६ वैशाख २०८१ बिहीबार
राजनीति

अदालत परिसरमा प्रदर्शन

जिल्ला प्रहरी कार्यालय धनुषाको मुलगेटमा प्रदर्शन गर्दैै हिंसापीडित । तस्बिर : सुरेश

जनकपुरधाम – धनुषा जिल्ला अदालत परिसरमा मंगलबार हिंसापीडित महिला र राजनीतिक दलका कार्यकर्ताले नाराबाजी र प्रदर्शन गरेका छन् । जबरजस्ती करणी मुद्दाका अभियुक्तलाई अदालतले धरौटीमा छाड्न लागेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । न्यायाधीशलाई कुनै दबाबमा नपरी निष्पक्ष फैसला गर्न खबरदारीस्वरुप नाराबाजी र प्रदर्शन गरिएको प्रदर्शनकारीले बताए।

केही समययता अदालती कामकारबाहीलाई लिएर असन्तुष्टि पोख्ने वा न्याय सम्पादन प्रक्रिया प्रभावित पार्ने कामहरू भइरहेका छन् । एक साताअघि पूर्वसांसद सञ्जय साह ‘टकला’ को मुद्दा छिटोे टुंग्याउन  माग राखेर समर्थकको एक टोली अदालत पुगेको थियो । जिल्ला अदालतका मुख्य न्यायाधीशलाई भेटेरै सो टोलीले सक्दो छिटो मुद्दा फैसला गर्न लिखितरुपमै माग गरे। 

महिना दिनअघि रञ्जना शर्माको हत्यासम्बन्धी मुद्दामा अभियुक्तलाई उन्मुक्ति नदिन दबावस्वरुप पीडित पक्षले एक सातासम्म अदालत घेराउ ग¥यो । कडा दबावपछि मात्रै अदालतले रञ्जनाका ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको बुझाइ पीडित पक्षको छ । अझ अदालत परिसरमै धर्ना र नाराजुलुस गर्दा पनि केही अभियुक्तले आर्थिक प्रभावमा उन्मुक्ति पाएको आरोप उक्त पक्षको छ। 


पछिल्लो समय न्यायाधीशलाई खबरदारी गरेपछि मात्रै न्याय पाउन सकिने भ्रम सर्वसाधारणमा फैलिएको छ, जुन सत्य होइन । 
राधाकृष्ण उप्रेती, मुख्य न्यायाधीश, धनुषा जिल्ला अदालत

जनकपुर, बसबिट्टीमा आफ्नै श्रीमानको हत्या गर्ने महिलालाई अदालतले धरौटीमा छाडेको भन्दै पीडित पक्षले नाराबाजी गरेको थियो । करिब दुई महिनाअघि अदालत परिसरमा नाराबाजी गरेकै कारण चारजना थुनामा परे । त्यसअघि पत्रकार उमा सिंहको हत्या मुद्दा, दाइजो  निहुँमा हत्या गरिएकी रुपा कर्णको मुद्दा, विद्यालय व्यवस्थापनसम्बन्धी विवादमा सबैलामा तीन जनाको हत्या भएको मुद्दामा पनि अभियुक्तले उन्मुक्ति पाउन नहुने भन्दै अदालत परिसरमा नाराबाजी भएको थियो। 

पछिल्लो समय अदालतप्रतिको जनआस्था कमजोर भएर यस्तो स्थिति आएको एक अधिवक्ताले बताए । ती अधिवक्ताले भने, ‘न्याय पाउन हरेक प्रयास विफल भएपछि अदालत पुग्ने हो । अदालतबाट पनि न्याय पाउन नसकेपछि कहाँ जाने ?’ कतिपय मुद्दामा न्याय सम्पादन गर्दा अदालतको पनि कमजोरी देखिएको ती अधिवक्ताले बताए। 

अदालतका एक कर्मचारीले भने न्याय सम्पादनमा कमजोरी रहेको भन्नु भ्रममात्र भएको टीप्पणी गरे । ‘अदालतमा आएर प्रदर्शन गर्नेहरुलाई कुनै तत्वले उक्साउने गर्छ । बिनाउक्साहट कोही पनि अदालतको विपक्षमा उत्रेको मैले देखेको छैन’, ती कर्मचारीले भने । समाजमा कसैले विपक्षीसँग रिसइबी साध्न पीडित पक्षलाई उक्साएर आफ्नो स्वार्थपूर्ति गर्ने प्रवृति हाबी हुँदै गएको टिप्पणी गर्दै ती कर्मचारीले थपे, ‘अदालतमा आएर प्रदर्शन गरेकै आधारमा न्याय सम्पादन निष्पक्ष भएन भन्न मिल्दैन।’

जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीले पछिल्लो समय अदालत र न्यायाधीशका विषयमा केही नकारात्मक समाचार आउन थालेपछि सर्वसाधारणमा त्यसको असर परेको स्वीकारे । ‘सञ्चार माध्यममा अदालतप्रति नकारात्मक समाचार आउन थालेपछि निष्पक्ष न्याय सम्पादनका लागि न्यायाधीशलाई दबाब नै दिनुपर्ने बुझाइको विकास भइरहेको मलाई लाग्छ’, उनले भने। 

