५ वैशाख २०८१ बुधबार
अन्य

खाजामा डोसा

तस्बिर : प्रतीक रायमाझी

विमल थापाले नन्दन स्विट्स, न्युरोडमा काम गरेको २० वर्ष भयो । यत्तिका वर्षमा नेपालीको खानपानको शैली धेरै बदलिएको उनले देखेका छन् । पसलमा गएर मिठाई खाने चलन पहिले निकै कम रहेको उनी बताउँछन् । अहिले होटल रेस्टुराँ गएर खाने चलन बढेको छ । उनी काम गर्ने नन्दन स्विट्समा पछिल्ला वर्ष डोसा खाने ग्राहक निकै बढेका छन् । ‘पहिले धेरै इन्डियन र मारवाडी समुदायका मानिसले खान्थे, अहिले धेरै नेपालीले पनि खान्छन्,’ थापा भन्छन्, ‘डोसा नचिन्ने मान्छे भेटेको छैन ।’ हरेक दिन दर्जनौँ डोसा नन्दन स्विट्सको किचेनमा बन्ने गरेको उनी सुनाउँछन्। 

दिउँसोको खाजा खाने बेला नन्दन स्विट्समा पस्ने धेरैको रोजाइ डोसा हुने गरेको उनी बताउँछन् । ‘खाजाका रूपमा हाम्रोमा धेरै खाइने डोसा नै हो, बच्चाहरू त डोसा भनेपछि हुरुक्कै हुन्छन्,’ उनी भन्छन्। 

जाडो वा गर्मी, जुनसुकै मौसममा पनि डोसा खान सकिन्छ । खाजाका रूपमा डोसा धेरै रुचाइन्छ । ‘साउथ इन्डियन खानाका पारखीले दिनदिनै पनि खान्छन्, यही मौसममा मात्र खान्छन् भन्ने छैन,’ उनले भने । पछिल्लो समय नेपाली खाजाको रुटिनमा डोसा समावेश हुने क्रम बढ्दो छ । नन्दन स्विट्समा भारतीय व्यापारी, पर्यटक तथा नेपाली परिवार डोसा खान आउने गरेको थापा बताउँछन्। 

डोसालाई विभिन्न स्टाइलमा बनाउन सकिन्छ । रुचि अनुसारका फिलिङ्स राखी थरीथरी डोसा बनाउन सकिन्छ । साकाहारी व्यक्तिका लागि अति उपयोगी खाजाको रूपमा डोसालाई लिइन्छ । त्यसैले दक्षिण भारतबाट आएको डोसा काठमाडौंमा पनि लोकप्रिय हुन थालेको छ। 

गएको मंगलबार व्यवसायी दुर्गाप्रसाद रेग्मी नन्दनमा डोसा खाइरहेका भेटिए । उनी बेलाबखत डोसा खोज्दै इन्डियन रेस्टुराँ धाउने गर्छन् । रेग्मीको मनपर्ने परिकारको सूचीमा डोसा नछुट्ने बताउँछन् । ‘मलाई डोसा अति नै मनपर्छ, यो खाँदा टन्न अघाइन्छ,’ उनले भने, ‘स्वादको त कुरै नगरौँ।’ 

पनिर फिलिङस्मा डोसा अति स्वादिलो लाग्छ उनलाई । रेग्मी व्यावसायिक कामको सिलसिलामा भारत गइरहन्छन् । भारतमा नै आफूले पहिलोपटक डोसाको स्वाद लिएको उनी बताउँछन् । ‘भारतका साथीभाइ आउँदा पनि डोसा खुवाउन यहीँ ल्याउँछु,’ उनी भन्छन्। 

अर्काे डोसा पारखी हुन्, कीर्तिपुरकी विमला सुवेदी । उनी परिवार नै लिएर डोसा खान रेस्टुराँ जाने गर्छिन् । खाजाको स्वाद फेर्न आफूले डोसा खाने गरेको उनी बताउँछिन् । ‘खाजामा धेरैजसो मःमः, चाउमिन खाइन्छ, स्वाद फेर्ने क्रममा डोसा पनि खाइन्छ,’ उनले भनिन् । स्वाद फेर्न खाइने डोसामा उनलाई नरिवलको अचार विशेष मनपर्छ। 

