८ वैशाख २०८१ शनिबार
कला

पिरतीको बर्को’मा पल र आँचल

काठमाडौं – सार्वजनिक रुपमा एकअर्कालाई प्रेमीप्रेमिकाका रुपमा नचिनाए पनि सञ्चारमाध्यममा नायक पल शाह र नायिका आँचल शर्माको अफेयरको चर्चाले राम्रै स्थान पाएको छ । मिडियाको अगाडि आफूहरूलाई असल साथीको रुपमा चिनाउने उनीहरुले केही म्युजिक भिडियो र फिल्ममा पनि सँगै अभिनय गरेका छन् ।

उनीहरुले पछिल्लो पटक सँगै अभिनय गरेको फिल्म ‘शत्रु गते’को नयाँ गीत ‘पिरतीको बर्को’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा यो जोडी निकै उत्साहित देखिन्थे । यो गीतमा उनीहरुको मात्र रोमान्टिक सिक्वेन्स रहेकाले पनि अन्य कलाकारभन्दा पल र आँचलको अनुहारमा बलेको थियो ।
अभिनेता पलले आँचलसँग म्युजिक भिडियो र फिल्ममा काम गरिसकेकोले गीतको छायांकनमा सजिलो भएको बताए । ‘अघिल्ला गीतभन्दा यसमा मेरो र आँचलको केमेष्ट्रीमा दर्शकले केही भिन्नता देख्नसक्नु हुनेछ । गीत सुन्दा नै रमाइलो लागेको थियो’ पलले भने, ‘भिज्युवलमा कसरी दर्साउने भन्ने चिन्ता थियो । तर हामीले बनाएको सोच अनुसार गीत खिचिएकोले त्यति आकर्षक भएको छ ।’

आँचलले पनि पलको कुरामा सहमति जनाइन् । उनले आफूभन्दा अग्रज कलाकारसँग काम गर्दा सहजतासँगै काम गर्ने जोश पनि बढेको बताइन् । ‘अग्रजको कला यात्राको अनुभवले पनि हामीलाई केही साहस दियो । निकै रमाइलोसँग फिल्मको छायांकन सक्यौं । गीत सुन्दा जति रमाइलो थियो, अहिले हेर्दा भिडियो पनि त्यतिकै रमाइलो बनेको पाएँ,’उनले भनिन्,‘माया गर्ने जोडीको माया र त्यसमा आउने उतारचढावलाई गीतमा दर्शकले हेर्न पाउनुहुनेछ ।’

गीतमा अर्जुन भट्टराईको शब्द र कालीप्रसाद बास्कोटाको संगीत र स्वर छ । गीतमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ । कलाकार मदनकृष्ण श्रेष्ठले फिल्म हलिउड र बलिउडको भन्दा कम नरहेको दाबी गरे । अर्का कलाकार हरिवंश आचार्यले फिल्मले कुनै पनि शत्रुलाई परास्त गर्न कतिको संघर्ष गर्नुपर्छ भन्ने कुरालाई देखाउने बताए । उनले नयाँ पुस्तासँग काम गर्न पाउँदा आफू पनि नयाँ पुस्ताकै हो कि भन्ने आभास भएको खुलाए । ‘नेपाली भाषा लोप हुन नदिनका लागि पनि फिल्म बनाइरहनु पर्ने रहेछ ’ उनले भने ।

प्रस्तुतकर्ता किरण केसीले फिल्मले दर्शकलाई कमेडीको नयाँ स्वाद दिने दाबी गरे । कलाकार दीपकराज गिरीले फिल्मबाट ठूलो अपेक्षा राखे पनि त्यो अपेक्षाले लक्ष्य पाउने या नपाउने भन्ने कुरा दर्शकमा भरपर्ने बताए । निर्देशक प्रदिप भट्टराईले फिल्मले आम दर्शकको रुपैंयाँलाई सही रुपमा सदुपयोग गर्ने बताए ।
फिल्ममा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेलको लगानी छ । चैत्र ९ गतेबाट रिलिज हुने फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेलसंगै पल र आँचलको पनि अभिनय छ।
फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् । फिल्ममा दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको गीत तथा संगीत छ । फिल्म मह सञ्चारको ब्यानरमा निर्माण गरिएको हो ।
 

प्रकाशित: १८ माघ २०७४ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App