४ वैशाख २०८१ मंगलबार
राजनीति

नयाँ जनवादी सशस्त्र क्रान्तिको विकल्प छैन : बैद्य

मकवानपुर – नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य(किरण)ले नेपालमा नयाँजनवादी सशस्त्र क्रान्तिको बिकल्प नभएको बताएका छन्। शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता र स्वाधिनता रक्षाको लागि सच्चा कम्युनिष्ट पार्टीहरुले एकता गरी क्रान्ति शुरु गर्न ढिलाई गर्न नहुने बताए।

आर्थिक, सामाजिक, साँस्कृतिक दृष्टीकोणले नेपाल अर्धसामन्ती, अर्ध औपनिबेशिक अबस्थामा रहेकोले नयाँजनवादी क्रान्तिको कार्यक्रम र कार्यदिशालाई समृद्ध तुल्याउने काम गरेको दाबी गरे।

कार्यकतालाई शनिबारै हेटौंडामा राजनीतिक प्रशिक्षण दिदै उनले क्रान्तिका लागि सशस्त्र संघर्ष अपरिहार्य रहेको भन्दै अबको सशस्त्र जनबिद्रोह नेपाली बिशिष्ठतामा आधारित हुने बताए। बलपूर्वक सत्ता लिनका लागि गरिने अबको सशस्त्र जनबिद्रोह लेनिनको नेतृत्वमा रुसमा र माओको नेतृत्वमा चीनमा भएको क्रान्ति जस्तो नहुने उनले बताए। जनवादी क्रान्तिले मात्र जनजिविका, राष्ट्रियता, स्वाधिनता रक्षासँगै देश बिकास र बिश्वमा नेपालको नयाँ परिचय दिने उनले बताए। 

क्रान्ति र संघर्ष गर्दा आत्तिन नहुने र नेपालमा लडाईंको धेरै अनुभव रहेको भन्दै ब्रिटिस र भारतीय साम्राज्यवाद, पञ्चायत, राजतन्त्र बिरुद्धको लडाईंले धेरै कुरा सिकाएको बताए। ‘धेरै प्रतिक्रान्ति भएको छ, पुरानो राज्यसत्ता, संसदीय ब्यवस्थालाई फेरी ब्यूँझाईएको छ, सत्तारुढ पार्टी नेतृत्वले ठूलो र गम्भीर साँठगाठ गरेको छ,’ उनले भने, ‘क्रान्तिको एउटा अध्याय सकिएको र प्रतिक्रान्तिको नयाँ अध्याय शुरु भएको अबस्थामा क्रान्तिलाई कसरी अगाडी बढाउने भन्ने गम्भीर प्रश्न पनि छ।’

अहिलेको बामगठवन्धन नाममात्रको कम्यूनिष्ट भएको तर्क गर्दै वैद्यले बामगठबन्धनको सरकारले देश बिकासमा छलाङ मार्न भुमिका नखेल्ने जिकिर गरे। जनताले कम्यूनिष्टलाई भोट दिएकाले अबमुल्यन गर्न नहुने भन्दै उनले जनता भ्रमित भई क्रान्तिकारी मानेर बामलाई भोट दिएको बताए। अंग्रेजीमा डेमेक्रेसी शव्दलाई नेपालमा प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, जनवाद भनेर जनतालाई नेताहरुले गुम्राहमा राखेको भन्दै उनले अब त्यसको समय सकिएको पनि बताए। निर्बाचनमा सहभागी भएर उपयोग गरेको भन्दै चुनाव बहिस्कारको तुलनामा पार्टीलाई फाईदा भएको उनको बिश्लेषण छ। कम्युनिष्ट राष्ट्र रुसमा पनि समाजवादी क्रान्तिपछि संबिधान सभाको चुनावमा कम्युनिष्टकै हार भएको भन्दै उनले अहिलेको राज्यसत्ता आफूहरुको जित नहुने भएपनि नआत्तिन आग्रह गरे।

तत्कालिन नेकपा माओवादीले गरेको १२ बुँदे सम्झौताले जनवादी क्रान्ति तुहिएको भन्दै महासचिव वैद्यले कुनैपनि हालतमा वर्तमान संसदीय राज्यसत्तालाई नमान्ने घोषणा समेत गरे। पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराईहरुले १८ औं सताब्दीको लोकतान्त्रिक गणतन्त्र ल्याएको भनेपनि उनीहरु भ्रममा रहेको उनले बताए। लोकतान्त्रिक गणतन्त्रले निमुखा, गरिब, उत्पीडित, पछाडी पारिएका जनताको उद्धार गर्न नसक्ने ठोकुवा गर्दै उनले अगुवा नेपालीहरु गम्भीर हुनुपर्नेमा जोड दिए।

प्रकाशित: २० माघ २०७४ १५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App