७ वैशाख २०८१ शुक्रबार
विचार

क्यान्सरको भयावह रूप

विगत १० वर्षमा सातवटा अस्पतालमा ५६ हजार १३ नेपालीले क्यान्सरको उपचार गराएको जुन तथ्य सार्वजनिक भएको छ, यसले यो रोग भयावह हिसाबले फैलिन थालेको देखाएको छ ।  त्यसमा पनि कृषि पेसा अंगाल्ने बताउनेको संख्या २० हजार ९ सय ५३ छ । यो कुल बिरामीको झन्डै साढे ३७ प्रतिशत हुन आउँछ । कृषिजन्य सामग्रीमा विषादी प्रयोगको अवस्था जुन हिसाबले विकराल बन्दै गएको छ त्यसको असर किसानमा परेको देखिन्छ । कृषिमा प्रयोग हुने रासायनिक विषादीले क्यान्सरसम्म गराउन सक्ने अध्ययनहरुले देखाउँदै आएको विषय हो । त्यस्तै कृषिमा विषादीको प्रयोग विकराल बन्दै गएको पनि लुकेको विषय होइन। बालीनालीका समस्यामध्ये किसानले किरालाई मुख्य समस्या मान्ने र किरा मार्न रासायनिक विषादी प्रयोग गर्ने गरेका कारण पनि विषादीको प्रयोग विकराल भएको हो । त्यसो त विषादी प्रयोग गर्नेमध्ये अधिकांश किसानलाई यसले नकारात्मक असर गर्छ भन्ने थाहा नभएको विषय होइन । तैपनि सुरक्षित ढंगले विषादी छर्ने काम भएको पाइँदैन । विषादी छर्दा कुनै पनि सुरक्षा पहिरन नलगाउने गरेका कारण पनि विषादी छर्ने व्यक्तिको स्वास्थ्य निकै जोखिममा रहने गरेको छ । यस्तो अवस्थामा किसान आफैं पनि सजग हुन आवश्यक छ।

त्यसभन्दा विषादी छरेको केही समयमै तरकारी टिपेर बजारमा बिक्री गर्न लैजाने अझै डरलाग्दो प्रवृत्ति छ । विषादी छरेको कति दिनपछि मात्रै तरकारी उपभोक्तासम्म पुर्याउने भन्ने विषयलाई किसानले बेवास्ता गरेको देखिन्छ । यस विषयमा कतिपय किसानलाई जानकारी नै नभएको समेत देखिन्छ । बालीमा विषादी छरेपछि टिप्नका लागि जुन समय सिफारिस गरिएको छ, त्यसलाई ९२ प्रतिशत किसानले पालना नगरेको भनी अनुसन्धानले जुन तथ्य सार्वजानिक गरेको छ, त्यसले पनि यो मामिलामा गम्भीर लापरबाही भएको देखिन्छ । कतिपय किसानले यस विषयमा जानकारी नै नभएर सिफारिस गरिएको समयअगावै तरकारी टिप्ने गरेका छन् भने कतिपयले थाहा हुँदाहुँदै पनि यसमा लापरबाही गरेको देखिन्छ । यसले गर्दा किसानमात्र होइन, त्यस्तो तरकारी खाने उपभोक्ता पनि पीडित भएका छन् । तरकारीमा रहेको विषादीको त्यही मात्राले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ।

कृषि पेसा अँगालेकालाई कृषिकै कारण क्यान्सर भएको भनेर ठोकुवा गर्न सकिने हिसाबले पर्याप्त अनुसन्धान नभए पनि क्यान्सर उपचारका लागि अस्पताल आउनेमा कृषि पेसामा आबद्ध बताउने अधिक हुनुले थोरै भए पनि यसप्रति संकेत गरेको देखिन्छ । राष्ट्रिय क्यान्सर रजिस्ट्रीको १० वर्षे प्रतिवेदनमा अस्पताल आउनेमा कृषि पेसामा संलग्न अधिक रहेको देखिएको हो । सन् २००३ देखि नेपालमा राष्ट्रिय क्यान्सर रजिस्ट्री कार्यक्रम सुरु भएको हो । त्यसयता बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, मणिपाल शिक्षण अस्पताल (पोखरा) र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) मा उपचार गराउन आउने यस्ता बिरामीको तथ्यांक राख्न सुरु गरिएको हो । कृषिपछि क्यान्सर उपचार गराउन आएकामा घरेलु काम गर्नेको संख्या बढी छ । यस्तो काम गर्ने बताउने १६ हजार ३७ जनालाई क्यान्सर भएको तथ्यांकबाट देखिन्छ । यसरी कृषि पेसामा आबद्ध धेरैभन्दा धेरै व्यक्तिलाई क्यान्सर भएको अवस्थामा यसको कारण पत्ता लगाउने हिसाबले अध्ययन हुन त जरुरी छ नै, साथै विषादी प्रयोगका विषयमा जनचेतना फैलाउने लगायतका काम गर्न पनि उत्तिकै आवश्यक छ । मुख्य कुरा विषादीको प्रयोग विकराल हुँदै गएको अहिलेको अवस्थामा यसलाई निरुत्साहित गर्नेतर्फ ध्यान दिनुपर्दछ।

प्रकाशित: १४ माघ २०७४ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App