coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

स्थानीय तहका उम्मेदवारले बुझाएनन् खर्च विवरण

चितवन –गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारले निर्वाचन खर्च विवरण अझै पनि बुझाएका छैनन्। 

निर्वाचन सम्पन्न भएको नौ महिना बितिसक्दा पनि कतिपय उम्मेदवारहरूले अझै खर्च विवरण नबुझाएका हुन् । स्थानीय निर्वाचनमा जिल्लाभर दुई हजार २३६ उम्मेदवार रहेकामा ९३० जनाले खर्च विवरण बुझाएका छैनन् । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालका अनुसार खर्च नबुझाउनेमा इच्छाकामना गाउँपालिकाका २२, कालिका नगरपालिकाका ८१, खैरहनी नगरपालिकाका १५२, भरतपुर महानगरपालिकाका २८१, माडी नगरपालिकाका १४३, रत्ननगर नगरपालिकाका १४९ र राप्ती नगरपालिकाका १०२ जना रहेका छन्। 

स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिँदासमेत स्थानीय निर्वाचनको खर्च विवरण कार्यालयमा नबुझाइएको ढकालले बताए। 

यस्तै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी उम्मेदवार मध्ये २४ जनाले खर्च विवरण बुझाएका छैनन्। प्रतिनिधिसभातर्फ १२ जना र प्रदेश सभातर्फ १२ जनाले खर्च विवरण नबुझाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा ९५ जनाले उम्मेदवारी दर्ता गराएका थिए। खर्च विवरण नबुझाउनेमा बढी संख्यामा स्वतन्त्र उम्मेदवार छन्। 

प्रतिनिधिसभामा स्वतन्त्रतर्फका सात उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् भने अन्य साना राजनीतिक दलका उम्मेदवार रहेका छन्। यस्तै, प्रदेशसभामा पनि स्वतन्त्र र साना दलका उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्। खर्च विवरण नबुझाएका स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारलाई तत्काल खर्च विवरण बुझाउनका लागि कार्यालयले आग्रह गरेको ढकालले बताए। 

खर्च विवरण नबुझाउने उम्मेदवारको कालोसूची प्रकाशित गर्ने ढकालले जानकारी दिए। 

प्रकाशित: ११ माघ २०७४ ०४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App