पहिचानको राजनीति सामाजिक सांस्कृतिक क्षेत्रमा फैलँदै

मङ्गलबार, २३ माघ २०७४, १४ : ४२ नागरिक


– डा. कृष्ण भट्टचन

सरल रूपमा भन्नु पर्दा पहिचान भनेको समानता र भिन्नता हो अर्थात् हामी र अरूबीच फरकको कुरा हो । यो रातारात बन्दैन । यो समयको कसीमा घोटिएर बाक्लिन्छ । यो मानव संसार सुन्दर, रमाइलो र मान्छेको अस्तित्वको निरन्तरता यही भिन्नताले सम्भव भएको हो ।

कुनै पनि व्यक्तिको पहिचान एउटा मात्र हुँदैन । बहुल पहिचानमध्ये कुनै पहिचान सधैँ एउटै हुन्छ । कुनै पहिचान समय, स्थान र परिस्थितिअनुसार बदलिरहन सक्छ । पहिचान विषयका विज्ञ रिचर्ड जेन्किन्सले व्यक्तिगत, अन्तक्र्रियात्मक र संस्थागत गरी तीन तहको पहिचानका कुरा गर्छन् । समूहगत र सामूहिक पहिचान त झनै महत्वपूर्ण हुन्छ । कुनै पहिचान कसैको चासोको विषय नबन्न सक्छ । कुनै पहिचान धेरैको वा सबैको चासो बन्न सक्छ ।                                                                     पहिचानमध्येमा समुदायगत, लैंगिक, जातिगत, भाषिक, धार्मिक, सांस्कृतिक, क्षेत्रगत, र वर्गीय पहिचान बढी सम्वेदनशील हुन्छ । यी पहिचान राजनीति, द्वन्द्व र अधोगति वा समृद्धिको विषयसँग पनि गाँसिएको हुन्छ । यी पहिचानलाई सम्मान र सुनिश्चित गरे समृद्धि र इन्कार गरे वा द्वन्द्वमा धकेले अधोगतितिर लाग्ने यथार्थको साक्षी इतिहास छ ।

सतहमा देखिएको विस्तार

  • विगत २५० वर्षसम्म नेपालका बाहुनवादी शासकले कहिले असली हिन्दूस्तानको पहिचान त कहिले गोर्खे पहिचान, कहिले पर्वते पहिचान, त कहिले एउटै भाषा, एउटै भेष, एउटै राजा एउटै देशको पहिचान लादिएकोमा छयालीस सालको जनआन्दोलनपछि बहुल पहिचानलाई स्विकार्न थालिएको देखिन्छ । यो बहुल पहिचान बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक तहमा विस्तार हुँदै बहुराष्ट्रिय तहमा समेत विस्तार हुन थालिसकेको छ ।
  • हिन्दूहरूले राज्यसत्ताको ओत लागेर हिन्दू मात्रको चाड दसैंलाई सम्पूर्ण नेपालीहरूकै महान राष्ट्रिय चाडको रूपमा लाद्न थालेपछि आदिवासीले यसलाई आदिवासीको पहिचान मेट्ने हतियारको रूपमा बुझेकोले दसैं बहिस्कार, परित्याग, विरोध, नमान्ने अथवा आ–आफ्नो महान चाड धूमधामसँग मनाउने अभियान सुरु भयो । तमुले तोला ल्होसार, तामाङले सोनाम ल्होसार, शेर्पाले ग्याल्बो ल्होसार, मगरले भुमे पूजा, थारूले माघी र मधेसीले छठ मनाउने क्रममा कति तीव्ररूपमा बिस्तार छ भन्ने यथार्थता काठमाडौंको टुंडिखेलमा र छठको हकमा रानीपोखरी र देशका कुना काप्चा र विदेशमा आजभन्दा बीस÷तीस वर्षअघि कति मान्छेले भाग लिन्थे र आजकल कति मान्छेले भाग लिन्छन् भन्ने प्रस्ट छ । ल्होसार मनाउने जति बकुल्ला हो र ल्होसार मनाउनेले दसंै पनि मान्नु भनेको बकुल्लाको बथानमा काग हुनु अथवा कागको बथानमा बकुल्ला हुनु हो भन्ने चेत आउन थाल्नु नै पहिचानको राजनीतिको सशक्त विस्तार हो । अब यो क्रम अघि बढ्नेबाहेक पछि हट्ने अवस्थामा छैन ।
  • अधिकांशले अरू बेला आफ्नो जे छाडे पनि मृत्युको संस्कारमा आप्mनो आधारभूत गुदी तत्व हत्तपत्त त्याग्न सक्दैन्न । तर, मगरलगायतका कतिपय आदिवासीको हिन्दूकरण यति व्यापक भयो कि छयालीस सालको जनआन्दोलन अघिसम्म मृत्युसम्बन्धी कर्मकाण्डसमेत बाहुन पुरोहित लगाएर हिन्दू विधिबाट गर्थे र अझै पनि केहीले गरिराखेकै छन् । बाहुन पुरोहितलाई गाई, पैसा, वस्त्र, घरायसी सरसामान आदि दान पनि दिने र बोकेरै पुरोहितलाई उनको घरसम्म पुर्याउने गर्दथे र केहीले अझै पनि गर्दछन् । नेपाल मगर संघले मगरहरू बौद्ध भएको संस्थागत निर्णय र काजक्रिया गर्नका लागि बौद्ध विधिबाट दीक्षित मगर पुरोहितबाट गर्ने र सुरुमा अप्ठ्यारो नहोस् भन्नका लागि मृत्युसंस्कार विधिको पुस्तकसमेत तयार गरेपछि मगर पहिचानको राजनीतिको विस्तार जन्मदेखि मृत्यु र मृत्यु पर्यन्तका संस्कारमा परेको प्रस्टै देखिन्छ ।

