१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

शिक्षकमाथि पूर्वाग्रह किन ?

जतिबेला राजनीतिक दलहरू प्रतिबन्धित अवस्थामा थिए त्यतिबेला शिक्षकलाई कार्यकर्ता बनाउँदा संगठन विस्तारमा राम्रै सहयोग पुग्यो भने प्रशासनको नजरबाट बच्नका लागि शिक्षक पेशा उपयुक्त बन्यो । फलतः राजनीतिक दलका अधिकांश नेता जीवनको कुनै कालखण्डमा शिक्षण पेशा अपनाउन पुगे । अनि ‘जहाँ शिक्षक त्यहाँ राजनीति’ भन्ने भनाइ नै चल्यो । जतिबेला शिक्षकले राजनीति गर्थे त्यतिबेला दिउँसोको समय स्कुलमा बालबच्चा पढाउने राति राति उनैका अभिभावकलाई राजनीति सिकाउने गर्थे । जतिबेला शिक्षकले राजनीति गरे त्यतिबेला आफ्नो कर्तव्य पनि पालना गरेका थिए । तिनका लागि पैसा कमाउनु गौण र राजनीतिकरूपमा नागरिकलाई सचेत गराउने कुरा प्राथमिकतामा पथ्र्याे । शिक्षा र स्वास्थ्यको व्यापार गरेर पैसा कमाउने कुरा सोच्नसम्म पनि सक्दैनथे । सरकारी स्कुल कलेज ध्वस्त पार्ने कसैको उद्देश्य थिएन।

२०४६ सालको राजनीतिक परिवर्तनसँगै नेताहरूको जीवनशैली बदलिँदै जाँदा सहरमा बंगला बनाउने, गाडी चढ्ने र धनाढ्य बन्ने आकांक्षा बढ्दै गयो । फलतः राजनीतिक दलका नेता र तिनका आफन्तलाई सजिलै पैसा कमाउने मोह जाग्न थाल्यो । नागरिकका आधारभूत आवश्कता शिक्षा र स्वास्थ्यको व्यापार गर्दा ठूलो फाइदा हुने देखेर सक्रिय हुन थाले । १० वर्षे सशस्त्र युद्धमा धेरै उद्योग कलकारखान बन्द भए तर शिक्षा र स्वास्थ्यको व्यापार फस्टाउँदै गयो । शान्ति प्रक्रियामा आइसकेपछि माओवादी पनि सोही व्यापारमा प्रतिस्पर्धी बन्न थाल्यो । सरकारी स्कुल, क्याम्पसलाई जति छिटो ध्वस्त पार्न सक्यो त्यति चाँडो व्यापार फस्टाउने देखेर सबै त्यतै लागे । जुन कुरामा कुनै दल र नेताको असहमति रहेन।

राजनीतिकरूपमा जे÷जति परिवर्तन भए, त्यसपछि नागरिकका आधारभूत आवश्यकता शिक्षा र स्वास्थ्य झनझन महँगा र जनताको औकातभन्दा बाहिरको बन्दै गयो । हरेक क्षेत्रमा चाहिनेभन्दा बढी राजनीति भयो । राजनीतिले व्यक्ति मोटाए । देश दलदलमा फस्दै गयो । ‘जहाँ राजनीति त्यहाँ अपराध र विकृति’ भनेजसरी राजनीतिको संरक्षणमा नहुनुपर्ने काम भए । पार्टीका लागि चन्दा नेताका लागि चुनाव खर्चको व्यवस्था गरिदिएपछि नियम कानुन गौण बने । सरकारी स्कुल कलेजको पढाइ राजनीतिले भन्दा पनि शिक्षाको व्यापारलाई खुला छाड्नाले खस्केको हो । सवाल शिक्षकले राजनीति गरेको भन्दा पनि कर्तव्य बिर्सिएको हो।

केही टाठाबाठा शिक्षक हिजो दलको कार्यक्रममा भेटिन्थे भने आज बोर्डिङ स्कुल, कलेज र एनजिओ÷आइएनजिओमा भेटिन्छन् । जहाँ राम्रो कामका लागि सम्मान र खराब कामका लागि दण्डको व्यवस्था हुँदैन त्यहाँ हुने भनेकै यस्तै हो । राजनीति र पैसाबीच अन्योन्याश्रित सम्बन्ध गाँसिन पुगेपछि आदर्श, इमान्दारिता र नीति गौण बन्दै गएको छ । जोसँग पैसा छ, जसले दलाली गर्न सक्छ, नेतालाई खुसी पार्न सक्छ त्यही व्यक्ति नेता हुने विधि नै बनिसकेको छ । हिजो जेलनेल खाएका निष्ठाको राजनीति गर्नेहरू क्रमशः राजनीतिबाट पलायन हुँदैछन् भने सरकारी स्कुलको मास्टरले राजनीति गरेर अब नेता हुने कल्पना गर्न सम्भव छैन । हिजो समाजमा मास्टरको जुन सम्मान थियो त्यो आज छैन बरु आलोचना गर्ने र उनैलाई राजनीति सिकाउने वर्ग तयार भएको छ।

गाउँकै मास्टरको संरक्षणमा राजनीति गरेका नेता काठमाडौंमा गगनचुम्वी महलको मालिक, कैयौँ कम्पनीका सेयरधनी र जग्गाको ठूलो कारोबारी बनेका छन् । सरकारी सेवाको खरिदारमा छिरेकाहरू कुनै संभ्रान्त परिवारभन्दा कम छैनन् । तर विचरा मास्टर जीवनभर पढाउँदा पनि जागिर के हुने हो भन्ने टुङ्गो नलागी रिटायर्ड हुनुपरेको छ । जीवनमा कहिल्यै गतिलो लुगा लगाउने हैसियतसमेत बनाउन सकेनन् । आज तिनैमाथि पूर्वाग्रह राख्न मिल्छ ? यो उनीहरूमाथिको ठूलो अन्याय हो।
                                           उपप्रा, आरआर क्याम्पस

 

 

 

प्रकाशित: २१ माघ २०७४ ०४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App