पाठ्क्रम प्रविधिमैत्री हुनुपर्यो

शनिबार, २० माघ २०७४, ०७ : ५२ नागरिक


हरिशरण ढुङ्गाना
नेपाली शिक्षक, ग्यालेक्सी पब्लिक स्कुल
निजी विद्यालयका बालबालिका नेपालीमा किन कमजोर भएका होलान् ?
विद्यालय तहको अन्तिम नतिजा एसइइलाई आधार मान्ने हो भने सरकारी विद्यालयको तुलनामा नेपाली विषयमा पनि निजी विद्यालयको नतिजा रामै्र देखिन्छ । तर परीक्षामा अङ्क ल्याउनु र सिक्नु निकै फरक कुरा हुन् । निजी विद्यालयका बालबालिकाले प्रभावकारी रुपमा नेपाली सिक्ने अवसर नै पाएका हुँदैनन् ।

अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा वातावरण नेपाली भाषामा बोल्ने, लेख्ने नभएपछि नेपाली सिकाइ कमजोर हुनु स्वाभाविक हो । अङ्ग्रेजी भट्याउँदा महात्म्य सम्झने पुस्ताले आफ्ना सन्ततिले नेपाली भाषामा राम्रो गरून् भन्ने चिन्तनमा दरिद्रीपन देखाउँदा कमजोर भएका हुन् । अर्को कुरा नेपाली भाषा मातृभाषा भएका र इतर भाषीलाई एकै ठाउँमा राखेर पढाउँदा समस्या सिर्जिएको हो । घरायसी वातावरण अङ्ग्रेजी र नेपाली वा हिन्दी मिश्रित भाषा बोलिने हुँदा परीक्षामा मात्र शुद्ध लेखन हेरिनु गलत हो । विद्यालय प्रशासन, शिक्षक र अभिभावकमा जसरी पनि पास गराउने बहानामा घोकाउने प्रवृत्तिले निजी विद्यालयका बालबालिकामा नेपाली सिकाइ दिगो हुन सकेको पाइँदैन ।

नेपाली भाषा शिक्षणमा तपाईंले के कस्ता समस्या भोगिरहनुभएको छ ?

पहिलो कुरा अङ्ग्रेजीबाट उल्था गर्नुपर्ने शब्द र नेपालीमा रहेका शब्दलाई अङ्ग्रेजीमा बुझाउनुपर्ने शब्दभण्डारको कमी छ । त्यसैगरी पर्याप्त मात्रामा पाठ्यसामग्री छैन भने शिक्षण सामग्रीका रुपमा सन्दर्भ पुस्तक, मोबाइल एप्स, चलचित्र आदि नेपाली भाषामा प्रचुर मात्रामा नपाइनुले शैक्षणिक कार्यकलापका क्रममा अरुको भाषा र संस्कृतिमा भर पर्नुपर्ने अवस्था छ । दिनभरमा एक ‘पिरियड’ मात्र नेपाली पढ्दा अन्य विषयको प्रभावले नेपाली विषय निरीह बनेको छ । विद्यालयबाट संस्कृत विषय हटाउँदा माउ मरेको बाछाबाछीजस्तो भएको छ नेपाली भाषा ।
नेपाली भाषा विषयको पाठ्यक्रम र सिकाइ प्रक्रिया कस्तो लाग्छ ?

विद्यालय तहको नेपाली पाठ्यक्रम प्रविधिमैत्री छैन । पाठ्यक्रम बनाउँदा बालबालिकाको रुचिलाई ख्याल गरिएको पाइँदैन । उमेर समूह र भाषाभाषीको समूह आदिको पटक्कै ख्याल नगरी सबै कुरा एकै ठाउँमा समेटिएको छ । पाठ्यक्रम निर्माणका क्रममा कक्षामै शिक्षण गरेका शिक्षक र विद्यार्थीबीच अन्तरक्रिया गरी समय सापेक्ष बनाउनुपर्नेमा त्यसलाई पूरै बेवास्ता गरिएको छ ।

विद्यालयमा अङ्ग्रेजी अनिवार्य रुपमा बोल्नुपर्ने नत्र दण्ड भोग्नुपर्ने प्रवृत्तिप्रति यहाँको धारणा के छ ?
निजी विद्यालय व्यापारीकरण गर्दै आयआर्जन गर्ने उद्देश्यले सञ्चालन भएका हुन्छन् । त्यहाँका अभिभावकको धारणा पनि सन्तानले अङ्ग्रेजीमा फरर बोल्न सक्ने बनोस् तर नेपाली जेसुकै होस् भन्ने पाइन्छ । नेपाली बोल्दा गर्व गर्नुपर्नेमा अङ्ग्रेजी बोलेमा उसलाई विज्ञ, प्रतिष्ठित, सभ्य आदि सोच्नु किमार्थ राम्रो होइन । प्राविधिक विषय पढ्न नेपाली आवश्यक छैन भनेर जगदेखि नै त्यसलाई जोड नदिने परिपाटी छ । अङ्ग्रेजी सिक्नकै लागि विद्यालय प्रशासनले दण्डसमेत दिने र अभिभावक तथा सरोकारवाला निकाय तैँ चुप मै चुप बन्ने परिपाटी कदापि ठिक होइन ।

