coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

हाउगुजी नेपाली

माधवप्रसाद नेपाल
हामीमध्ये धेरै अभिभावक चाहन्छौँ, छोराछोरीले विद्यालयमा कखग, एकदुईतीन भन्दा एबीसीडी र वानटुथ्री नै चाँडो सिकोस् । हाम्रा बालबालिकाले आमालाई मम्मी, बुवालाई ड्याडी, हजुरबुवालाई बा, हजुरआमालाई आमा, काकालाई अङ्कल भनेर सम्बोधन गर्दा हामी पुलकित हुन्छौँ ।

यतिमात्र हैन– फलफूल, तरकारी, घरका सामान, यातायात, चाडपर्व, खानेकुरा, अस्पताल, सञ्चार, खेतीपाती, व्यापार आदि दैनिक व्यवहारमा प्रयुक्त हुने नेपाली शब्द अङ्ग्रेजीमै भनेको सुन्दा छोराछोरीको प्रशंसा गर्छौँ । तर बालबालिकाको मस्तिष्कबाट बिस्तारै आफ्नै मातृभाषाको शब्दभण्डार रित्तिँदै गएको हामीलाई पत्तै छैन । यसरी हाम्रा मौलिक शब्दहरु प्रयोग गर्न छाडिँदैछ भने साइनो वा नातासम्बन्धका शब्द हराउने अवस्थामा पुगेका छन् ।

हाम्रो भाषा समृद्ध भएमा संसारका अन्य भाषामा नेपाली शब्दले प्रविष्टि पाउने हो तर हामी नै अरुको अन्धभक्त बनेपछि भाषा कमजोर हुने नै भयो । ‘भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति’ भन्ने आदर्श बिस्तारै लोप हुँदैछ ।

हामी नेपालीमै सोच्छौं, नेपालीमै भविष्यको कल्पना गर्छौं, यहाँसम्म कि सपना पनि नेपालीमै देख्छौं भने बालबालिकालाई सानै उमेरदेखि किन अङ्ग्रेजी भाषा जबरजस्ती सिकाउनुपर्यो ? अङ्ग्रेजीलाई जत्तिकै नेपाली भाषा शिक्षणलाई सँगसँगै लैजान के समस्या छ निजी विद्यालयलाई ? बाध्यतापूर्वक सिकाइन्छ भने त्यो सिकाइ प्रभावकारी दिगो हुन सक्दैन ।

सिकाइ अनुसन्धानले बालबालिकालाई उनीहरुको रुचि, आवश्यकता र चाहनाअनुसार सिकाइ क्रियाकलाप गर्दा प्रभावकारी र दिगो हुने कुरा धेरै अगाडि पुष्टि गरिसकेको हो । पहिलो भाषा अर्थात् मातृभाषाका माध्यमबाट बालबालिकाले जति सजिलै र छिटै नयाँ कुरा सिक्छन्, दोस्रो वा अन्य भाषाका माध्यमबाट ज्ञान आर्जन गर्न त्यति सजिलो हुँदैन ।

दोस्रो भाषाको ज्ञान व्यक्तिले आफ्नो आवश्यकताअनुसार आर्जन गर्दै जाने हो । बाल्यकालमै अनिवार्य रुपमा सिकाउनुुपर्छ भन्ने छैन । हाम्रो देशमा बोर्डिङ भन्नेबित्तिकै अङ्ग्रेजी माध्यममा पढाइ हुने स्कुलको नाम आइहाल्छ । १२३ भाषा समुदायका मानिस बसोबास गर्ने नेपालमा मैथिली, भोजपुरी, थारु, तामाङ भाषाका माध्यमबाट पढाइ हुने विद्यालयहरु स्थापनामा न कुनै जातीय समुदायका अगुवाहरुलाई चासो छ, न सरकारले नै यसतर्फ कुनै प्रयास थालनी गरेको छ ।

अधिकारको मुद्दा उठाउनुपर्दा तिनै समुदायका मानिसहरु सडकमा उत्रन्छन् तर उनीहरुको छोराछोरी आफ्नो मातृभाषामा पढ्न त के बोल्न पनि जान्दैनन् । राजधानीमा केही निजी क्षेत्रको पहलमा औंलामा गन्न सकिने नेवाः पाठशाला खुले पनि तिनलाई सरकारले संरक्षण गरेको पाइँदैन । मातृभाषामा दिइने शिक्षा प्रभावकारी हुने यथार्थलाई मनन गर्दै सरकारी प्राथमिक विद्यालय तहमा माृतभाषा शिक्षा बिस्तारै लागू हुँदै गएको छ । तर निजी विद्यालयमा मातृभाषाको पठनपाठन हुने गरेको पाइँदैन ।

