कथा

सडक

शनिबार, ०६ माघ २०७४, ०८ : ५७ पराशर रिजाल


हिउँदको बेला थियो । ६ बजे नै झमक्क साँझ परिसक्थ्यो । त्यस दिन म अलि ढिलोसम्मै काममा अलमलिएँ । कामबाट फुर्सद हुनासाथ घरतर्फ जान हतार–हतार पुतलीसडक नेपाल यातायातको बस स्टपमा पुगेँ । जति छिटो गर्न खोजे पनि सवा ६ भइहाल्यो । त्यही साँझ पाहुनालाई घरमा खाना खान बोलाएका थियौँ । कतै आफू घर पुग्नुअघि नै उनीहरू आइपुग्छन् कि भन्ने चिन्ता थियो ।

हिउँदको बेला थियो । ६ बजे नै झमक्क साँझ परिसक्थ्यो । त्यस दिन म अलि ढिलोसम्मै काममा अलमलिएँ । कामबाट फुर्सद हुनासाथ घरतर्फ जान हतार–हतार पुतलीसडक नेपाल यातायातको बस स्टपमा पुगेँ । जति छिटो गर्न खोजे पनि सवा ६ भइहाल्यो । त्यही साँझ पाहुनालाई घरमा खाना खान बोलाएका थियौँ । कतै आफू घर पुग्नुअघि नै उनीहरू आइपुग्छन् कि भन्ने चिन्ता थियो ।

सिंहदरबार तर्फबाट गाडी धेरैबेर अघिदेखि आइरहेको थिएन । बीचबीचमा बल्लबल्ल देखापर्ने गाडीहरू पनि कर्कस आवाजसँगै मानिसहरूको गुजुल्टै लिएर मात्र देखापथ्र्यो । त्यसमा पनि धुुवाँ–धुलो, सबै एकमुष्ठ लिएर आउँदा सासै फेरिनसक्नु, आँखै हेरिनसक्नु र टाढै भाग्नुजस्तो हुन्थ्यो । तैपनि गाडीलाई बलिया–बांगा मानिसको झुन्डले तुरुन्तै घेरिहाल्थ्यो । तिल राख्ने ठाउँ नभएको गाडीतर्फ देखाउँदै सदाझैँ गाडीका सहयोगी ‘खाली सिट ! खाली सिट !’ भनेर चिच्याइरहेको हुन्थ्यो ।

बाहिर निस्कने र भित्र पस्ने यात्रुको थप घम्साघम्सीले वातावरण एकदमै कोलाहलमय थियो । परिस्थिति यति विघ्न निराशाजनक थियो कि न बसबाट कुनै यात्रु सजिलै बाहिर निस्कन सक्थ्यो, न त चढ्नै । दिनभरि काम गर्दागर्दा थकित भएका मानिस यो कुस्ती प्रतीत हुने घम्साघम्सी अनि पट्यारलाग्दो गाडी कुराइबाट हैरान भइसकेका थिए । तैपनि सधैँको यस्तै असुविधा भोग्न अभिशप्त, अभ्यस्त मानिसलाई यो परिस्थिति नौलो थिएन र विकल्प केही नभएको हुँदा सबै यस कुस्तीमा सहभागी हुन्थे । जो–जो विजयी हुन्थे, उनीहरू गाडीभित्र छिर्थे, बाँकी अर्काे कुस्तीका लागि तयारीमा खडा हुन्थे । केही समयको कुस्तीपछि पुतलीसडकबाट चक्रपथ जाने नेपाल यातायात बसमा आफू पनि चढ्न सफल भइयो । संयोगले एक युवाले ‘अंकल यता बस्नुस्’ भन्दै सिट पनि छाडिहाले । आफूभन्दा ज्येष्ठ व्यक्ति पो छेउमा कोही खडा छ कि भन्ने आशंका निवारण गर्न नजर घुमाएँ । त्यस्तो कोही देखिएन । यस्तो भीड र असुविधामा पनि त्यस्तो त्याग गर्न सक्ने युवालाई मुरिमुरी धन्यवाद दिँदै सिटमा बसेँ । दिनभरिको थकाइ, भोक र अघिल्लो दिनको थोरै अनिद्राले गर्दा अचानक निदाइएछ ।