यस्तो प्रक्रिया अन्य जातिमा पनि व्यापक छ । जस्तै थकालीको मृत्यु संस्कारमा मृतकको अस्तु ज्वाइँले माइतीको उपस्थितिमा थासाङ्गमा आप्mनो क्हुयुको पुर्खाको अस्तु राखेको प्वालमै ठाउँमै राख्नु पर्दछ । विगतमा कम्तीमा ४९ दिन मान्ने मृत्यु संस्कार पछि हिन्दूको ढाँचामा ढाल्ने क्रममा १३ दिन गरी आएकोमा आजकल ७ दिन गरेको छ । बाहुन पुरोहित लगाएर गर्ने एकाध परिवारलाई आफ्नै क्हुयु (नजिकको दाजुभाइ र चेली) ले बहिस्कार गर्ने गरेका छन् । काजक्रियाको क्रममा हिन्दूको प्रभावबाट नुन बार्ने र सेतो बस्त्र लगाउने सिको गरेकोमा यस्तो कार्य अब बिस्तारै हट्न थालेको देखिन्छ ।

निरंकुश राणा शासनका संस्थापक जंगबहादुर राणाले सन् १८५४ मा लागू गरेको मुलुकी ऐनले आदिवासीलाई मतवाली भनेर चार जातमध्येको तागाधारी पछि दोस्रो तहको जातको रूपमा हुले पनि आजसम्म आइपुग्दा जाँडरक्सी पिउनेमा बाहुन क्षेत्रीहरूले कथित मतवालीलाई पनि नाघेर उग्र मतवाली बनेको देखिएको छ । तर यसको मूल्य बाहुन क्षेत्री महिलाले सुख्खा क्षेत्र अथवा ड्राइ एरियाको आन्दोलनले एकातिर उग्र मतवालीले बाहुन पाउचको आविष्कार गरेर चुकाए ।

मृतकलाई गाड्ने प्रथाजन्य व्यवहार भएका आदिवासी, जस्तै राई, लिम्बूका लागि कहीँ सामुदायिक वन, कहीँ साझेदार वन, कहीँ राष्ट्रिय निकुञ्ज, कहीँ वन्यजन्तु आरक्ष केन्द्र, कहीँ राष्ट्रिय वन, कहीँ सार्वजनिक जग्गा आदिको नाममा लास गाडेर सद्गत गर्न नदिने गरेकोमा पहिचानको राजनीतिबाट प्रभावित भएर राज्य र स्थानीय निकायसँग लडेर लास गाड्ने स्थान सुनिश्चित गर्ने क्रम बढेर गएको छ । जलाउन चाहनेमध्येले पशुपति आर्यघाटमा लास जलाउनुको सट्टटा स्वयम्भुमा जलाउनेको संख्या बढेको छ ।

