६ वैशाख २०८१ बिहीबार
समाज

‘गुपचुप’ मा मिलापत्र भएको बलात्कार घटनाको छानबिन

इटहरी – प्रेमी र उनका साथी मिलेर इटहरी तरहराकी बालिकालाई बलात्कार गरेको घटनामा ‘गुपचुप’ मिलापत्र गरेको महिना दिनपछि प्रहरीले समिति गठन गरेर छानबिन थालेको छ।

१६ वर्षीया बालिकालाई बलात्कारपछि ‘गुपचुप’ मा मिलापत्र गरेको घटनामा प्रहरीकै कमजोरी भएको ठहर गर्दै छानबिन समिति गठन गरिएको प्रदेश नं. १ का एआईजी पशुपति उपाध्यायले बताए । एसएसपी हरिबहादुर पालको नेतृत्वमा पाँचसदस्यीय समिति गठन गरी छानबिन थालेको उनले जानकारी दिए।

समिति गठन भएलगत्तै बालिकालाई बलात्कार गर्ने उनका प्रेमी धरान वडा नं. ८ का ३६  वर्षीय जोकम सुब्बालाई पक्राउ गरी मुद्दा चलाइएको छ । उनलाई शनिबार पक्राउ गरिएको हो । बालिकाले घटनाबारे अभिभावकलाई जानकारी दिएलगतै धरान प्रहरीले सुब्बालाई पक्राउ गरेको थियो । त्यसपछि थप कारबाही गर्न इटहरी प्रहरीको जिम्मा लगाइएको थियो । तर, कारबाही अगाडि बढाउनुको साटो प्रहरीले गुपचुपमै मिलापत्र गराएर घटना दबाउन खोजेको थियो।

बलात्कारको घटनामा पीडित पक्षलाई उजुरी नदिन अनेक प्रलोभन दिएर मिलापत्र गरिएको थियो । प्रहरीले उजुरी नै नआएकाले सुब्बालाई छाडिएको दाबी गरेको थियो । घटना त्यति बेला सामसुम भए पनि प्रहरीका उच्च अधिकारीसम्म सूचना पुगेपछि छानबिन समिति गठन भएको हो । एसएसपी पालका अनुसार प्रारम्भिक चरणको अनुसन्धानमा प्रहरी आफ्नो कर्तव्य पूरा गर्न चुकेको देखिएको छ । ‘घटनाको अनुसन्धान गर्न सात दिनको समय तोकिएको छ,’ उनले भने, ‘हामीले पुलिसले किन भूमिका निर्वाह गरेन भनेर प्रतिवेदन पनि पेस गर्नेछौं । घटनामा संलग्न प्रहरी, गैरप्रहरी कसैलाई पनि उन्मुक्ति दिने छैनौं ।’ उनका अनुसार सुब्बा पक्राउ परिसकेको र उनका साथी विराटनगरका मनिष भनिने जीवन श्रेष्ठको खोजी भइरहेको छ । ‘जोकन र जीवनबाहेक अन्य मिलाउने बिचौलिया पनि छन् । तिनीहरुका सम्बन्धमा पनि सूक्ष्म अनुसन्धान हुनेछ,’ उनले भने।

समितिले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक चिरञ्जीवी दाहालको भूमिकाबारे अनुसन्धान गरिहेको छ । घटना भएको समयमा इटहरीका डिएसपी सञ्जय राउत बिदामा बसेकाले दाहाल इन्चार्ज तोकिएका थिए । ‘प्रहरीले सुनसरीका एसपी विद्यानन्द माझीसँग पनि बयान लिनेछ,’ एसएसपी पालले आइतबार भने, ‘एसपी साब चार दिनका लागि आजसम्म बिदा बसेकाले गर्दा अब बिस्तारै बयानका लागि बोलाइनेछ।’ छानबीन टोलीमा एसएसपी पालसहित एसपी भीम ढकाल, डिएसपी भीम दाहाल, सई लेखनाथ दाहाल र असई सरस्वती राई छन्।

प्रकाशित: २२ माघ २०७४ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App