निधाइसकेपछि सपनामा यस्तो देखेँ– म मेरो अन्तिम गन्तव्य चक्रपथ पुगिसकेँछु । हतार–हतार ओर्लने कोसिस मात्र के गर्न लागेको थिएँ, अचानक गाडीभित्रको भीडले किचिएर बेहोस भएँ । केही मानिस कराउन, चिच्याउन थाले, तुरुन्तै हस्पिटल लैजान भने । हतार–हतार मलाई हस्पिटलतर्फ दौडाइयो र बेडमा सुताइयो । डाक्टरले मलाई चेकजाँच गर्यो, अन्त्यमा लामो श्वास फेर्दै मृत घोषित गर्यो र मेरो पोस्टमार्टम सुरु गरियो । त्यसपछि त्यहाँ के कसो भयो थाहा छैन, म भने सीधै स्वर्गतर्फ लागेँ ।

स्वर्ग पुगेर टुसुक्क के बसेको थिएँ टिचिङ हस्पिटल अगाडिको त्यही खाल्डाखुल्डी भएको बाटोसँग अनुहार मिल्ने उसकी हजुरआमा पीपलबोट, न्युरोड पो झुम्लुंग अगाडि आइपुगी । ऊ निन्याउरो मुख लगाएर नजिकै बसी । उसको निकटता मेरा लागि कति पनि चित्तबुझ्दो थिएन ।

मैले रिसको आवेग थाम्नै नसकी भने, ‘तिमीहरूको खलकले मेरो ज्यान त लियौ–लियौ, स्वर्गमा पनि मेरो पिछा नछाड्ने भयौ हैन ! के खोजेका छौ अझै मबाट तिमीहरूले ? असैह्य भयो भागिहाल ! म तिमीहरूको छाया पनि देख्न चाहन्न ।’उसले केही हच्किँदै नरम स्वरमा भनी, ‘त्यसै हामीलाई आरोप नलगाऊ महासय ! यसमा हाम्रो कुनै दोष छैन, दोषी पक्ष थाहा नपाएर तिमीहरूले अकालमै ज्यान गुमाइरहेका छौ । आफ्नो मृत्युको वास्तविक कारण सुन्ने इच्छा भए धैर्यता गर, म तिम्रा आँखा खुल्ने गरी सत्य कुरा सबै बताइदिन्छु ।’

आफ्नो मृत्युको रहस्य थाहा पाइन्छ भने एकछिन किन आवेग देखाउनु त, आखिरी मर्न त यसै पनि मरी हालियो । मैलै धैर्यता गर्नु नै उचित ठाने र भनेँ, ‘लौ न त सुनाउ ।’उसले आफ्ना कुरा यसरी सुरु गरी, ‘सबभन्दा पहिला तिम्रो मृत्यु भएकामा हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु । म तिमीलाई हामी सडकहरूप्रति सही अवधारणा बनाउन आग्रह गर्छु । हामी सडकहरू तिमीहरूकै सुविधाका लागि भनेर पृथ्वीको वरिपरि, भीर, पाखा, डाँडो, खाल्डो, मरुभूमि, हिमाल, पहाड, मधेस सर्वत्र फैलिएर चौबीसै घन्टा सेवामा खडा रहेका छौँ ।

 हाम्रो कठोर संघर्षको इतिहास कति पुरानो छ, तिमीहरूले बुझ्नुपर्छ । यसप्रति सहयोगी र सकारात्मक बन्नुपर्छ । तिमी पत्याऊ नपत्याऊ, हाम्रो सभ्यता मानव सभ्यताभन्दा धेरै पुरानो छ । सम्पूर्ण प्राणीहरूको उत्पत्तिसँगसँगै जन्मिएर उनीहरूलाई बाटो देखाउँदै, विकसित गराउँदै यहाँसम्म हामीले नै ल्याइपु¥याएका हौँ । हाम्रा पुर्खाले तिमीहरूका, खोज र बोझलाई हल्का, सहज र सरल बनाइदिएर नै ती पूर्वीअफ्रिकाबाट युरोप–एसियातर्फ लाग्न सफल भएका हुन् ।

