नै प्रदेशप्रमुखको नियुक्त गरेर सपथ गराउनुपर्ने सरकारलाई समेत दवाव छ । प्रदेश प्रमुख नतोकिँदा प्रदेशतर्फ समानुपातिकको अन्तिम मत परिणामसमेत सार्वजनिक भएको छैन । तर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले भने प्रदेश प्रमुख नियुक्तिबारे छलफल थालेको महिनौंसम्म प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्न सकेको छैन । प्रदेशप्रमुख नियुक्त गर्न भन्दै मंगलबार मन्त्रिपरिषद् बैठक डाकिए पनि राजनीतिक सहमति नजुटेको भन्दै स्थगित भएको छ ।

निर्वाचन परिणाम सार्वजनिक भएको ४१ दिन बितिसक्दा पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणाम सार्वजनिक नभएको भन्दै निर्वाचन आयोगको सर्वत्र आलोचना भएको छ । तर आयोग भने राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक गर्न नमिल्ने र प्रदेशप्रमुख नियुक्तिमा सरकारले ढिलाइ गर्दा राष्ट्रियसभा निर्वाचन तयारी अगाडी बढाउन समस्या भएको बहाना बनाउँदै आएको छ । चुनावमा बहुमत प्राप्त गरेको वाम गठवन्धनले भने प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता लम्बाउन खोजेको र आयोगले समेत साथ दिएको आरोप लगाउँदै आएको छ ।

एमाले नेता अग्नी खरेलले राष्ट्रियसभा निर्वाचन प्रणाली निर्वाचन तयारीका बारेमा दलहरूलाई जानकारी गराउन आयोगले छलफलमा बोलाएको बताए । उनले प्रदेश प्रमुख नियुक्ति र प्रदेश राजधानी तोक्ने काम सरकारको भएकाले सरकारले यथाशिघ्र निर्णय गरी निर्वाचनलाई सहयोग गर्नुपर्ने बताए । ‘सरकारले प्रदेश प्रमुख नियुक्ति नगर्दा समानुपातिक निर्वाचन परिणाम सार्वजनिक गर्न नसकिएको र निर्वाचन कार्यक्रम प्रभावित भएको भनेर आयोगले भनिरहेको छ,’ उनले भने, ‘प्रदेश प्रमुख नतोकिए पनि मंगलबार साँझसम्म समानुपातिक निर्वाचन परिणाम सार्वजनिक गर्छाैं भनेर आयोगले भनेको छ, के गर्छ हेरौं ।’
छलफलमा सहभागी कांग्रेस नेता रमेश लेखकले अब यथाशिघ्र सरकारले प्रदेश प्रमुख नियुक्त गर्ने बताए । ‘प्रदेश प्रमुख तोक्ने कामा सरकारको हो, अब सरकारले यथाशिघ्र प्रदेश प्रमुख तोक्छ,’ उनले नागरिकसँग भने, ‘प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्ने विषयमा राजनीतिक छलफल भैरहेको छ ।’
 

प्रकाशित: ३ माघ २०७४ ००:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App