  • पञ्चायतकालसम्ममा ‘एउटै राजा एउटै देश, एउटै भाषा एउटै भेष’ भन्ने बाहुनवादी नारासम्म आइपुग्दा आदिवासी महिलाले चोलो–सारी र पुरुषले दौरा–सुरुवाललाई आफ्नै मौलिक पहिरन भनेर लगाउने प्रचलन बढेको थियो । आजकल आफ्नो जातीय पहिरन भएकाले जातीय पहिरन लगाउन गर्व गर्नेको संख्या बढेर गएको छ । कुनै–कुनै मौलिक पहिरन खासगरी शेर्पा महिलाको मौलिक पहिरनलाई आरएनएसीले आफ्नो उडानमा एअरहोस्टेजका लागि प्रयोग गरेपछि हेप्ने प्रवृत्ति पनि देखिएको थियो तर आजकल हेप्नेभन्दा पनि सम्मानजनक रूपमा लिने प्रवृत्ति बढेको छ ।
  • पहिचान आदिवासी खानासँग पनि जोडिएको छ । थकाली, नेवार र थारूको खानामा भएको विविधता, पौष्टिकता र स्वादिष्टता प्रसिद्ध छ । थकालीको खाना र राई लिम्बूको धराने कालो बंगुरको मासुको प्रसिद्धिको दुरुपयोग गर्ने क्रममा जो सुकैले पनि थकाली खानाको नाम र जहाँको पनि, जे रंगको पनि बंगुरको मासुलाई धराने कालो बंगुरको मासु भनी बेचेर आम्दानीको भाँडो बनाएको सर्वविदितै छ । कीर्तिपुरका नेवार महिलाले भने सामूहिकरूपमा ‘लहना’ नामक नेवारी खानाको रेष्टुराँ चलाएर वर्षमा करोडांैे रुपैयाँको व्यापार व्यवसाय पनि गर्ने, नेवार पहिचान पनि समृद्ध पार्ने, सामूहिक जीवन पनि सफलतापूर्वक चलाउन थालेको देखेका छौं, समाचारमा पढेका छौं । शेर्पा र राई लिम्बूको प्रचलित तोङ्वा अब सबै जातजाति र विदेशीको समेत प्रिय बनेको छ ।
  • हिमाली क्षेत्रका आदिवासीले प्रयोग गर्ने गरेको मम अब सबै जातजातिको प्रिय खानेकुरा बनिसकेको छ । एकातिर, नेपालमा बफ मम, जुन पूर्वतिर लक्ष्मी सिंगडा भनेर चिनिन्छ, गाईको मासु खान नहुने भनिएको कतिपय हिन्दू बाहुन क्षेत्रीको जिभ्रोले नेपाल र नेपालबाहिर व्यापकता पाएको छ । माछा मासु, अण्डा नखाने जातले सो झनै धेरै खाइदिँदा ती खानेकुराको भाउ अचाक्ली महँगो हुन पुगेको छ ।
  • अर्कोतिर, के को मासु खाने, के को मासु नखाने भन्ने कुरा पनि पहिचानसँग जोडिएको छ । गाईको मासु खान नहुने भन्ने हिन्दू पहिचान र गाईको मासु खाने आदिवासी र पश्चिमाको पहिचानसँग टक्कर खाँदा राजनीतिक खिचातानीमा अड्को छ । अस्टे«लियाको राष्ट्रिय जनावर कङ्गारु हो तर त्यहाँ त्यसलाई मार्न पाउँछ र त्यसको मासु खान पाउँछ । नेपालका आदिवासीले आयोजना गरेको कार्यक्रममा म त्यहाँ भाग लिन जाँदा मैले पनि कंगारुको मासु खाएको छु ।
