coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

महँगियो कुखुराको दाना

बनेपा – नेपालका दाना उद्योगले कुखुरा दानाको भाउ बढाएका छन् । दाना उत्पादनमा प्रयोग हुने कच्चा सामग्री र भिटामिनको भाउ बढेको भन्दै साताको सुरुमै उनीहरुले भाउ बढाएका हुन् ।

कुखुरापालक किसानका प्रतिनिधिसँग सरसल्लाह नगरी एक्कासी भाउ बढाएर मर्कामा पारेको भन्दै दाना उद्योगीको चर्को आलोचना समेत हुन थालेको छ ।‘किसान प्रतिनिधिसँग कुनै सल्लाह नगरीकन चितवनमा उद्योगीमात्रै बसेर भाउ बढाएकोमा हाम्रो गम्भीर आपत्ति छ,’ नेपाल कुखुरापालक किसान संघका अध्यक्ष भोजराज दाहालले भने ।

विगतमा भाउमा घटबढ हुँदा एकदेखि डेढ रुपैयाँ प्रतिकिलोमा र क्रमशः घट्ने बढ्ने प्रचलन रहेको दाहालको भनाइ छ, ‘यसपटक सबै खालको दानामा एकैनासले प्रतिकिलो तीन रुपैयाँका दरले भाउ बढाइएको छ । यसले किसानको उत्पादन लागत उठ्नमै समस्या हुने भएकाले मूल्यवृद्धिमा पुनर्विचार हुनुपर्छ,’ उनले थपे ।

अबदेखि किसानले ब्रोइलर दाना प्रति ५० किलोको बोरा प्रिस्टार्टरको दुई हजार सात सय ९५, ब्रोइलर १ नम्बरको लागि दुई हजार ६ सय ५५, २ नम्बरका लागि दुई हजार ६ सय पाँच रुपैयाँ तिर्नुपर्ने हुन्छ । यस्तै, लेयर्स दानाका लागि प्रति ५० किलोको बोराको १ नम्बरका लागि प्रतिबोरा दुई हजार पाँच सय ४५, २ नम्बरका लागि दुई हजार दुई सय ४५ र ३ नम्बरका लागि दुई हजार दुई सय ७० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

सबै किसिमको दानामा उत्तिकै परिमाणमा कच्चा सामग्री र भिटामिन प्रयोग नहुने भएकाले सबै दानाको भाउ एकैनासले बढाउन नमिल्ने दाहालको तर्क छ । ‘भटमास पीना र भिटामिनको भाउ बढेको भनिए पनि दानाको सबै फर्मुलेसनमा एउटै परिमाणमा यी चीज हालिन्नन् । त्यसैले पनि अहिले बढाएको भाउ अव्यावहारिक छ,’ दाहालले भने।

यहाँका अधिकांश पेलेट फिड मिलहरुले तीनदेखि ६ महिनासम्मका लागि कच्चा सामग्री स्टक राख्ने भएकाले हालैमात्र भारतमा भटमास पीनाको भाउ बढ्नासाथ पुरानै कच्चा सामग्रीबाट बनेका दानामा भाउ बढाइ हाल्न नहुने दाहालको तर्क छ । ‘पेलेट फिडले मकै र भटमास पीना र्याकका र्याक झिकाउँछन् ।

उनीहरुको साइलो (कच्चा सामग्री भण्डारण गरिने स्थान) मकै र भटमास पीनाले सधैं भरिभराउ हुन्छ । नयाँ कच्चा सामग्री प्रयोगले भाउ बढाएको भनेर उद्योगीले दाबी गर्ने भए भन्सारको अहिलेको प्रज्ञापन पत्र र खरीद बिल देखाउने हिम्मत गर्न सक्नुपर्छ,’ उनले चुनौती दिए ।

किसानका प्रतिनिधिमात्रै नभई कुखुरापालक किसान पनि एकैपटक दानाको भाउ बढ्दा पेसा नै छाड्नु पर्ने चिन्तामा रहेका भेटिए ।  ‘बोरामा डेढ सय रुपैयाँ बढेको थाहा पाएँ । घटाउँदा ५० रुपैयाँ, बढाउँदा तीन गुणा, किन भाउ बढ्यो भनेर सोध्ने र गुनासो गर्ने निकाय नै नभए झैं भयो । महँगो चल्लालाई महँगो दाना खुवाएर लागत उठाउनै मुस्किल हुने अवस्था आयो’, बेथान्चोक गाउँपालिका, ढुंखर्कका रमेश तिमल्सिनाले गुनासो पोखे ।