सिकाइमा भाषा सधैंँ ओझेलमा
अहिले कक्षा १० को अन्तिम परीक्षा एसइई नजिकिँदैछ । यतिबेला तपाईं सहरी क्षेत्रका निजी स्कुलमा पुग्नुभयो भने कक्षा १० का विद्यार्थीलाई गुफामा जसरी राखिएको पाउनुहुन्छ । त्यो गुफामा नेपाली विषय निकै कडाइका साथ सिकाइन्छ । त्यहाँ उनीहरुले नेपाली भाषाको सट्टा नेपाली विषय (पाठभित्र रहेका कथा, निबन्ध, जीवनी, कविता आदि) सिकिरहेका हुन्छन् ।

प्रश्नको उत्तर कसरी दिने सीप सिकेका हुँदैनन् । शिक्षकले लेखाएको उत्तरलाई जबरजस्ती घोकिरहेका हुन्छन् । उनीहरुमाथि एसइईमा जसरी पनि अन्य विषयमा जस्तै नेपालीमा पनि उत्कृष्ट अङ्क ल्याउनुपर्ने दबाब छ । विद्यार्थीले कम अङ्क ल्यायो भने एक त निजी स्कुलको व्यापार धराशयी हुन्छ, अर्कोतर्फ बालबालिकाको सर्टिफिकेट बिकाउ हुँदैन । किनकि हामी व्यक्तिले कति सिक्यो भन्ने भन्दा पनि उसको सर्टिफिकेटमा कति नम्बर छ त्यसलाई महत्त्व दिने समाजमा छौँ ।

शिक्षक बोदराज गौतम भन्छन्, ‘हामी शिक्षक परीक्षामुखी नबनी सुखै छैन । हामीले के र कति सिकायौँ भनेर मूल्याङ्कन गर्ने आधार भनेको विद्यार्थीले ल्याउने अङ्क हो । त्यसैले जसरी पनि परीक्षामुखी बनेर सिकाउनुपर्छ । चाहेर पनि हामी भाषियक सीपअनुसार सिकाउन सक्दैनौँ ।’

कतिपय निजी विद्यालयमा कक्षा १ देखि नै अनिवार्य नेपाली टाउको दुखाइ बनेको पाइन्छ । कारण उनीहरुको प्रारम्भिक सिकाइदेखि नै नेपालीबाहेक हरेक विषय अङ्ग्रेजी माध्यममा हुँदै आएको छ । यस्तै समस्यामा छन् सेन्ट जेभियर्स स्कुल जाउलाखेलमा कक्षा १० मा अध्ययनरत छात्र अभ्युदय गोर्खाली । अरु विषयमा सोचेजत्ति नम्बर ल्याउने आसमा रहेका उनी नेपालीमा भने ढुक्क छैनन् ।

आफ्ना धेरै साथीहरू विगत तीनचार वर्षदेखि नेपालीको ट्युसन पढ्दै आएको र अहिले एसइईको तयारीमा धेरैले नेपालीको ट्युसन पढिरहेको जानकारी उनले दिए । अधिकांश निजी विद्यालयमा अतिरिक्त क्रियाकलाप नेपाली भाषामा गरिँदैन । सिकाइ कार्यकलापका लागि पनि नेपालीलाई थोरै समय दिइन्छ । शिक्षक  गौतम भन्छन्, ‘अरु सात विषयलाई दिनेभन्दा आधा समयमात्र नेपाली विषयलाई दिने हो भने नेपाली स्तरीय हुन सक्छ । अघिल्लो दिन घोकेर भोलिपल्ट परीक्षा दिने प्रवृत्ति रहेसम्म निजी विद्यालयका बालबालिकाले स्तरीय नेपाली भाषा सिक्न सक्दैनन् ।’

किन कमजोर हुन्छन् नेपालीमा ?
अधिकांश निजी स्कुल प्रवेश गर्नेबित्तिकै ठूला अक्षरमा ‘इङ्लिस स्पिकिङ जोन’ लेखिएको देख्न पाइन्छ । राजधानीका सेन्ट जभियर्स, लिटिल एन्जल्स, जेम्सजस्ता स्कुलमा त तोकिएको ठाउँबाहेक अन्यत्र नेपाली बोल्न नपाइने प्रावधान छ । यसको सिको सहरी क्षेत्रका धेरै विद्यालयहरुले गरिरहेका छन् । शिक्षण सिकाइमा अङ्ग्रेजीलाई महत्त्व दिने विद्यालय सञ्चालकहरुमा नेपालीप्रति पटक्कै रुचि देखिँदैन । कतिपय निजी स्कुल त नेपाली विषय नभइदिए पनि हुन्थ्यो भन्ने अवस्थामा छन् ।

