६ वैशाख २०८१ बिहीबार
कला

‘ब्लाइन्ड रक्सले मुक्ति दियो’

काठमाडौं – दश वर्षको उमेरमै दृष्टि गुमाएकी दृष्टिविहीन सृष्टि केसीको जीवनकथामा आधारित बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकारमाझ ट्रेलर सार्वजनिक भइरहँदा सृष्टिले आफ्नो कथामा फिल्म बन्दा खुसी लागेको बताइन् ।

आमाबुवा र हजुरआमासँग कार्यक्रमका लागि आएकी श्रृष्टिले आफ्ना लागि फिल्म विशेष रहेको बताइन् । ‘फिल्ममार्फत मेरो कथा विश्वका कुना–कुनामा पुर्याइदिनुभएकोमा निर्देशक मिलन चाम्सलाई धन्यवाद दिन चाहन्छु । यो फिल्मले मलाई एउटा न्याय दिएको अनुभूति भइरहेको छ,’ सृष्टिले भनिन्, ‘वेनिशा हमालले निभाउनु भएको भूमिका हेर्दा म यस्तै थिएँ र जस्तो लागेको थियो । फिल्म हेर्दा म धेरैपटक रोएँ । फिल्मले मलाई मुक्ति दियो ।’

सृष्टिको भूमिकामा देखिएकी वेनिशाले आफ्नो भूमिकाले सृष्टिलाई न्याय दिन सकेको दाबी गरिन् । ‘फिल्मकै लागि सृष्टिसँग निकै लामो समयसम्म संगत गरें । सृष्टिको परिवारबाट उनको आनीबानीलगायतका कुरा बुझें,’ वेनिशाले भनिन्, ‘फिल्मको देशबाहिर प्रिमियरपछि प्राप्त प्रतिक्रियाबाट मलाई नयाँ उत्साह थपिदिएको छ ।’
निर्देशक मिलन चाम्सले फिल्म बनाउँदा सृष्टिको जीवन नै फिल्म जस्तो लागेको खुलाए । ‘यो फिल्म बनाउनै डेढ वर्ष लाग्यो । किनकी सृष्टिको जीवन आफैमा संघर्षपूर्ण र कठिन थियो,’ मिलनले सम्झिए, ‘तर मैले सोचे अनुसारको काम वेनिशाले गरेकाले फिल्म राम्रो बनेकोमा ढुक्क छु ।’

लण्डनमा रहेका निर्माता निकेश लिम्बुले भिडियोमार्फत दृष्टिविहीनलाई समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन फिल्मले भूमिका खेल्ने आशा व्यक्त गरे । चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निकेश लिम्बुले निर्माण गरेको फिल्ममा वेनिशा हमाल, अर्पण थापा, अनिल केशरी शाह, गौरी मल्ल, वसन्त भट्टलगायतका कलाकारको अभिनय छ ।फागुन १८ गतेबाट नेपालमा प्रदर्शन हुने फिल्ममा मिलन चाम्सको निर्देशन छ । फिल्ममा यम थापाको लेखन, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन छ ।
 

प्रकाशित: २४ माघ २०७४ ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App