८ वैशाख २०८१ शनिबार
अन्य

सहिदका कथा र मूल्य

अमर न्यौपाने
हाम्रो घरअगाडि झ्याम्म परेको निमपत्ताको रूख मेरा लागि कथाको पहिलो पाठशाला भइदियो, जहाँ गर्मी महिनामा बा नासो कथासंग्रहका कथाहरू स्वस्थानी वाचन गरेझैँ पढ्नुहुन्थ्यो, ‘चञ्चलाश्री भईकन पनि देवीरमणका सन्तान थिएनन् । सन्तान होस् भन्नका लागि देवीरमणले चौतारो चिने, हरिवंश पुराण लगाए । तैपनि सुभद्राको कोख सफल हुन सकेन... !’

वरिपरि बसेर सुन्नेहरू सुभद्राको दुःख र करुण भावले सुकसुकाइरहेका हुन्थे । गर्मी महिना भएकाले उनीहरूको शरीरमा पसिना सँगसँगै आँखामा आँसु पनि रसाइरहेको हुन्थ्यो । कोही लामो सास फेर्दै, ‘हे बरै... !’ भन्थे । कोही ‘च्वँ–च्वँ’ गरेर समवेदना व्यक्त गर्थे ।यस प्रकारको करुणभाव र पुराणको जस्तो वर्णनात्मक शैली अनि सुभद्राको दुःखले पग्लिएर म पनि एक छेउमा बसेर सुकसुकाइरहेको हुन्थेँ ।

त्यो बेला मलाई यस्तो रुवाउने कथा कसले लेखेको हो भन्ने थाहा थिएन । तर लेखनशैली, प्रस्तुति र विषयले भने मजस्तो फुच्चेको मन जितिसकेको थियो ।यो किताबमा अरु पनि कति राम्रा–राम्रा कथा होलान् भनेर मैले बाको दराजमाथि र सिरानीमुनि खोजेँ । पढ्दापढ्दैको किताब बाले प्रायः सिरानीमुनि राख्नुहुन्थ्यो र पढिसकेपछि दराजमा चाबी लगाएर राख्नुहुन्थ्यो । चाबी बाको जनैमा हुन्थ्यो । त्यसैले दराजका किताब बढ्न पाउँथिनँ ।

सिरानीमुनि छँदै मैले पढ्नुपर्छ भनेर बा घरमा नहुनुभएका बेला सिरानीमुनि हेरेँ । त्यहाँ नासो कथासंग्रह थियो, जसलाई मैले पहिलोपटक सुमसुम्याएँ र त्यसका पाना पल्टाएँ ।बल्ल थाहा पाएँ, निमपत्ताको रूखमुनि मैले सुनेको सुभद्राको कथा लेख्ने लेखक त गुरुप्रसाद मैनाली पो रहेछन् ।

लेखकको नाम थाहा पाएर कथाहरू पढ्दाको महसुस अर्कै प्रकारको हुँदो रहेछ । यस्तो कथा लेख्ने गुरुप्रसाद मैनाली कस्ता होलान् भन्ने सोच्दै कथाहरू पढ्दै गएँ । पढ्दै जाँदा ती कथाले मलाई डुबाउँदै गए । म कथामा पौडँदै गएँ । कथाबाट उत्रिँदा लाग्यो, म आँसुको पोखरीबाट उत्रेको हुँ ।बिदा, प्रायश्चित, चिताको ज्वाला, अभागी जस्ता कथा पढ्दा भक्कानो फुटेर गला बन्द भयो, आँसु भरिएर आँखा बन्द भयो । त्यसपछि पढ्न नसकेर धेरैबेरसम्म किताब बन्द गरेर घोप्टो परेको थिएँ । यसअघि आफ्नो जीवनको कुनै पनि दुःख या शोकमा यसरी रोएको थिइनँ । मलाई अझै रुने इच्छा भयो । र, यस संग्रहका अरु कथाहरू पनि पढ्दै गएँ ।१०–११ वर्षको बालकलाई परालको आगो, कर्तव्य, छिमेकी र सहिदजस्ता कथाले रुवाएनन् । त्यस्तो गहिरो छाप पनि पारेनन् ।

जीवनमा दुःखले रुन नपरोस् भन्ने इच्छा भए पनि कथा–कविता पढेर भने रुने इच्छा हुँदो रहेछ । म यस्तै रुवाउने कथाहरू खोजिरहन्थेँ ।सहिद कथाले भने त्यो बेला त्यति छोएन । किनभने क्रान्ति, सहिद, देश, स्वतन्त्रता... जस्ता ठूला कुरा सानो मान्छेलाई थाहा थिएन ।