नेपालका झन्डै ४५ प्रतिशत नेपालीले बोल्ने र सरकारी कामकाजको भाषा शिक्षणमा किन रुचि नजागेको होला ? ग्यालेक्सी पब्लिक स्कुलका नेपाली शिक्षक हरिशरण ढुङ्गाना भन्छन्, ‘निजी विद्यालय व्यापारिक उद्देश्यले सञ्चालन भएका हुन्छन् । त्यहाँका अभिभावकको धारणा सन्तानले अङ्ग्रेजीमा फरर बोल्न सक्ने बनोस् तर नेपाली जेसुकै होस् भन्ने पाइन्छ ।’ यसैले निजी क्षेत्रबाट उत्पादित जनशक्ति नेपाली भाषामा कहिल्यै अब्बल बन्न नसकेका हुन् । बजारको माग पूरा गर्न र प्रमाणपत्र बिकाउ बनाउन अङ्गे्रजी माध्ययममै पढ्नुपर्ने बाध्यता छ ।

मातृभाषा या नेपालीमा राम्रो बोल्न र पढ्न सक्ने भएपछि मात्र अङ्ग्रेजी वा अन्य भाषा सिकाउने हो भने बालबालिकाको सिकाइ स्तर निकै छिटो सुध्रने तथ्यप्रति अनभिज्ञ देखिन्छन् । एक अध्ययनअनुसार विद्यालय जानुपूर्व अर्थात् ५ वर्षको उमेरमा बालबालिकाकाले आफ्नो मातृभाषामा तीन हजार शब्द जानिसकेको हुन्छ । तर हामी धेरै अभिभावकहरु बालबालिकाको पहिलो सिकाइ अङ्ग्रेजी भाषाबाट आरम्भ गर्न रुचाउँछौँ ।

भाषाविद्हरुले पनि मातृभाषामा शिक्षण सिकाइ प्रभावकारी हुने तथ्य पहिचान गरिसकेकै छन् । नेपालको संविधानको धारा ३१ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने मौलिक हकको व्यवस्था गरिएको छ । यस्तै भर्खरै भाषा आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा ‘मातृभाषा बिनाको शिक्षा रुग्ण हुने र अङ्ग्रेजी राम्रो बनाउन पहिला मातृभाषामा सिकाइ अनिवार्य हुनुपर्ने’ सुझाव दिएको छ ।

यति हुँदा हुँदै पनि निजी विद्यालयका सञ्चालक र अभिभावकमा नेपाली विषयमा चासो देखिँदैन । नाइटिङ्गेल स्कुलमा झन्डै दुई दशकदेखि नेपाली भाषा शिक्षण गर्दै आएका गौतम नेपाली विषयप्रति अभिभावक र विद्यार्थीमा रुचि नै नदेखिएको अनुभव सुनाउँछन् । ‘अभिभावकहरुमा विदेश मोह छ । अरु बेला नेपाली विषय त हो भन्ने गर्छन् । जब परीक्षा आउँछ अनि जसरी नि धेरै नम्बर चाहिन्छ भन्छन् । घरमा नेपाली पढ्ने वातावरण बनाउँदैनन् । भोलि यो विषय चाहिँदैन भन्ने गलत मान्यता छ,’ उनले भने ।  कक्षा १० मा आठ विषयमध्ये निजी स्कुलमा ७ विषय अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ ।

नेपाली मात्र नेपाली भाषामा सिकाइन्छ । भाषा सिक्दा पहिला कुनै कुरा सुन्नुपर्छ, सुनेको कुरा बोल्नुपर्छ, बोलेको कुरालाई पढ्न सक्नुपर्छ र पढेको कुरा लेख्नुपर्छ अर्थात् सुनाइ, बोलाइ, पढाइ, लेखाइ भाषाका चार सीप हुन् । संसारका जुनसुकै भाषा सिकाउँदा यिनै सीप सिकाउन प्राथमिकता दिइन्छ । गौतम भन्छन्, ‘कक्षा १० मा पुगेको विद्यार्थी वर्ण वर्ण गरेर शब्दको उच्चारण गर्छन् । कतिपयलाई शब्द उच्चारणमै समस्या छ । तर एसइईमा तिनकै अभिभावकलाई उत्कृष्ट नतिजा चाहिन्छ ।’

