८ वैशाख २०८१ शनिबार
अर्थ

क्यासिनोको गेटमा प्रहरी उभिएपछि पर्यटक त्रसित

काठमाडौं – राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिला परिसरमा विदेशी लगानीमा सञ्चालित क्यासिनो ‘द मिलेनायर्स क्लब एन्ड क्यासिनो’ मूलगेटमा प्रहरीले बिनाकारण पहरा दिएपछि क्यासिनो खेल्न आउने पर्यटक त्रसित भएका छन्। 

केही दिनदेखि नेपाल प्रहरीको एक टोली क्यासिनो मिलेनायर्सको गेटमा बस्दै आएको छ। कुनै दिन प्रहरी निरीक्षक र कुनै दिन हबलदारको कमान्डमा प्रहरी टोली गेटमा पहरा दिन थालेपछि क्यासिनोमा खेल्न आउने पर्यटक आत्तिएको व्यवस्थापनले जनाएको छ। 

‘विदेशी लगानीको मात्र नभई विदेशी पर्यटकमात्र प्रवेश गरी खेल्न पाउने क्यासिनोका गेटमा प्रहरी उभिएपछि पर्यटकले के बुझ्छन्?,’ क्यासिनो मिलेनायर्सको लगानीकर्ता अस्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको नेपाली साझेदार कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिका कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईंले बुधबार नागरिकसँग भने, ‘गेटमा उभिएका प्रहरीलाई कसले र के कारण पठायो भन्दा माथिको आदेश भन्छन्। हामी अचम्मित छौं।’

विदेशी पर्यटक आकर्षित गर्ने क्यासिनोको गेटमा बिनाकारण प्रहरी उभिएपछि पर्यटक क्यासिनो प्रवेश गर्न हिच्किचाइरहेको बजगाईंले बताए। यसबाट विदेशी लगानी निरुत्साहित हुने उनले बताए। 

त्यसैगरी सिल्भर हेरिटेज ग्रुपको नेपालका लागि प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरले भैरहवामा सञ्चालित पाँचतारे स्तरको रिसोर्ट ‘द टाइगर प्यालेस’ र क्यासिनो मिलेनायर्समा बढीभन्दा बढी विदेशी कर्मचारी नियुक्त गर्न खोजेपछि नेपाली साझेदार बजगाईंसँग ‘विवाद’ उत्पन्न भएको छ। 

‘४० जना विदेशी कर्मचारीले जति तलब खान्छन् त्यो भनेको ७ सय नेपाली कर्मचारीको एकमुष्ठ तलबबराबर हुने गर्छ,’ मिलेनायर्सका एक अधिकारीले भने, ‘त्यही भएर नेपाली साझेदार कम्पनीले सकेसम्म नेपाली कर्मचारी नै रोजगारी दिन बल गरे पनि विदेशी कम्पनीले टार्दै आएको छ।’

ती अधिकारीका अनुसार विदेशी लगानी ल्याउने, प्रहरी, प्रशासनदेखि सम्बद्ध निकायसँग मात्र नभई विदेशी कर्मचारीको जबर्जस्तीविरुद्ध भिड्ने नेपाली कम्पनीका साझेदार बजगाईंको गुनासोप्रति विदेशी लगानीकर्ता कम्पनीले बेवास्ता गर्दै आएको छ।   

प्रकाशित: २४ माघ २०७४ १४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App