४ वैशाख २०८१ मंगलबार
समाज

सरकारी बेवास्ताले अलपत्र बन्दै लोकमार्गका पुल

५ वर्षदेखि निर्माण अलपत्र परेको चौरजहारी कुदु जोड्ने मोटरेवल पुलको निर्माण स्थल। तस्बिर: जनक केसी

जाजरकोट- सरकारले निकै प्राथमिकता दिएको भनिएको मध्यपहाडीलोक मार्ग अन्तरगत विभिन्न नदी र खोलाहरुमा बन्ने पुलहरु लामो समय अलपत्र पर्दा पनि सरकारी निकाय मौन देखिएको छ। सडक र पुल निर्माणको काम बिचैमा छोडिएका कारण लामो समयदेखि लोकमार्ग  अधुरो रहेको  स्थानीय सरोकारवालाहरु बताउँछन्। लोक मार्ग अन्तर्गत जाजरकोटमा पर्ने केहि पुलहरुको निर्माण  चार पाँच  वर्ष देखि रोकिएको र केहि पुलहरु निर्माणको कामै सुरु नभएका कारण  बनेको सडकको पनि  विना कामको भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत  पश्चिम रुकुमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने भेरी नदीको पुल निर्माण सुरु भएको  पाँच वर्ष विते पनि अहिले सम्म  एउटा पिलर समेत वन्न सकेको छैन।

 पिलरको जग नै पुरा नखनेर  निर्माण व्यावसायीले काम छोडेपछि पुल निर्माणको भविस्य नै अलपत्र परेको स्थानीय कर्णप्रसाद आचार्यले बताए।  निर्माण व्यावसायीको लापरवाहि र सरकारी निकायको बेवास्ताका कारण  पुल निर्माणमा  ढिलाइ भएको  आचार्यले बताए।  पुल नवन्दा  जाजरकोटमा  निर्माण भएको ९२ किलो मिटर सडक प्रयोगमा आउन नसकेको आचार्यको भनाइ छ। उनले  सडक राम्रै बनेको  छ  तर  पुल अभावमा गाडी नचल्दा र  सडकको स्तरोन्नति नहुँदा बनेको सडक काम नलाग्ने गरि विग्रन थालेको बताए। सडक विभागले  रुकुमको चौरजहारी देखि  जाजरकोटको सुयडा सम्मको ९२ किलोमिटरको  सडकमा  तीन  वटा पुल निर्माण हुने जनाएपनि कुदु चौरजहारी जोड्ने  भेरी पुल ५ वर्ष देखि अलपत्र छ भने  भुर र जगतिपुर जोड्ने पुल  निकै होचो भएको भन्दै  व्यापक गुनासो  आएको  छ।

 त्यस्तै  छेडाखोलामा बन्ने पुलको भने  टेन्डर हुन बाँकी रहेको सडक विभागले जनाएको छ। भेरी पुल नबन्दा जाजरकोट रुकुम, सल्यानका  स्थानीयहरुलाई  आवत जावत गर्न  कठिनाइ मात्र भएको छैन ठूलो रकम खर्चेर निर्माण भएको  सडक प्रयोग बिहिन जस्तै  भएको छ। चौरजहारी–कुदु स्थित भेरी नदीमा १ सय मीटर लम्बाईको पुल १५ करोडको लागतमा निर्माणको जिम्मा वाईपी कन्स्ट्रक्सन काठमाडौंले लिएकोछ। सडक विभागको डिजाईन अनुसार कार्यस्थलमा कार्य गर्ने वातावरण नहुँदा पुल निर्माणमा ढिलाई भएको  कन्सट्रक्सनका व्यवशायी राजु श्रेष्ठले बताए।

 पुल निर्माणका क्रममै २ बर्षपछि रिडिजाईन गर्नुपर्ने अवस्था आउँदा ढिलाई भएको श्रेष्ठको भनाई छ। सडक विभागले हचुवाको भरमा  पुलको डिजाईन गर्दा  पहिलेको रद्ध गरेर दोश्रो डिजाईन बनाउनु परेको उनको  भनाइ छ।  श्रेष्ठले नयाँ डिजाईन आईसकेकोले अवको २ बर्षमा पुल निर्माण सम्पन्न हुने श्रेष्ठले बताए।

 उता सडक डिभीजन कार्यालयका  डिभीजन इन्जिनियर शुभराज न्यौपानेले भने व्यावसायीले समयमै काम गर्न नसकेका कारण काममा ढिलाइ भएको बताए।  दुइ दुइ पटक म्याद थप्दा पनि पुल निर्माणको काम अघि नवढेको उनको भनाइ छ।  आगामी असार मसान्तसम्म पुल निर्माणको म्याद भए पनि उक्त अवधिमा एउटा पनि पिलर वन्न सक्ने अवस्था छैन। भेरी नदीको पुल मात्र हैन, लोकमार्ग अन्तर्गत कुदुदेखि दैलेखको सुया“डा सम्मको जाजरकोट खण्डमा छेडागार लगाएत खोला तथा खोल्सामा पुल निर्माणकोकाममा  व्यापक लापरबाही भएको  स्थानीयनको गुनासो छ।  सडक विभागले भने    जाजरकोटमा  सडक निर्माणमा  एक अर्व बढी रकम खर्च गरे पनि  अहिले सम्म  उक्त खण्डमा साना ठूला कुनै पनि गाडी  सहज ढंगले  गुड्न सकेको छैन। पुल निर्माण अलपत्र परेका कारण स्थानीय व्यापार   व्यावसायमा समेत असर परेको व्यावसायीहरुको  गुनासो छ। मोटरेवल पुल नभएका कारण जाजरकोट रुकुम र सल्यानका स्थानीयले झोलुंगे पुलवाट वारपार गर्नु पर्ने  वाध्यता रहेको भेरी नगरपालिका ११ का  वडाध्यक्ष लक्ष्मीप्रसाद आचार्यले बताए।

 

 

प्रकाशित: १७ माघ २०७४ ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App