७ वैशाख २०८१ शुक्रबार
समाज

प्रतिवद्धता गरिन्छ, काम गरिँदैन

राजधानीको कपन–सरस्वतीनगर सडक निर्माण सुरु भएको २६ महिना भयो । तर, अझै उक्त सडक निर्माण सम्पन्न हुन सकेको छैन । १३ सय मिटरको उक्त सडक नबन्दा कपनवासी सास्ती खेप्न बाध्य छन्।

सडकबारे कपनवासीले गुनासो गरेपछि भदौ तेस्रो साता सांसद् गगन थापाले कपनमा सबै सरोकारवाला निकायलाई राखेर आग्रह गरे, ‘कपनमा कुनै सडक पनि हिँड्न लायक छैनन् । यहाँका जनताले खेप्नु सास्ती खेपेका छन् । लौ न चाँडो मर्मत गरिदिनपर्‍यो।’
२०७२ मंसिरमा कपन–सरस्वतीनगर सडक विस्तार लथालिंग भएपछि स्थानीयले बारम्बार गुनासो गर्दै आएका थिए।

कपन प्रवेश गर्ने अन्य सडकको अवस्था पनि उस्तै छ । यहाँका चुच्चेपाटी–महाँकाल, धोवीखोला करिडोर, सुकेधारा–निलोपुल सडक पनि हिड्न लायक छैनन् । ‘हामी नाकाबन्दीमा पर्‍यौं’ भन्दै कपनवासीले गुनासो गर्न थालेको पनि लामै सयम भइसक्यो ।
आफ्नो निर्वाचन क्षेत्रका सर्वसाधारणको गुनासो समाधान गर्न सांसद् थापा बेलाबेला सरोकारवालाको भेला गरे । भेलामा सरोकारवालाले सडक चाडो बनाउने प्रतिवद्धता गरे, तर काम गरेनन्।

भदौ तेस्रो साताको भेलामा काठमाडौं सडक डिभिजन कार्यालय १ का प्रमुख मुकुन्द अधिकारीले तिहारलगत्तै कपन–सरस्वतीनगर सडक कालोपत्रे गर्ने प्रतिवद्धता गरेका थिए । ‘वर्षाले गर्दा काम गर्न गाह्रो भएको थियो,’ उनले कार्यक्रममै प्रतिवद्धता गरेका थिए, ‘अब कपन क्षेत्रमा आफैं खटेर सडकको दुरावस्थाबाट कपनवासीलाई चाँडै नै मुक्त गराउनेछु।’

उनले मात्रै होइन, मध्यामाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख शिवहरि सापकोटाले पनि प्रत्येक साता कपन पुगेर कार्य प्रगति पेश गरी तिहारलगत्तै सडक कालोपत्रे गरिने प्रतिवद्धता गरेका थिए । तर, प्रतिवद्धता गरेको पाँच महिना बित्दा पनि सडक कालोपत्रे भएको छैन।

‘यो सडकले दिनु सास्ती थियो,’ कपनकी बालकुमारी दाहालले भनिन्, ‘सबै निकायलाई गुहारिसक्यौं, तर सडक कहिल्यै बनेन ।’ उनले सरोकारवालाले सडक चाडै बनाउने बताए पनि कार्यान्वयन हुन नसकेको गुनासो पोखिन् । सडक भत्काएसँगै बर्खामा हिलो र हिउँदमा धुलोले हिँडडुल गर्न निकै समस्या परेको स्थानीयको गुनासो छ।

सडक डिभिजन प्रमुख अधिकारीले भने यसै हप्ता कालोपत्रे गरिने बताए। ‘प्राविधिक कारणले गर्दा प्रतिवद्धता जनाएको समयमा काम गर्न सकिएन,’ अधिकारीले भने, ‘अब चाँही सडक चाँडै कालोपत्रे हुन्छ ।’ यसै हप्ता कालोपत्रे गर्न निर्माण कम्पनीलाई काम लगाएको उनको भनाइ छ।

यता निर्देशनालयका प्रमुख सापकोटाले भने कालोपत्रेका लागि उपयुक्त तापक्रम नहुँदा समस्या भएको बताए। ‘त्यो क्षेत्र तुलनात्मक रूपमा बढी चिसो हुने क्षेत्र हो,’ सापकोटाले भने, ‘चिसोले गर्दा कालोपत्रे नटिक्ला भनेर काम गर्न सकिएको छैन।’ उनले आफूले गरेको प्रतिवद्धता अनुसार नियमित रूपमा रिर्पोट लिएर काम अघि बढाइरहेको बताए।

उक्त सडक वल्र्ड वाइड मस्जिङ जेभी निर्माण कम्पनीले ठेक्का लिएको छ । ठेकेदारले तापक्रमको समस्या देखाउँदै कालोपत्रेको मिति सारिरहेको सापकोटाले बताए । उनका अनुसार तापक्रम बढेँसगै कालोपत्रे गराइनेछ। 

प्रकाशित: २२ माघ २०७४ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App