८ वैशाख २०८१ शनिबार
विचार

दोषी नेता हैनन्, नागरिक नै हुन्

हामी आफ्ना छोराछोरी अमेरिका जाऊन्, बेलायत जाऊन्, क्यानडा जाऊन् भन्ठान्छौं अनि अरु कसैका छोराछोरी आएर देश बनाइदिऊन् भनेर सोच्छौँ। हामी अरु नै कोही सडकमा गएर आफ्ना लागि लडोस् भन्ने कामना गर्छौं। हामी एक जना अनि एउटा पार्टीलाई भोट दिएपछि सबै काम हुन्छ भनेर खेल मैदानभन्दा बाहिर निस्कन्छौं। हो, हामी यहीँनेर चुक्यौं। हामीले नागरिक अनि नेताबीचको सन्तुलन कायम गर्न सकेनौं।

बिहानको करिब ११ बजे म र साथी चिया पिउन नजिकैको होटेलमा छिर्‍र्यौँ। साथीसँग कुरा गर्दागर्दै सँगैको टेबलमा बसी चुरोट तान्दै गरेका दुई व्यक्तिका कुराले हामीलाई तान्यो। धुँवा उडाउँदै गरेका ती दुई  भलाद्मीले पत्रिका पढ्दै 'यो देश नेताले बिगारे, साला सब नेता चोर!' भन्दै  गाली गर्दै चुरोटको धुँवा हतारहतारमा उडाए। हामीले पनि एकअर्कालाई पुलुक्क हेर्‍र्यौँ। हामीभित्रको आक्रोश अनि पीडालाई उनले प्रतिनिधित्व गरेझैँ लाग्यो। हामी अझ चाख दिएर उनीहरुको कुरा सुन्न थाल्यौँ। तीमध्येका एकले नेताहरुलाई देशबाट लखेट्नुपर्छ भन्दै आफ्नो बिहानको खाना पचाउन भ्याए। करिब आधा घण्टा जति आफ्नो आक्रोश पोखेपछि 'जाम् हिँड्नुस् सर अफिसमा मान्छेहरु आएर कराउँदै होलान्, यी नेताका कुरा गरेर साध्य लाग्दैन, अब यसपालिचाहिँ डिभी पारेर अमेरिका जानुपर्छ है' भनेर उठे। उहाँहरु गएपछि मैले साहूजीलाई सोधेँ– उनीहरु को हुन् साहूजी? उत्तर आयो–नजिकैको सरकारी कार्यालयको हाकिम हुन्। मलाई बडो नरमाइलो लाग्यो। एउटा सरकारी कार्यालयका अधिकृतहरुले आफ्नो कार्यालयको समयमा आफ्नो काम छाडेर अरुले काम गरेन भनेर भन्न कत्तिको जायज हुन्छ?

राष्ट्र निर्माणका निम्ति नेतृत्व अनि नागरिक एक रथका दुई पाङ्ग्रा नै हुन्। नेतृत्व भनेको त समाजको प्रतिनिधि पात्र हो। यो देश नबन्नुको मूल कारण हामी नागरिकले आआफ्ना जिम्मेवारी बहन नगरेरै हो। जबसम्म नागरिक जिम्मेवार बन्दैनन् नेतृत्वलाई कसरी जवाफदेही बनाउन सकिन्छ र? आफू काम नगर्ने अनि अरुलाई काम गरेन भनेर आरोप लगाएरमात्र हुन्छ र? विद्यार्थी कलेज गएर टायर बाल्छन्, मास्टर कक्षामै नछिरी हाजिरी गर्छन्। कर्मचारी अफिसमा काम नगरी घाम तापेर बस्छन् अनि कहाँबाट बन्छ त देश? बिरामीलाई सधँै घण्टौँ कुराउने डाक्टरले समयमै कुनै नेताले समयमा आएन भनेर कराउनु कत्तिको उचित होला? आफूलाई नेपाली समाजका अगुवा ठान्ने पत्रकार, कलाकार, प्रशासक, व्यापारी, कर्मचारी, खेलाडी सबै नेतृत्व भएन भन्न पछि हट्दैनन्, नेतृत्वलाई घण्टौँ लगाएर गाली गरेर पनि थाक्दैनन् तर त्यसको विकल्प बन्न भने आफैँ तयार हुँदैनन्। सक्षम नेपाली राजनीतिबाट परपर रहेकै कारणले आज हाम्रा नेताहरुले जे गर्न पनि छुट पाइरहेका छन्। यदि सक्षम नेपाली अहिलेका अक्षम नेतृत्वलाई चुनौती दिई राजनीतिमा आउने हो भने हाम्रा नेताहरु सु„न बाध्य हुने थिए। त्यसैले देश पछि पर्नुमा दोष नेताको मात्रै हैन, हामी जनताको पनि छ।