एक दशकदेखि व्यावसायिक रुपमा ब्रोइलर पाल्दै आएका तिमल्सिनाले गत वर्षदेखि क्षमता बढाएर प्रतिलट पाँच हजार ब्रोइलर पाल्न थालेका छन् । ‘दानाको यही हिसाबले एउटा ब्रोइलरलाई १५ रुपैयाँ बढी खर्च हुँदा मेरो ७५ हजार रुपैयाँ बढी लगानी हुने भयो’, उनले थपे ।

उता, दानाको भाउ वृद्धि गर्ने निर्णय उद्यमीहरुको रहरले नभई बाध्यताले भएको नेपाल दाना उद्योग संघका महासचिव रविन पुरीको भनाइ छ, ‘दाना उत्पादनमा चाहिने अधिकांश कच्चा सामग्रीमा दैनिक परनिर्भरता बढ्दो छ । भटमास पीनाका लागि पूरै भारतमा निर्भर हुनुपरेको छ । यतिमात्रै नभई विगतमा मकै ४० प्रतिशत र तोरीको पीना नेपालकै उत्पादनले भ्याउने गरेको थियो । अहिले त्यो पनि अपुग छ । यतिखेर ढुटोसमेत भारतकै भर पर्नु परेको छ,’ उनले बाध्यता दर्शाए ।

यतिखेर दाना बनाउने मुख्य सहायक कच्चा पदार्थ भटमास पीनामा प्रतिकिलो १५ रुपैयाँसम्म बढेको र भिटामिनको भाउ दैनिकजसो बढेकाले तयारी दानाको भाउ बढाउनु परेको उनले प्रष्टीकरण दिए । ‘४५ रुपैयाँको भटमास पीनाको भाउ बढेर ६० पुगेको छ । दानामा २५ प्रतिशतसम्म भटमासको पीना हाल्नु पर्ने हुन्छ । थेग्नै नसकिने भएर भाउ बढाउनु परेको हो,’ उनले भने ।

दानामा ६० प्रतिशतसम्म प्रयोग हुने मकैको भाउ यतिखेर अलि स्थिर भएकाले हालको भाउ कायम गर्न सकिएको अन्यथा यो भाउ अझै बढ्न सक्ने पुरीको भनाइ छ । ‘मकै र भटमास पीनामा बढ्दो परनिर्भरताले गर्दा चाहेर पनि सहुलियत दरमा दाना बनाउन सम्भव छैन । यसका लागि विगतमा सरकारले ल्याएको ‘मिसन मेज’ कार्यक्रमलाई निरन्तरता दिँदै फेरि बृहतस्तरमा मकै खेती गराउनु पर्छ,’ उनले थपे ।

केही वर्षअघिसम्म नेपालमा मास फिड (धुलो दाना) बनाउने मध्यम तथा साना उद्योगको बाहुल्य थियो । कुखुरापालनमा व्यापकता आएसँगै अत्याधिक उत्पादन क्षमताका पेलेट (कुड्के) दाना उद्योगको संख्या बर्सेनि थपिन थाले । यतिखेर नेपालीमात्रै नभई चिनियाँ र भारतीय साझेदारीमा समेत पेलेट फिड मिलहरु सञ्चालन हुँदै आएका छन् ।

दाना उद्योग संघका अनुसार मुलुकका विभिन्न क्षेत्रमा हाल ४२ वटा पेलेट फिड मिल सञ्चालनमा रहेका छन् । थप सातवटा पेलेट फिड मिल निर्माणाधीन अवस्थामा छन् । संघमा आवद्ध अन्य दाना उत्पादकसमेत गरी दैनिक एक हजार आठ सयदेखि दुई हजार पाँच सय टनसम्म कुखुरा दाना खपत हुने गरेको छ । बजारमा कुखुरा बिक्री हुन नसकेको (जाम) अवस्थामा यो उत्पादन दर घटीबढी हुने गरेको संघको भनाइ छ ।

 

प्रकाशित: १८ माघ २०७४ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App