मेरो बालमस्तिष्कलाई सहिद कथामा भएका अत्यधिक हिन्दी शब्दले पनि ठेस लागेको थियो र पढ्दापढ्दै धेरै ठाउँमा रोकिएको थिएँ । मेरो मनको प्रवाहलाई पनि रोकिदिएको थियो ।केटाकेटी अवस्थामै भए पनि ०४६ सालको आन्दोलन र त्यसपछिको परिवर्तनलाई महसुस गरेपछि १३–१४ वर्षको उमेरमा फेरि सहिद कथा पढेँ । त्यसपछि भने सहिद कथाले मज्जाले हल्लायो अनि रुवायो । जब देश, स्वतन्त्रता, सहिद... जस्ता कुरा बुझेँ त्यसपछि सहिद कथाले छोयो । वीरबहादुरको त्याग र बलिदानले रुवायो । त्यसपछि यो कथा पनि राम्रो लाग्यो ।

पुराणका कथाले अहिलेको युगबाट उठाएर कहाँकहाँ बितिसकेको सुदूर युगमा लैजान्छ । काल्पनिक सत्य, त्रेता र द्वापर युगमा लैजान्छ । कथाहरूले संसारलाई अझ ठूलो बनाइदिन्छन् ।आफ्नै आँखाले भोगेको, नभए देखेको, त्यति पनि नभए सुनेको, आफ्नै जीवनको जस्तै लाग्ने कथा पढ्दा तिनले सजिलै छुन्छन् । कहिले यो पात्र त म नै हुँ जस्तो पनि लाग्छ । नभए पनि त्यो पात्रलाई कतै चिनेचिने जस्तो लाग्छ । मैनाली समाजका यस्तै यथार्थलाई लेख्ने कथाकार हुन् ।

राजनीतिक व्यवस्था परिवर्तनको लडाइँमा आफ्नै छिमेकी, आफन्त या चिनजानका मानिस पनि सहिद भए । तिनको घर जाँदा या तिनको घरको बाटो हिँड्दा सहिद वीरबहादुरकै घर अगाडिबाट हिँडेजस्तो लाग्न थाल्यो । एउटा बालकलाई लाग्यो, सहिद भनेकै वीरबहादुर र देवता बाबुजस्तै हुन्छन् । मेरो बालमस्तिष्कमा सहिद भन्ने शब्द र त्यसको भाव असाध्यै श्रद्धा गर्ने पात्रको रूपमा लेखियो । भगवान्पछि सहिद नै हुन्छ होलाजस्तो भयो ।

एसएलसी पास गरेपछि विश्वेश्वरप्रसाद कोइरालाको कथा ‘एक रात‘ पढेँ । २०२० सालमा सहिद भएका दुर्गानन्द झालाई सम्झेर लेखिएको ‘एक रात‘ कथाको प्रभाव अर्कै खालको भयो । मैनालीको सहिद कथा भन्दा सूक्ष्म र विश्लेषणात्मक लाग्यो । मैनालीको कथा समाजभित्र छिरेर लेखिएको जस्तो लाग्यो भने कोइरालाको कथा मान्छेभित्र छिरेर लेखिएजस्तो लाग्यो ।

एउटै विषयमा लेखिएका यी दुई फरक–फरक कथा पढेपछि लाग्यो, सहिदका सयौँ कथा लेख्न सकिँदो रहेछ । सहिद भनेका वीरबहादुर जस्ता मात्र होइन, किशोर जस्ता पनि हुँदा रहेछन् । हाम्रै वरपर भएका सहिदका कथा यी दुईको भन्दा फरक छ । तर तिनको कथा लेखिएको छैन । सहिदको कथा लेखेर कहिल्यै सकिँदैन ।
उद्देश्य एउटै भए पनि प्रत्येक सहिदले फरकफरक कथा बाँचेका हुन्छन्, जसरी प्रत्येक मानिसले फरकफरक जीवन बाँचेका हुन्छन् ।

दुवै पात्र वर्गका हिसाबले निम्न वर्गमा पर्छन् । लाग्यो, सहिद भनेको निम्न वर्गको पीडित मानिस नै हुने रहेछन् । या शोषित पीडितका पक्षमा बोल्ने मानिस नै सहिद हुने रहेछन् । तीप्रति अझ श्रद्धा जाग्यो ।
त्यो बेला किताब पढ्दा मन परेका हरफहरू म कापीमा लेख्थेँ । ती हरफलाई बेलाबेलामा पढ्थेँ र पूरै कथा सम्झन्थेँ । अहिले पनि मलाई सम्झना छ सहिद कथाका केही हरफहरू, जो मैले कापीमा सारेको थिएँ ः
 गरिब छु, मजुरी गर्छु तर पैसाका निम्ति आत्मा बेचेको छैन ।आमाको पुकारभन्दा स्वास्नी, छोराछोरीको पुकार ठूलो होइन । जञ्जिरले बाँधिएकी नेपालआमा यस बखत आफ्ना समस्त सन्तानसँग हात पसारेर रोइरहेकी छन् । आमाको बन्धन हामी सबैले मिलेर तोड्नुपर्छ ।

