coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जुत्ता पालिस

कांग्रेस नेताहरू अहिले जुत्ता पालिस गर्ने काममा लागेका रहेछन् । हालै सम्पन्न चुनावको नतिजा आएदेखि म सोच्दै थिएँ, अब यी कांग्रेस नेता के पो गर्ने होलान् !जेहोस्, चुनावको नतिजापछि आफूलाई मिल्ने काम उनीहरुले भेटाएका छन्, राम्रो भयो ।कांग्रेस नेताले यो जुत्ता पालिसवाला काम सुरु गरेपछि विभिन्न ठाउँमा विभिन्न प्रकारका घटना भएका छन् । तीमध्ये केही प्रतिनिधि घटना यहाँ सदृश्य प्रस्तुत गर्न चाहन्छु :
दृश्य : १
स्थान : पिपलबोट ।
कांग्रेस नेताहरूले जुत्ता पालिस गरेको पर्सिपल्ट म आफ्नो जुत्ता पालिस गराउन नयाँ सडकको पिपलबोट गएको थिएँ । जुत्ता पालिसका लागि पिपलबोट काठमाडौंकै पपुलर जक्सन हो । र, मेरो नियमित अड्डा पनि । म जुत्ता पालिस गराउँदै थिएँ, मलाई नै सुनाउनलाई होला, मेरो जुत्ता पालिस गर्ने भाइ एकाएक बर्बराउन थाले, ‘सर, यो कांग्रेसले त हामी गरिब जनतालाई गरिखान पनि नदिने भो ।’
‘किन ? कांग्रेस सरकार त यतिबेला गरिब, असहाय, वृद्धवृद्धा जम्मैका लागि कम्मर कसेर भत्ता बढाइरहेको छ । गरिबले गरी खाओस् भनेरै भत्ता बढाएको हो त,’ मैले भनेँ ।
‘त्यो अर्कै कुरा भयो,’ उनले मुख बिगारे, ‘मैले भन्न खोजेको अर्कै हो ।’
‘कस्तो अर्कै ?’ मैले उनको कुरा बुझ्न सकिनँ ।
उनले भने, ‘हिजोको अखबार पढ्नुभएन तपाईंले ? कांग्रेस नेताहरूले पनि जुत्ता पालिसको काम सुरु गरे रे ! कांग्रेस नेताहरूले जुत्ता पालिस गर्न थाले भने हामीचाहिँ के गर्ने ? के यो हाम्रो रोजगारीमा सीधा हस्तक्षेप भएन र सर ? गरिबको पेटमा यसरी लात हान्न मिल्छ ?’
कुरो त सही हो । फर्काउन मसँग जवाफको अभाव भइरहेको थियो । सँगै बसेर जुत्ता पालिस गरिरहेका अर्का भाइले जवाफ फर्काए, ‘हैट, मलाई त यो हैन, अर्कै पो चिन्ता लागिरहेको छ ।’
‘कस्तो अर्को चिन्ता भन्या ?’ मेरोवाला भाइले सोधे ।
‘त्यो अस्ति–अस्ति गाडी लिएर पालिस गराउन आउने सेँठ छ नि, मोटे मोटे । हऽऽ आज बिहान उसको फोन आएको थियो मलाई,’ सँगैका भाइले आँखा नचाउँदै भने ।
‘किन ? के भयो त्यसलाई ?’ मेरोवाला भाइको उत्सुकता तीव्र भयो ।
‘के भन्छ थाहा छ त्यसले ? अरे भाइ, तिम्रो साथीहरूलाई भनेर त्यो सडक बनाउने ठेक्का मलाई पारिदिनुपर्यो रे !’
‘कुन ठेक्का ?’ यताको भाइले अनुहार बिगार्दै सोधे ।
‘खोइ मलाई के थाहा ! ठेक्का पारिदिए मलाई पनि कमिसन दिन्छु भन्छ बाऽऽ’ दुईजना चकितभावमा एक अर्काको अनुहार हेराहेर गर्न थाले ।

