८ वैशाख २०८१ शनिबार
खेल

दुई जापानी सेमिफाइनलमा

काठमाडौं – जापानका ताइयो हिरानो र ताइसेई कागेयामाले बिहीबार जित हासिल गर्दै नेपाल आइटिएफ यु–१८ सर्किट वान टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।
नेपाल लन टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगिताको क्वार्टरफाइनलमा ताइयोले भारतका नाइथाओलिन काल्भिन गोल्मेईलाई ५–७, ६–४, ६–४ को नतिजामा हराए भने कागेयामाले पनि भारतकै प्रतिद्वन्द्वी जसभिन सिदानामाथि ४–६, ७–५, ७–५ को सेटमा पराजित गरे ।

बिहीबारै सम्पन्न पुरुषतर्फका अन्य क्वार्टरफाइनलमा भारतका अनुराग अग्रवाल र ताइपेईका चिया फान टिसाओले जित हासिल गरे । अनुरागले आफ्नै देशका प्रसन्न प्रवीण बागाडेमाथि ७–५,६–२ को सोझो सेटमा जित हासिल गर्दै अन्तिम चारको यात्रा गर्दा चिया फानले पनि भारतका वंश भागतानीलाई ६–२, ६–२ को सहज नतिजामा पराजित गरे ।

महिलातर्फ जापानकी कानोन यासुमोतो, भारतकी दिव्या भानिम, चीनकी यिमिङ डाङ र अमेरिकाकी रुतुजा चाफाल्करले जितका साथ सेमिफाइनलमा स्थान पक्का गरे । कानोनले भारतकी श्रीनिधि श्रीधरलाई ७–६(७÷५), ६–० को सोझो सेटमा पन्छाउँदा दिव्याले हङकङकी चुई केई लियुङलाई ७–५, ६–३ को सहज नतिजामा निराश पारिन् । यसै गरी यिमिङले भारतकी प्रिंकल सिंहलाई तीन सेटसम्म संघर्ष गर्दै ६–१, २–६, ६–३ ले हराइन् भने रुतुजाले जापानकी मानामी उकितामाथि ६–१, ६–१ को सोझो सेटमा विजय हासिल गरिन् ।

पुरुष युगलतर्फ जापानका ताइयो र ताइपेईका चिया फानको जोडीले भारतका वंश र जैशभिनको जोडीमाथि ६–२, ६–२ को सोझो सेटमा जित हासिल गर्दै फाइनलको टिकट काट्यो । ताइयो र चिया फानले फाइनलमा चीनका वेन्माओ ली र याङजुआन लीको जोडीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । चिनियाँ जोडीले जापानका डाइसुके इनागावा र ताइसेई कागेयामाको जोडीमाथि ६–२, ६–४ को सोझो सेटमा जित हासिल गरेको थियो ।

यसै गरी महिला युगलको फाइनलमा भारतका स्मृति भासिन र हृदया शाहको जोडीले हङकङकी चुई केई लियुङ र भारतकी सान्या सिंहको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । स्मृति र हृदयाको जोडीले सेमिफाइनलमा आफ्नै देशका अशप्रीत कौर बाज्वा र पुण्यतोमा मोहापात्राको जोडीलाई ७–५, ७–५ को सोझो सेटमा हराउँदा अर्को सेमिफाइनलमा चुईकेई र सान्याको जोडीले जापानका अयुमी अहामा र कानोन यासुमोतोको जोडीलाई ६–१, ३–६ (१०–७) को सेटमा पराजित गरेका थिए ।

प्रकाशित: २६ माघ २०७४ ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App