मन्दिर, बैंक, कार्यालयमा लाइन बसेको देख्दादेख्दै लाइन मिची अघि बढ्नुहुन्न भन्ने कुरा कसलाई थाहा हुन्न र? डिभाइडर नाघेर सवारी साधन कुदाउनुहुन्न भनेर कसलाई पो थाहा नहोला र? बन्द खराब हो, यसले देशलाई घाटा पुर्‍याउँछ भनेर नजान्ने पनि कोही होला र? तै पनि हामी प्रत्यक पटक नेतालाई मात्रै गाली गरेर आफू पन्छन खोज्छौँ तर तीतो यथार्थ, यदि जनतामात्रै जिम्मेवार भएको भए हाम्रा नेता यस्ता हुने थिएनन्। यदि केही सय जनता मात्रै बन्दको बिरुद्धमा सडकमा उत्रने हो भने कुनै राजनैतिक दलले बन्द गर्ने साहस गर्न सक्थे होला र? अवश्य सक्दैनथे।

हामी आफँै आफ्नो स्वार्थका निम्ति विकास हुन दिदैनौँ। गाउँमा बाटो बन्न लाग्यो भने मलाई के फाइदा अनि घाटा हुन्छ भनेर बाटो बनाउन अवरोध गर्छौं। हामी १०–१५ हजारको जागिर खादैनौँ तर खाडीमा भाँडा माझ्न जान भने तँछाडमछाड गर्छौं। हामी यहाँ खेत जोत्दैनौँ, हामी विकास बजेटले वर्षभर तास खेलेर बस्छौँ अनि अन्तिममा आएर देश बनेन भनेर अरुलाई गाली गर्छौं। 

हो, यो समाज हामी आफैँले बिगारेका हौँ। ९९ रुपियाँको १ लिटर पेट्रोल हाल्दा १ रुपियाँ नमागेर दिनमा लाखौँको भ्रष्टाचार गराउने तपाईं हामी नै हैन र? यातायात, मालपोत जस्ता सरकारी कार्यालयमा १० र २० मिनेट लाइन बस्न अल्छी गरेर, आफ्नो काम छिटो गराउने होडबाजीमा भ्रष्टाचार मौलाउने को हामी आफैँ हैन र? यी नेताले जे गरे नि हुन्छ भनेर सहेर बस्ने अनि निर्वाचनमा फेरि त्यही नेतालाई अनि त्यही पार्टीलाई समर्थन जनाउने हाम्रै प्रवृत्तिकै कारण आज देशको यो दुर्दशा भएको हैन र? नेताले बोक्न लगाए भनेर देशको झण्डाको बेवास्ता गरी पार्टीको झण्डा शानले फर्फराउने तपाईँ र हामी नै हैन र? आफू सक्षम हुँदाहुँदै राजनीतिलाई फोहोरी खेल भन्दै बसेर यी नेतालाई शासन गर्न दिएर देशको यो हालत गराउने को? त्यही भोट हाल्ने म अनि स्वस्तिक छाप ठोक्ने तपाईँ नै हैन र?