  • पहिचानसँग मातृभाषाको अनन्योन्याश्रित सम्बन्ध छ । काठमाडौंमा नेवारले मातृभाषाको संघर्ष थालेको दशकांै भइसकेको छ र यो मातृभाषाको संघर्षमा अन्य आदिवासी, मधेसी र मुश्लिमसमेत लागि परेका छन् । नेपालमा गैर–राजनीतिक आन्दोलनले गरेको काठमाडौं उपत्यका बन्द भाषिक अधिकार संयुक्त संघर्ष समितिले गरेको थियो । लिम्बुवान आन्दोलनको एउटा ठोस परिणाम सृजङ्गा लिपिको विस्तार र लिम्बू भाषामा पत्रपत्रिका, पुस्तक आदिको प्रकाशन, लिम्बू भाषामा अध्ययन अध्यापनमा विस्तार आइरहेको छ । नेवारको रञ्जना लिपि समृद्ध छ ।
  • नेपालमा हिन्दू शासकले गाईलाई राष्ट्रिय जनावर बनाएर गाई मारेको वा गाईको मासु खाएको खण्डमा मान्छेको ज्यान मारेसरह कानुनी सजाय दिने अन्यायपूर्ण व्यवस्थाले कतिपय अदिवासी अनाहकमा जेलको चिसो छिंडीमा २० वर्ष बिताउन बाध्य छन् । राज्यको यस्तो गलत नीति र व्यवहारको व्यापक विरोध भइरहेको छ ।
  • राज्यले देश विदेशमा आयोजना गर्ने विभिन्न सार्वजनिक कार्यक्रममा आदिवासीको पहिरन, गरगहना, नाचगानलगायतका झाँकी देखाएर, कार्यक्रम गरेर नेपाललाई फरकरूपमा चिनाउने तर अर्कोतिर नेपालभित्र आदिवासीको सामूहिक अधिकारलाई सम्मान गर्न दाँतबाट पसिना आउने दोहोरो चरित्र छ ।
  • निरंकुश राणा शासनका संस्थापक जंगबहादुर राणाले सन् १८५४ मा लागू गरेको मुलुकी ऐनले आदिवासीलाई मतवाली भनेर चार जातमध्येको तागाधारी पछि दोस्रो तहको जातको रूपमा हुले पनि आजसम्म आइपुग्दा जाँडरक्सी पिउनेमा बाहुन क्षेत्रीहरूले कथित मतवालीलाई पनि नाघेर उग्र मतवाली बनेको देखिएको छ । तर यसको मूल्य बाहुन क्षेत्री महिलाले सुख्खा क्षेत्र अथवा ड्राइ एरियाको आन्दोलनले एकातिर उग्र मतवालीले बाहुन पाउचको आविष्कार गरेर चुकाए । अर्कोतिर, कतिपय कथित मतवालीले आप्mनो दैनिक रोजीरोटीको समस्या र चेलिबेटीको शरीर बेचबिखनबाट जोगिने अन्तिम उपायको रूपमा बनाउने जाँडरक्सी पुलिसले सडकमा फाल्दा र घ्याम्पा फुटाल्दा आदिवासी महिलाले बलिन्द्र धारा आँसु चुहाएको दृश्य टेलिभिजनको पर्दामा देखिएकै हो ।