हामीले अगाडि बढ्न बाटो नदेखाएको भए अझै पनि तिमीहरू अफ्रिकाकै कुनै वनमा चारखुट्टा टेकेर अलमलिरहेका हुने थियौ । मार्काेपोलो, भास्कोडिगामा, कोलम्बसले हामीलाई टेकेर नै संसार घुम्नु पाए । तिम्रा पुुर्खाले हाम्रा पुर्खाका छातीमा बग्गी, गाडाहरू दौडाउँदा कहिल्यै नाइँनास्ती गरेनन् । घोडाका टापहरूले जतिसुकै ठोके पनि एड्ढया–आत्था नगरी चुपचाप आफ्नो छातीमा निर्बाध विचरण गर्न दिइरहे । हामीले पनि तिमीहरूका दैनिक उपभोग्य आवश्यकताका वस्तु ओसारपसार गर्दा हामीलाई अलिकति भनेर कहिल्यै मागेनौ । लाखौँ टन निर्माण सामग्रीको बोझले किच्दा खुट्टा खोच्याएनौ । तर, कहिल्यै तिमीहरू हामीप्रति कृतज्ञ भएनौ ।

अब म थप गुनासा सुनाउनुपूर्व आफ्नो अलिकति परिचय दिन चाहन्छु । काठमाडौं, भक्तपुर र पाटनका गल्ली सडकका रूपमा विकसित नहुँदै, असन, भेडासिङ, बांगेमुढा, न्योखा र प्युखाका गल्ली, गोरेटो, घोरेटो आदि साँगुरा गल्ली मात्र भएका बेला मेरो जन्म भएको हो । मेरो जन्ममा सिंगै काठमाडौं उपत्यका रमाएको थियो । १९९० सालको महाभूकम्पपछि निर्माण भएको, त्यतिबेला मेरो नाम तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरको नामबाट जुद्धसडक राखिएको थियो । तर राणाशासनको समाप्तिपछि मेरो नाम परिवर्तन गरी उल्लासपूर्ण ढंगले न्युरोड राखियो । गाउँघरबाट काठमाडौं आइपुगेका बेला मलाई हेर्न भनेर सबै किसिमका मानिसको घुइँचो नलागेको कुनै दिनै हुँदैनथ्यो ।

 विशेषगरी धनीमानी, राजनीतिज्ञ, मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, सांसद, कवि साहित्यकार, कलाकार, संगीतकर्मी, शिक्षक, विद्यार्थी, प्रहरी, सेना, पत्रकार, सबका सब दिनमा एकचोटि न्युरोड घुम्न जाउँ भन्दै आइपुग्थे । कति कविले मेराबारे कविता लेख्थे । कति गीतकारले मेरोबारे गीत लेख्थे र गायक सबै कुरा बिर्सिएर मेरैबारे गीत गाउँथे ।

कलाकार मेरो सुन्दर आकृति उनका क्यान्भासमा ध्यानमग्न भएर उतार्थे । म यति सुन्दर थिएँ, जो कोही पनि दिनमा मलाई एकचोटि नभेटी रमाउन सक्दैनथ्यो । मेरो छातीमा नटेकी उसलाई खाएको पच्दैनथ्यो । सबै ठूला बडा र भिआइपीका मोटरसाइकल, गाडी मेरा छातीमा गुडाउँदा होस् वा टुरिस्टले रिक्सा, टेम्पोमा सहरको अवलोकन भ्रमण गर्दा होस्, अनि सर्वसाधारणले साइकल चलाउँदा होस्, वा मजदुरले ठेला ठेल्दा होस्, मेरै हुर्मत लिएर उनीहरू स्वर्गीय आनन्द महसुस गर्थे ।

हुन त म अहिले देख्दा हेरिनसक्नु थोत्रो मैलो भएकी छु । यद्यपि मेरो नाम न्युरोड रहेकै छ । लाज लाग्दालाग्दै मेरो नाम न्युरोड भन्न बाध्य छु । हुँदाहुँदा यतिसम्म गरे कि मैलाई कुल्चे, थुके, दिशा–पिसाब गरे सहेँ । मेरै छाती चिरेर ढल दौडाए । मेरै छेउकुना खनेर पानीको पाइप बिछ्याए । कहिले टेलिफोनको तार कहिले बिजुलीको पोल मेरै छातीमा गाडे ।