अदालत र न्यायाधीशको आचरण सर्वसाधारणले बाहिरबाट सोचेजस्तो शंका गर्नुपर्ने खालको नरहेको दाबी उप्रेतीको छ । ‘एक दोषी उम्कियोस् तर निर्दोषले सजाय पाउनुहुँदैन भन्ने सिद्धान्तले हामी काम गर्छौं । तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्तलाई थुनामा राख्ने कि रिहा गर्ने भन्ने निर्णयमा पुग्ने हो’, उनले भने, ‘अदालतमाथि आक्षेप नलाग्नेगरी काम गर्न हामी प्रतिबद्ध छौं ।’ पछिल्लो समय अदालतविरुद्ध प्रदर्शन तथा नाराबाजीका घटना देशैभर बढिरहेको स्वीकार्दै उनले भने, ‘धनुषामा मात्रै नभएर अन्य जिल्लामा पनि न्यायाधीशलाई खबरदारी गरेपछि मात्रै न्याय पाउन सकिने भ्रम सर्वसाधारणमा फैलिएको छ, यसको मुख्य कारण मिडिया नै हो।’

अदालतको मुल गेट अवरुद्ध गरी मंगलबार आधा घण्टासम्म नाराबाजी भयो । सहिदनगर नगरपालिकास्थित गोठकोयलपुरमा स्थानीय चुनाव तयारीका बेला एक महिलाको बलात्कार भएको थियो । उक्त घटनाका अभियुक्तलाई उन्मुक्ति नदिन अदालतलाई खबरदारी गर्न भन्दै गाउँबाट  आएको करिब दुई दर्जन महिलासहितको टोलीले अदालत परिसरमा प्रदर्शन गरेको हो ।  प्रदर्शनकारी टोलीको अगुवाइ माओवादी केन्द्रका सचिवालय सदस्य योगकुमार बरबरिया ‘जीवन’ ले गरेका थिए । उनले खबरदारी नगरी न्याय पाउन नसकिने अवस्था आएको बताए ।  ‘पीडितले न्याय पाउनका लागि अदालतविरुद्ध प्रदर्शन गर्नुपर्ने अवस्था आउनु दुःखद हो’, उनले भने, ‘बलात्कार जस्तो जघन्य अपराध गर्ने अभियुक्तले पनि उन्मुक्ति पाए भने जनअदालत खडा गरी जनताकै बीचमा न्याय सम्पादन गर्ने अभियानमा लाग्छु ।’ प्रहरी र अदालतले प्रभाव र दबाबमा परी मुद्दा हेरेकै कारण आशंका पैदा भएको टिप्पणी उनले गरे। 

बलात्कार आरोपित थुनामा
धनुषा जिल्ला अदालतले बलात्कार आरोपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश मंगलवार दिएको छ । सहिदनगर बलात्कार घटनाका मुख्य अभियुक्त कालु भन्ने नागेन्द्र भर्खेर तथा जनकपुर आनन्दनगरमा सामूहिक बलात्कार मुद्दामा पक्राउ परेका सुमन पाण्डे र धनिकलाल साहलाई पुर्पक्षका लागि जलेश्वर कारागार पठाउने आदेश भएको हो । जिल्ला अदालतका स्रेस्तेदार राधाकान्त झाको इजलासले उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो। 

प्रहरीविरुद्ध अवहेलना मुद्दा 
जिल्ला प्रहरी कार्यालय महोत्तरीले अदालतको अवहेलना गरेको भन्दै महोत्तरी निवासी इन्दु यादवले उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेका छन्। 

तत्कालीन पुनरावेदन अदालतले परमादेश गरेको वर्ष दिन बितिसक्दा पनि प्रहरीले कारबाहीको प्रक्रिया अगाडि नबढाएको भन्दै यादवले मंगलबार उच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् । २०७३ असार २१ गते तत्कालीन पुनरावेदन अदालत, जनकपुरका न्यायाधीशद्वय शेषराज शिवाकोटी र प्रेमराज ढकालको संयुक्त इजलासले विपक्षी जिल्ला प्रहरी कार्यालयका नाममा यादवले दिएको जाहेरी दरखास्त सम्बन्धमा जाँच गरी कानुनबमोजिम निक्र्योल गर्न परमादेश जारी गरेको थियो।

पीडित परिवार र आफन्तले पटक–पटक जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा फैसलाको नक्कल प्रतिलिपि बोकेर धाए पनि प्रहरीले बेवास्ता गरिरहेको छ । दुई वर्षअघि मधेस आन्दोलनक्रममा महोत्तरी गाउँपालिका–५ बस्ने रामविवेक यादवको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । सोही घटनासम्बन्धी मुद्दा अनुसन्धानका लागि दिइएको जाहेरी प्रहरीले दर्ता नगरेपछि यादव पुनरावेदन अदालत पुगेका थिए।
 

प्रकाशित: ३ माघ २०७४ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App