७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘भावी मुख्यमन्त्री’ पोखरेलसँग विकास र समृद्धिको अपेक्षा

प्रदेश ५ का ‘भावी मुख्यमन्त्री’ शंकर पोखरेललाई माला लगाएर स्वागत गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य । तस्बिर : नागरिक

नेपालगन्ज – प्रदेश नम्बर पाँचको संसदीय दलको नेता सर्वसम्मत रुपमा बनाएर नेकपा एमालेले पार्टीका नेता शंकर पोखरेललाई ‘भावी मुख्यमन्त्री’ का रुपमा प्रस्तुत ग-यो। प्रदेशमा स्पष्ट बहुमत ल्याएको एमाले र माओबादीबीचको गठबन्धनले पोखरेललाई सहर्ष रुपमा रुपमा स्वीकार गरिसकेकाले उनी मुख्यमन्त्री बन्ने लगभग निश्चित भईसकेको छ। पोखरेल मुख्यमन्त्री बन्ने चर्चा चलेसँगै उनीसँग विकास र समृद्धिको ठूलो अपेक्षा गरिएको छ। 

नेपालगन्ज उद्योग वाणिज्य संघले प्रादेशिक महोत्सव–२०७४ को समापनमा सोमबार यिनै भावी मुख्यमन्त्री पोखरेललाई प्रमुख अतिथिका रुपमा बोलाएको थियो। कार्यक्रममा बोल्ने अधिकांश बक्ताले पोखरेलसँग विकास र समृद्धिका लागि आशा र अपेक्षा मात्र गरेनन्, प्रदेश नम्बर ५ को स्थायी राजधानी राख्न पहल गरिदिन समेत आग्रह गरे।

बाँकेका समानुपातिक प्रदेश सभा सदस्य मोहम्मद याकुव अन्सारीले नेपालगन्जलाई प्रादेशिक राजधानी कायम गरेर यहाँको समृद्धि र विकासका लागी पहल गरिदिन आग्रह गरे। ‘नेपालगन्ज पुरानो नगरी हो, यतिमात्र नभएर यो नाकाबाट अत्यधिक रुपमा जडिबुटी बाहिर निकासी हुन्छ,’ जडिबुटी व्यवसायी समेत रहेका अन्सारीले भने ‘हरेक कुराको हिसाबले नेपालगन्ज सहज मानिन्छ।’

नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलसम्शेर राणा बाँकेलाई प्रादेशिक राजधानी बनाउनुपर्ने सवालमै केन्द्रित रहे। ‘हामीले राजधानीको दावा गर्नु कुनै अनौठो कुरा होइन, राजधानीको आन्दोलन छेडेका छौं, सम्पूर्ण बाँके जिल्ला यसको पछाडी छ,’ उनले भने। नेपालगन्जलाई प्रादेशिक राजधानी नबनाए पाँच नम्बर प्रदेशमा बस्ने/नबस्ने बारेमा सोच्नुपर्ने अवस्था आउने राणाले चेतावनी दिए। राणाले भने, ‘भावी मुख्यमन्त्री ज्यु तपाईलाई बिनम्र अनुरोध गर्दछु, नेपालगन्ज प्रदेशको राजधानी बन्न सकेन भने सोच्नुपर्ने हुन्छ, हामी अर्कै प्रदेशसँग गाँसिन पनि सक्छौं, यसलाई सिरियस रुपमा लिई दिनुहोला।’

नेपालगन्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बाँके जिल्ला प्रादेशिक राजधानीबाट मात्र बन्चित नभएर हुन लागेका विकास, निर्माणका काम पनि अबरुद्ध हुन पुगेकोमा चिन्ता व्यक्त गरे। ‘हामीलाई राजधानीबाट त बञ्चित गरियो नै चक्रपथ निर्माणको योजना अबरुद्ध हुन पुग्यो, अन्र्तराष्ट्रिय सभागृह लगायत थुप्रै पुर्वाधार अबरुद्ध हुन पुगेका छन,’ श्रेष्ठले भने। 

नेपालगन्जमा दुई वर्षअघि उद्योग वाणिज्य संघले गरेको आन्दोलनलाई राजनीतिक दलले साथ नदिएकै कारण अहिले राजधानीबाट बञ्चित हुन पुगेको उनले आरोप लगाए। समृद्धिका लागि यहाँका उद्योग, व्यवसाय फस्टाउने वातावरण अब बन्ने प्रदेश सरकारले बनाउनुपर्ने श्रेष्ठको सुझाव छ। 

राजनीतिक दलका तर्फबाट नेकपा माओबादी केन्द्र बाँकेका इन्चार्ज अक्कलबहादुर बमले भावी मुख्यमन्त्री पोखरेलसँग यहाँको विकासका लागि धेरै आशा गरिएको बताए। कार्यक्रमको सुरुमै नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले पाँच नम्बर प्रदेशको मुख्य नाका नेपालगन्जबाट सबैभन्दा बढी राजस्व असुल गर्ने गरेपनि विकासमा १० प्रतिशत पनि खर्च नगरिएको बताए। ‘नेपालगन्जबाट उठेको करको १० प्रतिशत पनि खर्च हुदैन, अब ५० प्रतिशत रकम खर्च हुनुपर्छ। 

कार्यक्रमका मुख्य केन्द्रविन्दु रहेका पोखेलले के बोल्लान् ? धेरैको मनमा उत्सुकता जाग्नुपनि स्वभाविक थियो। आफ्नै गृहजिल्ला दाङलाई प्रादेशिक राजधानी बनाउन भूमिका नखेलेको, प्रादेशिक राजधानीसँग मुख्यमन्त्री पद साटेको जस्ता गम्भिर आरोप खेपेका पोखरेलले नेपालगन्जबासीलाई घुमाउरो रुपमा राजधानी बनाउन नसक्ने जवाफ दिए। तर, विकासका लागी आफुले सक्दो पहल गर्ने आश्वास भने दिन भ्याए। 

‘नेपालगन्ज वास्तवमा पशिचम नेपालकै महत्वपुर्ण व्यापारिक केन्द्र हो, यसको महत्व राजधानी नभएर कम नहुने भन्ने मलाई लाग्दैन,’ उनले भने ‘यद्यपी यहाँका बासिन्दाको चाहना राजधानी भईदिए हुन्थ्यो भन्ने छ, त्यो स्वभाविक हो, तर राजधानी भएपछि मात्र विकसित हुन्छ भन्ने कुराको म विश्वास गर्दैन, राजधानी नभएपनि यहाँको विकास हुन्छ।’ 

कार्यक्रमका अन्य बक्ता नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी लगायतले पनि मुलुकको स्थायित्वसँगै विकास निर्माणको कामले गति लिने विश्वास गरे। नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा यही माघ ११ गतेदेखि स्थानीय कारकाँदोस्थित सडक डिभिजन कार्यालय परिसरमा प्रादेशिक महोत्सव सञ्चालन भएको थियो। 

प्रकाशित: २२ माघ २०७४ १५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App