आदिवासीको जन्मदेखि मृत्युपर्यन्तको संस्कारमा जाँडरक्सीको आध्यात्मिक र धार्मिक अनिवार्यता अपरिहार्य छ । तर राज्यले विदेशी जाँडरक्सीको कोशी नदीको बाँधकोे ढोका सर्लक्क खोल्ने तर आदिवासी ज्ञान, सीप र जीवनचक्र संस्कारमा आधारित जाँडरक्सीमाथि कानुनी कुदृष्टिले गर्दा चेलीले माइत जाँदा डालोमा रक्सी बोकेर जानसमेत कानुनी प्रतिबन्ध लाग्नेलगायतका समस्याको कारणले आदिवासीको सम्बन्ध र संस्कृतिलाई भत्काउने क्रमको विरुद्ध प्रतिरोध जारी छ ।

  • सामूहिक जीवन पद्धति भएका थकालीले सामूहिक विश्वासमा आधारित आर्थिक र सामाजिक उन्नति, प्रगति र समृद्धिका लागि ढुकोर (ढिकुरी) उपयोग गर्दै आएका छन् । यसबाट अन्य जातजातिका मानिस पनि प्रभावित भई ढिकुरीलाई ढिकुटीको रूपमा लाखौंको कारोबार गर्दा घर व्यवहार डुबाउनेको संख्या बढ्दो छ । सरकारले यो कमजोरी हटाउन ढिकुटीलाई प्रतिबन्ध लगाउने नाममा थकालीको प्रथाजन्य ढुकोर (ढिकुर) लाई समेत प्रतिबन्ध लगाउने जस्तो गलत कार्य गर्ने खतरा भने बढेको छ । यस्तो कार्य बच्चालाई नुहाइदिँदा बाटाको फोहोर पानीसँगै बच्चालाई समेत फाल्ने भने जस्तै हो ।
  • विगतमा मान्छे, गाउँ–ठाउँ, हिमाल–पहाड, नदी–नाला, खोला, ताल–तलैया, चउर, चरण आदिको मौलिक नामको सट्टा हिन्दू नाम वा खस नेपाली भाषामा नाम राखी बिगारेकोमा मौलिक नाम पुनस्र्थापित गर्ने कामले बिस्तारै गति लिन थालेको छ । बच्चाहरूको नाम आफ्नै मौलिक नाम राख्ने प्रचलन फैलँदै गएको छ । च्योमोलोङ्गमालाई नक्कली नाम माउण्ट एभरेष्ट वा सगरमाथा भन्नेभन्दा पनि च्योमोलोङ्गमा भन्न पर्छ भन्ने आवाज बिस्तारै बढ्दै छ ।

आदिवासीहरू विभिन्न भाकामा गीत गाउन र नाचगानमा अत्यन्त धनी छन् । तमु र मगरको सोरठी, सालैजोलगायतका दोहोरी गीतका साथै मारुनी, कौडा, घाटु नाच र मगरको चुड्का नाचआदि, लिम्बूको पालाम, हाकपारे, धान नाच आदि, राईको साकेला सिली नाच, तामाङको तामाङ सेलो नाच, थारूको सजना र माघीया गीत प्रख्यात छन् । विगतमा आदिवासीको गीतभित्र हिन्दू शासकको बखान घुसाएको (जस्तै सोरठीमा खस आर्य राजा जय सिंह र रानी हेमइतीको कथा र मारुनीमा हिन्दूको भगवान कृष्ण र राधाको कथा) गलत भएको र यसरी घुसाइएको हिन्दू मिथकहरू हटाएर तमु र मगरको आफ्नै मिथक राखेर नाच्ने दिन धेरै टाढा छैन । त्यस्तै, आदिवासी भाकाका गीत खस नेपालीमा गाएर (जस्तै ः कुमार बस्नेतलगायतका कतिपय गीतहरू) र आदिवासीले खस नेपाली र हिन्दी गीतको भाकामा मातृभाषामा गाएर नाचेर पहिचान बिगार्ने गरेकोमा अब त्यस्तो अरूलाई गर्न नदिन र आफूले पनि नगर्न, नगराउन सचेत हुन थालेका छन् । त्यस्ता गीत र नाचमा आफ्नो सामूहिक पहिचान र अधिकारको कुरा उठ्न सुरु भएको छ । विगतमा ‘डल्ली मगर्नी हो’ र ‘कस्ले दियो नेप्टीलाई लाइटर’ भन्ने जस्ता आदिवासीलाई होच्याउने, अपमान गर्ने गीतहरू अब गाउन र बजाउन नसक्ने भइसक्यो । विभिन्न मातृभाषामा क्यासेट, म्युजिक भिडियो बन्ने क्रममा तिब्रता आएको छ ।