नेपाली र भारतीय परिकारको स्वाद मिल्ने भएकाले डोसा मन पराइएको बताउँछन्, गुलाब स्विट्स सुन्धाराका म्यानेजर नारायण अधिकारी । डोसा नुनिलो, अमिलो, मसलादार हुने भएकाले खाजाको रूपमा काठमाडौंमा खाने क्रम बढेको उनको भनाइ छ । अधिकारी भन्छन्, ‘तराई क्षेत्रका विभिन्न ठाउँमा त डोसा धेरै खाइने परिकार हो, पछिल्लो समय काठमाडौंमा पनि धेरैले खान थालेका छन् ।’ मसलादार र स्वादिलो हुँदाहुँदै पनि डोसा स्वास्थ्यका दृष्टिकोणले पनि उपयुक्त रहेको अधिकारीको दाबी छ । यसमा चिल्लो र पिरो धेरै प्रयोग हुँदैन । रोटी, अचार, सब्जी, दालका कारण पौष्टिक त्ववयुक्त समेत हुने उनी बताउँछन्। 

डोसालाई विभिन्न स्टाइलमा बनाउन सकिन्छ । रुचि अनुसारका फिलिङ्स राखी थरीथरी डोसा बनाउन सकिन्छ । साकाहारी व्यक्तिका लागि अति उपयोगी खाजाका रूपमा डोसालाई लिइन्छ । त्यसैले दक्षिण भारतबाट आएको डोसा काठमाडौंमा पनि लोकप्रिय हुन थालेको छ। 

डोसा बनाउन उसिनेको अर्वा चामलको पिठो र रहर दालको पिठोबाट घोल बनाइन्छ । त्यो घोललाई तावामा फैलाएर रोटी बनाइन्छ । रोटीमा विभिन्न खालका फिलिङ्स बेरेपछि डोसा तयार हुन्छ । यसलाई विभिन्न खालका भेजिटेरियन साइड डिससँग सर्भ गरिन्छ । डोसाको साइड डिसको रूपमा विशेषगरी साम्बार र नरिवलको चटनी अनिवार्य मानिन्छ। 

‘साम्बार र विभिन्न किसिममा चटनीले डोसालाई थप स्वादिलो बनाउन मद्दत गर्छ,’ नन्दन स्विट्सका थापा भन्छन् । विभिन्न मौसमी सागसब्जी समेत हालेर पकाइएको सुप साम्बार हो । साम्बार डोसाको मुख्य साइड डिसको रूपमा खाइन्छ । त्यस्तै, नरिवलको अचार, टमाटरको अचार पनि साइड डिस हुन् । त्यसैले डोसाको समग्र स्वाद चटपटा मसलादार हो । यसलाई मसला स्वाद कम गरेर पनि खान सकिने अधिकारी बताउँछन्। 

डोसालाई यसमा प्रयोग गरिने फिलिङ्सका आधारमा विभिन्न नाम दिइएको हुन्छ । प्लेन, मसला, स्पेसल, पनिर जस्ता डोसा सामान्यतः इन्डियन रेस्टुराँमा पाइन्छन् । यी बाहेक रेस्टुराँले डोसाका आ–आफ्नै रेसिपी पस्कने गरेका छन् । ‘खाने मानिसको इच्छा र स्वादअनुसार विभिन्न स्टफिङमा डोसा बनाउन सकिन्छ,’ गुलाबका अधिकारी भन्छन्, ‘विविधीकरणकै कारण पनि यो परिकारलाई लक्जरीको रूपमा समेत खाइन्छ ।’ काठमाडौंमा घरमै डोसा बनाएर खाने चलन छैन । त्यही कारण डोसा काठमाडौंवासीका लागि लक्जरी बनेको अधिकारीको भनाइ छ।

उपत्यकामा विशेषगरी मसला डोसा धेरै मन पराइने गरेको छ । आलु र मसलाको फिलिङ्स हालेर बनाइने डोसा मसला डोसा हो । पनिर मन पराउनेले पनिर डोसा खान्छन् । पनिरको विशेष खालको फिलिङ्स हाली पनिर डोसा बनाइन्छ । केही फिलिङ्स नराखीकन पनि डोसा खाइन्छ । नन्दनका थापाका अनुसार मधुमेह बारिरहेको बिरामीले सादा डोसा खान मन पराउँछन् । डोसाको क्रेप (रोटी) मात्र साम्बार र अचारसँग सर्भ गरिने डोसा प्लेन डोसा हो । अचेल डोसालाई स्पेसल बनाउन यसको फिलिङ्समा ड्राई फ्रुट्स, चीजलगायत अन्य विभिन्न सामग्री पनि प्रयोग गर्ने गरिएको छ । यस्तो खालको डोसालाई स्पेसल डोसा नाम दिइन्छ । यीबाहेक पनि विभिन्न रेस्टुराँका आ–आफ्नै प्रकारका डोसाका रेसिपी पाउन सकिन्छ। 

 

प्रकाशित: १९ माघ २०७४ ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App