५ वैशाख २०८१ बुधबार
कला

लोप हुँदै ‘रत्यौली’

लमजुङ- ‘आजै र मैले दाउरा खोजें बनको ठिनामिना,

दुलाह गयो दुलही लिन जन्ती गए किन ।

हे बाबु, हे बसुन्धरा,

आमालाई नरुवाउ चम्धारा... ।’

‘आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो

हे बाबु, हे बसुन्धरा... ।’

विगतमा यस्तै रमाइला गीत गाउँदै रत्यौलीमा आमा, दिदी–बहिनीहरू दुलहा–दुलही र घर–परिवारलाई आशिक दिन्थे। पारिवारिक अवस्थाको चित्रण गर्दै बह पोख्थे अनि खुलेरै रमाइलो गर्थे । रमाइलो गर्थे मात्रै के भन्नु, गाउँसहरकी ६६ वर्षीया तिलमाया मजाकोटीकै भाषामा भन्दाखेरी, मनपरी बोलेर उन्मत्तै गर्थे। उत्पातै रमाइलो हुने भएकाले नामै रत्यौली रे । बिहेघरमा अचेल त्यस्तो हुँदैन । कठैबरी ! रत्यौली त कता गयो कता ?

उहिल्यै रत्यौलीमा सुनिने रमाइला ठट्यौली र मानवीय जीवनका दैनिकी समेटिएका यथार्थपरक गीतहरू आजकल सुनिँदैनन् । छोराको बिहेमा दुलहा अन्माएर लगेपछि बिहेघरको आँगनमा भेला भएर महिलाहरू मादल र छ्याली बजाउँदै मुजुराको तालमा कम्मर मर्काई–मर्काई नाच्थे ।

विगतमा जस्तो मौलिक स्वाद र शैलीका रत्यौली अहिले नरहेको बेंसीसहर नगरपालिका–३ गाउँसहरकी तिलमाया मजाकोटी बताउँछिन् । रत्यौलीमा गाउन र नाच्न मरिहत्ते गर्ने तिलमाया आपूmले विगत ५५ वर्षदेखि बर्सेनि रत्यौलीमा रमाइलो गर्दै र गराउँदै आएको बताउँछिन् । गाएर अनि नाचेरै नथाक्ने उनलाई कतिले त ‘रत्यौलीकी रानी’ पनि भन्दा रहेछन् । उनका अनुसार बिहेघरमा भेला भएका महिला साँझ परेदेखि नै रत्यौली जमाउँछन् ।

पहिले दुईदिने विवाह हुन्थ्यो । त्यतिबेला चलनचल्तीका भाकामा एकोहोरी र दोहोरी गीत गाएर रमाइलो गर्दै सुरु हुने रत्यौलीमा रातका प्रहरअनुसार गीतका भाका र शब्दहरू पनि फेरिँदै जान्छन् । रमाइला गीतहरू गाउँदै गर्दा महिलाहरू पुरुषको भेषमा रत्यौलीमा प्रवेश गर्छन् र नबोलीकन हाउभाउ गर्दै नाच्दै र हास्यास्पद ढंगले रमाइलो गर्छन् ।

उसको साथमा रमाइलो थप्ने अर्को हास्य पात्र पनि हुन्छ । पुरुष भेषधारी त्यो पात्रलाई रत्यौलीमा लाहुुरे र अर्को हास्य पात्रलाई जोगी भनिने राक्सेस्थान आमा समूहकी अध्यक्ष चिजा मजाकोटीले बताइन् । ‘लाहुरे र जोगीले हुनसम्मै रमाइलो गर्छन्,’ उनले भनिन्, ‘उहिल्यै त रत्यौलीमा छोरा मान्छे जानै पाउँथेनन्, ती लाहुरे र जोगीले त लाजैमर्नु बनाउँथे नि ।’

भैंचालाले लान्छ क्यारे रेलीमाई दैलीभँडार

जाउँजाउँ उधैंतिर हिमालको फेदैतिर

चरीले बिउ खायो

संम्झनाले जिउ खायो पानी सलल... ।

यस्ता रमाइला र हाँसीमजाक शैलीका गीतमा रात बितेको पत्तै नहुने रत्यौलीका अनुभवी महिलाहरू बताउँछन् । हुर्किंदो उमेरका युवतीहरू र बैंसालु महिलाहरू मायाप्रेमका गीतमा बढी रमाउँछन् । आपूmले राम्रो कमाइ भएको, रोजगारीमा लागेको पुरुषलाई चाहेको, माया बसेको मान्छेसँग टाढिएर बस्नुपरेको जस्ता विषयवस्तुमा पनि रत्यौलीका गीतमा जम्ने गर्दछन् ।

चारकुने चौतारी एकलो वर

पिरती नलाउँदै जाऊ बरु लाहुर

टाढाको माया नलाउनु रैछ

न चिठी पठाउने न सम्चार आइरहनि ।

यस्ता प्रेमिल गीतहरूमा युवतीहरूको चाख रहने रत्यौलीकी रानी तिलमाया बताउँछिन् । 

आमाको ज्यान सुक्यो किन

छोरो गयो कलह बिउ लिन

आमाको पियारो छोरो

अब माया बाँडियो दोहोरो ।

यस्ता गीतले बुहारी आइसकेपछि परिवारमा पर्ने प्रभावका विषयवस्तुलाई पनि गीतमा समेट्ने गर्दछन् । रात ढल्दै जब क्षितिजमा प्रभातकालीन रश्मि देखिन थाल्छ अनि दुलहाका आमाबाबु, परिवारजन र आफन्तजनलाई आशिष दिने र दान संकलन गर्ने गरिन्थ्यो ।

बिहानीपख रत्यौली सकेर महिलाहरू आ–आफ्नो घरतिर लाग्ने र बेलुकी दुलही भिœयाउने बेलामा फेरि तिनै महिला भेला भएर दुलहीको स्वागत गर्ने, आशीर्वाद दिने र रत्यौलीको समापन गर्ने चलन थियोे । तर, हिजोआज एकदिने विवाह हुन्छ, त्यसैले रत्यौली खेल्ने चलन लोपजस्तै भइसकेको छ ।

रत्यौली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आपूmहरूले सकेसम्म पुराना गीतहरूलाई नै प्राथमिकता दिने गरेको राक्सेस्थान आमा समूह गाउँसहरकी अध्यक्ष चिजा मजाकोटी बताउँछिन् । नयाँ पुस्ताले यस्ता गीतप्रति रुचि नदेखाउने गरेकाले यसको संरक्षणमा चुनौती थपिएको उनी बताउँछिन् ।

हिजोआज दिउँसो एकछिन रत्यौलीको झलक र छनक मात्रै आउँछ, वास्तविक रत्यौली नहुने लमजुङ मावि गाउँसहरका शिक्षक एवं संस्कृतिकर्मी सोमराज बराल बताउँछन् । ‘रत्यौली हाम्रो समाजको एउटा मौलिक परम्परा हो,’ उनी भन्छन्, ‘आजकल रत्यौली हरायो, अहिले रत्यौली त आमा समूहको नाचगानमा बदलियो।’

विगतमा मादल नहुनेहरूले तामा वा सिलौटका गाग्री, थाल आदि बजाएरै पनि रमाइला र झर्रा शब्दमा गीत गाएर खुब रमाइलो गर्ने चलन रहेकोमा अहिले त्यस्तो नहुने बराल बताउँछन्।

प्रकाशित: २३ माघ २०७४ १३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App