सुरुदेखि ‘पण्डितको भाषा’
वि.सं. १९१० मा दरबार हाइस्कुल खुल्नुअघि पठनपाठन संस्कृत भाषामा हुन्थ्यो । सरकारी स्तरबाट विद्यालय स्थापना नभए पनि भाषा, व्याकरण, अर्थशास्त्र, ज्योतिष, नीतिशास्त्र, बौद्धदर्शन आदि गुरुकुल र गुम्बा परम्परामा पठनपाठन गर्ने प्रचलन थियो । यीमध्ये कुनै एक विषयमा विशिष्ट ज्ञान भएका व्यक्ति पण्डित कहलाउँथे । शिक्षा हिन्दु र बौद्ध धर्ममा आधारित थियो । त्यसैले विद्वान्हरुमा निष्ठा थियो । सोही कारण सामाजिक मूल्यमान्यता र मर्यादामा आँच आउने खालका गतिविधि विरलै हुन्थे ।

दरबार हाइस्कुल स्थापनापछि राज्यसत्तामा पहुँच हुनेका सन्तानले सोही विद्यालयमा अङ्ग्रेजी भाषामा शिक्षा आर्जन गर्ने अवसर पाउन थाले । भारतमा ब्रिटिस साम्राज्य थियो । राणाहरु उतैको शैक्षिक एवम् सामाजिक गतिविधिको नक्कल गर्न रुचाउँथे । तसर्थ दरबार हाइस्कुलको पाठ्यक्रम ब्रिटिस शैलीको हुनु स्वाभाविकै थियो । अङ्ग्रेजी पढेकाहरु सभ्य, आधुनिक र जान्नेबुझ्ने भनेर चिनिन थाले भने गुरुकुल र पाठशालामा अध्ययन गरेर प्रतिष्ठित भएका विद्वान्हरु कर्मकाण्डी र पुरातन । अहिलेसम्म पनि अङ्ग्रेजी माध्यममा पढ्नेहरु आधुनिक, धनीमानी र सुसंस्कृत तथा नेपाली माध्यममा पढ्नेहरु पुरातन, विपन्न र असभ्य भन्ने मानसिकता गढेको छ हाम्रो समाजमा । नेपाली माध्यममा पढाइ हुने विद्यालय शिक्षा जतिसुकै स्तरीय भए पनि धेरै अभिभावकहरु सकीनसकी अङ्ग्रेजी माध्यममै पढाउन चाहन्छन् आफ्ना सन्तानलाई ।
‘नेपाली प्रविधिमैत्री बनेन’
अङ्ग्रेजी माध्यममा पढाइने विद्यालय परिसरमा अनिवार्य रुपमा अङ्ग्रेजीमा बोल्नैपर्ने, नेपालीमा कुराकानी गरेमा दण्ड भोग्नुपर्ने अवस्था सहरी क्षेत्रका धेरै निजी विद्यालयको आचारसंहिता कडाइका साथ लागू गरिएको जोकोहीले देखेभोगेकै हो । आफ्नो मातृभाषालाई भन्दा अङ्ग्रेजी भाषालाई महत्त्व दिएमा छोराछोरीमा प्रविधिमैत्री ज्ञान आर्जन हुने, उच्च शिक्षा अध्ययनका लागि विदेश जाने ढोका सहजै खुल्ने र समाजमा अरु मानिसभन्दा शिष्ट र सभ्य हुने गलत सोचाइ हामी आमअभिभावकमा रहेको पाइन्छ ।

विगत दुई दशकदेखि निजी विद्यालयमा नेपाली शिक्षण गर्दै आएका साउथ वेस्टर्न स्टेट कलेजका सञ्चालक राजेन्द्रप्रसाद लामिछानेका अनुभवमा विज्ञान प्रविधिका सामान्य ज्ञान आर्जन गर्न अङ्ग्रजी जान्नैपर्ने बाध्यता छ । उनी भन्छन्, ‘प्राविधिक ज्ञान आर्जन गर्न पनि अङ्ग्रजी सिक्नैपर्छ ।

