८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

माल्दिभ्समा हस्तक्षेप गर्न भारत र अमेरिकालाई आग्रह

माले – माल्दिभ्समा उत्पन्न राजनीतिक संकटमा हस्तक्षेप गर्न पूर्वराष्ट्रपति मोहम्मद नासीदले भारत र संयुक्त राज्य अमेरिकालाई आग्रह गरेका छन् ।

निर्वासनमा रहेका पूर्वराष्ट्रपति नासीदले भारतलाई सेनासहितको दूत पठाएर माल्दिभ्समा भौतिक उपस्थिति जनाउन र अमेरिकालाई बैंकमार्फत हुने सत्तारुढ नेताका आर्थिक कारोबार रोकिदिन आग्रह गरेका छन् ।‘हामी भारतलाई भौतिक उपस्थिति जनाउन आग्रह गर्दछौं,’ माल्दिभियन नागरिकको तर्फबाट भन्दै पूर्वराष्ट्रपति नासीदले ट्विटमा आग्रह गरिएको छ ।

सर्वोच्च अदालतले शुक्रबार सबै राजनीति बन्दीलाई रिहा गर्न दिएको आदेश कार्यान्वयन गर्न माल्दिभ्सका राष्ट्रपति यामीनले इन्कार गरेपछि माल्दिभ्समा राजनीतिक संकट उत्पन्न भएको छ । निर्वासनमा रहेका पूर्वराष्ट्रपति नासीदले विज्ञप्तिमार्फत वर्तमान राष्ट्रपतिलाई शक्तिबाट हटाउनु पर्ने मागसमेत गरेका छन् । यामीन सरकारले सोमबार माल्दिभ्समा राज्य संकटकालको घोषणा गरेको थियो । संकटकाल घोषणा गरेलगत्तै सरकारी सुरक्षा फौजले सर्वोच्च अदालतमा हस्तक्षेप गरी प्रधानन्यायाधीश अब्दुल्लाह साइदसहित अर्का एक वरिष्ठ न्यायाधीश अली हमीद र पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई पक्राउ गरेपछि नासीदले त्यस्तो आह्वान गरेका हुन् ।  उनीहरूमाथि भएको अनुसन्धान र अभियोगबारे कुनै जानकारी दिइएको छैन।

यसैबीच राष्ट्रपति यामीनले टेलिभिजन सम्बोधनमार्फत सर्वोच्च अदालतका प्रधानन्यायाधीश र वरिष्ठ न्यायधीशले राजनीतिक ‘कू’ को प्रयास गरेको आरोप लगाएका छन् ।संकटकाल लगाउने माल्दिभ्स सरकारको निर्णयलाई अन्तर्राष्ट्रिय जगतले पनि निन्दा गरेका छन् । अमेरिकाले माल्दिभ्सको पछिल्लो राजनीति संकटलाई लिएर ध्यानाकर्षण भएको बताएको छ । यसअघि अमेरिकी विदेश मन्त्रालयले राजनीतिक बन्दीलाई रिहा गर्न सर्वोच्च अदालतले दिएको आदेश मान्न राष्ट्रपति यामीनले अस्वीकार गरेको भन्दै चिन्ता व्यक्त गरेको थियो ।भारत, अमेरिका, बेलायत र चीनसहितका देशहरुले माल्दिभ्स भ्रमणमा रहेका आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेका छन् ।

 

 

 

 

प्रकाशित: २४ माघ २०७४ ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App