१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

स्कलरसिप वाक

पदयात्राका फाइल तस्बिर सौजन्य : गौतम शाक्य

‘हिँडौं, खाऔं र भलो गरौं (वाक, इट एन्ड डु गुड)’ भन्ने अभियानअन्तर्गत प्रत्येक वर्षको जनवरी र फेब्रुअरीको बीचमा बनेपामा छात्रवृत्ति पदयात्रा (स्कलरसिप वाक) आयोजना हुँदै आएको छ । पदयात्राकै क्रममा ठाउँ–ठाउँमा राखिएका नेवारी परिकारका स्टलमा खाना चाख्दै हिँड्नुको मज्जा नै बेग्लै हुने गरेको छ । विदेशीहरूको बाहुल्य रहने यो पदयात्रामा सहभागी नेपालीबाट संकलन हुने रकमबाट सामुदायिक विद्यालयका जेहेन्दार छात्रछात्राले बर्सेनि छात्रवृत्ति पाउँदै आएका छन् । तत्कालीन समयमा नौलो प्रयासका रूपमा थालनी भएको स्कलरसिप वाक र मितेरी छात्रवृत्ति अभियानले अघिल्लो वर्ष तीन दशक पूरा गरेको थियो।

सुरुमा आजाद माध्यमिक विद्यालय, बनेपाका विद्यार्थीलाई मात्रै लक्षित गरी थालिएको मितेरी छात्रवृत्ति यतिखेर काभ्रे जिल्लाभर विस्तार भएको छ । राजधानी काठमाडौं नजिकको व्यापारिक सहर बनेपा । यहीँको आजाद माध्यमिक विद्यालय । यसै विद्यालयमा स्कुले जीवन बिताएका केही पूर्वविद्यार्थीले थालनी गरेको यो अभियानले संस्थागत रूप धारण गरेको छ । मितेरी छात्रवृत्ति कोषका नाममा स्थानीय प्रशासनमा दर्ता भएर निरन्तर सञ्चालन हुँदै आएको छ।

‘सुरुको वर्ष हामीले एकजना विद्यार्थीलाई मात्रै सहयोग गर्न सक्यौं । अहिले ५५ स्कुलका १ सय ८ विद्यार्थीलाई नियमित छात्रवृत्ति दिएका छौं । जुत्ता–मोजा, झोला, युनिफर्म, स्टेसनरी, जाँच फी, विद्यालयले लिने सहयोग शुल्क सबै हामीले व्यहोर्दै आएका छौं । यसलाई दिगो बनाउनु हाम्रो लक्ष्य छ ।’ 

आफूले स्कुल पढ्दाको कठिनाइ महसुस गरेका बनेपाली टीकाभक्त भोछिभोया, श्याम श्रेष्ठ, विक्रम शाक्य, डा. विद्याकोख श्रेष्ठ, राजभाइ मानन्धर, हिट्लर शाक्य, दानबहादुर बादे, ओमबहादुर मगर र दीनदयालु बादेलगायत सन् १९६० को दसकका पूर्वविद्यार्थीको समूह नै हो–मितेरी छात्रवृत्तिको परिकल्पनाकार। 

उनीहरूको परिकल्पनालाई अमेरिकी पिस कप्र्स भोलेन्टियरका रूपमा सन् १९६६ मा बनेपा आएकी बार्बरा बट्टरवर्थ अर्थात् ‘बार्बी मिस’ ले साकार हुने बाटो देखाइन् । आजाद स्कूलमा दुई वर्ष अध्यापन गरेकी बार्बी मिस २२ वर्षको उमेर र अविवाहित अवस्थामै बनेपा आएकी थिइन् । सन् १९६८ मा अमेरिका फर्केपछि पुनः युएसएडमा काम गर्ने गरी नेपाल आएकी उनी बेलाबखत बनेपा आइरहन्थिन् । ‘घर अमेरिका भए पनि मेरो माइती बनेपा नै हो,’ उनी भन्ने गर्छिन्। 

त्यसपछिका धेरै वर्षसम्म जागिर र निजी भ्रमणमा उनको नेपाल आउने–फर्कने क्रममा बनेपासँगको सामीप्यता गाढा बन्दै गयो।

सन् १९८० को दशकमा बिहेबारी र अमेरिकाको न्यूयोर्कमा घरजमपछि पति माइकल गिलसँग सन् १९८६ मा माइती बनेपा आएकी बार्बी मिसले पूर्व विद्यार्थीलाई बिहे भोज खान काठमाडौंमा डाकिन् । त्यहीबेला यीनै पूर्व विद्यार्थीहरूको समूह परिकल्पना–मितेरी छात्रवृत्ति र यसको निरन्तरताका लागि बार्बी दम्पतिले आइडिया निकाले–‘हिँडौं, खाऔं र भलो गरौं (वाक, इट एन्ड डु गुड) ।’ यसबाट संकलन हुने रकमबाट कोष बढाउँदै लैजाउँ र बढीभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरौं । त्यतिखेरको मूलमन्त्र यही नै थियो। 