त्यसैले निजी विद्यालयले रहरले नभएर बाध्यताले सानैदेखि अङ्ग्रेजी माध्यममा पढाउनुपरेको हो ।’ तर यस भनाइप्रति सरकारी विद्यालयमा लामो समयदेखि पढाउँदै आएका नारायणप्रसाद गौतम सहमत छैनन् । पद्मोदय माध्यमिक विद्यालयका नेपाली शिक्षक गौतम भन्छन्, ‘नेपाली भाषी बालबालिकाका लागि अङ्ग्रेजी दोस्रो भाषा हो । पहिलो भाषामा जसरी अन्य भाषामा हरेक कुरा सिक्न गाह्रो हुन्छ ।’ व्यक्तिले आफ्नो आवश्यकताअनुसार सिक्ने भएकाले अङ्ग्रेजी माध्यममा नपढे पनि प्रविधिको ज्ञान हासिल गर्न सजिलो हुने उनको अनुभव छ । उनी भन्छन्, ‘विद्यालयमा अङ्ग्रेजी माध्यममा नपढेकै कारण कुनै व्यक्ति डाक्टर, इन्जिनियर बन्न रोक लागेको छ र ?’   

अङ्ग्रेजी ज्ञानविज्ञानको भाषा हो र ज्ञानविज्ञानका क्षेत्रमा उचाइ प्राप्त गर्न अङ्ग्रेजी भाषामा दक्ष हुनु आवश्यक छ भन्ने भ्रम हामी धेरैमा छ । तर हामी धेरैलाई थाहा छैन, विश्वका धेरैभन्दा धेरै अङ्ग्रेजी भाषाका वक्ताहरु भएको देश अमेरिका, क्यानाडा, न्युजिल्यान्ड, अस्ट्रेलियाजस्ता मुलुकका धेरै विद्यालयमा शिक्षाको माध्यम अङ्ग्रेजी छैन । प्रविधिमा ती देश नै अग्रपङ्क्तिमा छन् । विद्यार्थीलाई अङ्ग्रेजी आउँदैन भने उनीहरुले विज्ञान र गणित सिक्न सक्दैनन् भन्ने धारणा पनि गलत छ । अङ्ग्रेजी भाषा नजानीकनै रुसी, जापानी, जर्मन र फ्रान्सेली मातृभाषामा उच्च शिक्षा हासिल गरेका विद्वान्हरुले मानवजीवनका लागि ज्यादै उपयोगी वैज्ञानिक आविष्कार गरेकै छन् । भाषा सिक्नु गलत हैन तर मातृभाषा नै बिर्सने गरी बालबालिकालाई सुरुदेखि नै अङ्ग्रेजी भाषा सिकाउँदा आफ्नो मौलिकता जोगाउन सबै पक्षले चासो दिनुपर्ने बताउँछन् विषयविज्ञ हरिप्रसाद निरौला ।

सरकारी दृष्टिकोण सकारात्मक छैन
सरकारी विद्यालयका शिक्षकलाई सिकाइ प्रक्रियासम्बन्धी पटकपटक दिइन्छ । सिकाइकै सन्दर्भमा आधारित भएर कार्यमूलक अनुसन्धान गर्न लगाइन्छ । त्यसलाई कक्षाकोठामा प्रयोग गरिन्छ । यसले गर्दा सिकाइमा देखापरेका कमीकमजोरीहरु बिस्तारै हट्दै जान्छन् । नेपाली विषयमा पनि बदलिँदो परिवेशअनुसार तालिम पाउँदा नयाँ नयाँ विधि अपनाएर पढाउन सजिलो भएको हिमालय माध्यमिक विद्यालयका शिक्षक शेषकान्त घिमिरे बताउँछन् । तर निजी विद्यालयका शिक्षकलाई त्यस्ता सेवाकालीन तालिमको अवसर नै छैन ।

‘शिक्षकको व्यक्तिगत प्रयासले मात्र निजी विद्यलायका बालबालिकालाई स्तरीय नेपाली सिकाउन सम्भव छैन । सरकारी जसरी निजी विद्यालयका शिक्षकलाई पनि तालिम दिने हो भने पक्कै सुधार हुने थियो’, नाइटिङ्गेल स्कुलका शिक्षक गौतम भन्छन् । निजी विद्यालयमा पढाइने नेपाली पाठ्यपुस्तक स्तरीय हुन्छन् भन्ने ग्यारेन्टी पनि छैन । विषय विज्ञ हरि निरौला भन्छन्, ‘अधिकांश निजी विद्यालयमा पाठ्यपुस्तकको लेखक हुन रहर गर्ने व्यक्तिले लेखेका किताब पढाइ हुन्छ ।’ त्यस्ता पुस्तकहरु पाठ्यक्रम विकास केन्द्रबाट मूल्याङ्कन गराई विद्यलायमा राख्ने गरिए पनि अनुगमन प्रभावकारी हुन नसकेको उनको स्वीकारोक्ति छ ।

 

प्रकाशित: २० माघ २०७४ ०१:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App