तिमीहरूका सरकारी निकाय र विभागहरूबीच मेलमिलाप भएन । तिमीहरूका सरकारी हाकिमलाई कुन समयमा कस्तो सनक चढ्छ, त्यहीअनुसार योजना बनाउँछौ । तिमीहरू कति बुद्धु छौ भने आफ्नो देशको बाटोघाटोका लागि पनि बाहिरी देशबाट कसैले सल्लाह दिनुपर्छ ।पशुपतिले रक्षा गरेर मात्र यत्तिको रहेको हो, नत्र त तिमीहरूको हालत झनै खराब हुने थियो । तिमीहरूको काम गराइ कसैलाई पनि मनपरेको छैन । एउटाले हामीलाई खनेर पुरिसकेको हुँदैन, अर्काले खोस्रिहाल्छ । सबैले मलाई छियाछिया पारे । म अहिले छ्याके र हेरिनसक्नुकी भएकी छु, तैपनि मेरो नाम न्युरोड नै रहेको छ । मेरी सन्तान कान्तिपथको अनुहारमा अहिले कति पनि कान्ति छैन, तर उसको नाउँ कान्ति नै कायम छ ।

मानिसहरूले कोतर्दाकोतर्दा शरीरभरि अनगिन्ती गहिरा–गहिरा घाउ छन्, माइखटिराले बनाएका डोबजस्तै अनुहार एकदमै विरूप भएको छ । अझै उनको नाम कान्तिपथ नै भनिँदै छ । हामीले हाम्रो सेवामा कति पनि कन्जुस्याइँ गरेका छैनौँ । सेवाकै लागि भनेर मेरा सन्तान उपत्यकाभरि फैलिँदै गएका छन् । उनीहरूका पनि शाखा सन्तान जन्मेर गाउँघरका कुना काप्चासम्म देशैभरि पुगिसकेका छन् । मेरा पुर्खाले, मैले र मेरा सन्तानले आफ्नो बलबुताले भ्याएसम्म सबैलाई गन्तव्यमा सुरक्षित पु¥याइरहेका छौँ । तिमीहरू हामीलाई मनपरि टेकेर अगाडि बढ्छौ तर पछाडि फर्केर हामी भत्किएको, हामी अशक्त भएको र हाम्रो पीडा कहिल्यै पढ्दैनौ ।

तिमीहरूलाई अलिकति टाउको दुख्यो भने सिटामोल खाइहाल्छौ । गिलो दिशा आउनै हुन्न हस्पिटल धाइहाल्छौ । हामी भने अन्तिम भएर ओछ्यानमा पर्दा पनि उपचार पाउनु छैन । सञ्चो–बिसञ्चो बुझिँदैन, जहिल्यै भारी मात्र बोकाइन्छ ।

हामीले आफ्नो अवस्था जहिल्यै बताइरहेका हुन्छौँ, मानिसलाई जोगाउन कति कोसिस गर्छाैं, तर तालिमै राम्रो नलिएको आलाकाँचालाई घुस खाएर ड्राइभिङ गर्ने लाइसेन्स दिएपछि, ड्राइभर र गाडीको चेकजाँच नियमित नगरेपछि आफ्नै लापरवाहीले आफैँ दुर्घटनामा पर्छाै । अनि दोष हामीलाई लगाउँदै भन्छौ, ‘त्यो बाटो कति नराम्रो ।’वास्तवमा हामी आफैँ कसरी नराम्रो हुन सक्छौँ र ? हामीलाई राम्ररी थाहा छ, ड्राइभरहरू कति मनपरि गाडी चलाउँछन् ! बाटो बनाउने जिम्मेवारी लिनेहरूले हामीलाई टालटुले बनाइरहेका छन् ।