  • पहिचानको आन्दोलनले डकुमेण्ट्री र सिनेमा समेत प्रभावित भएको छ । मातृभाषामा अथवा सम्बन्धित आदिवासीको सवालमा डकुमेण्ट्री र सिनेमा बनाउने र प्रदर्शन गर्ने, आदिवासी फिल्म फेस्टिबल नेपाल र विदेशमा मनाउने कार्यले व्यापकता पाएको छ । नवीन सुब्बाको निर्देशनमा बनेको नुमाफुङ अलगधारको सिनेमाको मानक बनिसकेको छ ।
  • खेलकुदमध्ये धनुकाँड अर्थात तारो हान्नेलाई निरन्तरता र व्यापकता दिएर विभिन्न प्रतियोगिता हुने गरेको छ ।
  • पहिचानको आन्दोलनले पत्रकारिताको क्षेत्रमा पनि व्यापकता पाएको छ । मातृभाषामा पत्र–पत्रिका, पुस्तक छपाउने कार्यले व्यापकता पाएको छ । आदिवासी सञ्चारकर्मीहरू संगठित रूपमा क्रियाशील छन् । गोरखापत्र दैनिकले विभिन्न मातृभाषामा लेख रचना नियमितरूपमा प्रकाशन गर्दै आएको छ ।
  • चित्रकलामा नेवारको मण्डला, तामाङको थाङ्का र मधेसीको मिथिला आर्टले व्यापकता पाएको छ ।
  • धेरैजसो आदिवासी बुद्ध धर्मावलम्बी भएकोले सानादेखि ठूला गुम्बा निर्माण गर्ने, भन्ते, लामा, झुमाको प्रशिक्षण लिनेदिनेमा तिब्रता आएको छ । पहाडका मगर र तराईका थारूहरूमा पनि प्रशिक्षित भन्ते, लामाहरू तयार भइरहेका छन् । थकालीको मृत्य संस्कार गर्दा झाँकी विधिबाट गर्दा झाँकी चाहिने तर भएका एक दुईजना झाँकी वृद्ध भएको र नयाँ पुस्ताले चासो नदेखाउने गरेकोमा हालै आएर तीन÷चारजना युवा झाँकी प्रशिक्षित भएर कार्यरत छन् ।
  • काठमाडौंका नेवारले राजा पृथ्वीनारायण शाहले गरेको जालझेल र मानवताविरोधी कार्यको विरोधस्वरूप कीर्तिपुरको डाँडास्थित छ्याकल्हों देख्नासाथ थुक्ने र ईन्द्रजात्राको बेला कालो झण्डा देखाउने कार्यको निरन्तरता भए पनि हराउँदै जान थालेकोमा यसले फेरि व्यापकता लिन थालेको छ । चार शहीदको नाममध्ये दशरथ चन्दबाहेक बाँकी नेवार आदिवासीमा पर्ने तीनजना शहीद गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री जोशीको थर लुकाएर जातिसमेत लुकाउने नियत भएकोमा दबाबपछि शहीद गेटमा हालै सच्याएर उल्लेख गरेको छ ।
  • नेवार बालिकाले सामूहिकरूपमा गर्ने बेल विवाह केही पहिले घटेर गएकोमा हालै आएर यसले व्यापकता पाउन थालेको छ ।
  • राज्यले नेपाल सम्वतलाई राष्ट्रिय सम्वत मान्यता दियो तर लागू गर्न ढिलाइ गरिरहेको छ ।
  • हिमाली आदिवासीको थातथलोमा बाहिरकाले यार्सागुम्बा संकलन गर्नथालेपछि मनाङ र डोल्पामा द्वन्द्व भएर मान्छेको ज्यान जाने घटनासमेत भयो । आफ्नो प्रथाजन्य आदिवासी अधिकार हननको प्रतिरोध गर्ने आदिवासीविरुद्ध मुद्दा लाग्नेजस्ता गलत कार्यसमेत भयो ।
  • केही समय पहिलेसम्म मधेसीलाई पहाडीयाले हेपेर मस्र्या, धोती, मदेसी, मदीसे, इन्डियन आदि भन्ने गरेकोमा अब मधेसी भनेर त्यस्तो हेपाहा शब्दहरूको प्रयोग न्यूनीकरण भइरहेको छ । सागसब्जी, फलफूल बेच्ने मधेसीलाई हेप्ने र ठग्ने काम न्यून भएको छ । साथै मधेसीले पनि गर्वले मधेसी भन्न थालेको छ ।
  • दलित पहिचान सर्व स्वीकार्य हुँदैछ । दलितलाई छुवाछूत गर्ने व्यवहारमा पनि बिस्तारै कम हुँदै जाने क्रममा देखिन्छ । दलितको पेसा, जस्तै ः कपडा सिउने, जुत्ता सिउने, भाँडाकुँडा, हात हतियार र कृषिऔजार बनाउने, गीत गाउने आदि  गैर दलितले अपनाएर आधुनिकीकरण गरेर सम्मान साथै धन कमाउने माध्यम बनाए तर दलितको अवस्था भने झनै गए गुज्रेको भएर गएको छ । गाइने गीत अझै पनि बस र पर्यटक क्षेत्रमा विस्तारित छ ।
  • पहिचानको राजनीति विदेशमा भएका नेपालीमाझ झनै गाढा देखिन्छ । हरेक सामाजिक, सांस्कृतिक र राजनीतिक कार्यमा पहिचान पक्षधर र पहिचानविरोधीका आधारमा विभाजित भएको देखिन्छ ।
  • प्रत्येक वर्ष अगस्त ९ तारिखको दिन नेपाललगायतका विश्वभरि नै विश्व आदिवासी दिवसको रूपमा भव्यरूपमा मनाइन्छ । अहिलेसम्म सडक, हल र टुंडिखेलमा मनाइने यो दिवसले बिस्तारै टोल–टोलमा, गाउँ–गाउँमा, घर–घरले मनाउने गरी व्यापकता पाउने देखिन्छ ।
  • आदिवासी पहिचान विरोधीहरूले, स्यालले बाघको छाला ओढेजस्तो, आदिवासी भएको नाटक गरे पनि आदिवासीको गुदीतत्व सामूहिक अधिकार र ऐतिहासिक थातथलोका भूमि, भूभाग र स्रोतमा आधारित सामूहिक जीवन पद्धतिका कुनै पनि आधारभूत विशेषता नभएकोले बरु यस्तो गलत हरकतले पहिचानको राजनीतिलाई व्यापक क्षेत्रमा फैलाउन मद्दत गरेको देखिन्छ ।

