६ वैशाख २०८१ बिहीबार
राजनीति

‘देउवा असन्तुष्ट समूहलाई पेलेर अघि बढ्ने’

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रका असन्तुष्ट पक्षलाई पेलेर अघि बढ्ने भएका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले केन्द्रीय समिति बैठकमा पार्टीका विभिन्न गुट र उपगुटले उठाएका मागलाई वेवास्ता गर्दै अघि बढ्ने संकेत गरेका हुन।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बिहीबार र शुक्रबार दुई बसेको बैठकमा दर्जन बढी नेताहरुले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउन विधि र विधानसहित विभिन्न माग र सुझाव दिएका थिए। तर, सभापति देउवाले न उनीहरुको माग र सुझावलाई केन्द्रीय समिति बैठक सम्बोधन पनि गरेनन् भने कार्यान्वयनका लागि निर्णय लिने कुरा टाढाको विषय बन्न पुगेको छ।

केन्द्रीय समितिमा स्पष्ट बहुमतमा रहेका देउवाले केन्द्रीय सदस्यहरुको कुरा सुनेपनि उनीहरुले उठाएका कुनै विषयलाई सम्बोधन नगरेपछि असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका रामचन्द्र पौडेल पक्ष निरीह सावित भएका छन्। ‘जति कुरा सुनाएपनि नेतृत्व सुध्रिने र पार्टीलाई सुधार गर्ने संकेत देखिएन,’ पौडेल पक्षीय एक सदस्यले भने, ‘सभापति आफ्नै हिसावले अघि बढ्ने देखियो।’

असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका पौडेल गुटभित्र स्वार्थ केन्द्रीत आधा दर्जन बढी उपगुट र १३औं महाधिवेशनपछि उदाएको कृष्णप्रसाद सिटौला समूहलाई देउवाले नजिकबाट नियालेका छन्। पार्टी र भ्रातृ संगठनका महाधिवेशन सभापति देउवाकै सहयोगी समूहकारुपमा देखिएको सिटौला समूह र पौडेलनिकट केन्द्रीय सदस्यहरुले विधि र विधानसहित दर्जन बढी प्रश्न उठाए। नेता पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, शेखर कोइराला, नविन्द्रराज जोशीसहितका एक दर्जन बढि नेताले विधान विपरित गठन भएको संसदीय र कार्यसम्पादन समिति विघटन गर्न माग गरे। केन्द्रीय सदस्य शेखरले समितिमै नबस्ने घोषणा गरेपनि सभापति देउवाले त्यस विषयलाई बैठकमा कुनै सम्बोधन गरेनन्।

युवा केन्द्रीय सदस्यहरु धनराज गुरुङ, चन्द्र भण्डारी, प्रदीप पौडेल लगायतले विधान विपरित गठन भएको संसदीय समितिलाई राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने अधिकार नभएको जिकिर गरेका थिए। केन्द्रीय समिति बैठकबाटै उम्मेदवार छनोट गर्न उनीहरुले सभापतिलाई दबाब दिएपनि सदस्यहरुले दिएको सुझावका आधारमा पार्टीको योग्य व्यक्तिलाई उम्मेदवार बनाउने निर्णय गराए।

त्यस्तै, बैठकमा सिटौला, रामशरण महत अर्जुननरसिंह केसीसहितका नेताहरुले समानुपातिकबाट पहिला सांसद् भएकालाई पुनः दोहो¥याएकोमा असन्तुष्टी जनाए। पार्टी केन्द्रीय समिति निर्णयलाई उल्लङ्घन गरेको भन्दै केन्द्रीय सदस्य धनराज गुरुङले पार्टी नेतृत्व नाङ्गै हिंडेको आरोप लगाउँदै निर्णय कार्यान्वयन गर्न आग्रह गरे। तर, देउवाले सदस्यहरुले उठाएको प्रश्नमा प्रवेससम्म गरेनन्।

संसदीय समितिकै सदस्यहरुले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची आफूहरुले हेर्नसम्म नपाएको र पूर्व सहमति विपरित सभापतिले नाम तलमाथि गरेको गुनासो गरे। केन्द्रीय सदस्य महतले केन्द्रीय समितिले त्यसलाई सच्याउनुपर्ने माग गरे। प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा आफू निकट एक नेतापनि नपरेपछि रुष्ट पूर्व महामन्त्री सिटौलाले आयोगमा बुझाएको सूचीमा कुनै सहमति नरहेको जिकिर बैठकमा गरे। आयोगमा बुझाएको सूचीमा आफूहरुको सहमति नरहेको तर्क गर्दै सिटौलाले संसदीय समितिलाई नै ढाँटेर लिस्ट तयार पारेको आरोप लगाए। पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर निर्वाचन अघि नै त्यसलाई बाहिर नल्याएको सिटौलाको तर्क थियो। तर, त्यस विषयमा देउवाले केन्द्रीय समिति बैठकमा एक शब्दपनि खर्चेनन्।

बरु निर्वाचन पराजयको जिम्मेवारी लिंदै राजनीतिबाट विश्राम लिन केन्द्रीय सदस्य गगनकुमार थापासहितका नेताहरुले गरेको आग्रहमा उनले आक्रोश व्यक्त गरे। कसैले छाड् भन्दैमा पार्टी नेतृत्व नछाड्ने स्पष्ट गर्दै पार्टी नीति र सिद्धान्त विपरित जथाभावी नबोल्न सदस्यहरुलाई चेतावनीपूर्ण निर्देशन दिए। अनुशासनभित्र रहन नेताहरुलाई सचेत गराएका देउवाले तत्कालीन नेपाल प्रहरीका डिआइजी नवराज सिलवालसहितका विषयमा पार्टीले गरेको निर्णय सहि सावित भएको जिकिर गरेका थिए। राजनीतिबाट विश्राम लिन देउवा र पौडेललाई युवा केन्द्रीय सदस्यहरुले राखेको धारणामा पौडेलले पनि सभापतिलाई साथका दिए।

देउवा निकट केन्द्रीय सदस्यहरुले सभापति देउवाको पूर्णरुपमा बचाउ गरेका थिए। मुलुकको विषय परिस्थितिमा पनि पार्टी नेतृत्वले चुनाव सम्पन्न गराएको तर्क गर्दै उनीहरुले सभापतिलाई कमजोर बनाउन नहुने धारणा राखेका थिए। सभापतिलाई अधिकार सम्पन्न बनाउनु पर्ने जिकिर गरेका थिए।

पौडेल पक्षको निरन्तरको दबाबपछि बैठक बोलाएका देउवाले सुरुमा नै निर्वाचन पराजयको समिक्षाका लागि अर्को बैठक बोलाउने, संविधानको नयाँ व्यवस्था अनुसार पार्टी संगठन ढाल्न महासमिति बैठक बोलाएर विधान संशोधन गर्ने बताएका थिए। उनले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा केन्द्रीत भएर धारणा राख्न केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका थिए। निर्वाचनमा पार्टी पराजितपछि विभिन्न नाम र समूहमा पार्टी नेतृत्वमाथि खनिएका युवा केन्द्रीय सदस्यहरु नेतृत्वलाई दबाब दिन छलफलमा सक्रिय रहेका थिए। उनीहरुले उठाएका विषयलाई सभापति देउवाले वेवास्ता गरेपछि त्यसको औचित्यमाथि अन्योल सिर्जना भएको छ।

प्रकाशित: ६ माघ २०७४ १४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App