सन् १९८७ मा पहिलोपटक स्कलरसिप वाकको आयोजना भयो । नेपालसहित अमेरिका, क्यानडा, जर्मनी, नेदरल्यान्ड्स र आयरल्यान्डका विदेशीले सहभागिता जनाए । नेपालीले प्रतिव्यक्ति एक सय र विदेशीबाट तीन सयका दरले योगदान दिँदा ११ हजार १ सय रूपैयाँ संकलन भयो । आजभन्दा ३१ वर्षअघि त्यति धेरै रकम एकैपटक जम्मा हुनु समूहका लागि ठूलो हौसला भएको टीकाभक्त भोछिभोया बताउँछन् । नेवारी परिकार र व्यवस्थापनमा १ हजार ९ सय ७५ खर्च भएर उब्रेको ९ हजारको मुद्दती र १ सय २५ रूपैयाँको बचत खाता खोलेका थिए । यो नै आजको विशाल मितेरी छात्रवृत्ति कोषको ‘श्रीगणेश’ भएको समूहका सदस्य हिटलर शाक्यको भनाइ छ। 

मुद्दतीको ब्याजबाट पहिलोपटक एकजना विद्यार्थीलाई छात्रवृत्ति दिएका थिए । ३० औं वर्षमा आइपुग्दासम्ममा ५२ सामुदायिक स्कुलका १ सय ८ विद्यार्थीलाई छात्रवृत्ति दिइएको छ । यही अवसर पाएर काभ्रेका दूरदराजका विद्यार्थीले शिक्षण यात्रा अघि बढाइसकेका छन् । यीनमा छात्राहरूको बाहुल्य रहेको छ। 

‘चिनियाँ सहयोगमा अरनिको राजमार्ग भर्खरै बनेको थियो । बाटो आएसँगै बनेपा बिस्तारै सहरमा रूपान्तरण हुँदै थियो। तैपनि पठनपाठनलाई सहयोग हुने सामग्री बनेपामै पाउन दुर्लभ नै थियो । सबै विषय नेपालीमै पढाइ हुने अवस्था थियो,’ समूहका सदस्य विक्रम शाक्य स्मरण गर्छन्, ‘हामी कक्षा ६ मा पढ्थ्यौं । हामी अंगे्रजी नबुझ्ने, बार्बी मिस नेपाली नजान्ने। विज्ञान विषय बुझाउन चित्र बनाएर, अभिनय गरेर र धेरै तरिकाले प्रयोगात्मक जस्तै गरी बुझाउनुहुन्थ्यो,’ उनले थपे। 

बनेपाकै एउटा घरमा डेरा लिएर बसेकी बार्बी मिसकहाँ पहिलोपटक ‘फ्राइड राइस’ खाएको शाक्यलाई अझै सम्झना छ । त्यतिखेरको बनेपा, सहृदयी र मिलनसार पूर्वविद्यार्थी समूहको क्रियाकलापलाई बार्बी मिस कहिल्यै भुल्न नसक्ने उल्लेख गर्छिन् । ७४ वर्षको जीवनयात्रामा रहेकी बार्बीलाई ५२ वर्ष अघिका बारेमा हिजैको जस्तो अनुभव छ । त्यतिखेर पढाउँदाको क्षणलाई अविस्मरणीय मान्दै उनी भन्छिन्, ‘विज्ञान विषय, त्यो पनि नेपालीमा पढाउनुपर्ने । तर, मैले विभिन्न तरिका अपनाएर बुझाउन सफल भएँ । म नेपाली नजान्ने, उनीहरू अंग्रेजी नबुझ्ने । यही फरकपनले हामीलाई नजिक्यायो । पछि उनीहरूलाई अंग्रेजी पनि पढाएँ,’ आइतबार बनेपाको माइस्मल किचेन रेस्टुरेन्टमा भेटिएकी बार्बीले थपिन् ।

‘त्यतिखेर नेपाली शिक्षकहरू पिरियडको घन्टी नबज्दै बीचैमा बाहिर निस्कन्थे । तर, म विद्यार्थीहरूसँग नजिकिन चाहन्थेँ, पाठ सकेर पनि गफिन्थ्यौं । यसैले पनि मलाई बनेपा र मेरा विद्यार्थीसँग नजिक्यायो,’ उनले सुनाइन् । 

शिक्षाका माध्यमबाट ज्योति फैलाउन सकिन्छ भनेर अभियानमा होमिएकी अमेरिकी नागरिक बार्बी मिस र उनका पति माइकल गिल ७४ वर्षको हाराहारीमा छन् । उनै बार्बी मिसका प्रिय र उनकै उमेरको हाराहारीमा पुग्न आँटेका (प्रायः ६० वर्ष कटेका) यी पूर्वविद्यार्थीमा अझै तन्नेरी जोश देखियो । आइतबार माइस्मल किचेनमा डिनरमा गफिँदै गरेका यी पूर्वविद्यार्थीहरू बार्बी मिस र माइकलसँग अभियानलाई छोरा–नातिको पालासम्म कसरी निरन्तरता दिने भन्ने योजना बुन्दै थिए।