हामीलाई बनाउने भनेर देशको ८० प्रतिशत बजेट आफ्नै खल्तीमा हाल्छन् । कमजोर निर्माण सामग्रीले जोडजाम गरेकाले हाम्रो हालत १५ दिनमा कमजोर भइहाल्छ । उल्टै ‘जति मर्मत गर्दा पनि भत्किइहाल्ने सडक’ भनेर हाम्रो बदनाम गर्ने कोसिस हुन्छ । त्यहीमाथि अहिले त मेलम्ची ल्याउने भनेर हाम्रो लिनसम्म हुर्मत लिइएको छ । मेलम्चीको पानीसँग हाम्रो के दुश्मनी थियो र हामीलाई यति धेरै सताउनु ? पहिले हामीलाई बनाउँदा करोडौँ कुम्ल्याएका थिए, अहिले भत्काउन त्यसरी नै करोडौँ लुटेका छन् । खन्ने भनेर होस्, पुर्ने भनेर होस् वा मर्मत गर्न भनेर होस्– हाम्रो नाम, राज्यको दोहन ।

फटाहा उनीहरू, बदनामी हाम्रो । निर्माणको ठेक्का लिँदा कसरी फटाहा फटाहाबीच मिलेमतो हुन्छ, त्यो कसलाई थाहा छैन र ? थाहा नपाएजस्तो गर्छन् मान्छेहरू । फेरि हामी सडकहरूलाई सौतेलो सन्तानजस्तै व्यवहार पनि हुन्छ । मोदीसोदी कोही विदेशी भिआइपी आउने भए, उनीहरूको कतै सवारी हुने भयो भने त्यहाँका सडकमाथि रातारात लिपपोत गर्न थालिन्छ, पानीले पखालिन्छ, रुमालले पुछिन्छ । राम्रा सडकलाई बेहुलीलाई जस्तै झन् बढी सिँगारपटार गरेर चिटिक्क बनाइन्छ । करोडौँ उडाइन्छ । भत्किएर बिग्रिएका अझै विदीर्णहरूको हालत भने झनै खराब हुँदै जान्छ । हामी जति कच्चा हुन्छौँ, मन्त्री र कर्मचारीको खल्तीका लागि त्यति नै अच्छा हुन्छ ।

अहिले काठमाडौंमा कति धेरै मानिस हिँडडुल गर्छन् थाहा छ ? दिनमा कति बाहिरबाट आउँछन्, कति निस्कन्छन् । ५० लाख जनसंख्या भएको ठाउँमा २५ प्रतिशत मानिस मात्र हिँडडुल गर्दा पनि साढे बाह्र लाख मानिसको ओहोरदोहोर हुन्छ । उनीहरू सबैका दिनचर्या हामी माथिकै दौडधूपबाट पूरा हुन्छ । हामीले यस्तो अवस्थाबाट यतिका मान्छेलाई सकुशल कसरी ओहोरदोहोर गराउनु ? हामीले डाक्टर, नर्स र बिरामीलाई हस्पिटल सहजसित पुर्याइदिनुपर्छ । पुलिस आर्मीलाई परेड खेलाउनुपर्छ, गस्ती गराउनुपर्छ ।

बूढापाकालाई उनीहरूको गन्तव्य स्थलमा सावधानीसाथ पुर्याउनुपर्छ । दिनैपिच्छे शिक्षक र बच्चालाई स्कुल र घर गराइरहनुपर्छ । लाखौँ मानिसलाई अफिस र घर गराउनुपर्छ । गृहिणीको खरिद–बिक्रीमा पनि हामी नै सहायक बन्नुपर्छ । दमकल र एम्बुलेन्स छिनछिनमा दौडाउनुपर्छ । अलिकति ढिलो भयो, केही भयो कि ‘कस्तो नराम्रो बाटो’ भनेर हामीमाथि नै गाली आउँछ ।

हेर, नरिसाऊ । तिम्रा गाडी चलाउने कतिपय ड्राइभर यमराजजस्तै छन् । हामीले तिमीलाई हस्पिटल ल्याउँदा जोगाउने कोसिस नगरेको होइन । तर सडककै बीचमा गाडी नै छिर्ने जत्रो खाल्डो खनेर त्यसै छाडेपछि, तिम्रा ड्राइभरले बाटो कस्तो छ भनेर ध्यानै नपुर्याएपछि घटनाको साक्षी बस्नुबाहेक हाम्रो पनि केही लागेन । अनि हेर त आज तिमीहरूकै कारण अचानक तिमी मर्यौ । आज त तिमी आफैँ म¥यौ र पो यति पिरलो भयो । दिनैपिच्छे राजमार्गहरूबाट खोलामा गाडी खसेर त्यतिका सर्वसाधारण मर्दा तिमीलाई चिन्ता परेको थियो ?

