विजय शिवाकोटी
शिशिरको कठ्यांग्रिने जाडोमा
बिहानै जब म त्यही बाटो भएर हिँड्छु
जुन बाटो हामी
धेरैपटक सँगसँगै हिँडेका थियौँ ।
यस्तै सिरेटो चल्थ्यो
तर यति विघ्न ठिहिर्याउँदैनथ्यो त्यो बतासले
कम्बलको काम गरिरहेको हुन्थ्यो सायद तिम्रो साथले
यस्तै हुस्सु लाग्थ्यो हिउँदका ती बिहानीमा
तर पनि मिर्मिरे घामको प्रतीत हुन्थ्यो
सायद तिम्रो उज्यालो मुस्कानले
एकैछिनमा कट्थ्यो त्यो बाटो
सुस्तरी हिँडे पनि
दुवैले केही भन्दैनथ्यौँ
तर दुवैले सुन्थ्यौँ
निःशब्द भनेको–
‘बाटो अझै लम्बिए हुन्थ्यो’
नत्र पाइलाहरू आफैँ सुस्त
कसरी हुन्थे ।
तिनै पलभित्रका कैयौँ न्याना पलहरू
अनायस सम्झन्छु
म यो जाडो छल्नलाई ।
प्रकाशित: ६ माघ २०७४ ०३:४६ शनिबार