सतहमुनिको विस्तार

  • इतिहासमा आधारित सामूहिक र क्षेत्रगत पहिचानलाई राज्यले समयमै स्वीकार गर्न नसक्दा लिम्बुवानमा बृहत् लिम्बुवान, स्वतन्त्र लिम्बुवान र मधेसमा स्वतन्त्र मधेसको विचारहरू हुर्कने क्रम जारी देखिन्छ ।
  • पहिचानमा आधारित राजनीतिको एउटा अहम माग, खासगरी मधेसी र आदिवासीको, पहिचानमा आधारित संघीयता र आदिवासीको सामूहिक पहिचान र सामूहिक अधिकारको मागलाई सन् २०१५ मा लागू गरिएको  नश्लवादी संविधानले ठाडै इन्कार गरेको छ । यो नश्लवादी संविधानको कार्यान्वयनको क्रममा स्थानीय, प्रादेशिक र संघीय निर्वाचनहरू हालै सम्पन्न भइसकेको छ । मधेसी र आदिवासीको पहिचानको आन्दोलन सतहमा सुस्ताएजस्तो देखिए पनि अब निकट भविष्यमा उठ्ने यसको ज्वारभाटा पहिलेभन्दा अग्लो हुने पक्का देखिन्छ । अहिले बनाइएको भुसको आगो भोलि जातीय र क्षेत्रगत द्वन्द्वको दावानलको रूपमा दन्कियो भने कुनै आश्चर्य मान्नु पर्ने छैन ।

अन्तमा, पहिचानको राजनीति र कथा जीवन्त रहेकोले यो पुस्ताले पहिचानसहितको संघीयतालाई सुनिश्चित गर्न कथम कदाचित सकेन भने पनि आउने कुनै न कुनै पुस्ताले स्थापित गरी छाड्नेछ । यो काम जति चाँडो हुन सक्यो त्यति सबैका लागि उत्तम हुनेछ ।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट

नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता २०७४ मा लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट भएको छ । दिप पौडेलले निर्माण...

सलमानपछि ऋतिकसँग दिशा

सलमानपछि ऋतिकसँग दिशा

क्रिकेटर महेन्द्रसिंह धोनीको गर्लफ्रेन्डको रुपमा दुई वर्षअघि दिशा पटानीले बलिउडमा अभिनय यात्रा सुरु गरेकी थिइन् । धोनीको जीवनीमा बनेको ‘एम.एस....

‘आतुङ’ लिएर आइन् अनिता

‘आतुङ’ लिएर आइन् अनिता

कवि अनिता लामा तेस्रो कविता संग्रह ‘आतुङ’ लिएर आएकी छन । काभ्रेको तेमाल मेच्छेमा जन्मेकी अनिताको यो तेस्रो कृति हो...

प्रधानमन्त्रीले भेटे राष्ट्रकवि घिमिरेलाई, उपचार खर्च सरकारले व्यहोर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन्। ...