नेपालीमा जत्ति लेखे पनि गुरुले नम्बर थोरै दिनुहुन्छ भन्ने बालबालिकालाई के भन्नुहुन्छ ?
नेपालीका अधिकांश शिक्षकहरुमा उत्तरपुस्तिका परीक्षण गर्दा अङ्क थोरै दिने पुरानो मानसिकता कायमै छ । त्यस्तै उत्तर कुञ्जिकाअनुसार अङ्क नदिने, विषय शिक्षक÷सम्बन्धित कक्षा पढाएकाले उत्तरपुस्तिका परीक्षण नगर्ने र उत्तरपुस्तिका परीक्षण गर्दा विद्यार्थीको तहबाट नहेरी आफ्नो तहबाट हेर्नाले कम नम्बर दिइएको पाइन्छ । विद्यार्थीले पनि स्वयम् बोलिरहेको विषय त हो, आइहाल्छ नि भन्ने सोचाइ राख्ने, लेखाइ भने स्तरीय नहुने र बढी अङ्क अपेक्षा गर्नाले तर अङ्क कम पाएका हुन् ।

बालबालिकालाई नेपालीमा आकर्षित गर्न निजी विद्यालयले के गर्नुपर्ला ?

निजी विद्यालय सञ्चालकहरुमा नेपाली विषयमैत्री बनाउँदा विद्यालय डुब्छ भन्ने मानसिकताले जरो गाडेको पाइन्छ । नेपाली भाषामा अतिरिक्त क्रियाकलाप अति न्यून मात्रामा गरिन्छ । नेपाली विषय जसले पढाए पनि हुन्छ भनेर योग्य, दक्ष र तालिम प्राप्त शिक्षकलाई अवसर नै दिएको पाइँदैन ।

विद्यार्थीका रुचि, अभिभावकका अपेक्षा र समाज वा राष्ट्रको उद्देश्य पूर्ति गर्न नेपाली विषयलाई बालमैत्री बनाउन पाठ्यक्रम, पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री विकास गर्ने र वातावरण सोहीअनुरुप बनाउनुपर्छ । त्यस्तै जननी भाषा (संस्कृत) लाई अनिवार्य बनाएमा पनि नेपाली सिकाइ प्रभावकारी र दिगो हुन्छ । नेपाली भाषा सिकाउँदा भाषा शिक्षणका विश्वव्यापी मान्यता सुनाइ, बोलाइ, पढाइ, लेखाइजस्ता सीपलाई कमै शिक्षकले मात्र महत्त्व दिएको पाइन्छ । भाषा कक्षामा भाषा सिकाउने हो, विषयवस्तु वा साहित्य घोकाउने हैन भन्ने पाठ्यक्रमको उद्देश्यलाई ख्याल नगरेसम्म समस्या समाधान हुन सक्दैन ।

 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगियो

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगियो

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आज थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ। ...

रणवीर र आलिया प्रेममा

रणवीर र आलिया प्रेममा

बलिउडमा पछिल्लो समय रणवीर कपुर र आलिया भट्टको डेटिङको चर्चा छ। दुबैका परिवारबीच भइरहेको सन्देश आदान प्रदानले आलिया कपुर खान्दानको...

राजेश हमालले भेटे राष्ट्रकवि

राजेश हमालले भेटे राष्ट्रकवि

महानायक राजेश हमालले राष्ट्रकवि माधव प्रसाद घिमिरेसँग भेट गरेका छन्। हमालले आन्तरिक रक्तश्राव भई ग्राण्डी अस्पतालमा उपचाररत राष्ट्रकवि घिमिरेलाई मंगलबार धापासीस्थित...

नायिका निता ढुंगानासहित ४ सम्मानित

नायिका निता ढुंगानासहित ४ सम्मानित

नेपाली फिल्मकी नायिका निता ढुंगाना चलचित्र पत्रकारिता दिवसको अवसरमा गृहनगर हेटौंडामा सम्मानित भएकी छिन्। चलचित्र पत्रकार संघ मकवानपुरले उनीसहित २...