 एकदिन मर्नु त छँदै छ, मानिसले मर्न जान्नुपर्छ । जुन जाति मर्न जान्दछ, बाँच्न पनि त्यसैले जानेको हुन्छ ।दायित्व लिए मात्र दायित्व परिआउने हो कि नलिए पनि पर्ने हो, मैले केही निर्णय गर्न सकिनँ ।
पछि हाईस्कुलको शिक्षक भएपछि यही कथा विद्यार्थीलाई पढाउनुप¥यो । त्यो बेला सहिदलाई बुझ्ने चेतनाको आयतन अझ फराकिलो भयो ।

माथिका हरफहरूबाट नै बुझ्न सकिन्छ, सहिद कथामा सहिदसँग जोडिएर त्यतिखेरको राजनीति, समाज र जीवनमा अनेक पक्षहरू पनि आएका छन् । लेखकभित्र भएको दार्शनिक चेत पनि आएको छ ।
सहिद कथामा मानिसले मर्न जान्नुपर्छ... भन्ने कुराले गीतामा कृष्णले अर्जुनलाई ज्ञानयोगका बारेमा भनेको कुरालाई सम्झाउँछ– जसरी शरीरले पुरानो कपडा त्यागेर नयाँ कपडा ग्रहण गर्दछ, त्यसरी नै आत्माले पनि पुरानो शरीर त्यागेर नयाँ शरीर ग्रहण गर्दछ । त्यसैले ज्ञानी मानिसहरू मृत्युमा शोकाकुल हुँदैनन् । गीतामा भएको यो मृत्युचिन्तन पढेपछि लाग्यो, वास्तविक सहिद सिंगो एउटा गीताको पुस्तक हो । कहिल्यै नमेटिने पुस्तक । किनभने उसले जानाजान मृत्युलाई निडर भएर स्विकार्न सक्दछ । युद्धमा जाने सिपाही मृत्युलाई स्वीकार गरेर मात्र युद्धभूमिमा जान सक्छ ।

आज पनि लाग्छ, यस कथामा बढ्ता नै हिन्दी शब्दहरूको प्रयोग भएको छ । तर पात्र र परिवेश अनुसार सुहाइँदो पनि छ । बनारसमा बसेर रिक्सा चलाउने वीरबहादुरले त्यसरी हिन्दी शब्दको प्रयोग गर्नु स्वाभाविक हो । तर कथावाचकले भने यति धेरै हिन्दी शब्दको प्रयोग नगरेको भए हुन्थ्यो भन्ने लाग्छ । लेखकलाई त्यो बेलाका प्रसिद्ध हिन्दी कथाकार प्रेमचन्दको ठूलो प्रभाव परेको थियो ।

विश्वेश्वरप्रसाद कोइरालाको ‘एक रात‘कथामा सहिद हुनुभन्दा केही दिनअघि किशोरले लाज पनि नगइसकेकी आफ्नी पत्नीलाई भन्छ, ‘राधा, तिमीले आफ्नो जिउको राम्रो हेरविचार गर्नू ।’
किशोरले फेरि भन्छ, ‘तिमीलाई पहिलो सन्तान छोरा कि छोरी, के मनपर्छ ?’राधाले अँध्यारोमा पनि लाजले मुख छोपी । तर मनमा बडो प्रशन्न थिई र बिस्तारै छोपेको मुखबाट भनेकी थिई, ‘छोरा ।’

किशोरले त्यस्तै सहज भावमा भन्यो, ‘राधा, छोराको राम्रो हेरविचार गर्नू !’झट्ट हेर्दा समान्यजस्तो लाग्ने यो वाक्यले बोकेको भाव सूक्ष्मरूपले हेर्दा गहन लाग्छ । किशोरले मनमनै मृत्यु स्विकारिसकेको छ । तर जीवनवादी छ । त्यसैले त ऊ व्यवस्थाका विरुद्ध लड्दै छ । जीवनवादी हुँदै संघर्षमा मृत्यु स्वीकारेर क्रान्तिमा होमिन समान्य मानिसले सक्तैन ।यो अन्तिम संवादको ध्वनि सहिदको आवाज जस्तो लाग्छ, ‘म त हुनेछैन । परिवर्तनपछि देश चलाउने क्रान्तिका अगुवाहरू, देशको राम्रो हेरविचार गर्नू ।’

आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई सहिद भनिन्छ भनेर शब्दकोशमा लेखिएको छ । जुन परिवर्तनका लागि वीरबहादुर र किशोरहरू सहिद भए, आज त्यो परिवर्तन प्राप्त भएपछि कताकता सहिदहरूको अवमूल्यन भएजस्तो लाग्छ ।जब सहिदहरूले ल्याएको व्यवस्थामा सहिद घोषणाको माग गर्दै आन्दोलन हुनेगर्छ र लोकतान्त्रिक सरकारले क्रान्तिको कति वर्षपछि आन्दोलन र दबावको भरमा थुप्रैलाई सहिद घोषण गर्छ, यस्तो बेला सहिदको मूल्य तोकेजस्तो लाग्छ– रुपैयाँ दश लाख ।

 

प्रकाशित: २० माघ २०७४ ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App