दृश्य : २
स्थान : गाउँको चौतारी ।
कांग्रेस नेताहरूले जुत्तामा पालिस लगाएको घटना देशभरि नै चर्चित भइसकेको थियो । गाउँको चौतारीमा पनि त्यसैको चर्चा चलिरहेको थियो । उनी गाउँका पूर्वमुखिया हुनुपर्छ, चौतारीमा भेला भएका सबैलाई सुनाउँदै थिए, ‘देख्यौ तिमारुले ? कांग्रेस भनेको कति उदार पार्टी हो ? जनताको जुत्ता समेत पालिस ग¥यो । यसरी जनताको सेवा गर्ने अर्को कुनै पार्टी छ ?’
चौतारीको तल डिलमा बसिरहेका थेप्चे कान्छाले भने, ‘होइन बाजे, कांग्रेसको यस्तो सेवाले हाम्रो सेवा हुन सक्दैन ।’
‘किन सक्दैन ?’ मुखियाजी बांगिए ।
‘हेर्नुस्, यो जुत्तामा पालिस लगाउने भनेको त त्यसैको मात्र सेवा भयो, जसको जुत्ता छ । जसको खुट्टामा जुत्ता नै छैन, त्यसको सेवाचाहिँ खै त ?’
हाय ?! थेप्चे कान्छाको प्रश्नले मुखियाजीको मथिंगल झस्कियो ।
थेप्चे कान्छा भन्दै गए, ‘कांग्रेस भनेको त जसको खुट्टामा जुत्ता छ, उसैको मात्र सेवा गर्ने पार्टी रहेछ । जुत्ता नहुनेको सेवा गर्ने पार्टी होइन रहेछ । हाम्रो गाउँमा हेर्नुस् त, कति जनाको खुट्टामा जुत्ता छ ? जुत्ता मात्र होइन, कति त खुट्टै नहुने पनि छन् । उनीहरूको सेवा गर्नुपर्दैन ?’
थेप्चेका प्रश्न उत्तरविहीन भएर हावामा उडिगयो ।
दृश्य: ३
मित्र भजनलालको घर ।
योचाहिँ त्यही दिनको घटना हो, जुन दिन यो पालिस लगाउने कार्य सम्पन्न भएको थियो । भजनलाल साँझतिर अलि ढिलो घर पुगेको रहेछ । करिब–करिब अँध्यारै भइसकेको थियो । बाहिर मोटरसाइकल बिसाएर उनी घरभित्र पसे । अनि, सधैँझैँ भरेङमा बसेर जुत्ता फुकाल्न थाले । पूरा जुत्ता फुकाल्न सकिएकै थिएन, माथिबाट श्रीमतीको स्वर तल झरेको सुनियो, ‘ए, तपाईंले के लिएर आउनुभयो हँ ? यहाँ माथिसम्मै गन्ध आइरहेको छ ।’
भजनले भने, ‘हैन मैले त केही लिएर आएको छैन । कहाँबाट आयो गन्ध ?’
‘खै, तपाईंले चाल पाउनुभएन ? तपाईं घरमा छिर्नेबित्तिकै पूरा घर गन्हाइसक्यो । फोहोर त कुल्चेर आउनुभएन ?’ श्रीमतीले आशंका व्यक्त गरिन् ।
‘सीधै बाइकबाट आउँदै छु, कहाँबाट कुल्चिनु फोहोर ?’ भजनलाल पनि हैरान हुन थाले ।
कराउँदै गरेकी श्रीमती तलै पुगिसकिन्, ‘खै बत्ती बालेर हेर्नु त फोहोर टाँस्या छ कि ?’
भजनले ट्वाक्क स्विच अन गरे । अनि जुत्तालाई मधुरो चिमको अगाडितिर लगेर हेरे ।
‘ओहो ! के भाको यो ?’ जुत्ताको अवस्था देखेर भजन आफैँ चित खाए । जुत्ता पूरै फोहोर थियो । गन्ध त्यसैबाट आइरहेको रहेछ ।

‘के गर्नुभाको यो ? कसरी यस्तरी फोहोर भाको तपाईंको जुत्ता ?’ श्रीमतीको स्वरमा स्पष्ट कडापन थियो ।
‘खै मैले त केही गर्या थिइनँ । बानेश्वरमा कांग्रेस नेताहरूले जुत्तामा पालिस लगाउँदै थिए । मैले पनि उनीहरूकै हातबाट पालिस लगाउन दिएको हुँ, त्यसपछि सीधै घर आएको हुँ । बीचमा कहीँ गएको त थिइनँ । के भएछ यो ?’ कडा गन्ध नाकभित्र प्रवेश गरेकाले होला, भजनले पनि नाकको बान्की बिगार्न थाले ।
 
 

 

प्रकाशित: २० माघ २०७४ ०३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App