अब नेता अनि जनता दुवै सच्चिन जरुरी छ। अब जनता आफँै जिम्मेवार भएर नेतृत्वलाई जवाफदेही बनाउन जरुरी छ। यदि जनतामात्रै पनि सचेत हुने हो भने पनि केही महिनामै देशमा विकासले गति लिनेछ। यदि जनताले मात्रै पनि आफ्नो नेतृत्वलाई खबरदारी गर्ने हो भने पनि देशमा भ्रष्टाचार घट्नेछ। यदि नागरिकले मात्रै पनि आफ्नो आँखा, कान अनि मुखमा बाँधेको पट्टी हटाउने हो भने पनि राष्ट्र समृद्ध हुनेछ। अब जनता अनि नेतृत्व दुवै मिलेर देशमा शान्ति कायम नै राखेर अहिलेको राजनीतिक संक्रमणकाल अन्त्य गर्दै देशलाई विकासको बाटोमा लम्काउन तपार्इँ आफँै अनि मै आफैँ तात्नुको विकल्प छैन। अब हामीले छिट्टै नेपाललाई समृद्ध बनाउन जरुरी छ।

जिम्मेवार नागरिक नहँुदासम्म राष्ट्र सफल हुन सक्दैन। राष्ट्रले प्रगति नगर्दा त्यसको चोट सबैभन्दा बढी नागरिक आफैँले खेप्नुपर्ने हुन्छ। नेपालमा पनि कति मेस्सी, कति तेन्दुलकर, कति चार्ली च्यापलिन अनि कति सेक्सपियरहरु अवसरको अभावमा होटेलमा गिलास माझ्न, गोठालो जीवन बिताउन, सडकमा अलपत्र रात काट्न बाध्य छन्। राष्ट्र निर्माणमा जुट्नुपर्ने युवा जमात खाडीमा, मलेसियामा सस्तोमा आफ्नो रगत पसिना बेच्न बाध्य छन्। मौका पाएकाले पनि पाउनुपर्ने सम्मान अनि विश्वसामु त्यो परिचय पाउन सकेका छैनन्। कारण– राष्ट्र विकसित नहुनु हो। कारण– राष्ट्रले प्रतिभाको पहिचान अनि प्रवर्धन गर्न नसक्नु हो। कारण– देशमा स्थायित्व अनि शान्ति नहुनु हो। कारण– राजनीति हो। कारण– नेता हो। अनि कारण– तपाईँ अनि कारण म आफैँ। नत्र के हाम्रा विमल घर्ती मगरसँग त्यो प्रतिभा छैन र? हाम्रा पारस खड्का अनि सिपोरा गुरुङ अवसर पाएको खण्डमा कुनै विदेशी खेलाडीभन्दा कम छन् र? हाम्रा हरिवंश र मदनकृष्ण दाइहरु नेपालमै मात्र खुम्चनुपर्ने कलाकार हुन र? अनि लक्ष्मीप्रसाद देवकोटा सेक्सपियरभन्दा कम थिए र?

त्यसैले अब हाम्रो ध्यान समयमै निर्वाचन गराएर समृद्धितिर लगाउनुपर्छ नत्र फेरि पनि यो मुलुकले सडकका मेस्सी, रोनाल्डो अनि सचिन गुमाउनेछ। राष्ट्र पछि पर्नेछ। नागरिक आफैँ पछि पर्नेछन्। तपाईँ पछि पर्नुहुनेछ अनि म आफैँ पछि पर्नेछु। त्यसैले अब म अरुका लागि नसके पनि आफ्नै लागि भए पनि जिम्मेवार बन्न जरुरी छ। अनि नेतृत्वलाई जवाफदेही बनाउन जरुरी छ। अब परिवर्तन 'तिमी' वा 'ऊ' बाट हैन, 'म' बाट सुरु नगरेसम्म हामीले कल्पेजस्तो नेपाल बन्न सक्दैन। त्यसैले प्रत्येक नेपाली विवेकशील नागरिक बन्न जरुरी छ।

केन्द्रीय व्यवस्थापिका उपप्रमुख, विवेकशील नेपाली दल

प्रकाशित: २७ श्रावण २०७३ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App