‘सुरुको वर्ष हामीले एकजना विद्यार्थीलाई मात्रै सहयोग गर्न सक्यौं । अहिले ५५ स्कुलका १ सय ८ विद्यार्थीलाई नियमित छात्रवृत्ति दिएका छौं । जुत्ता–मोजा, झोला, युनिफर्म, स्टेसनरी, जाँच फी, विद्यालयले लिने सहयोग शुल्क सबै हामीले व्यहोर्दै आएका छौं । यसलाई दिगो बनाउनु हाम्रो लक्ष्य छ,’ स्कलरसिप वाकको निरन्तरताले जोशिएका भोछिभोयाले भने । सुरुआतमा माथिल्लो कक्षाका विद्यार्थीलाई दिइने गरेको छात्रवृत्ति यतिखेर कक्षा १ देखि १० सम्मका लागि दिन थालिएको छ। 

स्कुले दौंतरी भोछिभोयालाई समर्थन गर्दै शाक्यले भने, ‘स्कुल पढ्न जाँदा हाफ पाइन्ट र सर्टको भरमा गइन्थ्यो । जुत्ता थिएन । कापी, कलम र किताबका लागि बा–आमासँग रोइकराइ गर्नुपथ्र्यो । यो अवस्था कुनै पनि विद्यार्थीलाई नआओस् भन्ने हाम्रो चाहना हो।’ 

प्रत्येक वर्षको जनवरी र फेब्रुअरीबीचमा नेपाल र बनेपाको भ्रमण गर्ने बार्बी मिसको क्यालेन्डर हुने गरेको छ । बनेपा आएर छात्रवृत्ति पदयात्रामा विदेशीलाई आमन्त्रण गर्ने र आफूहरू पनि सहभागी हुने गर्छिन् । नेपालमा माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बखत केही वर्ष यो छात्रवृत्ति पदयात्रा हुन सकेन । नेपाल आउन नपाए पनि यहाँको मायाले ओतप्रोत भएका बार्बी र माइकलले अमेरिकाकै एउटा रेस्टुरेन्टमा नेपाली खाना पकाउन लगाएर त्यहीँकै पार्कमा कार्यक्रम आयोजना गरे । अनि संकलित रकम बनेपा पठाइदिएर छात्रवृत्तिलाई टेवा दिइरहे।

एक दशकसम्म यीनै पूर्व विद्यार्थी र जहान परिवारले नेवारी परिकार तयार गर्थे र पदयात्राका क्रममा खुवाउँथे । पछिल्ला दुई दशक भने बनेपाको आमा समूहले परिकार बनाउन सहयोग गर्दै आएको छ । समूहले सञ्चालन गरिरहेका शिशु स्याहार केन्द्रलाई समेत कोषले सहयोग गर्दै आएको छ । एसओएस बालग्राम स्कुल र विद्यासागर स्कुलका विद्यार्थीले पदयात्राका क्रममा विभिन्न सांस्कृतिक नाचगान प्रस्तुत गर्दै आएका छन्।

मितेरी छात्रवृत्ति अभियान ३० वर्ष पुगेको अवसरमा कोषका पदाधिकारीसमेत रहेका पूर्वविद्यार्थीले अघिल्लो वर्षको पदयात्रामा बार्बी मिसलाई अभिवन्दना गरेका थिए।

सुरुमा छात्रवृत्ति कोष स्थापनमा धेरै हन्डर खाएका पदाधिकारीहरू यतिखेर खुसी देखिन्छन् । ‘हामीले छात्रवृत्ति दिएका विद्यार्थीहरू बाटोमा भेट हुँदा तपाईंहरूको मद्दतले पढ्न पायौं भन्छन् । खुसी लाग्छ । उनीहरूको अनुभूति सुन्न बर्सेनि एक विद्यार्थीलाई पदयात्रामा बोलाउने गरेका छौं,’ मानन्धरले भने।

मितेरी छात्रवृत्ति कोषका संरक्षकसमेत रहेका बार्बी मिस र माइकलको सल्लाहमा कोषले मितेरी छात्रवृत्तिलाई आजाद स्कुलका पूर्व हेडमास्टर तथा बनेपाका शिक्षासेवी स्वर्गीय रामभक्त कोख श्रेष्ठप्रति समर्पण गरेको छ ।

शनिबार ३१ औं स्कलरसिप वाक्

यस वर्ष शनिबार ३१ औं वर्षको स्कलरसिप वाक आयोजना गरिनेछ । बनेपा सहरबाट सुरु हुने यो यात्रामा बनेपा आसपासका गाउँको अवलोकन गर्दै, सांस्कृतिक कार्यक्रम हेर्दै र बाटोमै नेवारी परिकार चाख्दै बनेपामा आएर टुंगिनेछ । पदयात्रा करिब अढाई घन्टा हनेछ । पदयात्रामा बालकदेखि वृद्धसम्म सहभागी हुन पाउनेछन् । यसपटक सहभागिता शुल्क २ हजार ५ सय तोकिएको छ ।

प्रकाशित: १३ माघ २०७४ ०५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App