 यस्तो घटनामा हाम्रो के दोष ? अझै तिमीहरूको बुद्धि पलाउँदैन, हामीलाई नै गाली गर्छाै । अझै पनि बाटो बनाउने कामको जिम्मा कमिसन खाएर भ्रष्टाचारीकै जमातलाई दिन्छौ भने भविष्यमा हेर अझै कति ठुल्ठूला  दुर्घटना हुन्छन्, अनि चेतौला !’

म झल्यास्स भएँ । मैले लगाएको कपडा र बसेको सिट पसिनाले निथ्रुक्क भिजेको रहेछ । लाग्यो म नारायणघाट मुग्लिनको बाटो बसमा यात्रा गर्दै थिएँ र बस झ्वाम्लांगै त्रिशूलीमा खसेको छ । एकछिन तन्द्रामा परेँ । बसभित्रका सबै मानिस तँछाड र मछाड गर्दै बाहिर निस्कने कोसिसमा थिए ।

निकै रस्साकस्सीपछि मेरो पनि पालो आयो । म मरिसकेँ कि जिउँदै छु, नदीभित्र डुबेको छु कि पानीमाथि छु, पानीले बगाउँदै छ कि कतै अड्किएको छु, कसरी कहाँबाट निस्कने ? मैले अझै कुनै होसै पाउन सकिरहेको थिइनँ । कसोकसो बाहिर निस्किएँ । बाहिर निस्किएपछि पो बल्ल थाहा भयो– म जिउँदै छु । हाम्रो बस त्रिशूलीमा खसेको होइन रहेछ ! टिचिङ हस्पिटल नजिकैको खाल्डोमा चक्का छिरेर फुटपाथतर्फ कोल्टिएछ । स्वर्गमा पुगेर फर्किन पाएकामा बाटोलाई, ईश्वरलाई धन्यवाद दिएँ ।

हतार–हतार घरतर्फ पैदलै दौडिएँ । घरमा श्रीमतीजीले पाहुनाका लागि आवश्यक परिकार अघि तयार गरिसकेकी रहिछन् । त्यतिबेलै घरमा खाना खान बोलाएका पाहुनाले फोन गरेर भने, ‘ट्राफिक जामका कारण जडिबुटी कोटेश्वरमा एक घन्टाभन्दा बढी जाममा परियो । त्यहाँबाट बल्लबल्ल उम्किएर चावहिलमा आउँदा त्यहीँ पनि फेरि अर्काे एक घन्टै जाममा फसियो । आजित भएर अब ओर्लिएर पैदलै आउँदै छौँ । त्यहाँ आइपुग्न अझै एक घन्टा ढिलो हुने भयो, माफ पाऊँ !’






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित

सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित

बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित भएको छ। आयोजक संस्था ओडीसी इन्टरनेसनलले सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष...

‘मंगलम्’लाई पाँच अवार्ड

‘मंगलम्’लाई पाँच अवार्ड

डिजिटल मोडलमा बनेका फिल्मलाई प्रोत्साहित गर्न राजधानीमा बिहीबार आयोजना गरिएको १० औं संस्करणको ‘डि सिने अवार्ड २०७५’ फिल्म ‘मंगलम्’ले प्रतिस्पर्धामा...

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

अपराधको विषयबस्तु समेटेर तयार पारिएको फिल्म ‘चक्कर’को ट्रेलर र फस्टलुक सार्वजनिक भएको छ। राजधानीमा बिहीबार फिल्म युनिटले पत्रकारमाझ फस्टलुक र...

एकै स्टेजमा तीन विजेता

एकै स्टेजमा तीन विजेता

एउटै स्टेजमा एकसाथ तीन विजेता छानिने भएका छन्। ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आगामी असार १ गते राजधानीमा आयोजना गर्न लागेको ‘मिस...